असारे विकासले ओझेलमा परेको विपद् व्यवस्थापन – Naya Bikalpa
September 7, 2026, Monday      Epaper

असारे विकासले ओझेलमा परेको विपद् व्यवस्थापन

Header

वर्षायाम सुरु भएसँगै देशका विभिन्न स्थानहरुमा बाढी पहिरो र डुबान पनि सुरु भइसकेको छ । गत साता बिहिबारबाट भएको अबिरल वर्षाका कारण आएको बाढी र पहिरोमा परि २६ जनाको ज्यान गएको छ भने बेपत्ता हुनेको संख्या झण्डैं सय पुग्न लागि सक्यो, विस्थापित हुनेको संख्या दिनदिनै बढिरहेको छ ।

आफ्नै आन्तरिक कलह व्यवस्थापन गर्न नसकेको यो सरकारलाई न त कोरोना कहरले छोएको छ, न त बाढी पहिरोले नै । सरकारले यति बेला असारे विकास भन्दा माथि सोच्न सकेन ।

बाढी पहिरोको समस्या नयाँ होइन । हरेक वर्ष तराई डुबानमा पर्ने गर्छ भने पहाडमा पहिरोले जनधनको क्षति गरिराखेको हुन्छ । तर कुनैपनि सरकारले विपद् व्यवस्थापनलाई प्राथमिकतामा राख्न सकेको छैन । असारे विकासमा रमाउने सरकारलाई जनतामा आइलाग्ने आपत्तिको अन्दाज बिरलै हुने गर्छ ।

अहिलेको सरकार पनि त्यसबाट अछुतो छैन । कोरोनाको कहरमा परेका जनतामाथि अहिले प्राकृतिक विपत्ति आइपरेको छ । सिन्धुलाल्चोक, म्याग्दी, संखुवासभा, पोखरा लगायतका क्षेत्रहरुमा आएको पहिरोले नागरिकहरुको ज्यान गैराखेको छ भने कोशीमा आएको बाढीले पूर्वका अधिकांश जिल्ला जलमग्न छन् ।

तर सरकारले हेलिकप्टररको सयर बाहेक केही गर्न सकेको छैन । पहिरोमा वेपत्ता भएका आफ्ना आफन्तको खोजी गर्न जनताले आग्रह गरिरहेका छन् भने सरकारबाट राहत आउँला भन्ने पखाईमा छन् । प्रतिकुल मौसमका कारण यी दुवै कार्य कठिन भइरहेको सम्बन्धित जिल्लाका अधिकारीहरुले नै बताइरहेका छन् ।

असारमा वर्षा हुन्छ, बाढी, पहिरोको जोखिम छ भन्नेबारे कोही पनि अनविज्ञ छैनन् । तर पूर्व तयारी किन गरिन्न ? जोखिम वस्तीलाई सुरक्षित स्थानमा सार्ने, समयमै खाद्यान्न र राहतको भण्डारण गर्ने, विपद्का बेलामा आफू र परिवारको सुरक्षा कसरी गर्ने, पूर्वतयारी कसरी गर्ने लगायतका विषयमा जनतालाई पहिलनै जानकारी दिने जस्ता कार्य गर्न सकिन्छ । तर असारे विकासको चटारोमा लागेका सरकारका नियकाहरुले जनताको सुरक्षामा ध्यान दिएका देखिन्न ।

पानी पर्न थालेपछि सडक खन्ने कार्य सुरु हुन्छ, पुल निर्माणका कामको थालनी हुन्छ । जथाभावी वन–जंगल फडानी गरेर डाँडा–पाखामा सडक निर्माण भन्दै डोजर चलाइन्छ तर कुनै इन्जिनियरिङ्ग नगरिएका, ठेकेदारको भरमा खनिएका सडक आफैमा जोखिमपूर्ण छ भन्ने कुराको हेक्का हुँदाहुँदै पनि बजेट पचाउन जनताको ज्यान जोखिममा पारिन्छ । विकास खाली बजेट सक्काउन र जोखम बढाउन नभएर जनतालाई सुविधा दिन हो ।

