म एक रजस्वलीत छोरी – Naya Bikalpa
July 28, 2026, Tuesday      Epaper

म एक रजस्वलीत छोरी

रचना पन्थी – कोहलपुर

बिहानको घामको गमीलो झुल्काले मेरो घरको आँगनलाई चुम्मन गर्न नपाउँदै उठ्नुपर्ने म, आफुले आफुलाई साह्रै भाग्यमानी ठान्ने गर्थे । बिहान बिहानै आफ्नो घाँटी तन्काएर भालेले गरेको कुखुरी काँ पनि सुरिलो लाग्थ्यो । त्यो कलकल बगेको खोलाको पानी स्वच्छ र मनोरम लाग्थ्यो । आफ्ना परिवारको माया र ममता पाउँदा संसारकै भाग्यमानी लाग्थ्यो । जबसम्म मलाई रजस्वला भएको थिएन ।

अब त मलाई त्यो पारीलो घामको टाठा किरणले भेट्टाउलान् कि भन्ने डर लाग्न थालेको छ । बिहानको कुखुरी काँ आवाजले कान खान थालेको छ । त्यो कलकल बगेको पानी कतै मैले छोएर दुषित हुन्छ की डर लाग्छ । सबेरै उठेर चिसो पानी शरीरमा हाल्दा तातो रगतको सात्तो जाने गरेको छ ।

हो मलाई रजस्वला भएको छ । जुन दिनबाट हुन सुरु भयो मेरी आमाले मलाई यो समाजिक कुरितीको थोत्रो झुत्रो फोहोरी टालो दिएर मेरो रगत सोस्न लाउनुभयो र त्यसलाई अरुले नदेखोस् भनी केही झुटा काल्पनिक आस्थाले भरिएको एक अन्धकार कोठामा मलाई बस्न लगाउनुभयो । म कसरी त्यहाँ रमाएर बसुँ आमा ?
आगोले पोलेको झैं पेट दुखाइ हुन्छ र घँगारुको लौरोले चुटेको जस्तो ढाड । म कसरी त्यो अँध्यारो कुनामा रमाएर बसुँ आमा ?

यो कठ्याङ्ग्रीदो जाडोको मौसममा पनि मट्टीतेल लगाएर सल्काएको आगो झैं रन्किएका मेरा कोषहरुलाई म कसरी शान्त पारुँ ? हुन त मेरी आमाको गल्ती हैन यो । उहाँ त एक लगाम लगाएको घोडा न हो जो आफुलाई जे सिकाइयो त्यही मलाई सिकाउनु भएको न हो । त्यो लगाम लगाउनेहरु ती वरिष्ठ हुन् जसलाई न त स्त्री जातिको महत्व थाहा छ न त रजस्वलाको पिडा ।

तिनीहरुलाई त यति पनि अवगत छैन कि तिनीहरुले संसार देख्न पाउनुको कारण छारी जातिको रजस्वला नै थियो । भुलेकी छैन मैले ती गाउँका बुज्रुकहरु जो पत्नीलाई आफ्नो अधिनमै राख्नु पर्छ ठान्छन्, जो बुढी आमालाई वास्ता गर्दैनन्, जो छोरी चेली माथि आँखा लाउँछन् तिनै हुन् जो दशैँमा दुर्गा पुजा गर्न आँतुर हुन्छन् र जो लक्ष्मी मातालाई अति मान्छन् । के देवता साँच्चै प्रसन्न छन् त ?

रजस्वलाको दुखाइ सहन नसकेर छाउमै ज्यान गुमाएकी सीताको आत्माले शान्ति पायो होला ? भाइटिकामा रजस्वला भयो भने दाइ भाइको मुख हेर्नु हुन्न भन्दा कुन दिदी बहिनी खुशी होलिन् ? रजस्वला भएपछि छाउमा बस्न बाध्य बनाइएकी कैयौं निर्मलाहरुको इज्जत खोसिदा कुन बा आमा खुशी हुन्छन् ? त्यो कोठा जहाँ हावालाई पनि आउन सकस हुन्छ, घामको झुल्को पनि घुम्टो ओडेर छिर्ने गर्छ, त्यस कोठामा म कसरी खुलेर बसुँ आमा ?

हुन त यो समाज साह्रै कुरीतिलाई अठ्याउनेहरुको हो जसले छोरा कुलतमा फस्दा लुकाउँछन् र छोरी रजस्वला हँुदा । आखिर मेरो आवाज कसले सुन्ने जो यस छाउको अँध्यारो कुनामा सासको आश बोकेर बसेकी एक रजस्वलीत छोरी जो हुँ ।

सम्बन्धित समाचार

एमाले र नेकपाको सहमतिले दिएको सन्देश कति सकारात्मक ? कांग्रेसभित्रको एकता कति अपरिहार्य ?
एमाले र नेकपाको सहमतिले दिएको सन्देश कति सकारात्मक ? कांग्रेसभित्रको एकता कति अपरिहार्य ?
  • २०७५ मंसिर ३, ०७: ५७

१. प्रदेश सरकारमा चलखेलको परिणाम कुनै पनि राजनीतिक शक्तिले अतीतमा भएका गल्तीबाट पाठ सिकेका हुन्छन् तर नेपाली राजनीतिमा तत्कालको फाइदालाई...

संविधान संशोधन हल्का विषय हो र ? बालेन्द्र सरकारले सोचेजस्तै सरल काम हो र ?
संविधान संशोधन हल्का विषय हो र ? बालेन्द्र सरकारले सोचेजस्तै सरल काम हो र ?
  • २०७५ मंसिर ३, ०७: ५७

  १.संविधान संशोधन सरल काम हो र ? २०८२सालको जेनजीआन्दोलनको माग सुशासन थियो, त्यसका लागि भ्रष्टाचार निर्मूलको सर्त थियो ।...

मुलुक कता जाँदैछ भन्ने चिन्तासँगै एकताबद्ध कांग्रेसको चाहना
मुलुक कता जाँदैछ भन्ने चिन्तासँगै एकताबद्ध कांग्रेसको चाहना
  • २०७५ मंसिर ३, ०७: ५७

१. मुलुक कता जाँदैछ ? मुलुक फेरि नयाँ द्वन्द्वमा फस्ने खतरा बढेको छ । चाहे संविधान संशोधनको कृत्रिम बहानामा होस्...