
केहि समय अघिको कुरा हो मेरो एकजना आफन्त अमेरिकाबाट आफ्ना छोराछोरी भेटेर नेपाल फर्किदै थिए । नेपाल फर्किने क्रममा अमेरिकामै बस्दै आएका उनका छोराका साथीले केही थान बट्टा चकलेट लगिदिनुस् न, भनेर आग्रह गरेछन् ।
चकलेट नै त हो नि भनेर उनले बन्द बट्टा आफ्नो झोलामा राखेर नेपाल हिँडे । तर त्रिभुवन विमानस्थल पुगेपछि उनी घर होइन प्रहरी हिरासतमा परे । कारण थियो त्यही चकलेटको बट्टा ।
बिमानस्थलमा झोला जाँच गर्ने क्रममा उनले बोकेका चकलेटको बट्टाभित्र सुन राखिएको रहेछ जसको बारेमा उनी अनविज्ञ थिए । तर प्रहरीले उनको झोलाबाट बरामद गरेको सुन उनको छोराको साथीको हो, उनको होइन भन्ने बुझ्ने कुरै भएन । तोकिएको भन्दाबढी सुन त्यो पनि चकलेटको बट्टाभित्र लुकाएर ल्याएको भनेर प्रहरीले उनलाई हिरासतमा लियो । उनले अरुको सामान बोकेर पनि ल्याइदिए तर आफै प्रहरी खोरमा परे ।
अध्ययनको क्रममा म हङकङ जाने क्रममा त्यँहा बस्ने एकजना साथीले मलाई उनको मनपर्ने केहि नेपाली उपन्यासहरु ल्याइदिन आग्रह गरे । मैले पनि आफूसंगै पढ्ने साथीले त्यति आग्रह गरेकोले हुन्छ भने । पछि उनको दाई उपन्यासको झोला बोकेर मलाई झोला दिन आए, तब म झसङ्ग भएँ । फुर्सदमा पढ्ने उपन्यास एक दुईवटा न होला भनेको त उसले मगाएको पुस्तकको झोला नाप्दा त पाँच के.जी. पो भयो ।
तर साथीलाई हुन्छ भनिसकेकोले मैले आफ्नो पाँच के.जी. समान झिकेर उसको ती फुर्सदमा पढ्ने उपन्यासहरु लगिदिए । वचनले हार्न नसकेर मैले आफ्ना आवश्यकताका समान झिकेर उसको समान लगिदिनु परेको थियो ।
मैले त खाली सामान मात्र बोकेर जानु परेको थियो । तर मेरो एकजना साथीले त अरुको सामानको चक्करमा आफ्नो कनेकटिँग फ्लाइट समेत छुटाउन परेको रहेछ । अस्ट्रेलियाबाट छुट्टी मनाउन नेपाल पुगेकी उनी बिहान त्रिभुवन विमानस्थलमा उत्रेपछि त्यसको केहि घन्टामै उनलाई भैरहवाको लागि आन्तरिक उडान समाउनु थियो । आफ्नो सामान लिन साथी समयमा नआउँदा उनले आन्तरिक उडाननै छुटाउनुप¥यो ।
यी त केहि उदाहरण मात्रै हुन् । हिजो आज विदेश आउजाउ गर्नेको लागि ‘मेरो यति सामान लगिदिनुस न’ भन्ने कुरा निकै टाउको दुखाईको बिषय बन्ने गरेको छ । विभिन्न परिस्थितिका कारण ‘नाइँ’ भन्न नसक्ने तर अरुको ‘यति सामान’ ले आफुले भोग्नुपर्ने झन्झटका लेखाजोखा गर्ने हो भने त्यो निकै कठिन हुने गरेको छ । भन्नेलाई यतिमात्र सामान, थोरै सामान, एउटा सामान भन्ने हुन्छ तर त्यो बोकेर यात्रा गर्नेको लागि तनाबको बिषय बन्न सक्छ ।
१) अध्यागमनको जटिलता
विभिन्न देशको आ–आफ्नै अध्यागमनका नियमहरु हुन्छन् । नेपालबाट आउने थुप्रै सामानहरु विदेशमा प्रतिबन्धित छन् । अस्ट्रेलियाकै कुरा गर्ने हो भने पनि अस्ट्रेलियामा डेरी सामग्री, हरिया सागपात, बोट बिरुवा, हरियो गेडागुडी, मासु तथा मासुजन्य खाद्य सामग्री नेपालबाट ल्याउन पाइदैन ।
जसरी बनमाराले जंगल सखाप पार्छ, त्यसरी नै बिना जाँच– पास गरि ल्याइएका त्यस्ता सामानहरुले आफ्नो देश बनजंगल, फार्ममा असर गर्ला भनेर अस्ट्रेलियन सरकारले एयरपोर्टमै त्यस्ता सामान जफत गर्नुको साथै सचेत गराउनको लागि जरिवाना समेत तिराउने गर्छ । त्यसरी सामान ल्याउँदा ‘डिक्लैर’ गर्नुपर्ने हुन्छ ।
‘डिक्लैर’ गरेका सामान चेक–जांच गराउन छुट्टै लाइन लाग्नुपर्छ, आफ्नो सबै झोला, सुटकेस खोलेर देखाउनुपर्छ । त्यस्ता सामान पठाउदा एक त सामान जफत हुने डर अर्को समय बर्बाद, त्यसमाथि पनि अध्यागमन अफिसरको अनेकौ प्रश्नहरुको जवाफ दिनुपर्ने बाध्यता ।
२) एयरलाइन्सले तोकेको सिमित वजन
लगेज (झोला) को संख्या र वजन फरक एयरलाइन्सको लागि फरक हुन्छ । प्रायजसो एयरलाइन्सले एउटा लगेज र ह्याण्ड ब्याग गरेर ३० के.जी. सम्म वजन एकजना यात्रुको लागि तोकेका हुन्छन् तर ‘मेरो यति समान लगिदिनुस न’ हरुले त्यतातिर ध्यान दिंदैनन् ।
यात्रा गर्ने व्यक्तिकै समान अटाइ नअटाइ हुँदा त्यसरी आफ्नो सामान लगिदिन आग्रह गर्दा कुन एयरलाइन्समा यात्रा गर्न लागेको भन्ने कुराको हेक्का नराख्दा यात्रा गर्ने व्यक्तिले तनाब भोग्नुपर्ने हुन्छ । तोकिएको वजनभन्दा बढी हुँदा बढी वजनको पैसा तिर्नुप¥यो कि त सामान झिक्नुप¥यो ।
घन्टौ लगाएर लगेजमा मिलाएर राखिएको सामान एयरपोर्ट पुगेर निकाल्नुको झन्झटको हिसाब केबल पर्ने मान्छेलै मात्र थाहा हुन्छ । सामान झिक्ने र मिलाउने मेसोमा प्लेन नै छुट्न समेत सक्छ ।
३) लगेको सामान पु¥यादिने झन्झट
अटाइ न अटाइ सामान बोकेर लगिदिनु सम्ममात्र परे त हुन्थ्यो नि, त्यो सामान सम्बन्धित व्यक्तिसम्म पु¥याइदिनु पर्ने काम अर्को तनावपूर्ण काम हो । कसैलाई समान लगिदिएर मात्र पनि हुन्न घरमै पुराई दिनुपर्ने सम्म हुनसक्छ । सामान लिन आइहाले पनि आधा बाटो ‘आइदिनुस न’, को अर्को आग्रह सुन्नुपर्छ । घरमै लिन आइहाले पनि आफुले सामान लिन आउने व्यक्तिको समय अनुसार तालिका मिलाउनुपर्ने बाध्यता ।
त्यो समयमा आफु व्यस्त भएता पनि समय मिलाउनुपर्ने बाध्यता । त्यसमा पनि सामान लिन, भेट्ने समय, लोकेशन, डिरेक्सन लगायतका लागि गरिने फोन खर्चको हिसाब त छुट्टै छ ।
४) आधिकारिक सूचना दिने निकाय नहुनु