तर हामीकोमा कसैले पनि यो कुरालाई आत्मसाथ गरेका छैनन् । असार मसान्तसम्ममा बजेट सक्काउनै पर्ने नियम जबसम्म परिमार्जित गरिदैन तबसम्म वर्षायाममा जनताले सुख पाउँदैनन् ।

जिल्लासम्म पुग्नै पर्दैन, असार लाग्न साथ् काठमाडौंकै सडकहरुमा विकासका मूल फुटेका देखिन्छन्  । बजेटमुखी विकासको गुणस्तर कस्तो हुन्छ र भएका छन् भन्ने कुराको अनुमान जो कोहीले पनि सजिलै गर्न सक्छन् ।

तसर्थ अब असारे सरकारी पात्रो परिवर्तन गर्न आवश्यक छ, बजेट असारमै सक्काउनुपर्ने नियम हुँदा वर्षायाममा हुने विपद् व्यवस्थापनले प्राथमिकता पाउन नसकेको हो । त्यस्ता कतिपय स्थानहरुमा विनियोजित बजेट खर्च गर्न गरिएका विकासले नै विपद् निम्त्याई रहेका छन् ।

प्राकृतिक प्रकोपलाई रोक्न नसके पनि व्यवस्थापन गर्न सकिन्छ । सरकार र जनता दुवै पक्षबाट पूर्व तयारी गर्न सकिन्छ, असारे विकासलाई सार्न सकिन्छ ताकि सम्बन्धित निकायको ध्यान केवल विपद् व्यवस्थापनमा केन्द्रित हुन सकोस् ।

विकासका नाममा जथाभावी वन, जंगल मास्ने, गुणस्तरहिन काम गरेर राष्ट्रिय ढुकुटी रित्याउन गरिएका कामहरुको कडा अनुगमन गर्न आवश्यक छ ।

जनताले तिरेको कर जनतामुखी विकासमा प्रयोग हुन पर्योे न कि ठेकेदार र भ्रष्टाचारी पोसाउन । प्राकृतिक प्रकोप कुनै महामारी भन्दा निकै खतरनाक सावित भएको छ ।

त्यसैले त कोरोनाले पाँच महिनामा ३८ को ज्यान लियो, तर बाढी र पहिरोले दुई दिनमै २६ जनाको ज्यान गई सक्यो । कति वेपत्ता छन् । विपद्मा जनताले सरकार भएको अनुभूति गर्न पाउनु उनीहरुको अधिकार हो । तसर्थ विपद् व्यवस्थापन सरकारको पहिलो प्राथमिकता हुनैपर्छ ।

सम्बन्धित समाचार

हिमाली सुनामी पीडितहरुको बाँच्नपाउने हकको सुरक्षा हुनुपर्छ
हिमाली सुनामी पीडितहरुको बाँच्नपाउने हकको सुरक्षा हुनुपर्छ
  • २०७७ असार २९, १२: ०८

  १. महाविपत्ति र त्यसपछिको उद्धार २०८३साल भदौ १० गतेको हिमाली सुनामीबाट अचानक सृजितमहाविपत्तिको चपेटामा नेपाल परेको छ र त्यस...

पुनर्जीवनका लागि असोजमा १५ औं महाधिवेशन
पुनर्जीवनका लागि असोजमा १५ औं महाधिवेशन
  • २०७७ असार २९, १२: ०८

काठमाडौं । नेपालको राष्टिय राजनीतिमा नेपाली कांग्रेसको पहिचान एउटा राजनीतिक दलका रूपमा मात्र सीमित नभएर मुलुकको लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण...

अब के हुन्छ भन्ने प्रश्नमा घेरिएको नेपाली कांग्रेस
अब के हुन्छ भन्ने प्रश्नमा घेरिएको नेपाली कांग्रेस
  • २०७७ असार २९, १२: ०८

१. सबैतिर एउटै प्रश्न—अब नेपाली कांग्रेसको भविष्य के हुने हो ? नेपाली कांग्रेसको विशेष अधिवेशन भएको पनि करिब ८ महिना...