बदलिँदो नेपाली चाडपर्वको चलन, तालिबानको नयाँ अग्नि परीक्षा र सार्कमा उसको भविष्य – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

बदलिँदो नेपाली चाडपर्वको चलन, तालिबानको नयाँ अग्नि परीक्षा र सार्कमा उसको भविष्य

१. नेपालमा साउने संक्रान्तिपछि लगातार चाड पर्वहरु मनाउन सुरु हुन्छ । वहुतायत संख्या ओमकार परिवारका भएकाले कतिपय हिन्दु धर्म अनि बुद्ध धर्मअन्तर्गतका चाड पर्वहरु देखिन्छन् । कुनै चाड पर्व धार्मिक आस्थाका आधारमा रहेछन् भने कति चाड पर्व संस्कृतिका रुपमा ग्रहण गरिएका रहेछन् । तर चाड पर्वहरुमा पनि आवश्यक सुधार हुन थालेको छ ।

त्यसको कारण हो बदलिँदो पारिवारिक अवस्था, पेसामा आएको व्यापक परिवर्तन अनि रैथाने ठाउँबाट अन्यत्र गएर जीविकोपार्जन गर्नुपर्ने अवस्था । अझ त्योभन्दा पनि तीन करोड जनसंख्यामध्ये करिब आधा करोड नेपालीहरु विभिन्न कारणले मुलुक बाहिर जानु परेकोले पनि संस्कृति जोगाउने तर साङ्केतिकरुपमा ।

जस्तो कि दसैँ मनाउने तर नेपालमा जस्तै देवी अर्चनाका लागि नवरात्रिको पूजा आजा गर्न नभ्याउन पनि सकिने हुनाले जमरा राख्ने अनि परिवारका ठुलो मानिस भए उसैबाट नभए आफ्नो समाजका मान्यवरसँग टीका लगाउने । तिहारका लागि पनि मनाउने तर नेपालमा जस्तै देउसी खेल्न साङ्केतिकरुपमा कतै जाने । या त्यस्तै ।

२. जस्तो कि मैले जातपात नमानेको दसकौँ भयो तर म जन्मले ब्राह्मण भएकाले र जनै धारण अझैसम्म गर्ने गरेकाले जनै पूर्णिमामा नयाँ जनै धारण गरेर, रक्षा बन्धन लगाएर मनाउँछु, हाम्रो परिवारले मनाउँछौँ ।

हामी साना हुँदा या गाउँमै रहँदा या बालकहँुदा र ब्रतबन्ध गरेपछि जनै लगाउनुभन्दा अघिल्लो दिनया जनै पूर्णिमाको अघिल्लो दिनमा एकछाकी खाने भन्थ्यौँ, कपाल काटेर शुद्ध खानपिन अर्थात् आमिष भोजन नगरेर भोलिपल्ट जनै लगाउने, ऋषिलाई तर्पण दिएर र रक्षा बन्धनको डोरो बाँधेर, खासमा क्वाँटी खाएर मनाउने गर्दथ्यौँ ।

बाबु आमा हुनेले एकछाकी खाने, ऋषि तर्पण गर्ने भनेको त्यो दिनमात्र हो । किनभने श्राद्धका अघिल्लो दिनमा पनि मातापिता नहुनेल एकछाकी बसेर भोलिपल्टका लागि शुद्ध भएर श्राद्ध गर्ने भनेको तर्पण गर्नका लागि , पिण्ड दिनका लागि हो ।

त्यो पनि हिन्दू परिवारमा आफनै आफ्नै तरिकाले मनाइन्छ । नेवार सम्प्रदायमा त्यही श्राद्ध पनि अलि फरक तरिकाले गरिन्छ । आखिर श्राद्ध गर्ने उनै ब्राह्मण हुन् र पनि ।

यो संस्कार हो, मान्नैपर्छ भन्ने पनि छैन तर समुदायका रुपमा संस्कृति जोगिने भनेको नै सबैले नगरे पनि कसैले त्यो संस्कार जीवित राखेर निरन्तरता दिने रहेछ । जनै पूर्णिमा दिन हामी सुनकोशी किनारमा मानिसहरु, अर्थात् ब्राह्मण, क्षेत्री र नेवार जातिका मानिसहरु नदीको छेउमा गएर ऋषिलाई तर्पण दिने काम गथ्र्यौँ ।

हाम्रो गाउँमा ब्राह्मण, क्षेत्रीहरुको बसोबास भएकाले जनै लगाउनेहरु अघिल्ला दिन नै कपाल मुण्डन गरेर, सुनकोशीको किनारमा पूर्णिमाका दिन जान्थ्यौँ ।

महासंकल्प हुन्थ्यो । तीन पटक नदीमा स्नान गरिन्थ्यो । एकपटक तुलसीको मठको शुद्ध माटो टाउकोमा दलेर, एकपटक गाईको गोबर टाउकोमा दलेर र एकपटक खरानी टाउको दलेर नुहाइन्थ्यो ।

अर्थात् स्नान गरे झन चोखो होइन्थ्यो । पहिलोपटक नुहाउँदा पनि संकल्प गरिन्थ्यो ऋषिहरुलाई तर्पण दिने, अनि मात्र तीन डोरा जनै लगाउने, त्यसपछि फेरि संकल्प पढ्दै नुहाउने र अर्को तीन डोरा जनै लगाउने अनि मात्र ६ डोरा लगाइन्थ्यो र फेरि संकल्प पढेर ऋषिलाई तर्पण दिँदै रक्षा बन्धन बाँधिन्थ्यो ।

सामान्यतया हामी सानो हुँदा कान्छा पुरेतबा अर्थात् धरणीधर उपाध्याय पोखरेल, कान्छा भानिजबा ज्वालाप्रसाद पोखरेल, ठुला भानिजबा ईश्वरीप्रसाद पोखरेल र माहिला भानिजबा भोजराज पोखरेलले हामीले लगेको सबै जनै, रक्षा बन्धनका लागि काँचो धागाको गोली, केसरी, अबिर, नैवेद्यका लागि लगेको फलफूल एकैठाउँमा राखिन्थ्यो ।

आफ्ना आप्mना टपरी चिन्नेगरी राखिन्थ्यो । जनै पूर्णिमा केही दिन अघिदेखि जनै बनाउने काम हुन्थ्यो सायद साइत हेरेरमात्र त्यो दिनदेखि तयार गर्न लगाइन्थ्यो ।

हामीले जान्दासमेत पनि आफ्नै बारीका उब्जाएको कपासलाई फिटेर, चर्खामा तयार गरेको धागोमात्र चोखो धागो मानेर जनै बनाइन्थ्यो । जसले पायो जनै बनाउन हँुदैनथ्यो किनभने त्यहाँ शिखा राखिन्थ्यो । कसो कसो हात घुमाएर शिखा तयार गरिन्थ्यो । गाउँमा कुला गइन्थ्यो र फुर्सदमा या खाजा खाने बेलामा जने बनाउन जान्नेहरु कोदालीको बिँडमा धागो अल्झाएर सेप्न थाल्नुहुन्थ्यो ।

हामीलाई रमाइलो लाग्थ्यो । सबैले आफ्नो आफ्नो आवश्यक जनै आफैँ तयार गर्थे । हाम्रो घरमा सामान्यतया माहिलाबाले बनाउनु हुन्थ्यो सबैका लागि । पछि बाले पनि बनाउनु भएको जस्तो लाग्छ ।

अर्थात् ब्राह्मण र क्षेत्रीहरुले बनाउन जान्नुपर्छ भन्ने थियो । जनैका लागि आत्मनिर्भर हुनुपर्ने, अझ आफूलाई चाहिने कपासकै लागि पनि आफ्ना आफ्ना बारीमा कपास लगाइन्थ्यो । मलाई अहिले पनि याद छ, कपासको वियाँ —ज्यापु—रोपेको ठाउँमा जाँदा मैले माहिलाबालाई सोधेको थिएँ—बा भुटेको मकै किन रोपेको ? नभुटेको मकै रोप्ने होइन र ? बाले भन्नुभएको थियो—यो कपासको बिउ हो, यसलाई ज्यापु भन्छन् ।

कालोकालो बिउ हुनेरहेछ । अहिले त गाउँमा कपास रोपेको थाहै छैन । तै पनि कतै कतै कसैको घरमा कपासको विरुवा, कपास फुट्दै गरेको देखिन्छ तर त्यो आवश्यक कपासको तयारीका लागि होइन नै ।

३.त्यसरी हामी ब्रतबन्ध गरेकाले नदीको तिरमा गएर ऋषिलाई तर्पण दिने बेलामा कपाल नखौरिने जो हुन्थ्यो, ऊ टक्रक्क चिनिन्थ्यो किनभने उसले न त टाउको गोबर लगाएर, या खरानी लगाएर या माटो लगाएर नुहाउन मिल्थ्यो । त्यो दिन धोती नै लगाइन्थ्यो । नदीको तिरमा जाने सबै पुरुष ने हुन्थ्यौँ ।

ऋषि तर्पण र रक्षा बन्धनको नदी तटको विधि सम्पन्न भएपछि पुरेतबाहरु आफ्ना जजमानका घरतिर नदीमा नगएका अरु परिवारका लागि रक्षा बन्धन बाँध्न जानुहुन्थ्यो । यो कि सबिस्तार भनेको भने यस्तो विधि हुन्थ्यो तर अहिले त्यो विधि कस्तो छ त ? विधिका लागि विधि छ । काठमाडौँमा वाग्मती या अन्य नदीमा गएर त्यसरी जम्मा भएर रक्षा बन्धन, ऋषि तर्पण अनि जनै लगाउने काम सम्भव हुँदैन ।

तर पनि मन्दिर वरिपरि, पशुपतिनाथको वरिपरि वाग्मतीको छेउमा हुन्छ विधि विधान तर पहिलेको जस्तो रमाइलो जस्तो लाग्दैन ।

जनै लगाइन्छ मन छ भने । समाजमा त्यो अनिवार्य हुँदो रहेछ किनभने समाज भनेको नै सामुदायिक अनुशासनका लागि तयार भएको सामूहिकताको जमघट हो रहेछ । जस्तो कि गाईजात्राले दुईओटा मनोवैज्ञानिक बोकेको छ —एउटा गाईको पुच्छर समाएर बैतरिणी तर्ने धार्मिक नीतिलाई सम्झाउँछ भने अर्को दिवंगतका नाममा त्यो साल पर्व मनाउने काम हुन्छ ।

त्यसपछि त वार्षिक पुण्यतिथिमा श्राद्ध भइहाल्छ । महाराजा जयप्रताप मल्लले आफ्नो दिवंगत पुत्रको शोकाकुल आफ्नी रानीलाई अरुका पनि छोरा छोरी यसैसाल कति मरेका रहेछन् भनेर चित्त बुझाउनका लागि सुरु गरिएको चाडको रुपमा मानिन्छ किंवदन्तिमा भने त्यसैको सम्झनामा रानीपोखरी पनि बनाइएको हो भनिन्छ ।

४. यसरी हाम्रा चाड पर्व सामूहिकतामा जीवित छन् र पनि पुरानै पारामा त्यसलाई मान्न सकिने अवस्था छैन । समाजको स्वरुप कस्तो छ भने कुनै पनि धर्म, सम्प्रदायको नेपाली विश्वमा जहाँ पनि गएको हुन्छ, आफ्ना आफ्ना तरिकाले चलेको चलनलाई जीवित राखेकै हुन्छ भन्ने आशयमा यो धारणा राखिएको हो । पूर्वीय परम्परामा धेरै धर्म, संस्कार तथा परम्परा छन् ।

ती हाम्रा सभ्यता हुन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्पत्ति हुन् । त्यसैले होला, पूर्वीय सभ्यताका महानतम ग्रन्थहरु संसारका सबै भाषा र धर्मका मानिसहरुले अनुवाद गरेर मनन गरिरहेका छन् र त्यसमा रहेको वैज्ञानिक तथ्यको खोजी गरिरहेका छन् ।

चाहे एकादशीको ब्रत होस् या सूर्यको ब्रतमा नुन नखाने कुरा होस् या समयको गणनामा किन ६०को अङ्क प्रयोग गरिएको हो वा ग्रहहरुको उत्पत्तिका वारेमा, तिनको पूर्वीय नामका वारेमा अनुसन्धान गरिँदैछ र संस्कृत भाषाको अपरिवर्तनीय स्वरुपको वारेमा पनि अनुसन्धान हुँदैछ भनिन्छ । हाम्रा भान्सामा खाइने पदार्थहरुको स्वास्थ्यमा पार्ने प्रभावको वारेमा पनि अुनसन्धान गरिँदैछ भनिन्छ ।

५.र अन्त्यमा यसपटक तालिबानको अफगानिस्तानमा अचानक कब्जाको प्रसङ्ग । हुन त अमेरिकाले २० वर्ष अघि ट्विनटावरमा भएको आतङ्ककारी हमलापश्चात् अलकायदाको आश्रयस्थल भनेर अफगानिस्तानमा आक्रमण गरेर तालिबानलाई सत्ताच्युत गरिएको थियो ।

त्यही तालिबानले अहिले २० वर्षपछि आफूमाथि आक्रमण गरेर सत्ता अर्काको हातमा सुम्पने अमेरिकासँग नरम व्यवहार गर्दै कतार सम्झौता गरेको हो । तर सोचेभन्दा पहिले नै सत्तामा कब्जा गरेको भन्ने परेर अचम्भ परिएको हो ।

सायद बाइडेन सरकारलाई समयभन्दा पहिले सत्तामा आए भन्ने मात्र होला, तर शान्तिपूर्वक सल्लाहले सत्तामा सहभागिता लिने दिने कुरामा विश्वस्त नै थियो जस्तो लाग्छ । अहिलेका बाइडेन सरकार एक डलर पनि विनाकाममा खर्च गर्नेवाला देखिँदैन जसले अमेरिकी हितमा वा स्वार्थमा कुनै फाइदा नहोस् ।

