काठमाडाैं । पार्टी मुख्यालय सानेपाबाटै अन्तरघातीहरुलाई संरक्षण दिने अनि अन्तरघातका कारण संघका ३० र प्रदेशका ४० ठाउँमा कांग्रेसका उम्मेद्वारले हारे भनेर खड्काले पार्टीमा पानीमाथिको ओभानो भनेजस्तो र भुुँइको टिप्न खोज्दा पोल्टाको पोखिने डर भन्ने उखान कांग्रेसभित्र चरितार्थ हुन थालेको छ । तीन बर्षअघि संघ र प्रदेशको चुनाव हुनुअघि शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसका सभापतिमा निर्वाचित भइसकेका थिए । दुईजना उपसभापतिमध्ये एकजना पूर्णबहादुर खड्का देउवा समूहबाटै निर्वाचित भएका हुन् ।
पदने हैसियतमा खड्का पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पनि छन् । प्रतिष्ठानले गत सोमबार पोखरामा प्रदेश सभापति, जिल्ला सभापति र प्रशिक्षण विभागका प्रमुखहरुका लागि अभिमुखीकरण कार्यक्रम गरेको थियो । उद्घाटन कार्यक्रममा उपसभापति खड्काले अन्तरघात कांग्रेसको महारोग भएको बताए ।
उनले गएको चुनावमा प्रदेशका ४० ठाउँमा र संघका ३० ठाउँमा अन्तरघातकै कारण पार्टीका उम्मेदवारले हारेको भन्दै निरिहता प्रकट गरे । पार्टीको निर्णायक तहमा रहेका खड्काले यस्तो तथ्यांक प्रमाणका आधारमा प्रस्तुत गरेका हुन् कि आसेपासेका कुरा पत्याएर मिथ्यांक कुरा गरेका हुन् ? देशभरका सच्चा कांग्रेस कार्यकर्ताले खड्कासंग यसको जवाफ मागेका छन् । यदि साँच्चै तथ्यांकलाई आधार मानेर भनेका हुन् भने पार्टीका नेता तथा कार्यकर्ताले थाहा पाउनु पर्छ ती अन्तरघाती को को हुन् त ? आजको दिनमा ती अन्तरघातीलाई केन्द्रका कुन कुन नेताले धाप मारेर संरक्षण दिइरहेका छन् ? अथवा केन्द्रबाट तिनै अन्तरघातीहरुलाई संरक्षण गर्ने नेताहरुले पार्टीको जिल्ला, प्रदेश, केन्द्र वा विभागमा कहाँ कस्तो जिम्मेवारी सुम्पेका छन् ? यदि त्यस्तो हो भने अन्तरघातका कारण संघ र प्रदेशमा कांग्रेसका यति धेरै उम्मेदवारले पराजय भोग्नु पर्यो भनेर उपसभापति वा अन्य कुनै पदाधिकारीले भन्नुको कुनै अर्थ रहला र ? त्यसकारण उपसभापति खड्काले अन्तरघातीको सूची तयार गरी सार्वजनिक गर्न सकेमात्र वास्तविक अन्तरघातीको पहिचाने हुनेछ । अन्यथा भाषणको लागि भाषन र पानीमाथिको ओभानो भनेजस्तै उखान चरितार्थ हुनेछ । पार्टीमा अनुशासनको ठूलो महत्व हुन्छ । अनुशासनहीन कार्यकर्ता पार्टीका लागि घातक हुन्छन् । त्यसैकारण हो, पार्टीलाई अनुशासनका राख्नका लागि कांग्रेसले केन्द्रीय अनुशासन समिति गठन गरेको पनि । चाहे स्थानीय होस् वा प्रदेश अथवा संघमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउनका लागि कम्मर कसेर लागेका नेता कार्यकर्ता जो सुकै होउन् तिनलाई अनुशासन समितिले कार्बाही गर्ने हिम्मत गर्नुपर्छ ।
अन्तरघातका कारण कुन कुन प्रदेशका कुन कुन क्षेत्रबाट कांग्रेसका को को उम्मेदवार पराजित भएका हुन् ? अनि संघमा कुन कुन जिल्लाको कुन कुन क्षेत्रबाट कांग्रेसका उम्मेदवार पराजित भएका हुन् ? यसरी पराजित हुँदा प्रदेश सरकार गठनमा कांग्रेसलाई के कस्तो सकस परेको थियो ? उपसभापति खड्काले भन्न सक्नुपर्छ फलानो प्रदेशमा फलानो फलानो अन्तरघातीका कारण सरकार गठनमा समस्या आएको छ ।
जर्नेल शैलीको आलोचना
