
काठमाडौं : नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले तराई-मधेशका केही क्षेत्रमा देखिएको साम्प्रदायिक तनावप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सामाजिक सद्भाव, राष्ट्रिय एकता र भाइचारालाई कायम राख्न सबै नेपालीमा अपिल गरेका छन्।
शुक्रबार भिडियो सन्देश जारी गर्दै आईजीपी कार्कीले नेपाल विविधतामा एकताको गौरवशाली इतिहास बोकेको देश भएको उल्लेख गर्दै धर्म, भाषा, जातजाति र संस्कृतिको विविधताबीच नेपालीहरू आपसी सम्मान, सहिष्णुता र सद्भावका साथ सँगै बाँच्दै आएको बताए।
उनले पूर्वी तराईका केही स्थानमा धार्मिक सद्भावमा खलल पुग्ने तथा डर र त्रासको वातावरण सिर्जना गर्ने गतिविधि देखिनु दुःखद भएको उल्लेख गर्दै सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने, उत्तेजक अभिव्यक्ति दिने तथा कानुन उल्लंघन गर्ने कार्य कसैको हितमा नहुने बताए।
आईजीपी कार्कीले भने,‘सामाजिक एकतामा खलल पुग्ने गरी सामाजिक सञ्जालमा अफवाह फैलाउने, उत्तेजक अभिव्यक्ति दिने वा कानुनको उल्लंघन गर्ने कार्य कसैको पनि हितमा हुँदैन। यस्ता गतिविधिले समाजमा तनाव, अविश्वास र विभाजन मात्र बढाउँछन्।’
उनले संवेदनशील परिस्थितिमा अफवाह, उत्तेजना र घृणाभन्दा विवेक, संयम र सद्भावको बाटो अपनाउन तथा एकअर्काको अधिकार, आस्था र मर्यादाको सम्मान गर्न सबैलाई आग्रह गरे। कार्कीले भने,‘हाम्रो धर्म, संस्कार र संस्कृति फरक हुन सक्छन्, तर मुलुक एउटै हो र हाम्रो भावना पनि एउटै छ।’
उनले नेपाल प्रहरीले संयमता, सहिष्णुता र आपसी सम्मानका साथ शान्ति सुरक्षा कायम राख्न प्रतिबद्ध रहेको उल्लेख गरे। ‘यस संवेदनशील घडीमा एकअर्काको संस्कृति, संस्कार तथा आस्थाको सम्मान गर्दै सामाजिक सद्भाव, राष्ट्रिय एकता र भाइचारालाई कायम राख्न सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अपिल गर्दछु,’ उनले भने।
काठमाडौं : मधेश प्रदेशका विभिन्न क्षेत्रमा पछिल्ला दिनमा देखिएका हिंसात्मक घटनापछि नेपाली कांग्रेसले सुरक्षा अवस्था र त्यसको स्थानीय जनजीवनमा परेको...
हेटौंडा : सुनसरी घटना र त्यसबाट उत्पन्न परिस्थिति र बागमती प्रदेशमा सुरक्षा अवस्था बारे समीक्षा गर्दै शुक्रबार विहान बागमती प्रदेश...
काठमाडौं । पाकिस्तानको काराकोरम हिमशृंखलामा अवस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रड पिक (८,०४७ मिटर) मा भीषण हिमपहिरो जाँदा नेपाली चर्चित...