
वरिष्ठ नेत्र रोग विशेषज्ञ हुन् डा. शुलक्ष्मी कटवाल । पूर्वी पहाडी जिल्ला इलाममा जन्मिएकी कटवला विगत १५ बर्षदेखि राप्ती आँखा अस्पताल दाङमा कार्यरत छन् । विशेषज्ञको जिम्मेवारीमा रहेर यति लामो समय एउटै अस्पतालमा सेवा गर्ने बिरलैमध्येमा उनी पर्छिन् । आपूmले आर्जन गरेको ज्ञान र सीपले विकटमा बसोवास गर्ने नागरिकको सेवा गर्न रुचाउने डा.कटवाल कर्तव्य पालक र इमानदार चिकित्सकको रुपमा चिनिन्छिन् । बिरामीप्रति सेवाभावमा सधैं दत्तचित्त डा.कटवालका श्रीमान पनि अर्थोपेडिक सर्जन हुन् । उनै नेत्र ज्योति विशेष डा. कटवालसँग आँखा रोगसँग केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंशः
तपाईं कसको प्रेरणाले आँखा रोग विशेषज्ञ बन्न पुग्नुभयो ?
बाबु आमाको प्रेरणाले म डाक्टर बनेकी हुँ । हामी पाँच जना दिदी बहिनी र तीन दाजु भाइ छौं । तीमध्ये सबैभन्दा कान्छी छोरी म हुँ । मलाई आमाले ४५ वर्षको उमेरमा जन्माउनुभएको रहेछ । म पेटमा आउँदा आमाले ट्यूमर हो कि के हो ? भनेर जचाउँदा चिकित्सकले तपाईँको पेटमा बच्चा छ ।
स्वास्थ्यका दृष्टिले यो नानी फाल्दा राम्रो भनेर सल्लाह दिएछन् । म पेटमा चल्न थालिसकेकाले आमाले फाल्न मान्नु भएन छ । आमाले सास आइसक्यो, चल्न थालिसक्यो म फाल्न सक्दिन भन्नुभए छ । स्वास्थ्यका देष्टिले जटिल हुने ठानेर आमा सुत्केरी गराउन दार्जिलिङ जानुभएछ म उतै जन्मिएँ ।
त्यसताका मेराबारेमा कत्तिले भने छन्, बुढेसकामा आमालाई झन्डै अप्ठ्योमा पारी भनेर कुरा काट्दा मेरो हजुर आमाले कहाँ त्यसो हुनु यो नानी त आपूmपनि बाँचेर आइ र आमालाई पनि केही भएन । यो त हाम्रो घरको लक्ष्मी हो भन्नु भए छ । अनि मेरो नाम लक्ष्मी राखिए छ । त्यही लक्ष्मी नाम अली साधारण भयो भनेर दाजु दिदीले लक्ष्मीको ‘सु’ थपेर सुलक्ष्मी नाम राखिदिएका हुन् । त्यसपछि मलाई परिवारका सदस्यले डाक्टर बनाउने भन्न थाले ।
मलाई पनि डाक्टर बन्ने हौसला जाग्यो । अनि मैले कक्षा ८ पुगेपछि कठोर निर्णय गरेँ, ‘अब म कुनैपनि हालतमा डाक्टर बनेरै छाड्छु ।’ बाबु आमाको इच्छालाई मैले लक्ष्य बनाएर अगाडि बढे । त्यतिबेला नेपालमा मेडिकल कलेजहरु एकदमै कम थिए । कताबाट मलाई भाग्यले साथ दियो । अध्यनका लागि रुस जाने अवसर पाएँ । रुसमा सात वर्ष अध्ययन गरेर नेपाल फर्किएँ । आउनासाथ बिहे भयो । बच्चा तीन पनि बर्षको भयो ।
त्यसपछि एमडी पढ्छु भनेर थालेँ नाम पनि निस्कियो पढ्न सुरु गरेँ । बच्चा हुर्काउन सजिलो हुन्छ भनेर मैले तिल गंगामा मेडिकल अफिसरका रुपमा नाइट डिउटी थालेँ । मैले एमबीबीएस पढ्दासम्म आँखा विशेषज्ञ हुन्छ भनेर सोचेकी पनि थिइँन । काम गर्ने क्रममा मलाई आँखाको विज्ञ बन्ने चाहना भयो । अनि तिलगंगाबाटै एमडी सिध्याएर आँखा रोग विज्ञ बन्न सफल भएँ ।
आँखा रोगमा मोतियाबिन्दु कस्तो खाले रोग हो ?
