कार्गो क्षेत्रका समस्या समाधान गर्न पहल गर्ने मुख्यमन्त्री बानियाँको प्रतिबद्धता – Naya Bikalpa
July 30, 2026, Thursday      Epaper

कार्गो क्षेत्रका समस्या समाधान गर्न पहल गर्ने मुख्यमन्त्री बानियाँको प्रतिबद्धता

काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले कार्गो तथा फ्रेट फरवार्डिङ क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग आवश्यक समन्वय र सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) को ३२औं कार्गो दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले आयात–निर्यात व्यापारलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन राज्यको भूमिका महत्वपूर्ण रहेको बताए ।

उनले कार्गो व्यवस्थापन, भन्सार प्रणाली, ड्राइपोर्ट सञ्चालन तथा व्यापार सहजीकरणसँग सम्बन्धित विषय मुख्यतः संघीय सरकारको अधिकार क्षेत्रभित्र पर्ने भए पनि प्रदेश सरकारले गर्न सक्ने सहयोगमा कुनै कमी हुन नदिने बताए ।

मुख्यमन्त्री बानियाँले व्यवसायीका समस्या र सुझाव प्रधानमन्त्रीसँग हुने समन्वय बैठक तथा अन्तरसरकारी छलफलमा उठाउने प्रतिबद्धता व्यक्त गर्दै संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्यबाट मात्रै व्यापारिक वातावरण थप प्रभावकारी बनाउन सकिने उल्लेख गरे ।

उनले वीरगञ्जलगायत प्रमुख भन्सार नाकामा रहेका ड्राइपोर्ट तथा अन्य पूर्वाधारलाई थप व्यवस्थित बनाउनुपर्ने आवश्यकता औंल्याउँदै आयातित सामानको सुरक्षित भण्डारण, छिटो ढुवानी र सहज वितरणका लागि आवश्यक पूर्वाधार विकासमा जोड दिए। हवाई मार्गबाट हुने कार्गो व्यवस्थापनलाई पनि आधुनिक र प्रभावकारी बनाउनुपर्ने उनको भनाइ थियो ।

मुख्यमन्त्री बानियाँले प्रविधिको प्रयोग विस्तार गरी कार्गो सेवा अझ छिटो, पारदर्शी र प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको बताए । दक्ष जनशक्ति उत्पादनका लागि सीप विकास र तालिम कार्यक्रम सञ्चालनमा प्रदेश सरकारले आवश्यक सहयोग गर्न सक्ने पनि उनले उल्लेख गरे ।

उनले कर तिर्ने व्यवसायीले राज्यबाट गुणस्तरीय सेवा पाउनुपर्ने भन्दै तीनै तहका सरकारले सेवा प्रवाहलाई प्रभावकारी, सहज र व्यवसायमैत्री बनाउनुपर्ने धारणा राखे ।

मुख्यमन्त्री बानियाँले नेपाल फ्रेट फरवार्डर्स एसोसिएसनले व्यापार सहजीकरणमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै संस्थाका भावी नीति तथा योजनाको सफल कार्यान्वयनका लागि शुभकामना व्यक्त गरे ।

उनले सफलता हासिल गर्न निरन्तर अभ्यास, संघर्ष र धैर्यता आवश्यक पर्ने उल्लेख गर्दै नयाँ पुस्ताले अघिल्लो पुस्ताको संघर्ष र अनुभवबाट सिक्दै अघि बढ्नुपर्ने बताए ।

समाजमा मेहनत गरेर जीवनयापन गर्ने संस्कृतिलाई प्रोत्साहन गर्नुपर्ने उल्लेख गर्दै मुख्यमन्त्री बानियाँले उत्पादनशील र श्रमप्रति सम्मान गर्ने समाज निर्माणमा सबै पक्षको साझा प्रयास आवश्यक रहेको बताए ।

सम्बन्धित समाचार

लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन
लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन
  • २०८३ श्रावण १४, १२: ०२

काठमाडौं : अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन गरेका छन् । बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले...

संसद्‍मा एमालेले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
संसद्‍मा एमालेले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
  • २०८३ श्रावण १४, १२: ०२

काठमाडौं : नेकपा (एमाले)की संसदीय दलकी उपनेता तथा पूर्वमन्त्री पद्मा अर्यालले मुलुकमा शान्ति सुरक्षा कायम गर्न र नागरिकको जिउधनको रक्षा...

संसद्‍मा कांग्रेसको प्रश्न- सुनसरी घटनामा प्रधानमन्त्री र गृहमन्त्री किन मौन ?
संसद्‍मा कांग्रेसको प्रश्न- सुनसरी घटनामा प्रधानमन्त्री र गृहमन्त्री किन मौन ?
  • २०८३ श्रावण १४, १२: ०२

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सुनसरीमा भएको गोलीकाण्डबारे सरकारको मौनताप्रति गम्भीर आपत्ति जनाएको छ। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा...