काठमाडौ । चौथो शिखर सम्मेलन काठमाडौंमा सकिएको १० दिनपछि २५–३१ भदौमा बिम्स्टेकका सदस्य राष्ट्रहरूको संयुक्त सैन्य अभ्यास हुने घटनाले कुटनीतिक र राजनीतिक वृत्तमा तरंग छाएको छ ।
नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान, म्यानमार र थाइल्यान्डका सैनिक अधिकृतहरू भारतस्थित महाराष्ट्रको दोस्रो ठूलो शहर पुणेमा संयुक्त सैन्य अभ्यास गर्ने निश्चित भए पछि यो घटनालाई लिएर विश्वब्यापी रुपमा र खास गरी एसियाली मुलुकमा सनसनी छाएको छ । सदस्य राष्ट्रका सैन्य प्रमुखसहित ३० जनाले भाग लिने सो सैन्य अभ्यासलाई प्रतिआतंकवादविरुद्धका लागि संयुक्त अभ्यास नाम दिइएको छ । बिम्स्टेक सदस्य राष्ट्रहरूबीच विगतमा दुई पक्षीय सैन्य अभ्यास मात्र हुने गरेको थियो ।
कुनै संगठनको जगमा टेकेर गर्न लागिएको यो सैन्य अभ्यास दक्षिण एसिया र दक्षिणपूर्वी एसियामै पहिलो रहेको जानकारहरू बताउँछन् । बिम्स्टेक सदस्य राष्ट्रहरूका राष्ट्रिय सुरक्षा सल्लाहकार तथा सैन्य सहचरीहरूको बैठकले केही समयअघि भारतमा सैन्य अभ्यासको निर्णय गरेका थिए । विदेश सचिवस्तरीय बैठकले त्यसलाई मंगलबार मात्र औपचारिक रूपमा अनुमोदन गरेको थियो ।
बिम्स्टेकको चौथो शिखर सम्मेलनमा संयुक्त सैन्य अभ्यासको विषय एजेन्डा बन्ने वा नबन्ने भन्नेबारे औपचारिक धारणा सार्वजनिक हुनुअघि सैन्य अभ्यास गर्ने निर्णय हुनुलाई यस क्षेत्रको भूराजनीतिमा ठूलै महत्व पाउने र हलचल मच्चाउने अनुमान गरिएको छ । बिम्स्टेक सदस्य राष्ट्रबीचको सैन्य अभ्यासलाई कनेक्टिभिटीअन्तर्गत्को ‘सपोर्टिङ’ तत्वका रूपमा बुझ्नुपर्ने नेपाली सेनाका एक पूर्वरथी बताउँछन । नेपाल भूपरिवेष्ठित भएकाले भारततर्फ बढी झुकाव राख्नु यथार्थ भएको उनीहरुको तर्क छ ।
बिम्स्टेकमा दक्षिण एसियाका पाँच मुलुक मात्र नभई दक्षिण–पूर्वीएसियाका थाइल्यान्ड र म्यानमार पनि सदस्य छन् । थाइल्यान्ड र म्यानमार भौगोलिकलगायत कोणबाट भारतभन्दा चीनसँग निकट छन । त्यसैले थाइल्यान्ड र म्यानमारले सहभागिता जनाएको सैन्य अभ्यासमा नेपालले भाग लिँदा फरक नपर्ने सैन्यबिद्हरुको बुझाई छ ।
चीनले आफ्ना छिमेकीसँगको सम्बन्धलाई ओबीओआरको फराकिलो व्यवस्थामा जोड्न खोजेको छ, त्यसरी नै भारतले पनि छिमेकीहरूसँग नजिकिने प्रयास गरिरहेको बुझ्न पनि सकिन्छ । बिम्स्टेक मुलुकको सैन्य अभ्यासबाट भारतले चीन र पाकिस्तानलाई आफ्नो सैनिक शक्ति देखाउन खोजेको हुन सक्ने विश्लेषण पनि गरिन थालेको छ । अन्तर्राष्ट्रिय तथा द्विपक्षीय सैन्य अभ्यासमा नेपालले सहभागिता जनाउन लागेको यो पहिलो पटक होइन । यस्ता अन्य पाँच वटा सैन्य अभ्यासमा नेपाली सेना सहभागी हुँदै आएको छ ।