तर तालिबानले बोलाइ र काम गराइमा देखिन सक्ने फरकपनले तालिबान विरोधी शक्तिले सजिलै तालिबानलाई सत्तामा टिक्न देला जस्तो लाग्दैन किनभने विश्वभरमा इस्लाम कट्टरपन्थीहरुले अफगानिस्तानलाई आश्रयस्थल मानेर आतङ्ककारी गतिविधि गरी रहेमा त्यसले विश्वभरको शान्ति स्थापनामा नकारात्मक असर पर्ने निश्चित छ ।

सायद अमेरिका, चीन, रुस र पश्चिमा देशहरु तालिबानले दोहामा दिलाएको विश्वासमा कति टिक्ला भनेर पर्यवेक्षण गरिरहेका छन् । चीनले त आफ्नो राजदूतावासलाई काबुलबाट नहटाउने, खोलेरै राख्ने तर तालिबानको व्यवहार हेरेरमात्र नयाँ सरकारलाई मान्यता दिने कि नदिने भन्ने निर्णय गर्ने भएको छ ।

चीनको राष्ट्रिय सुरक्षामा चुनौती खडा गर्ने उइगिर जातिको उग्रपन्थी पक्षका वारेमा तालिबानको व्यवहार हेर्ने भनेको होला । बोलीमा एउटा कुरा र काममा अर्को कुरा भइसकेको देखिन्छ आन्तरिक अवस्थामा भनेर विभिन्न समाचार माध्यमबाट बाहिरिन थालेका समाचारहरुले देखाउँदै छन् ।

यही बेलामा सार्कको अध्यक्षको नाताले नेपालले पनि आफ्नो कुटनीतिक क्षमता देखाउने बेला भएको छ । त्यतिमात्र होइन, तालिबानका व्यवहारले नयाँ सदस्य सार्कमा टिकेर बस्ने कि नबस्ने पनि निश्चित गर्नुपर्ने भएको अवस्था छ । तर समावेशी सरकार बनाएर, सबैलाई आममाफी दिएर शरणार्थीको हुल अन्य देशमा नपठाउने दृढतामात्र अफगानिस्तानले देखाउन सकेमा विस्तारै प्रजातान्त्रिक अवस्थाको बहाली हुने थियो ।

स्मरणीय छ, इस्लामिक तरिकाको प्रजातन्त्रमात्र स्वीकार्य छ भनेर विश्वव्यापी मान्यताको प्रजातन्त्रलाई खारेज गरेको सजिलै बुझ्न सकिन्छ । सार्कमा अफगानिस्तान रहने कि नरहने भन्ने कुरामा भारत र पाकिस्तानको भूमिका महत्वपूर्ण देखिन्छ । नेपालको भूमिका त यसै पनि अध्यक्षको नाताले, चीन, अमेरिका, भारतसँगको न्यानो सम्बन्धले निर्धारण गर्ने नै भयो ।

नेपालको महत्वपूर्ण भूमिकाको लख यसकारणले पनि गर्न सकिन्छ, नबाफ सरिफ र मोदीको बोलचालसमेत नभएको बेलामा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले दुईजना नेताको हात समाएर कुरा गर्न लगाएकोले पनि बुझ्न सकिन्छ । तर त्यस्तो आत्मबल देखाउन सक्नुपर्छ आजको नेताले पनि सार्कको नेतृत्व गर्नका लागि ।

सम्बन्धित समाचार

उदयपुर जिल्लाको कांग्रेस इतर समूहको सभापतिमा बस्नेत
उदयपुर जिल्लाको कांग्रेस इतर समूहको सभापतिमा बस्नेत
  • २०७८ भाद्र ७, १४: ३९

उदयपुर । उदयपुर जिल्लाको नेपाली कांग्रेस इतर समूहको जिल्ला अधिवेशनबाट बसन्त कुमार बस्नेत जिल्ला सभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।...

आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई
  • २०७८ भाद्र ७, १४: ३९

१. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई विक्रम सम्वत २०८३सालको बडा दसैँ यसपटक अलि ढिलो सुरु हुने ज्योतिष...

शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने काठमाडौं फिल्म फेस्टिभल कात्तिक १३ देखि
शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने काठमाडौं फिल्म फेस्टिभल कात्तिक १३ देखि
  • २०७८ भाद्र ७, १४: ३९

काठमाडौं । भारतीय अभिनेत्री शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रका चर्चित व्यक्तित्वहरूको सहभागितामा काठमाडौं फिल्म फेस्टिभल आयोजना हुने भएको छ ।...