यसलाई सरल भाषामा भन्नुपर्दा सिसामा कुनै रंग वा धुलोले छोपे कस्तो बन्छ ? हो त्यस्तै हो आँखाको मोतियाबिन्दु पनि । जसले आँखामा सेतो खत वा दाग लागेर (बादल जस्तै) नदेख्ने गरी छोप्छ । मोतियाबिन्दुको प्रमुख कारण उमेर पनि हो । त्यसैले मोतियाबिन्दु जिरोमा झार्न गाह्रो छ । कसैलाई जन्म जातपनि हुन्छ ।
यो वंशाणुगत पनि हुन्छ । चोट पटकका कारण, बिजुलीको झड्का लाग्दा, अल्ट्रा भाइलेट, पोषण तत्वको कमिले पनि मोतियाबिन्ँदु हुन्छ ।
यो क्षेत्रका आँखा रोगीमा पहिला र अहिलेको अवस्था कस्तो देख्नुहुन्छ ?
सन १९८१ मा भएको सर्भे अनुसार राप्तीमा एक हजार जनामा नौं जनामा अन्धोपना थियो । सन २०१० मा भएको सर्भेले त्यो अन्धोपना शून्य दशमलब १३ प्रतिसतमा झरेको देखाउँछ । त्यो हाम्रो मेहेनतको फल थियो । चश्मा लगाउने रोग जस्लाई दृष्टि दोष भन्निन्छ यो देशभर कमन रुपमा छ ।
त्यसपछि मोतियाबिन्दु पनि उत्तिकै छ । हामीले आज उपचाररात्मक, रोकथामत्मक, सचेतनात्मक कार्यक्रम र शैक्षिक गतिबिधिपनि सुरु गरिरहेका छौं । नयाँ रोगमा चिनी रोगले गर्दा आँखाको सम्बेदनसील तह रेटिना खराब हुने समस्या धेरैमा देखिन थालेको छ । जलबिन्दु अर्थात आँखामा प्रेसर बढेर हुने रोगपनि ब्यापक छ ।
प्रेशर बढेपछि नयाँहरु थिचिन्छन र रक्तसञ्चार हुन पाउँदैन, अक्सिजनपनि पाउँदैन र त्यहाँको टिस्यूहरु मर्दै जान्छ । त्यसरी एक पटक ड्यामेज भएपछि सदाको लागि दृष्टि गुम्न सक्छ । कोभिड–१९ का कारण त्यस्ता बिरामी ठूलो समस्यामा परे ।
यहाँ वर्षमा कतिजतिको सत्याक्रिया र उपचार हुन्छ ?
राप्ती आँखा अस्पताल, लमही र बहादुरगञ्जमा गरी बार्षिक १२ हजार जतिको मोतियाबिन्दुको सल्यक्रिया हुन्छ । त्यो बाहेक ओपिडी सेवा लगभग दुई लाख बढीले पाउँछन् । राप्ती आँखा अस्पतालमा बर्षाको समयमा धेरै आँखाका बिरामी उपचारका लागि आउँछन् भने बहादुरगञ्जमा पुस माघमा धेरै बिरामी आउने गरेको मैले पाएकी छु ।
बर्षामा आँखा पाक्ने, चिलाउने जस्ता सरुवा रोगहरुको संक्रमण ह्वात्तै बढेर जानेहुँदा तुलसीपुरस्थित राप्ती आँखा अस्पतालमा मात्रै दैनिक ६÷७ उपचारका लागि आउने गर्छन भने बहादुरगञ्जमा जाडोयाममा मोतियाबिन्दुको उपचार गराउने धेरै आउँछन् ।
दश वर्ष पहिला र अहिलेको आँखा सेवाको तुलना गर्दा के परिवर्तन देख्नुहुन्छ ?
