न्याय नदिए गोली ठोकिदेउ सरकारः निर्मलाका बुबाआमा – Naya Bikalpa
April 16, 2026, Thursday      Epaper

न्याय नदिए गोली ठोकिदेउ सरकारः निर्मलाका बुबाआमा

काठमाडौं । गत १० साउनमा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका उल्टाखामकी निर्मला पन्तका बाबु आमा यज्ञबहादुर र दुर्गादेवी यतिबेला काठमाडौंमा अपराधी पत्ता लगाउन भन्दै सडक र गल्लीमा भौंतारिदैछन् । सरकारसँग छोरीका हत्याराहरू पत्ता लगाई हदैसम्मको कानूनी कारवाही र न्याय माग्न उनीहरू करिब सात सय किलोमिटर टाढाको यात्रा तय गरेका हुन् ।

राजधानी काठमाडौंमा दिनै पिच्छेजस्तो हुने अन्तरक्रिया, सडक प्रदर्शन वा आमसञ्चारका माध्यममा निर्मलाका बुबा आमाले न्याय दिन नसक्ने भए आफूहरूलाई पनि गोली ठोकेर हत्या गरिदिन सरकारसँग माग गरिरहेका छन् । निर्मला मात्र होइन, सरकारका उच्च अधिकारीहरूले आफ्नी छोरीलाई पनि त्यस्तो भएको भए के हुन्थ्यो भनेर सोची हत्यारालाई कारवाहीको दायरामा ल्याउन उनीहरूले माग गरेका छन् । उनीहरुले घरमा दुइटी छोरी छोडेर आएकोले न्याय नपाए घर फर्कन नसक्ने भन्दै न्याय दिन नसक्ने भए दिन सक्दैनौं बरु मारिदिन्छौं भनिदिनोस भनेर बिलौना गरेका छन् ।

उनीहरुले सरकारको सुस्तता र प्रहरीको बद्मासी हेर्दा न्याय मिल्ला भन्ने विश्वास नलागेको बताउँछन् । ‘गृह मन्त्रालयले छानविन समितिलाई १५ दिनको म्याद दिएर पठाएको भनेको छ । समितिका सदस्य वीरेन्द्र केसीले न्याय मिल्छ भन्नुभएको थियो । उहाँले नै एक्कासी राजिनामा दिँदा मलाई अचम्म लाग्यो । भलै उहाँले राजीनामा फिर्ता लिनु भयो तर केहि चलखेल भयो कि जस्तो मनमा कता कता चिसो पसेको छ । न्याय नपाउने शंका बढेको छ’, निर्मलाकी आमा दुर्गादेवी भन्छिन ‘छोरीलाई सम्झँदा भक्कानो छुट्छ । उनको निर्दोेष र निश्छल अनुहार झल्झली आँखामा आउँछ ।

उनले जस्तो अरू छोरीहरूले ठूला भनाउँदा दानवहरूको हातमा पर्नु नपरोस् ।’जुन दिनदेखि निर्मला हराइन त्यही दिनदेखि प्रहरीले आफूलाई सहयोग गर्नुको साटो रुखो व्यवहार देखाउँदै आएको, साउन १० गते राति १२ बजेसम्म पटक–पटक प्रहरीसँग गुहार माग्दा राति १२ बजे भीमदत्त नगरपालिका १८ को अस्थायी प्रहरी बिटमा छिमेकीहरू गरी ६ जना जाँदा सबै जना सुतेका र ड्युटीमा रहेका एक जनालाई उजुरी दिँदा सबै जना बर्र्दी लगाएर घटनास्थलमा जान लागेका बेला एकजना सईले जिल्लामा जानकारी दिनुर्पयो भनेर फोन गर्नुअघि नै खोजीका लागि जान तयार भएका प्रहरीहरूलाई जाने अनुमति नदिइएको दुवैको गुनासो छ ।

‘रातको कुरा छ, बिहान जाउँला भन्दा हामीलाई शंका लाग्यो । उहाँहरू शायद हामीले भनेको स्थान रोशनी बमको घरभित्र नगएर गेटमा मात्र बसिदिनु भएको भए पनि जीवितै उद्धार हुने थियो कि भन्ने लाग्छ । सास निमोठिएर पानीमा फाल्दा त्यहीं छोरीको ज्यान गएजस्तो लाग्छ हामीलाइ’, दुर्गादेवीले भनिन ।