अर्को महत्वपूर्ण कुरा भनेको यात्रा गर्दा आफुले बोकेर गएको सामानले समस्या उत्पन्न हुन सक्छ भन्ने कुरा कतिलाई लाई थाहा नहुन पनि सक्छ । ति यावत नियमहरु थाहा नभएकाहरुलाई जानकारी दिने आधिकारिक निकाय नहुनु अर्को समस्या हो ।
कति जना पहिलो पटक विदेश यात्रा गरेको हुन सक्छ र त्यस्ता व्यक्तिहरुलाई एयरलाइन्स र भन्सार सम्बन्धि नियमहरुबारे थाहा नहुन सक्छ । यस्ता बिषयमा न त एयरलाइन्सले कुनै जानकारी दिन्छ न त भन्सारले । त्रिभुवन विमानस्थलमै यस्ता नियमहरुबारे जानकारी दिने एउटा आधिकारिक सूचना केन्द्रकोे स्थापना गराउने हो भने यात्रुहरु यस्ता झन्झटहरुबाट बच्न सक्थे ।
भन्सार र एयरलाइन्सको समन्वयनमा विमानस्थलमा सूचना केन्द्रको स्थापना गरेर यात्रुहरुलाई सहि र आधिकारिक जानकारी दिन सकेमा विदेशको विमानस्थलमा यात्रुले न त आफुले लागेको समान फ्याँक्नु पर्छ, न जरिवानाको भागिदार बन्नुपर्छ न नै अनेकन समस्या व्यहोर्नुपर्ने हुन्छ ।
यसको साथसाथैै, आफ्ना प्यासेन्जरहरुलाई समस्या नहोस भन्ने ख्याल एयरलाइन्सले पनि राख्नुपर्छ ।
एयरलाइन्सको टिकट काटेर पैसा वसुल गर्ने मात्र दायित्व हो कि आफ्ना प्यासेन्जरहरु सजिलोसंग गन्तब्यसम्म पुगुन् भन्ने पनि हो ? त्रिभुवन विमानस्थलमा लगेजको वजन नाप्ने बाहेक सामानको बारेमा सामान्य सोधपुछ समेत गरेको पाइन्न । यदि सुरुमै त्यस्ता लैजान नमिल्ने सामानको बारेमा जानकारी दिए देखि यात्रु समस्यामा पर्नबाट बच्न सक्छन ।
विमानस्थल प्रवेश गर्ने गेट अथवा विमानस्थल प्रवेश गरिसके पछि भारतीय कलाकारको फोटो भएका बिज्ञापन भन्दा यात्रुहरुका लागि जानकारीमुलक सूचना भएका सूचना बोर्डहरु राखिदिए पनि यात्रुहरुको लागि उपयोगी हुनसक्छ ।
तसर्थ, ‘मेरो सामान लगिदिनुस न’ भन्नु पूर्व एक पटक आफै त्यो यात्रा गर्ने व्यक्तिको ठाउँमा उभिएर हेर्न जरुरी छ । औषधी, अत्ति आवश्यक कागजपत्र जस्ता सामान बाहेक अन्य सामान स्वदेश होस् या विदेश कतै पनि लगिदिन आग्रह गर्दा यी यावत कुराहरुमा ध्यान दिने हो भने यात्रा गर्ने आफन्तलाई पनि सजिलो हुन्छ । अरुको सामान बोकेर यात्रा गर्दा त्यसबाट निम्तिन सक्ने खतराबारे यात्रा गर्ने व्यक्ति आफू पनि सचेत हुन जरुरी छ ।
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...
१. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई विक्रम सम्वत २०८३सालको बडा दसैँ यसपटक अलि ढिलो सुरु हुने ज्योतिष...
१. आयो दसैँ ढोल बजाई, गयो दसैँ ऋण बोकाई विक्रम सम्वत २०८३सालको बडा दसैँ यसपटक अलि ढिलो सुरु हुने...