विधायक विधिपालक हुन – Naya Bikalpa
October 15, 2026, Thursday      Epaper

विधायक विधिपालक हुन

विधिको उल्लंघन अशोभनिय

लोकतान्त्रिक शासन व्यवस्था भएको मुलुक विधिले संचालन गर्दछ । यस्तो शासन व्यवस्था भएको मुलुकमा व्यक्तिको निर्णय, आदेश वा इन्छाको प्रधानता रहँदैन । त्यसैले लोकतान्त्रिक शासन व्यवस्था भएका हरेक देशमा जनप्रतिनिधिहरुको साझा थालोको रुपमा व्यवस्थापिकाको व्यवस्था हुन्छ । व्यवस्थापिकाले नै शासन कसरी गर्ने भन्ने नीति निर्माण गर्छन ।

यस्तो विधिको सर्वोच्च दस्तावेज नै संविधान हो । संविधान निर्माण र समय सापेक्ष परिवर्तन गर्ने निकाय पनि व्यवस्थापिका हो । सबै जसो देशमा भएको व्यवस्थापिका वा संसदले नै संविधान र कानूनको निर्माण गर्छन् ।

नेपालमा पनि कानून निर्माणका तीन वटा तहहरु छन् । संघीय, प्रदेश र स्थानीय तहले सोही अनुसारको कानून निर्माण गर्छन् । देशको मूल कानुन अर्थात संविधान निर्माण र अन्य संघीय कानून निर्माताको रुपमा जनताको प्रतिनिधिको रुपमा प्रतिनिधि सभा अर्थात तल्लो सदनमा तीन सय ३० र माथिल्लो सभा अर्थात राष्ट्रिय सभामा ५९ जना सांसदको व्यवस्था छ ।

संविधान र कानून बमोजिम देशमा शान्ति सुरक्षा, अमन चयन र शुसान दिलाउन कार्यपालिकाले कति काम गर्यो वा गरेन भनेर अनुगमन र नियमन गर्ने निकाय पनि व्यवस्थापिका संसद नै हो । तर त्यही संविधानको पालक, विधायक अर्थात सांसदहरु यतिवेला कानून उल्लंघनको आरोपमा धमाधम प्रहरी हिरासतमा जान थालेका छन् ।

संसदीय सर्वोच्चता, संसदको मान सम्मान र इज्जत प्रतिष्ठामा समेत यतिवेला गम्भीर आघात परेको छ । व्यवस्थापिका संसदको सर्वोच्च पदमा पुगका व्यक्ति अर्थात सांसदका नायक र व्यवस्थापिकाका प्रमुख भनेर चिनिएका प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा नै महिलामाथि यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेपछि यतिवेला सांसदको गरिमामाथि आँच आएको छ ।

विधि पालक र विधि निर्माताबाटै यस्तो हर्कत गरेपछि यतिवेला नेपालका माननीय भनेर विशेषण र आदररार्थी संवोधन समेत मलिन हुन थालेको छ । सभामुख कृष्णबहादुर महरा मात्र होइन, संसदमा तीन पटकसम्म प्रतिनिधित्व गरेर श्रम मन्त्री समेत भएका नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलम १२ वर्ष अघि रौतहटमा भएको बम काण्डको घटनामा अदालतको आदेशपछि प्रहरीको नियन्त्रणमा पुगेका छन् ।

यसअघि नै कैलालीको टिकापुर घटनामा सात प्रहरी र एक वालकको हत्या गरिएको अभियोग प्रमाणीत भए दोषी ठहर भएका रेशम चौधरी यतिवेला जेलमा सजाय भुक्तान गरिरहेका छन् । सत्तारुढ समाजवादी पार्टीका सांसद हरिनारायण साह ठेक्का प्रकरणमा कमसल काम गरेर राज्यलाई ठगी गरेको अभियोगमा प्रहरीको खोजीमा छन् ।

यही २८ गते राजपाका अर्का सांसद प्रमोद साह जनकपुर विमानस्थलमा रहेको बुद्ध एयरको काउन्टरमा तोडफोड गरेको आरोपमा प्रहरीले गिरफ्तार गरेको घटना र ज्यान मार्ने उद्योगमा संलग्न भएको आरोपमा नेकपाकै सांसद पार्वत गुरुङलाई जिल्ला अदालतले हाँजिर हुन म्याद तामेली गरेका घटनाले सांसद र संसदीय सर्वोच्चतामाथि नै कालो धब्बा लगाएको छ ।

यसरी विधि निर्माण गर्ने र पालनकर्ताले नै विधि उल्लंघन गरेको घटना बढ्दै जाने घटनाले सांसदको मर्यादा र प्रतिष्ठामा आघात पुर्याएको छ । सर्वसाधरण नागरिकको तुलनामा सामाजिक मान मर्यादा र प्रतिष्ठा कमाएका सार्वजनिक पद धारण गरेका व्यक्तिबाट विधिको उल्लंघनलाई अशोभनिय कार्यको रुपमा लिनु पर्छ । यस्ता विधायकको छनोट गर्दा अवदेखि राजनीतिक दलले पनि आचरणयोग्य व्यक्तिको छनोट गर्नु पर्छ भने मतदाताले पनि योग्य, कर्मठ, इमान्दार र उच्च राजनीतिक आचरण र जीवनशैली भएका व्यक्तिको छनोट गर्नु पर्छ ।

सम्बन्धित समाचार

महाधिवेशनको चटारोमा नेपाली कांग्रेस
महाधिवेशनको चटारोमा नेपाली कांग्रेस
  • २०७६ कार्तिक ७, ०९: ५०

  १.नेपाली कांग्रेसको १५औँ महाधिवेशन नेपाली कांग्रेसको विशेष अधिवेशनमार्फत् प्राप्त कार्यादेशको आधारमा गगन थापाले नेतृत्व गरेको नेपाली कांग्रेसको १५औँ महाधिवेशन...

जलरिवर्तनका कारणले हामी असर भोगिरहने, जलवायु न्यायकालागिहामी कराइरहने, तर औद्योगिक देशहरु कानमा तेल हालेर बस्ने ?
जलरिवर्तनका कारणले हामी असर भोगिरहने, जलवायु न्यायकालागिहामी कराइरहने, तर औद्योगिक देशहरु कानमा तेल हालेर बस्ने ?
  • २०७६ कार्तिक ७, ०९: ५०

  १. संयुक्त राष्ट्रसंघमा प्रधानमन्त्रीबालेन्द्र शाहको प्रस्तुति संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको तर्फबाट सरकार प्रमुखको हैसियतले आफ्ना विचार राखेर सम्माननीयप्रधानमन्त्रीबालेन्द्र...

कांग्रेसमा कतिवटा महाधिवेशन ? एउटा कि दुईवटा ?
कांग्रेसमा कतिवटा महाधिवेशन ? एउटा कि दुईवटा ?
  • २०७६ कार्तिक ७, ०९: ५०

    १ पन्ध्रौँ महाधिवेशनको चटारो अहिले कतिवटा नेपाली कांग्रेस छन् ? एउटा या दुइटा या अझ धेरै ? बीपी...