
धुलिखेल। गत असोज ११ देखि १३ गतेसम्म परेको अविरल वर्षापछिको बाढीपहिराले नगरपालिकाको विभिन्न क्षेत्रमा एक अर्ब रुपैयाँभन्दा बढीको क्षति पुगेको भन्दै धुलिखेल नगरपालिकाले सरकारसँग ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणाको माग गरेको छ।
नगरप्रमुखसहित जनप्रतिनिधिले उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकसँग भेट गरी ‘सङ्कटग्रस्त क्षेत्र’ घोषणाको माग गरेका हुन्।
नगरप्रमुख अशोक ब्याञ्जूसहितको टोलीले करिब एक अर्ब रुपैयाँको बराबरको क्षति भएपछि नगरलाई क्षतिग्रस्त नगरपालिका घोषणा गर्न ध्यानाकर्षण गराउन उपप्रधानमन्त्री सिंह र गृहमन्त्री लेखकलाई ज्ञापनपत्र बुझाइएको हो।
सरकारले असोज अन्तिमसाता काभ्रेका १३ मध्ये धुलिखेल र बनेपा नगरबाहेक ११ स्थानीय तहलाई सङ्कटग्रस्त स्थानीय तह घोषणा गरेको थियो।
नगरप्रमुख ब्याञ्जूले धुलिखेलको अवस्था र विपदपछि पुनर्निर्माण एवं पुनर्वासका लागि सरकारले खेल्नुपर्ने भूमिकाका बारे उपप्रधानमन्त्री सिंह र गृहमन्त्री लेखकलाई जानकारी गराएको बताए।
उनका अनुसार ध्यानाकर्षण पत्रमा धुलिखेलको ठकुरीगाउँ, भ्याण्डोल तथा इटोलको फोहोर पानी प्रशोधन केन्द्रसमेतको पुनर्निर्माणका लागि ध्यानाकर्षण गराइएको छ।
नगर प्रमुख ब्याञ्जूले धुलिखेल खानेपानी, काभ्रे एकीकृत खानेपानी, सडक, विद्यालय तथा अन्य संरचनाको क्षतिमासमेत सरकारको सहजीकरणका लागि ध्यानाकर्षण गराइएको बताए।
उनले गृहमन्त्री लेखकलाई विभिन्न क्षेत्रको पूर्वाधारसहित निजी आवाससमेत गरी करिब एक अर्ब रुपैयाँ बराबरको भएको प्रारम्भिक तथ्याङ्क विवरण बुझाइएको बताए।
नगर कार्यालयअनुसार बाढीपहिराले धुलिखेल नगरको वडा नं १, २, ३, ४, ८, ९, १०, ११ र १२ मा बर्सातका कारण धेरै क्षति भएको छ भने ८ र ११ नं वडामा दुई नागरिकले ज्यानसमेत गुमाएका छन्।
जिल्ला विपद् व्यवस्थापन समितिले भने कात्तिक पहिलो साताको बैठकले सिङ्गो काभ्रेपलाञ्चोकलाई नै सङ्कटग्रस्त घोषणा गर्ने निर्णय गरेको छ।
नगर कार्यालयको प्रारम्भिक तथ्याङ्कअनुसार ६४ घर पूर्णरुपमा र पाँच सय ७२ घर आंशिक क्षति भएका छन्। धिताल खोला हुँदै बहने सिँचाइमा ५० लाख बराबरको क्षति पुगेको छ भने साढे आठ किलोमिटर पक्की सडक, ८० किलोमिटर ग्राभेल सडक तथा एक सय १० किमी कच्ची सडक पूर्ण क्षति पुगेको कार्यालयले जनाएको छ।
पशुधनमा १८ लाख र ११ वटा विद्यालयमा पाँच करोड २५ लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ।
नगरको आफ्नै फाइबर केबुल पाँच हजार मिटर, टिफिन बक्स, क्यामेरालगायतका विभिन्न उपकरणमा क्षति पुगेको छ।
एक हजार दुई सय रोपनीको मकै, दुई हजार पाँच सय रोपनीको धान, दुई हजार रोपनीमा लगाएको तरकारी र १५ वटा तरकारी टनेलमा क्षति पुगेको जनाइएको छ । नगरले निजी आवासबाहेक रु ६५ करोड बराबरको क्षति भएको विवरण तयार गरेको छ ।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...