यस्ता सैन्य अभ्यासबाट नेपाली सेनाको समय अनुकुल व्यावसायिक विकास तथा मित्रराष्ट्रका सेनासँगको सम्बन्धलाई थप सुदृढ सहयोग पुगेको सैनिक मुख्यालयको भनाइ छ । विगतका संयुक्त सैन्य अभ्याससँगै नेपाली सेनाले विभिन्न तालिम आदान प्रदानसमेत गरिरहेको छ । तीमध्ये सबैभन्दा लामो शृंखला चलेको सैन्य अभ्यास हो, भारतीय सेनासँगको ‘अपरेसन सूर्य किरण’ ।
दुई मुलुकका सेनाले यसको दशौं शृंखला सम्पन्न गरिसकेका छन् । उक्त अभ्यासका १, ३, ५, ७ र ९ भारतमा चलेका थिए । २, ४, ६, ८ र १० नेपाली भूमिमा सञ्चालन गरिएको थियो । यसमा नेपालको तर्फबाट १७ सय ३९ र भारतीय सेनाको तर्फबाट १८ सय ५६ जना सैनिकले सहभागिता जनाइसकेको सैनिक जनसम्पक निर्देशनालयले जनाएको छ । यस्तै, बेलायती सेनाको आयोजना रहने सैन्य अभ्यासमा पनि नेपाली सेनाले भाग लिइसकेको छ ।
‘क्यारेबियन पट्रोल’ नाम दिइएको उक्त अभ्यास ५० वर्षअघि शुरु भएको हो, जसमा एक सय १९ देशका सेनाले संयुक्त अभ्यास गर्दै आएका छन् । यो सैन्य अभ्यासमा नेपालले ३१ असोज ०७१ र १७ असोज ०७२ गरी दुई पटक सहभागिता जनाइसकेको छ । नेपाली सेना आफैंले सञ्चालन गर्दै आएको छ, ‘एक्स शान्ति प्रयास’ । नेपाली सेनाको विशेष निमन्त्रणामा यस सैन्य अभ्यासका तीन वटा शृंखला चलिसकेका छन् । सन् २००० देखि शुरु भएको ‘एक्स शान्ति प्रयास’ सन् २०१३ र २०१७ मा पनि सञ्चालन भइसकेको छ ।
तीन वटै शृंखलामा गरी ३४ मुलुकका करिब १४ सय सैनिकले सहभागिता जनाइसकेको छ । नेपाली र अमेरिकी सेनाबीच सन् २००३ देखि शुरु भएको अभ्यासलाई ‘ब्यालेन्स नेल’ नाम दिइएको छ । त्यसअन्तर्गत हालसम्म २८ वटा तालिम र सैन्य अभ्यास भइसकेका छन ।
‘ब्यालेन्स नेल’को उद्देश्य प्रतिआतंकवाद, प्रतिविद्रोह, उद्धार, विपत व्यवस्थापन र दक्ष जनशक्ति उत्पादन गर्ने भन्ने छ । सार्क र बिम्स्टेक दुवैको सदस्य रहेको श्रीलंकाको सेनासँग पनि नेपाली सेनाले अभ्यास गर्दै आएको छ ।
त्यसको नाम दिएको छ, ‘एक्स कर्मोरेन्ड स्ट्राइक’ । उक्त अभ्यास श्रीलंकाली सेनाले हरेक वर्ष आयोजना गर्छ । र, नेपालले त्यसमा सन २०१४ देखि सहभागिता जनाउँदै आएको छ । १६ अप्रिल २०१७ देखि नेपाल र चीनबीच पनि संयुक्त सैन्य अभ्यास शुरु भएको छ । त्यसको दोस्रो शृंखला १२ जुलाई २०१८ मा शुरु भएको छ । उत्तरी छिमेकीसँग नेपाली सेनाको अभ्यासलाई ‘सगरमाथा फ्रेन्डसिप’ नाम दिइएको छ । आतंकवादविरुद्धको अभ्यासका रूपमा यसलाई दुई मुलुकले अथ्र्याएका छन् ।
काठमाडौँ । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिमा आज वैशाख ३० मनोनयन दर्ता हुँदै छ ।संघीय संसद् सचिवालयका अनुसार, दिउँसो १ देखि...
काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर...
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। निगमले बुधबार मध्यराति १२ः०० बजेदेखि लागू हुने गरी डिजेल, मट्टीतेल...