साउन ११ गते बिहान साढे आठ बजे निर्मला चढेको साइकल भेटियो भन्ने खबर आयो । त्यसपछि रोशनीकी दिदी बबिताले उसो भए लास पनि त्यतै होला भनेर फ्याट्टै भनिन । त्यतिखेरसम्म हामीले हाम्री छोरी कतै बेचिएकी भन्ने मात्रै शंका गरेका थियौं । तर, लास नै त्यतै होला भनेपछि मनमा चिसो पस्यो । निर्मलाको लास त्यतै होला भनेर पहिलो पटक उच्चारण गर्ने बबिता नै हुन । नभन्दै बबिताले भनेजस्तै गरी लास साइकल भेटिएको स्थान नजिकैको उखुबारीमा भेटिएको थियो ।

दुर्गा देवी भन्छिन ‘उसकी साथी रोशनीको घरमा किताब लिन भनेर गएकी मेरी छोरी त्यही घरमा पो छन कि भनेर साँझ ६ बजेतिर जाँदा रोशनीकी दिदी बबिताले गेटबाट भित्रसमेत पस्न दिइनन् । पछि फेरि छिमेकीका साथमा उनको घरमा सोध्न जाँदा फेरि पनि उसैगरि झर्किएर गेट बाहिरबाटै फर्किन बाध्य पारिन् । उनको यो व्यवहारले कतै उनीहरू पनि यो घटनामा संलग्न त छैनन भन्ने हामीलाई लागेको छ ।’ शव भेटिएपछिको प्रहरीको व्यवहार झनै रुखो र शंकास्पद भएको उनीहरुको बुझाई छ । शव भेटिएको एक घण्टा पछि बल्ल प्रहरी आइपुग्यो । तर, प्रहरीले घटनास्थल शिल गरेन ।

बरु, जसलाई पनि प्रवेश गर्न छुट दियो । यति मात्रै होइन, निर्मलाको शव रहेको स्थानमा भेटिएको उनको रगतले लतपतिएको सुरुवाल पटक पटक धोइएको थियो । उनको योनीबाट बगेको रगत पखाल्ने काम भएको थियो, जसको भिडियोसमेत सार्वजनिक भएको उनीहरुले बताए । उनीहरुको प्रश्न छ ‘भिडियोमा सबै दृष्य हेर्न सकिन्छ । प्रहरीले यस्तो गर्न मिल्छ ? यसरी प्रहरीले नै प्रमाण नष्ट गर्न खोज्नुको कारण के हो ?’ यसको जवाफ अहिलेसम्म पाउन नसकेकोले आफूहरुलाई प्रहरीमाथि नै शंका लागेको उनीहरुले वताए ।

शुरूको पोस्टमार्टमको रिर्पोेटमा निर्मलाको मृत्यु कति बेला भयो भन्ने पनि लेखिएको थियो । तर, यकिन गरेर भनिएन । नयाँ डीएसपीले बिहान साढे २ देखि ३ बजेको बेला मृत्यु भएको जानकारी दिए । तर, आफूहरुलाई त्यो पत्यार लागेन । किनकि, बिहान ११ बजे मुचुल्का उठाउने क्रममा निर्मलाको गुप्तांगबाट रगत बगिरहेको थियो ।

त्यो प्रत्यक्षदर्र्शीले पनि देखेका छन् । प्रहरीहरूले रगत सबै पानीले पुछेका थिए, रहेका प्रमाण नष्ट गरेका छन् । सुरुवाल पनि पानीमा धेरैचोटी पखाले । उनका नङहरू सबै पखालेका छन् । जसबाट दोषीका प्रमाणहरू देखिन सक्थे, सबै नष्ट गरिए, निर्मलाका बुबा आमा यज्ञबहादुर र दुर्गादेवीले भने ।

यी सबै घटनापछि लास उठाउने कुरा हुँदा ट्रयाक्टरमा हालिएको र मेयर नआएसम्म हामी लास लान दिन्नौं भन्दा मुद्दा फाँटको इन्स्पेक्टर एकेन्द्र खड्काले मेयर, सीडीओ सबै म नै हुँ भनेर झर्किएको र आफूहरुले मेयर, एसपी, सीडीओमध्ये एक जना त आउनुप¥यो भन्दा ‘तपाईंको लास तपाईं नै राख्नु’भन्दै छाडेर गएको आमा दुर्गादेवीले बताईन ।

छिमेकी रवीन्द्र तिवारीले त्यस्तो नगर्नु भनेर बिन्ती गर्दा रविन्द्रका पत्रकार भाइ अम्बादत्त तिवारी आइपुग्दा लासलाई ट्रयाक्टरमा राखिसकिएको थियो र प्रहरीहरू कोही थिएन । तत्कालीन सीडीओलाई फोन गरेर प्रहरीको व्यवहारबारे बताउँदा उनले तत्काल पठाइदिन्छु भनेको प्रहरी एक घण्टापछि मात्र आए र त्यसपछि लासको पोस्टमार्टम गर्न सीधै महाकाली अञ्चल अस्पताल लगिएको हो ।
यज्ञबहादुर र दुर्गादेवी दुवैको गुनासो प्रधानमन्त्री समक्ष पनि छ ।

उनीहरुले भने ‘प्रधानमन्त्रीले समेत हामीले लास मेयरको घरमा राखेर आन्दोलन गर्दै अनुसन्धान गर्न दिइएन भनेर आरोप लगाउनुभयो । तर, त्यस्तो हामीले गरेका थिएनौं । लास सीधै महाकाली अञ्चल अस्पताल लगिएको थियो । १५ दिनसम्म हामीले केही गर्छौंं भनेका थिएनौ ं । हामीलाई त केवल न्याय चाहिएको थियो । तर, हाम्रो शालिनतालाई कमजोरी ठानियो ।

अनेकन आरोप हामीमाथि नै लगाउने काम भयो ।’ उनीहरुले प्रहरीले निश्चिन्त भएर ठूला मान्छेलाई जस्तो नास्ता दिई रोशनीसँग आरामले बयान लिएकोले शंका लगेको र मुख्य दोषी प्रहरी नै हो, उनीहरूको लापरवाही नै हो भनेका छन् । उनीहरुले काठमाडौं काम नभएर आएको होइन भन्दै छोरीहरूलाई घरै छाडेर बिल्लीबाठ बनाएर आएका छौ ं । हामी गरिब र निमुखा हौ । पानीपुरी र चटपटे बेचेर छोरीलाई हुर्कायौं । तर, आज हाम्रो आड भरोसा छोरीको हत्या हुँदा न्यायका लागि यसरी रोइकराइ गर्नुपरेको बताए ।

एसपी बिष्ट मान्छे मार्न तयार छु भन्थे
आफूहरुलाई कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज बिष्टले नाकमै औंलो ठड्याएर ‘म यहाँको स्थानीय बासिन्दा हुँ । भोलि ५ बजेसम्म लास उठेन भने कति मान्छे मर्नुपर्छ त्यो मलाई मात्रै थाहा छ भनेर थर्काएको पन्त दम्पतिले बताए । ‘गोली हान्नु परे, कफ्र्यु लगाउनु परे पनि डराउँदिनँ’ भनेर धम्क्याएको र राति १२ बजे फोन गरेर प्रशासनमा सहमति गराउन लगाएको खुलासा गरे । यज्ञबहादुरले भने ‘मेरी श्रीमती र छोरीहरूलाई घर पु¥याइदिन्छु भनेर प्रशासनमा पुर्याए ।

कति दिन म दाइको घरमा लुकेर बसें । न्यायका लागि आवाज उठाउँदा उल्टो दोषी जसरी लुकीलुकी बस्नुपरेको छ । निकै धम्क्याएका छन्, एसपी बिष्टको धम्की र न्याय दिनमा ढिलो गर्नुको कारण के हो भन्ने प्रश्न मनमा उठिरहेको छ । कञ्चनपुरमा बसेर न्याय पाउने छाँट नदेखेपछि बाध्य भएर काठमाडौं आएका हौं ।’

सम्बन्धित समाचार

संसदीय समितिका सभापतिको निर्वाचन,आज मनोनयन दर्ता
संसदीय समितिका सभापतिको निर्वाचन,आज मनोनयन दर्ता
  • २०७५ आश्विन १, ०८: ४३

काठमाडौँ । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिमा आज वैशाख ३० मनोनयन दर्ता हुँदै छ ।संघीय संसद् सचिवालयका अनुसार, दिउँसो १ देखि...

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७५ आश्विन १, ०८: ४३

काठमाडौं : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर...

डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत
डिजेल र मट्टीतेलको मूल्य ३० रुपैयाँले बढ्यो, पेट्रोलको यथावत
  • २०७५ आश्विन १, ०८: ४३

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। निगमले बुधबार मध्यराति १२ः०० बजेदेखि लागू हुने गरी डिजेल, मट्टीतेल...