नेपालमा लकडाउनको १०० दिन र विश्व बैंकको प्रतिवेदन – Naya Bikalpa
September 8, 2026, Tuesday      Epaper

नेपालमा लकडाउनको १०० दिन र विश्व बैंकको प्रतिवेदन

विश्व बैंकले गत साता प्रकाशित गरेको प्रतिवेदनको अनुसार नेपाल निम्न आय भएको मुलुकबाट निम्न मध्यम आय भएको मुलुकको सूचीमा उक्लिएको छ ।

देशको आर्थिक स्थितिमा सुधार आउनु सकारात्मक हो । तर यो सुधारको आधार के हो भन्ने कुरा राम्ररी बुझ्न जरुरी छ । विश्व बैंकले तय गरेका सूचकमा मात्र केन्द्रित भएर नेपाल सरकारद्वारा दिइएको तथ्यांकको आधारमा रिर्पोट प्रकाशन हुने हुन् ।

सरकारले गत साल देशमा ७७ वटै जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा ग¥यो । खुल्ला दिसामुक्त क्षेत्र घोषणा एउटा सूचक हुन सक्छ । तर के नेपाल साँच्चै खुल्ला दिसामुक्त भएको हो त ?

अझै पनि राजधानी कै खोला–किनार वरपरका वस्तीहरुमा शौचालय देखिन्न तर खोला दुर्गन्धित छन् । देश भने खुल्ला दिसामुक्त क्षेत्र घोषणा भइसकेको छ । यसको मतलब मापन गर्ने सूचकलाई आधार मानेर प्रतिवेदनहरु प्रकाशित हुन्छन् ।

तर व्यवहारिक रुपमा त्यो कार्यान्वयन भएका छैनन् । अझ देश लकडाउन भएको तीन महिना भन्दा बढी भएको अवस्थामा त ती विषयहरुको कार्यान्वयन पक्ष बलियो छ भनेर सोच्ने अवस्था नै छैन । विश्व बैंकले दिएको प्रतिवेदनले विश्वमा सकारात्मक सन्देश दिएपनि मुलुकभित्रै भने त्यो खोक्रो विकास हो । कागजमा देखिने तर व्यवहारमा नदेखिने विकास हो ।

कोरोना भाइरस (कोभिड–१९) ले गर्दा देश लकडाउनमा रहेको आज १०६ दिन भइसकेको छ । यो समयमा देशमा कोरोना संक्रमितहरुको संख्या पन्ध्र हजार नाघेको छ भने मृत्यु हुनेको संख्या ३४ पुगेको छ । यो अवधिमा देशभित्रका साना–ठुला व्यवसाय ठप्प छन् ।

जसोतसो बिहान बेलुकीको छाक टारेका छन् । भर्खर व्यवसाय सुरु गरेकाहरु ऋणको भारमा पिल्सिएका छन् भने स्थापित व्यवसाय पनि धरायसी बनेका छन्, अझ कति त विस्थापित नै भैसके । कोरोनाका कारण विदेशी कामदारहरु स्वदेश फर्किएका छन् । जसका कारण यो वर्ष रेमिट्यान्समा झण्डै १४ प्रतिशतले गिरावट आउने सक्ने अर्थविद्हरुले बताइरहेका छन् भने देशमा बेरोजगारी ह्वात्तै बढेको छ ।

देशको स्वास्थ्य सेवाको अवस्था कारोनाले छर्लङ्गै पारिदिएको छ । यि सबै अस्तव्यस्तता र अनिश्चितताका कारण देशमा आत्महत्या गर्नेको संख्या पनि बढेको छ । लकडाउनको यो १०६ दिनको अवधिमा झण्डै १ हजार ५०० ले आत्महत्या गरेको तथ्यांकहरु सार्वजनिक भएका छन् ।

तर सरकार के मा व्यस्त छ त ? विश्वले यस महामारी कोरोना विरुद्ध लड्न आफ्नो सम्पूर्ण शक्ति, स्रोत र साधन लगाएको छ । आफ्ना जनतालाई संक्रमित हुनबाट कसरी जोगाउने भन्ने अनेक उपाय अपनाउनमा व्यस्त छ । तर हाम्रा प्रधानमन्त्री बाँकी सबैलाई वेवास्ता गरेर आफ्नो र राष्ट्रपतिको कुर्सी जोगाउने खेलमा छन् ।