मैले यो अबधिलाई तुलना गर्दा धेरै फरक पाउँछु । सायद त्यो कुराको अनुभव आसपासका नागरिक र सेवाग्राहीले पनि अनुभूति गर्नु भएको होला । त्यतिखेर हामीले सामान्ने रुपमा मोतियाबिन्दुको मात्रै शल्यक्रिया गर्ने गर्दथ्यौं । अहिले निकै एडभान्स टाइपको फेको प्रबृधिबाट उपचार गरिन्छ ।
आँखाको ६ एमएमसम्मको सेतो दाग काटेर गर्नुपर्ने उपचार आज लगभग आधा सानो भाग काटेर उपचार गरिन्छ । फेको प्रविधिबाट भित्रै लेजर पठाएर कुटु–कुटु गरेर दाग भित्रै नष्ट गरिन्छ । र लेन्स हाल्ने समयमा पनि फोल्ड गरेर भित्र अनफोल्ड गरी सेन्टरमा राखेर मिलाउने गरिन्छ । अहिले आँखाको पनि भिडियो एक्सरे (स्क्यान) गरिन्छ ।
मोतियाबिन्दुको अप्रेसन गरेपछि आँखाको ज्योति फर्किने सम्भावना कत्तिको छ ?
अहिले हाम्रो अस्पतालहरुमा बिज्ञ डाक्टर मात्रै हैन धेरै उपकरण उच्चस्तरीय उपलब्ध छ । सुरुमा हामीले मोतियाबिन्दुको लेन्सपनि जाँच गर्दैन थियौं । आज हामी क्याम्पहरु गर्दापनि अनिवार्य लेन्सपनि जाँच गर्छौं । हामी भाग्यमानी छौं । त्यतिखेर कति अप्रेसन गरियो न एचआइभी न त हेपाटाइटिसको नै चेकजाँच हुन्थ्यो । तर आज ती सबै अनिवार्य हुन्छ ।
पुरुष र महिला कसमा बढी आँखाको समस्या हुनेगरेको पाउनुहुन्छ ?
सबै रिपोर्टहरु नियाल्दा महिलालाई नै बढी आँखामा समस्या देखिएको छ । ४० बर्ष माथिका महिलामा बढी आँखाको समस्या देखिन्छ । त्यसको कारण ठ्याक्कै नलेखिए पनि मेरो बुझाइमा पोषण तत्वको कमिले हो कि भन्ने लाग्छ । सहर बजारमा गाउँ घरमा अझैं पनि सबैलाई खाना खुवाएर मात्रै महिलाले खाने चलन छ ।
सासु, ससुरा श्रीमान छोरा छोरीलाई खुवाएर अन्तिममा खाने हुँदा त्यो भाँडोमा कति खाना बचेको हुन्छ ? भनेर कस्ले हेर्छ ? महिला जति छ त्यसैमा चित्त बुझाउन वाध्य हुन्छन् । आफ्नो मुखको गाँस निकालेर छोरा छोरीलाई खुवाउँछन् । त्यसकारण उनीहरुलाई आवश्यक पोषण तत्वको कमी हुन्छ । अर्को बंशानुगत पनि हुन्छ ।
किन भने महिला वा छोरी बनाउने जीन (क्रोमोजोम) सँग पनि यो सम्बन्धित छ । त्यस्तै गाउँ घरमा आज पनि धुलो, धुँवायुक्त किचेनमा काम गर्नुपर्ने हुन्छ । जसले गर्दा महिलामा आँखामा बढी समस्या हुन्छ ।
अहिले राप्ती आँखा अस्पतालले सामना गर्नुपरेको समस्याहरु के के हुन् ?
जति अगाडि बढ्न खोज्यो चुनौति त्यति धेरै निस्कदा रहेछन् । कसरी राम्रो अस्पताल बनाउँ सकिन्छ, राम्रो सेवा सुबिधाहरु दिन सकौं र यहाँका जनाता आँखा उपचारका लागि बाहिर जान नपरोस् भनेर हामी अहोरात्र लागिपरेका छौं । त्यस्तोमा संधैभरि दाताको सहयोगले मात्रै पुग्दैन । आँफैमा आत्मनिर्भर हुने उपाएको खोजी हुन आवश्यक छ । त्यसकारण राम्रो काम गर्न खोज्दा केही चुनौतिहरु हुन्छन् ।
घोडा चढ्ने ब्यक्ति लड्छ भने झै यस्ता कामहरु गर्दा चुनौतिहरु आइलाग्छन् । जति यहाँ उपचारका लागि हुन्छन् तिनीहरुको गरेर चुपचाप बस्यो भने खासै चुनौति हुँदैन । जति गर्न खोज्यो उति चुनौति आउँदो रहेछ । तर इमान्दार भए सामना गरेर अगाडि बढ्न सकिन्छ । आवश्यक भौतिक पूर्वाधार निर्माण, उपचारका लागि आधुनिक उपकरणको ब्याकअप नहुनु जस्ता समस्याहरु छन् । नौं दिनमा नौंलो, २० दिनमा बिर्सियो भने जस्तै दक्ष डाक्टर भएपनि आवश्यक उपकरण नपाउँदा जानेको ज्ञान, सीप पनि बिर्सँदै जान्छ । त्यो भनेको तालिम प्राप्त सेनालाई हतियार दिन नसक्नु जस्तो हो ।
उपलब्ध सहयोगबाट योजनासहित यो बर्ष यो किन्न र वर्ष बर्ष अर्को किन्ने भनेर सामान खरिद तथा भौतिक पूर्वाधार निर्माणको काम भइरहेको छ । धेरैले दुःख गरिएको छ, धेरैको मेहनतले अस्पताल राम्रो भएको हो । बाहिर गएर हामीले एउटा बिरामी पनि हेर्दैनौं र दुई रुपैंयाँ पनि लिन पाउँदै नौं । सबै यही मात्रै हो । त्यसैले हामी र सेवाग्राहीबीच बलियो भावनात्मक संबन्ध स्थापित छ ।
पछिल्लो समय मोबाइललगायतका प्रविधिको प्रयोगले बच्चाका आँखामा बढी समस्या देखिएको हो ?
ब्राइट लाइटबाट निस्कने एक किसिमको रेडिएसनले बच्चा हुन् वा ठला सबैलाई आइसिन्ड्रोममा असर गर्छ । लकडाउनको समयमा अनलाइन कक्षाहरु सञ्चालन हुँदा धेरै बच्चामा आँखाको समस्यामा देखिएको छ । धेरै बच्चाले आँखा ड्राइ भएको फिल गरेका छन् । पहिले नै आँखा ड्राई वा सुख्खा हुने समस्या भएकालाई झनै त्यसले समस्यामा पारेको छ ।
लगातार मोवाईल, टिभी वा ल्यापटपहरु हेरिरहँदा समस्या हुन्छ । गेम खेल्नेहरु झनै आँखा नझिम्क्याइ हेरिरहन्छन् । जबकी हामीले एक मिनेटमा १७÷१८ पटक अनिवार्य रुपमा आँखा झिम–झिम पार्नुपर्छ । आँखा झिमझिम पार्नु भनेको नक्कल पार्नु होइन । त्यसले आँखालाई ओसिलो बनाउन ठूलो भूमिका खेलिरहेको हुन्छ । आँखाको ग्रन्थीबाट निस्किएको पानी आँखा झिम्काउँदा विभिन्न भागमा पुग्न मद्दत गर्छ ।
यसबाट जोगिने उपाय के हो त ?
