राजनैतिक दलका नेताहरुमा टिकामोह ! – Naya Bikalpa
November 19, 2026, Thursday      Epaper

राजनैतिक दलका नेताहरुमा टिकामोह !

नेपालीहरुको महान्चाड वडादशै भर्खरैमात्र सकिएको छ । नेपालीहरुले यस पटकको दशैमा मिठो मसिनो जे–जस्तो खाए पनि आ–आफ्नो गच्छे अनुसार सबैले रमाईलो गरी मनाएको देखियो । टाढा–टाढा बसिरहेका आफन्तहरु पनि मान्यजनहरुको हातबाट टिका थाप्न भनेर घर–घरमा पुग्ने चलन यसपाली पनि पूर्णिमासम्मै चलिरह्यो । नेपाली हिन्दूहरुको यो महान्चाड वडादशैमा आफन्तकहा जाने र मान्यजनबाट टिका लगाईदिने प्रचलन परम्परागत रुपमा चल्दै आएको छ र चलिरहने छ ।

परम्परागत रुपमा चल्दै आएको वडादशैमा यसपटक राजनैतिक दलका नेताहरुले टिका लगाई दिने होडवाजी नै चल्यो । देशका राष्ट्रपतिदेखि प्रधानमन्त्री हुँदै जिल्लास्तरका नेताहरुले समेत लाईन लगाएर कार्यकर्ताहरुलाई टिका लगाएको फोटोहरु सामाजिक सञ्जालहरुमा भरिपूर्ण भएको देखियो । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीलाई टिका लगाई दिएको दृश्यले सबै नेपालीहरु राष्ट्रपतिमाथि खनिए । राष्ट्रपति कार्यालयको व्यवस्थापनको कमीकमजोरीका कारणले राष्ट्रपति विद्यादेवी भण्डारी नराम्ररी विवादमा मुछिन पुगिन् ।

त्यसैगरी प्रधानमन्त्री एवम् नेकपामा अध्यक्ष केपी शर्मा ओलीले समय नै किटेर सरकारी निवासमा बसेर कार्यकर्तालाई टिका लगाई दिए । सरकारी निवासमा यसरी चार–चार दिनसम्म आफ्नो कार्यकर्तालाई टिका लगाउने पहिलो प्रधानमन्त्री के.पी शर्मा ओली नै हुन पुगे । आफ्ना कार्यकर्तालाई मात्र टिका लगाउदा भए पार्टी कार्यालयमा व्यवस्थापन गरेको भए राम्रो हुने थियो ।

नेपालका राजनैतिक दलमा नेताहरुले यस पटकको टिकातन्त्रलाई आफ्नो आफ्नो शक्ति देखाउने माध्यम बनाएको देखियो । दुई पटक सांसद भएको र एक पटक मन्त्री भईसकेकाहरुले समेत आ–आफ्नो घरमा बोलाई टिका लगाई दिने प्रचलन यो दशैबाट सुरुवात भएको छ । राजनैतिक दलका नेताहरुले के–का लागि यसरी टिका लगाउने चलनको सुरुवात गरेका हुन् ? त्यसको औचित्यबारे तिनीहरुले नै नेपाली जनतालाई बुझाउनेछन् । दलका नेताहरुले नेपाली जनतानै सार्वभौमसत्ता हुन भन्ने कुरा सत्तामा पुगेपछि बिर्सेका हुन् की भन्ने आभास यस पटकको टिकातन्त्रमा देखियो ।

हिन्दूहरुको महान्चाड विजया दशमीको टिका लगाउने परम्परा अनुसार आफ्नो मान्यजन व्यक्तिको हातबाट टिका लगाउनाले दुर्गा भवानीको प्रसादले कल्याण गर्ने धार्मिक विश्वास रहेको हुँदा आर्शिवाद दिने चलन रही आएको हो । तर नेपालमा राजनैतिक दलका नेताहरुले आर्शिवाद के देलान ? त्यसकारण राणाकालदेखि, पञ्चायतकालसम्म राणा महाराजाहरुले आफ्नो हुक्के, ढोके र राजालाई नै विष्णुको अवतार भनेर टिका थाप्ने प्रथालाई नेपालका गणतान्त्रिक सरकार र गणतान्त्रिक दलका नेताहरुले अंगिकार गरेको देख्दा कतै राजा बन्ने होडवाजी अथवा सर्वेसर्वा मै हुँ मलाई माने पुुग्छ भन्ने अतिवाद त होईन् ?

सम्बन्धित समाचार

किसानलाई समयमै मल आपूर्ति होस्
किसानलाई समयमै मल आपूर्ति होस्
  • २०७५ कार्तिक १४, ११: ४९

हरेक वर्ष असार लागेपछि नेपाली किसानले उहि नियति भोग्नु परेको छ, रासायनिक मलको हाहाकार । मानो रोपेर मुरी उब्जाउने असार...

निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
निजी मिडियामाथिको आर्थिक नाकाबन्दी फिर्ता गर्
  • २०७५ कार्तिक १४, ११: ४९

  सरकारले सरकारी खर्चमा मितव्ययिता ल्याउने र सूचना प्रकाशनमा एकरूपता कायम गर्ने भन्दै सबै प्रकारका विज्ञापन तथा सूचनाहरू सरकारी सञ्चार...

कांग्रेसमा वृहत्तर एकताको खाँचो
कांग्रेसमा वृहत्तर एकताको खाँचो
  • २०७५ कार्तिक १४, ११: ४९

गत फागुन २१ गते सम्पन्न आम निर्वाचनमा नेपाली कांग्रेस नराम्ररी पराजित हुन पुग्यो । यो पराजयका पछाडि रास्वपामा आएको लहर...