मनसुन सुरु भएसँगै जनता कहिले बाढी पहिरोबाट त कहिले कोरोनाबाट दिन दिनै ज्यान गुमाईरहेका छन् । तर प्रधानमन्त्रीको ध्यान त्यता गएको छैन । उनी अहिले कसरी प्रधानमन्त्रीको पदमा टिकी रहने भन्ने रणनीतिमा मात्र केन्द्रित छन् । त्यसैले उनले आफ्नो राजनैतिक खेलमा राष्ट्रपतिलाई समेत सामेल गराइरहेका छन् ।

त्यसैले त विना कुनै परामर्श केवल प्रधानमन्त्रीको भरमा संसद्मा विचाराधिन त्यतिका विधेयक हुँदाहुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले गत साता शुक्रबार एकाएक संसद्को अधिवेशन अन्त्य गरिन् । संघीय संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्षी दल लगायत नेकपाका शिर्ष नेतालाई समेत यस्तो विषयमा सल्लाह समेत गरिएन ।

संसद्को अन्तसँगै बहुचर्चित एमसीसी र नागरिकता सम्बन्धी महत्वपूर्ण विधेयकहरु अलपत्र परेका छन् । सेरोमनियल राष्ट्रपति राष्ट्रको संरक्षक भन्दा पनि प्रधानमन्त्रीको इसारामा मात्र चलेको भन्दै पार्टी र आम नागरिक चिन्तित हुन पुगेका छन् ।

आफ्नो पार्टीको आन्तरिक किचलोलाई प्रधानमन्त्रीले सिंगो मुलुक सञ्चालनलाई नै बन्धक बनाएका छन् । उनलाई यतिबेला न कोरोनाको कहरले अन्यौलमा परेका जनताको चिन्ता छ, न त थला परेको अर्थतन्त्रप्रति नै संवेदनशील हुने फुर्सद छ ।

व्यवहारमा नआएको विकासलाई लिएर विश्वको आँखामा धुलो छर्केर देखाइएको विकासमा रमाएका प्रधानमन्त्रीले मुलुकलाई दूर्घटनातिर डो¥याई रहेका त छैनन् । यतिखेर जनतालाई राहतको आवश्यकता छ, कागजी विकासको होइन ।

देश विकासका नाममा कागजी विकास भन्दा यर्थाथपरक र आफ्नो घर झगडा मिलाउन नसकेर दिनहुँ कलह बढाउने काम बन्द गरेर उचित निकास दिनु नै अहिलेको पहिलो कर्तव्य हो ।

सम्बन्धित समाचार

हिमाली सुनामी पीडितहरुको बाँच्नपाउने हकको सुरक्षा हुनुपर्छ
हिमाली सुनामी पीडितहरुको बाँच्नपाउने हकको सुरक्षा हुनुपर्छ
  • २०७७ असार २२, १३: ३४

  १. महाविपत्ति र त्यसपछिको उद्धार २०८३साल भदौ १० गतेको हिमाली सुनामीबाट अचानक सृजितमहाविपत्तिको चपेटामा नेपाल परेको छ र त्यस...

पुनर्जीवनका लागि असोजमा १५ औं महाधिवेशन
पुनर्जीवनका लागि असोजमा १५ औं महाधिवेशन
  • २०७७ असार २२, १३: ३४

काठमाडौं । नेपालको राष्टिय राजनीतिमा नेपाली कांग्रेसको पहिचान एउटा राजनीतिक दलका रूपमा मात्र सीमित नभएर मुलुकको लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण...

अब के हुन्छ भन्ने प्रश्नमा घेरिएको नेपाली कांग्रेस
अब के हुन्छ भन्ने प्रश्नमा घेरिएको नेपाली कांग्रेस
  • २०७७ असार २२, १३: ३४

१. सबैतिर एउटै प्रश्न—अब नेपाली कांग्रेसको भविष्य के हुने हो ? नेपाली कांग्रेसको विशेष अधिवेशन भएको पनि करिब ८ महिना...