यस्तो समस्याबाट जोगिन पहिलो कुरा त्यसको बिकल्प खोज्ने । मोबाइल, ल्यापटप, टिभीलगायतका इलेक्ट्रोनिक सामान एकदम कम प्रयोग गर्ने । प्रयोग नगरी नहुने बाध्यात्मक अवस्थामा मात्रै प्रयोग गर्ने । र त्यसमा पनि प्रोटेक्टिभ विधि अपनाउने वा ग्लास लगाउने गर्नु राम्रो हो ।
आँखा जस्तो सम्वेदनशील क्षेत्रमा लामो समयदेखि एकै ठाउँमा काम गर्नुभएको छ, समुदायबाट कत्तिको प्रशंसा पाउनुभएको छ ?
समुदायमा धेरै थरिका मानिसहरु हुन्छन् । पोजेटिभ र नेगेटिभ दबुै कुरा आएपनि पोजेटिभ कुराहरु नै बढी आउँछन् । तर, सामन्य मानिसहरु यहाँ अस्पताल स्थापना हुँदा धेरै खुसी छन् । यो अस्पताल भएकैले घर आँगनमै सहजै उपचार पायौं भनेर खुसी साट्छन् । सुरुमा आँफू आउँदा महिलाहरु उपचारका लागि आउँदा यहाँ त सबै जना लेडिज मात्रै ? भनेर आश्चर्य ब्यक्त गरेको मैले पाएकी थिएँ । त्यो विश्वास नगरेर हो वा खुसी ब्यक्त गरेको हो ? त्यो बुझ्न पाइएन ।
तर, आज सबैले निकै विश्वास गर्नुहुन्छ । आज धेरै बिरामी मंैसंग आँखा जचाउँन र अप्रेसन गराउन लाइनमा बसेको पाउँछु । कोही मेरो नाम लिएर र कोही जात मात्रै लिएर पनि पर्खेर बस्नु भएको हुन्छ । त्यो देख्दा मलाई भित्रैदेखि खुसी लागेर आउँछ ।
विपन्न वर्गका लागि निःशुल्क सेवाहरु के÷कस्ता छन् ?
नेपालमा सबै भन्दा बढी निःशुल्क सेवा प्रदान गर्ने एउटा मात्रै अस्पताल हाम्रै अस्पताल हो भन्ने लाग्छ । हामीले आफैमा सक्षम नभएपनि अरुको गुहार मागेर सहयोग मागेर ठाउँ–ठाउँमा शिविरहरु चलाउँछौं । हामीले अहिले तुलसीपुर उपमहानगरपालिकासँग मोतियाबिन्दुको लागि सम्झौंता गरेका छौं । त्यसैगरी वडा नं. १९ सँगपनि संझौंता भएको छ । हामीलाई प्राप्त सहयोगका आधारमा वडाका सबैको निःशुल्क आँखा जाँच र उपचार गर्छौं ।
नर्बेको आइकियर भन्ने संस्थाले पनि सहयोग दिइरहेको छ । अहिले त नेपाल सरकारको पनि धेरै कोटाहरु पाउन थालिएका छौं । कहिलेकसो सरकारी र विदेशी दुबै कोटा सक्किएको समयमा सामाजिक सेवा भावले ब्यक्तिविशेषले जन्मउत्सब, बैबाहिक समारोह, पुण्यतिति जस्ता अवसरहरुमा पनि दृष्टि दान (आर्थिक सहयोग) गर्नुभएको छ ।
त्यसले पनि सजिलो बनाउँछ । यी मध्ये कुनैपनि फेला नपरेको खण्डमा अस्पतालको पोर फन्डले काम चलाउँछौं । तर, त्यसमा पेपर वर्क अली बेसी हुँदा झन्झेटिलो छ । जेहोस् मैले भन्नुपर्दा पैंशा अभावका कारण बिनाउपचार बिरामी फर्किएको अवस्था छैन ।
यस क्षेत्रमा उपचारका चुनौतिहरु के के ?
