भारतीय दूतावासको आयोजनामा लुम्विनीमा सम्पन्न भयो ‘बुद्ध जयन्ती महोत्सव’ – Naya Bikalpa
April 17, 2026, Friday      Epaper

भारतीय दूतावासको आयोजनामा लुम्विनीमा सम्पन्न भयो ‘बुद्ध जयन्ती महोत्सव’

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनीमा बुद्ध जयन्ती महोत्सवको बुधबार उद्घाटन गरेका छन्।

बुद्ध जयन्तीको शुभ अवसरमा भारतीय राजदूतावासले लुम्बिनी विकास कोष तथा लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा मिति बुधबार लुम्बिनीमा वुद्ध जयन्ति महोत्सव आयोजना गरेको थियो।

सो अवसरमा लुम्बिनी साँस्कृतिक नगरपालिकास्थित राजकुमार सिद्धार्थको प्रतिमा, पवित्र उद्यान नजिकै आयोजित चित्रकला प्रदर्शनी र साँस्कृतिक साँझ कार्यक्रमको प्रधानमन्त्री दाहालले उद्घाटन गरेका हुन्।

सोही दिनको पूर्वमध्यान्हबाट लुम्बिनी बौद्ध विश्वविद्यालयमा “बुद्ध धर्म र वैश्विक शान्ति” विषयकमा आयोजित विचार गोष्ठी भएको थियो।

भारत र नेपालका विशिष्ट बौद्ध विद्वानहरुको सहभागीता रहेको गोष्ठीमा आधुनिक जगतमा भगवान् बुद्धका शिक्षाको सान्दर्भिकताका बारेमा आ–आफ्ना विचार, अन्तर्दृष्टि व्यक्त गरेका थिए।

वक्ताहरुले भारत र नेपालबीचको अद्वितीय र समृद्ध बौद्ध सम्बन्धबारे प्रकाश पारेका थिए।

‘भगवान् बुद्ध र वहाँका शिक्षाहरु’ सम्बन्धी चित्रकला प्रदर्शनीको उद्घाटन प्रधानमन्त्री दाहालले गरेको र जसमा काठमाडौं र लुम्बिनीका विद्यालयका विद्यार्थीहरुले तयार पारेका उत्कृष्ट चित्रहरु राखिएको काठमाण्डूस्थित भारतीय दूतावासले जनाएको छ।

चित्रहरुमा भगवान् बुद्धको जीवन र शिक्षाका विभिन्न पक्षहरुलाई चित्रण गरिएको थियो। वैशाख बुद्ध पूर्णिमाको पूर्वसन्ध्यामा आयोजित साँस्कृतिक साँझमा भारत र नेपालका साझा बौद्ध सम्पदा र परम्परा झल्काउने जीवन्त प्रस्तुतिहरु समावेश थिए।

हिनयान र महायान परम्पराका परम्परागत जपको बौद्ध भिक्षुहरुले पाठ गरेसँगै कार्यक्रमको सुरुवात भएको थियो जसको आयोजना लुम्बिनी विकास कोषले गरेको थियो।

भारतकी कविता द्विवेदी र उनको नृत्य टोलीद्वारा ‘श्वेत मुक्ति–द फेमिनिन ग्लोरी अफ निर्वाण’ शीर्षकमा नृत्य, प्रसिद्ध भारतीय गायिका डा.सुभद्रा देसाईद्वारा भजन र धम्म गीतहरुको मार्मिक प्रस्तुति र सुरेन्द्र श्रेष्ठको नेतृत्वमा प्रख्यात नेपाली साङ्गीतिक समूह ‘सुर सुधा’ द्वारा बौद्ध गीतहरुको भावपूर्ण साङ्गीतिक संग्रहको प्रस्तुति गरिएको थियो।

स्वागत मन्तव्य व्यक्त गर्दै राजदूत नवीन श्रीवास्तवले भारत र नेपालको साझा बौद्ध विरासत र सम्पदा एक कडीको रुपमा रहेको जसले दुवै देशका जनतालाई शताब्दीयौंदेखि जोडेको बताए।

नेपालको लुम्बिनी र भारतको बोधगया, सारनाथ र कुशीनगर पवित्र भूमिहरु हुन् जहाँबाट भगवान् बुद्धको सर्वव्यापी शिक्षा विश्वका अन्य भागहरुमा फैलिएको थियो।

राजदूतले भारत र नेपालका जनताको कल्याण हेतु वर्तमान समयमा यो साझा विरासतलाई सुदृढ गर्न भारतको प्रतिबद्धता निरन्तर रहिरहने कुरामा जोड दिए।

प्रधानमन्त्री दाहालले सुन्दर चित्रकला प्रदर्शनी र जीवन्त साँस्कृतिक कार्यक्रमका लागि भारतीय राजदूतावास र सबै कलाकारहरुको प्रशंसा गरेका थिए।

उनले भारत र नेपालको द्विपक्षीय सम्बन्धमा संस्कृतिले विशेष स्थान ओगटेको र यस्ता कार्यक्रमले हाम्रा दुई देशबीचको मित्रता र सद्भावको बन्धनलाई थप मजबुत बनाउने बताए।

उनले यस्ता कार्यक्रम गर्वको स्रोत मात्र नभई ज्ञानको खजाना रहेको भन्दै विभिन्न क्षेत्रबीचको सहकार्यले मजबुत बनाएको नेपाल र भारतबीच सदियौं पुरानो, बहुआयमिक सम्बन्ध रहेको बताए।

कार्यक्रममा उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ, लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महरा, प्रदेशस्तरका नेतासहित लुम्बिनी विकास कोषका उपाध्यक्षको समेत उपस्थिति थियो।

कार्यक्रममा भारत र नेपालका विभिन्न बौद्ध सम्प्रदाय र गुम्बाका प्रतिनिधिहरुका साथै सर्वसाधारणको उपस्थिति थियो।

राजदूत श्रीवास्तवले प्रधानमन्त्री दाहाललाई भारतको सिक्किमको विस्तृत रुपले चित्रण गरिएको थाङ्का चित्र उपहारस्वरुप प्रदान गरेका थिए।

 

सम्बन्धित समाचार

करको दर पुनरावलोकन गरी पेट्रोलियम पदार्थको मूल्य घटाउ :कांग्रेस
करको दर पुनरावलोकन गरी पेट्रोलियम पदार्थको मूल्य घटाउ :कांग्रेस
  • २०८१ जेष्ठ १०, १४: १८

काठमाडौँ।नेपाली कांग्रेसले पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढेको भन्दै घटाउन माग गरेको छ । त्यसका लागि करका दरहरू पुनरावलोकन गर्न कांग्रेसले...

इजरायल र लेबनानबीच १० दिने युद्धविरामको सहमति
इजरायल र लेबनानबीच १० दिने युद्धविरामको सहमति
  • २०८१ जेष्ठ १०, १४: १८

इजरायल र लेबनानबीच १० दिने युद्धविरामको सहमति भएको छ । बिहीबार साँझदेखि लागु हुने गरी दुई देशबीच युद्धविरामको सहमति भएको...

वैशाख कृष्ण औंसी आज, आमाको मुख हेर्ने पर्व मनाइँदै
वैशाख कृष्ण औंसी आज, आमाको मुख हेर्ने पर्व मनाइँदै
  • २०८१ जेष्ठ १०, १४: १८

काठमाडौं : प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर...