
१. नेपाली काङ्ग्रेसको महाधिवेशन सन्निकट छ अर्थात् २०७८ मंसिर २४ बाट सुरु हुँदैछ । पाँच पटक सारेर तय गरिएको समय हो जसमा अहिले पनि १६ जिल्लामा जिल्ला अधिवेशन बाँकी छ ।
नेकपा माओबादी केन्द्रको आउने पुसको ११ बाट सुुरु हुँदैछ । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना महाधिवेशन सम्पन्न गरेका छन् । एमालेको निर्वाचनलाई जुन दृष्टिकोणबाट विश्लेषण गरे पनि आज भएका दलहरुमध्ये सांगठनिकरुपमा चुस्त र दुरुस्त तयारी अवस्थाको दलको रुपमा लिन सकिन्छ ।
एकदलीय अभ्यासभित्र वहुदलीय प्रतिस्पर्धामा अब्बलचाहिँ देखिएको छ एमालेको संगठन । हामीले राजनीतिप्रति चासो राख्ने बेलामा सुनिन्थ्यो, सोभियत संघमा पनि निर्वाचन हुन्छ, चीनमा पनि निर्वाचन हुन्छ, क्युबामा पनि निर्वाचन हुन्छ तर दलले तोकेको व्यक्तिबाहेक अरुले मनोनयन पत्र दाखिला गर्न पाउँदैनन् र निर्वाचनका दिन जनता मत दिन जान्छन्, त्यही एकजनालाई मत दिन्छन् र उसले कति प्रतिशत मत पाउँछ, त्यसैमा उसको लोकप्रियता जाँचिन्छ ।
अनि हाम्रा ती स्वनामधन्य प्रगतिशील साथीहरुले भन्थे, त्यस्तो निर्वाचन के निर्वाचन जहाँ थोरै मतले जितेको हुन्छ, उसका विरोधीहरुको मत उसको भन्दा बढी हुन्छ । अनि के पनि भन्थे भने प्रजातन्त्र भनेको मुर्खहरुको मुर्खहरुले तयार गरेको र मुर्खलाई चुन्ने एउटा सामन्तीहरुको व्यवस्था हो । एमालेको यसपटकको निर्वाचनका सम्पूर्ण प्रक्रियाले त्यही एकव्यक्तिको मनोनयनलाई जनताले ठप्पा लगाउने जस्तो देखियो ।
तर संगठनलाई जीवन्त राख्ने काम भयो र अर्को पाँचवर्षसम्मका लागि महाधिवेशनको लन्ठो बाँकी रहेन किनभने ७१सालमा भएको निर्वाचनदेखि ७ वर्ष भइसकेको थियो निर्वाचन नभएको र देखावटीरुपमा भए पनि संविधानका धारालाई मान्नु जो जरुरी थियो । मानियो । एमालेको महाधिवेशन उद्घाटनमा जम्मा भएका नेपाली जनताको संख्या र अपनाइएको निर्वाचन प्रक्रियाको प्रतिध्वनि अरु केही वर्षसम्म रहिरहने छ । सकारात्मक र नकारात्मक दुवै प्रभावका लागि ।
२. नेपाली कांग्रेसमा प्रजातन्त्रप्रतिको आस्था त जस्ताको तस्तै देखिन्छ, जतिसुकै विकृति भित्रिए पनि आन्तरिक प्रजातन्त्रमा भने कुनै सकर नमानी अपनाएको पाइन्छ । अहिले नै देखियो नि, आन्तरिक प्रजातन्त्रको अभ्यास गर्दा आम निर्वाचनको झझल्को आयो भन्ने कुरा आम सञ्चारका माध्यमहरुले व्यक्त गरेका छन् । त्यसले संगठनलाई चलायमान बनायो र समर्थक सदस्यहरुलाई चारतारे झन्डा बोकेर हिँड्न र रुखको चिन्हलाई आत्मसात् गर्न सिकायो ।
कम्तीमा पनि निर्वाचनमा हारिन्छ, जितिन्छ र हार्दैमा भविष्यमा लड्ने हक रहेको हुन्छ र कोसिसका लागि समय प्राप्त हुनेछ भन्ने पनि सिकाएको छ । अब छिटै हुने भनिएको स्थानीय निर्वाचनमा कसरी जित्ने भन्ने कुरामा सबैको सहमति र सहयोग नभए दलको जित कसरी अवश्यभावी हुन्छ भन्ने कुरामा पनि एकअर्काले मित्रता कायम गरेको देखिएको बताइन्छ । आन्तरिक निर्वाचनमा पनि जुन खर्च गरिएको देखियो, त्यसबाट भने भविष्यमा आन्तरिक निर्वाचन पनि कसरी लड्ने भन्ने चिन्ताचाहिँ थपिएको छ ।
आन्तरिक निर्वाचनमा पनि स्थानीय, प्रादेशिक तथा संघीय निर्वाचनमा जस्तै खर्च गरिएको सुनियो, देखियो । यसलाई आन्तरिक निर्वाचनमा कसरी कमी गर्ने, अस्वस्थ प्रतिस्पर्धालाई कसरी स्वस्थ बनाउने अनि खर्चिलो, भड्किलो निर्वाचनबाट कसरी सहज, सरल र सामान्य प्रजातान्त्रिक अभ्यासका रुपमा विकसित गर्ने भन्ने समस्याचाहिँ देखिएको हो । अर्को कुरा आन्तरिक निर्वाचनमा पनि क्षमता र निरन्तरताको कुराचाहिँ गर्ने तर क्षमताभन्दा गुट, जात, मनी, मसलको भरमा जित्ने अभ्यास भएको पनि देखियो ।
यसले परस्परमा विवादास्पद काम भएको पाइयो । बीपी कोइरालाको दलमा सिद्धान्तभन्दा, त्यागभन्दा, अरु नै तत्वले प्रभाव पारेर संस्थालाई अविश्वसनीय बनाउन सक्ने अवस्थासमेत आयो भन्ने गुनासो पनि सुनियो ।
एकातिर संगठन चलायमान भयो भन्ने खुसी, मानिसहरुमा प्रजातन्त्रको सही अभ्यास गर्न पाए भन्ने सन्तोष, अर्कोतिर प्रजातन्त्रको मान्यताभन्दा बढी, सामूहिकताको अर्थभन्दा व्यक्तिगत स्वार्थसिद्धिमा लागेको देखियो भन्ने पनि आयो । यसले दुईवटा कुराको संकेत गरेको देखिन्छ, या त निर्वाचन प्रक्रियामा प्रजातन्त्रको कुराले मात्र प्राथमिकता पायो, सामूहिक भावना र सामाजिक न्यायको लेपन लाग्न सकेन ।
संगठनमा ज्येष्ठता, श्रेष्ठता, क्षमता, निरन्तरतासँगै सबैभन्दा प्राण भनेको सिद्धान्तप्रतिको हार्दिक निष्ठा हो । यदि नेपाली कांग्रेसमा प्रजातान्त्रिक निष्ठा, सिद्धान्त र सामूहिकताको कमी भयो भने चारताराको अस्तित्व लोप हुनेछ ।
प्रजातन्त्रप्रतिको त्याग समाप्त हुनेछ र सिद्धान्तमा अविचलता नै नेपाली कांग्रेसको पहिचान हो, त्यो नै अवसरवादितामा बदलियो भने संगठनको स्थूलताले कुनै काम गर्ने छैन । प्राणविनाको शरीरको जसरी काम हुँदैन, त्यस्तै हो सिद्धान्तप्रतिको अगाध आस्था, निष्ठा र त्यागको भावना नभएका कार्यकर्ताहरुले सुुुसज्जित दलको संगठन ।
संघीय स्वरुपमा पहिलोपटक गरिएको निर्वाचन प्रक्रियामा कुनै त्रुटि देखिएको छ भने निर्मम तरिकाले विश्लेषण गरी निर्वाचन प्रक्रियालाई बदल्न सक्नुपर्छ । सायद नीति अधिवेशन भयो भने यसमा पक्कै छलफल होला र व्यावहारिक निर्वाचन प्रणाली राख्नका लागि प्रस्ताव आउला, आवश्यक परे विशेष महाधिवेशनको व्यवस्था समेत गर्न सकिएला ।
३. नेकपा माओबादी केन्द्र खुलारुपमा देखिएको पनि १५ वर्ष भइसकेको छ । जहिले पनि आन्दोलनका नाउँमा संगठन गरेर यहाँसम्म आएको दलले प्रतिस्पर्धामा जान सकेको छैन आन्तरिक तवरबाट ।
त्यसैले भनिन्छ, बल्ल प्रजातान्त्रिक दलको रुपमा परिणत हुने अभ्यासमा लागेको छ । यसपटक कांग्रेस र एमालेको देखासिकी गरेर भए माओबादी केन्द्र गाउँपालिका, नगरपालिकाका वडासम्म पुगेको छ र, पालिकास्तरमा देखिएको छ, जिल्लास्तरमा निर्वाचनलाई पु¥याउने भएको छ र प्रादेशिक संगठनलाई नयाँ जीवन दिने सुुरमा छ जबकि संघीय स्वरुपका लागि आधुनिक कालमा सबैभन्दा बढी आवाज उठाउने दल त्यही नै हो ।
संघीय स्वरुपको तर बेइज्जत भएको छ, प्रादेशिक सरकारहरुको पतन, उत्थान र सरकार परिवर्तनमा देखिएको सिद्धान्तहीनता र अस्वस्थ प्रतिस्पर्धाका कारणले । यसको कारक तत्वचाहिँ एकीकृत नेकपा र त्यसपछिको विभाजित अवस्था । नेकपाको विभाजनले कोरेको अस्वस्थ प्रतिस्पर्धाले मुलुकको राजनीतिमा देखिएको अस्थिरताका अझै पूर्ण विराम लाग्न सकेको छैन ।
त्यसको कारण हो पहिले एकता नै गलत मनसायले भएको रहेछ जरासन्धको शरीर जोडिएजस्तो गरी । आफ्ना आफ्ना लुकेका अभीष्ट उद्देश्यहरु पूरा गराउन तरबार बेचुवा र घिउ बेचुवाजस्ताहरुको दाउपेचमा राज्यको नीति बन्धक भएको थियो र त्यसको परिणाम अझै कतिवर्षसम्म नेपालले भोग्नु पर्नेछ, थाहा छैन ।
४.राप्रपामा कमल थापाको निर्वाचनमार्फत् भएको वहिर्गमनले देखाएको छ । राप्रपाले पनि निर्वाचनबाट आफूलाई बल्ल प्रजातान्त्रिक प्रक्रियामा अभ्यस्त हुने छाँट देखाएको छ । तर एकहप्ताभित्रै त्यो दलमा देखिने भाँडभैलोको आकलन गर्न सकिँदैन ।
राप्रपा भनेको कमल थापा, कमल थापा भनेको राप्रपा भन्ने पर्याय रहेको कमल थापालाई चाहिँ महाधिवेशन प्रतिनिधिहरुले हराए तर उनका टिमका लाई भने जिताए । त्यसले के देखाउँछ भने नीति कमल थापामो पारित भएको छ तर व्यक्ति कमल थापाचाहिँ हारेको छ । हुन त उनले त्यसमा पूर्व राजा ज्ञानेन्द्रलाई धन्यवाद दिएका छन् व्यंग्य गर्दै, नांगो हस्तक्षेपका लागि । अर्थात् राजा तत्व पनि राप्रपामा अझै रहेछ जसले हराउन र जिताउन पनि सक्ने क्षमता रहेछ ।
धेरैजसो पदाधिकारीहरुसमेत कमल थापा पक्षधर जितको देख्दा र राप्रपाले पनि दलको स्वरुपमा काम गरेको देख्दा कसरी मूल्यांकन गर्ने भन्ने अन्यौल पनि छ तर पनि सधैँ बाक्लो दाल खान पल्किएका राप्रपाका नेताहरुले राजेन्द्र लिङ्देनलाई नै अपदस्त गरेर राप्रपा चलाउने सम्भावना पनि उत्तिकै देखिन्छ । त्यसो भयो भने राप्रपामा पनि जातीय विद्वेषको कालो छाया पर्नेछ र देखिने गरी राजाबादी र गणतन्त्रबादीहरुको दुई समूहमा राप्रपा बाँडिने छ ।
५.एमाले विभाजनको रनाहामा, फेरि विभाजनको मार खप्नु नपरोस् भनेर सबै अधिकार अध्यक्ष मण्डलका सदस्य तथा पूर्व प्रधानमन्त्री अनि निवर्तित अध्यक्ष केपी शर्मा ओलीलाई दिँदा जेजे भएको देखियो, त्यसले एमालेको आन्तरिक प्रजातन्त्रप्रतिको आस्थामा कमी रह्यो । तर कम्तीमा पनि तोकिएको समयमा, निर्वाचन गर्ने क्षमतामा अभिवृद्धि भएकोचाहिँ मान्नुपर्छ र चुस्त सांगठनिक क्षमतालाई भने प्रशंसा गर्नैपर्छ ।
तर पनि प्रजातान्त्रिक प्रक्रियाबाट अगाडि बढिरहेको दलमा अचानक एकदलीय स्वभावले ग्रस्त बनाउँदा आउने नकारात्मक प्रभावको बिस्तारै परिणाम देखिएका किनभने माधव नेपालजीसँग नगएर आन्तरि संघर्षका लागि बसेकाहरु चुप बस्ने छैनन् । लाखौँ टनको रुवाको ढेरमा एकझिल्को सलाईको काँटीले जलाउन पायो भने के हुन्छ, त्यही हुन पनि सक्छ कि भन्ने अनुमान राजनीतिक विश्लेषकहरुको छ ।
६. र अन्त्यमा, नेपाली कांग्रेसले निर्वाचन प्रक्रियामा राखेको निर्वाचनमा मनोनयन दस्तुरले नेपाली कांग्रेसलाई साधारण जनताको संगठन होइन कि भन्ने देखायो । बढीमा मनोनयनका बेलामा लाग्ने दस्तुर त संसदीय निर्वाचनमा सांसद पदमा उठ्दा निर्वाचन आयोगले लिने धरौटी र दस्तुरभन्दा बढी गर्नु हुँदैनथ्यो । त्यो गल्ती हो र त्यो गल्ती केन्द्रीय अधिवेशनमा नै सुधार गर्नुपर्छ ।
एउटा नेपाली कांग्रेसको पूर्णकालीन कार्यकर्तासँग त्यत्रो पैसा कहाँबाट आउँछ ? अनि त्यो पैसाका लागि पनि कतै त कुनै कुरामा सम्झौता गर्नु पर्ने हुन्छ । कृपया बीपी कोइरालाको समाजवादी दलमा जहाँ सामान्य जनताको प्रतिनिधित्व हुन्छ, त्यहाँ निर्वाचनमा उठ्नका लागि पनि त्यत्रो दस्तुर चाहिने भयो भने कसरी आम जनताको दल भयो ? कसरी समाजवादको अभ्यासकर्ता ठानिएला ?
उदयपुर । उदयपुर जिल्लाको नेपाली कांग्रेस इतर समूहको जिल्ला अधिवेशनबाट बसन्त कुमार बस्नेत जिल्ला सभापतिमा निर्विरोध निर्वाचित भएका छन् ।...
१. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई विक्रम सम्वत २०८३सालको बडा दसैँ यसपटक अलि ढिलो सुरु हुने ज्योतिष...
काठमाडौं । भारतीय अभिनेत्री शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्र क्षेत्रका चर्चित व्यक्तित्वहरूको सहभागितामा काठमाडौं फिल्म फेस्टिभल आयोजना हुने भएको छ ।...