मैले अहिलेसम्म त्यस्तो नराम्रो कुरा फेस गर्नुपरेको छैन । त्यस्तो हुनेभए यति लामो समय यहाँ रहन सक्दैन थिएँ । बाहिर गएर बिरामी नजाँच्ने हुँदा बिरामीले हाम्रो पर्सनल बेनिफिट फिल गर्न पाउँदैनन् । बाहिर कसैलाई सिफारिस गर्दा एउटा चश्माबाट दुई सय आउँछ भन्नेपनि छैन । अरु अस्पतालमा जस्तो आज हेर्नलाई डेट मिल्दैन भनेर टार्ने र बाहिर क्लिनिकमा पठाउने हामी गर्दैनौं । त्यसले गर्दा बिरामीले हामीलाई धेरै विश्वास गर्नुहुन्छ ।
घरपरिवार हेर्दै, बच्चा हुर्काउँदै बाहिर शिविर सञ्चालनमा जाँदाका स्मरणयोग्य क्षण छन् ?
मेरो श्रीमान पनि छुट्टै ठाउँमा डाक्टर, म र छोरा छुट्टै ठाउँमा बसेर पढ्ने, म छुट्टै क्वाटरमा बस्ने हुँदा म त जहिलै शिबिरमा बसे जस्तै हो । अलिकति भौतिक रुपमा बिकट ठाउँमा जाँदा चाहीँ उकाली ओराली पैदल यात्रा गर्नुपथ्र्यो ।
खानपिनमा भिन्नता हुनु स्वाभाविक कुरा भयो । साथै त्यसले छुट्टै रमाईलो र अनुभूति मिल्छ । मलाई चाडपर्व र घरपरिवारका सदस्य बिरामी हुँदा बिदा नमिल्दा मात्रै फिल हुन्छ । अघिपछि त जहाँ बसेर भएपनि सेवा नै गर्ने हो । खासै अप्ठ्यारो महसुस भएन ।
अन्यका तलुनामा आँखाका डाक्टरमा सम्वेदनशीलताका हिसाबले के फरक छ ?
इमान्दारीपूर्वक सेवा भावले काम गर्ने हो भने सबै क्षेत्रका डाक्टरको काम उस्तै महत्वपूर्ण छ । तर, हाम्रोमा तुरुन्तै परिनाम देखिन्छ । अप्रेसन सिद्धिनासाथ मानिसले नयाँ ज्योति पाउँछन् त्यो बेला उनीहरुले ब्यक्त गर्ने खुसीको बर्णन शब्दमा गर्न संभव हुँदैन । त्यतिखेर उनीहरु डाक्टरलाई भगवानको दर्जा दिन्छन्, सम्मान गर्छन, अंगालो हाल्छन् , धन्यबाद दिन्छन् । त्यतिखेर मैले आँखा बिज्ञको क्षेत्रमा काम गरेर ठिक गरेकी रहेछु भन्ने लाग्छ ।
काठमाडौं । राणाशाहीको कठोर जहानियाँ शासनका बेला राजनीतिक दल खोल्न, संगठन बनाउन, स्वतन्त्र रूपमा आवाज उठाउन प्रतिबन्ध लगाइएको थियो ।...
सरकारले सरकारी खर्चमा मितव्ययिता ल्याउने र सूचना प्रकाशनमा एकरूपता कायम गर्ने भन्दै सबै प्रकारका विज्ञापन तथा सूचनाहरू सरकारी सञ्चार...
१.सुकुमबासी समस्याको शान्तिपूर्ण समाधान सुकुमबासीको परिभाषा लगाउँदा कतै घरबास र आफ्ना नाममा जीवन गुजार्न कुनै प्रकारको सम्पत्ति नभएका व्यक्तिलाई भनिन्छ...