पूर्बबर्ती पुष्पकमल दाहालको सरकारमा कांग्रेसले पार्टीका तर्फबाट उपसभापति खड्काको नेतृत्वमा मन्त्रीहरु पठाएको थियो । जतिबेला उनी रक्षामन्त्री बनेका थिए । गतवर्ष ललितपुरको गोदावरीमा आयोजित महासमिति बैठकमा खड्काले प्रस्तुत गरेको प्रतिवेदनमा सहयात्री दल माओवादीका बारेमा गरिएको टिप्पणीका कारण माओवादी कांग्रेस गठबन्धन टुटेपछि कांग्रेस सरकारबाट बाहिरिनु परेको थियो । पूर्ब रक्षामन्त्री खड्काले पार्टीका नेता कार्यकर्तामाथि जर्नेल शैली अपनाउदै आएका छन् ।
पोखरामा आयोजित अभिमुखीकरण कार्यक्रममा सभापति र आफूबाहेक महामन्त्रीहरुलाई समेत मञ्चमा आशनग्रहण नगराउनुका पछाडि उनको त्यहि शैली हावी भएको पोखरामा उपस्थित कांग्रेसी नेताहरुमाझ चर्चाको विषय बनेको थियो । नेतृत्वको कार्यशैलीलाई लिएर कांग्रेसका मञ्चमा बाक्लै टिकाटिप्पणी हुन थालेपछि खड्काले अन्य पदाधिकारी र सिनियर नेताहरुलाई मञ्चमा स्थान नदिएका हुन् । अर्कातिर १५ औं महाधिवेशनमा संस्थापन पक्षबाट आफू नै सभापतिको दाबेदार भएको सन्देश दिनका लागि पनि उनले यस्तो रणनीति अघि सारेको कांग्रेसजनबीच चर्चा छ ।
कतिसम्म भने प्रतिष्ठानलाई उपसभापति खड्काले पार्टीको नभई व्यक्तिगत संस्था जस्तो बनाएको उपस्थित भएका सहभागीाहरुले बताएका थिए । होइन भने पार्टीको केन्द्रीय स्तरको कार्यक्रममा किन अन्य सिनियर नेताहरुलाई निम्तो दिइएन त ? १४ औं महाधिवेशनमा सभापतिका प्रतिस्पर्धी डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधिमात्र होइन, पूर्व महामन्त्रीद्धय डा. शशांक कोइराला र कृष्णप्रसाद सिटौलालाई पनि खड्काले निम्तो दिन कन्जुस्याई गरेका थिए । यस्तो शैलीलाई पोखरामा भेला भएका कांग्रेस नेताहरुले खड्कालाई हैकमबादी सोचका नेता भनी आलोचना गरेका छन् ।
उपसभापति खड्काले २०८१, ०८२ र ०८३ का अभियान पार्टीले सञ्चालन गरेमा ०८४ को आमचुनावमा एक्लै बहुमत आउने दाबी गर्दा हलमा रहेका नेताहरुले आफ्नै पार्टीका नेताहरुमाथि यो हदको बिभेद गर्ने अनि एकल बहुमत आउँछ भन्नु हाँस्यस्पद भएको टिप्पणी गरेका थिए । अभिमुखीकरण कार्यक्रममा ‘तीन वर्षे अभियान सफल भएपछि स्थानीय, प्रदेश र संघीय चुनावमा एक्लै बहुमत आउँछ,’ खड्काले भने, ‘बहुमत आउन रोक्यो भने वर्षौंदेखिको अन्तरघात अपराधले रोक्छ ।’
खड्काको यो भनाईमा बिश्वास गर्ने हो भने नेतृत्वले अन्तरघातीलाई टुलुटुलु हेरेर बस्न मिल्दैन । पहिचान भएका अन्तरघातीहरुको नाम सार्वजनिक गरी कांग्रेसले अनुशासनको कार्बाही गर्दैन भने देशभरका नेता कार्यकर्ताले बुझ्नेछन् अन्तरघातीलाई अन्तरघात गर्न उक्साउने केन्द्रीय तहका नेताहरु नै हुन् जसले उनीहरुलाई संरक्षण दिएर राखेका छन् । त्यसो हो भने देशभरका कांग्रेस समर्थक र अन्य पार्टीका कार्यकर्ताले पनि बुझ्ने छन् अन्तरघातीहरु कांग्रेस मुख्यालय सानेपामै छन् । (नयाँ विकल्प साप्ताहिकबाट)
काठमाडौं : काठमाडौंका प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । गृह मन्त्रालयले काठमाडौंको प्रहरी जिल्ला अधिकारीमा ईश्वरराज पौडेललाई पठाएको हो ।...
कास्की : नेपाल प्रहरीले पोखरामा पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ । नेपाल प्रहरी प्रधान कार्यालय कल्याण कोषले पोखरा–७ सहिदचोकस्थित प्रहरी...
धनकुटा : नेपाली कांग्रेस धनकुटाको बैठकले अहिलेको परिस्थितिमा मुलुकको समस्या समाधान गर्न, पार्टी संगठनलाई क्रियाशील र सशक्त बनाउन विशेष महाधिवेशन...