कर्णाली नदी छेउछाउका बस्ती बाढीपहिरोको उच्च जोखिममा – Naya Bikalpa
August 14, 2026, Friday      Epaper

कर्णाली नदी छेउछाउका बस्ती बाढीपहिरोको उच्च जोखिममा

नयाँ विकल्प

मान्मा- कर्णाली नदीको छेउछाउमा रहेका कालीकोटका केही बस्ती बाढी पहिरोको उच्च जोखिममा रहेका छन्। जिल्लाकोे नरहरिनाथ गाउँपालिका–१ को लालीघाट, शुभकालीका गाउँपालिका–१ जितेबजार, सान्नी त्रिवेणी गाउँपालिकाको शान्तिघाट बजार, महावै गाउँपालिकाको पादमघाट, तिलागुफा नगरपालिकाको नाग्म बजार, पचालझरना गाउँपालिकाको भुराबगर वर्षायाममा बाढी पहिरोको उच्च जोखिममा रहेका छन्।

कर्णाली राजमार्ग र कर्णाली करिडोर आसपासमा बनेका यी बस्ती राजमार्ग आएपछि बनेका नयाँ बस्ती हुन्। कर्णाली राजमार्ग र कर्णाली करिडोर बनेपछि बनेका बस्ती कर्णाली नदी किनारमा रहेकाले बाढी पहिरोको उच्च जोखिममा रहेको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले बताए। “कर्णाली नदी किनारमा बनेका बजार विकासको गतिसँगै बनेका हुन्”, उनले भने, “जुन ठाउँमा नदीमा जोखिमका बस्ती छन्। यी पहिला थिएनन्। नयाँ बस्ती नदी किनारमा भएका कारणले उच्च जोखिममा रहेका छन्।”

कर्णाली नदी र तिला नदीको किनार फेदमा रहेको जिते बजार र लालीघाट बजार बाढीको उच्च जोखिममा रहेकाले ती बस्ती अयन्त्र सार्न धेरै प्रयास गर्दा पनि उनीहरुले नमानेको अध्यक्ष विष्टले बताए। “विसं २०७३ मा बाढी पहिरोले लालीघाटमा आठ जनाको ज्यान गएको थियो”, उनले भने, “तर पनि उच्च जोखिममा रहेका नागरिक बस्ती सर्न मान्दैनन्।”

कालीकोटमा उच्च जोखिममा रहेका यी ठाउँका बजारवासी वर्षौंदेखि बसिरहेका कर्णाली करिडोरमा यातायात सञ्चालन भएपछि नदीको छेउछाउमा अहिले कयौँ ठाउँमा बजार बनेको नरहरिनाथ–१ लालीघाटका स्थानीय व्यापारी नेत्र विष्टले बताए। “लालीघाट बजार र नदी किनारको दूरी पहिले २५ मिटर थियो तर नदीमा आइतबार रातिदेखि पानीको बहाव बढेर नदीको छालले बजार छोइसकेको छ। यही गतिमा नदीमा पानीको बहाव बढ्दै गएपछि कुन बेला बजार डुब्छ थाहा छैन”, उनले भने।

कालीकोटको पचालझरना गाउँपालिकाको भुराबगर बजार पनि बाढी पहिरोको उच्च जोखिममा रहेको गाउँपालिकाका अध्यक्ष खड्कराज सेजुवालले बताए।

जिल्लामा बाढी पहिरोको उच्च जोखिममा रहेका बस्ती तथा बजारहरु अन्यन्त्र सार्न आग्रह गरिएको कालीकोटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए। कालीकोटमा गत वर्षमा बाढी पहिरोमा परी ५३ जनाले ज्यान गुमाउनुका साथै करोडौँको धनमाल नष्ट भएको थियो।

एक हजार घरपरिवार विस्थापित भएका थिए। यस वर्ष वर्षायाम शुरु भएयता बाढी पहिरोमा परेर तीन जनाको ज्यान गइसकेको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।

सम्बन्धित समाचार

सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
  • २०७८ श्रावण ११, ०७: २९

काठमाडौं ।  सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...

राष्ट्रिय सभामा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक’ स्वीकृत
राष्ट्रिय सभामा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक’ स्वीकृत
  • २०७८ श्रावण ११, ०७: २९

काठमाडौँ : राष्ट्रिय सभाको आजको बैठकले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।...

पत्रकार श्रेष्ठलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
पत्रकार श्रेष्ठलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
  • २०७८ श्रावण ११, ०७: २९

काठमाडौं : जिल्ला अदालत काठमाडौंले पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । अदालतको आदेशसँगै...