१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान – Naya Bikalpa
September 13, 2026, Sunday      Epaper

१४औं महाअधिवेशनका इतरपक्षका केन्द्रीय सदस्यहरुलाई केन्द्रीय सदस्य सरहको हैसियत मात्रै प्रदान

काठमाडौं : नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनमा स्वदेश तथा विदेशमा रहेका सबै क्रियाशील सदस्य, समर्थक र शुभेच्छुकलाई उत्साहपूर्वक सहभागी हुन आह्वान गरेको छ।

पार्टी सभापति गगनकुमार थापाको अध्यक्षतामा आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले असोज ३ र ४ गतेबाट वडास्तरमा सुरु हुने अधिवेशनदेखि असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनसम्मका सबै प्रक्रियामा सक्रिय सहभागिताका लागि आह्वान गरेको कांग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिए।

बैठकले १५औं महाधिवेशनको मिति घोषणा गरिसकेको हुँदा केन्द्रीय समितिमा थपघट गर्न नमिल्ने हुँदा १४औं महाधिवेशनका निवर्तमान केन्द्रीय सदसयहरुलाई केन्द्रीय सदस्य सरह महाधिवेशनमा सहभागी गराउने निर्णय गरेको छ ।

बैठकले महाधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। असोज १६ गते दिउँसो १ बजे काठमाडौंको खुलामञ्चमा उद्घाटन सत्र सुरु हुने कांग्रेसले जनाएको छ।

कांग्रेसले महाधिवेशनलाई केवल सांगठनिक प्रक्रिया नभई पार्टीको राजनीतिक जीवनमा महत्त्वपूर्ण ‘महाउत्सव’का रूपमा लिएको जनाएको छ। त्यसैले वडा तथा अन्य तहका अधिवेशनमा उत्साहजनक सहभागिता जनाउन पार्टीका सबै क्रियाशील सदस्य, समर्थक तथा शुभेच्छुकलाई आग्रह गरिएको प्रवक्ता चालिसेले बताए।

बैठकले विधानबमोजिम आ–आफ्नो तहले निर्वाह गर्नुपर्ने जिम्मेवारी पूरा गर्दै निर्वाचन समितिसँग समन्वय गरेर तहगत अधिवेशन सफल बनाउन सबै तहका कार्यसमितिलाई निर्देशनसमेत दिएको छ। तोकिएको जिम्मेवारी पूरा नगरे विधानअनुसार वैकल्पिक व्यवस्था गरिने उनले जानकारी दिए।

कांग्रेसले महाधिवेशनको तयारीका क्रममा सदस्यता वितरण, नवीकरण तथा अद्यावधिक प्रक्रियामा सक्रिय रहेका पार्टीका सबै तहका कार्यसमिति र सदस्यप्रति धन्यवादसमेत व्यक्त गरेको छ। पार्टीभित्र संवाद र सहमतिको वातावरण निर्माण गर्न टोलदेखि केन्द्रसम्मबाट भएका प्रयासको बैठकले प्रशंसा गरेको छ।

विशेष महाधिवेशनपछि भएको निर्वाचनमा सबै पक्षलाई समेट्ने प्रयास गरिएको र पार्टीको विधान, प्रचलित कानुन तथा संविधानअनुसार २०८२ चैत ११ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले क्रियाशील सदस्यता अद्यावधिक गरी २०८३ असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने निर्णय गरेको कांग्रेसले जनाएको छ।

क्रियाशील सदस्य अद्यावधिक प्रक्रियामा कोही नछुटून् भन्ने उद्देश्यले पटक–पटक समय थप गर्नुका साथै वडा अधिवेशनको कार्यतालिकासमेत परिमार्जन गरिएको कांग्रेसको भनाइ छ। यस अवधिमा विशेष महाधिवेशनमा सहभागी नभएका धेरै नेता तथा कार्यकर्ता केन्द्रदेखि वडा र टोल तहसम्म सक्रिय रूपमा महाधिवेशन प्रक्रियामा सहभागी भएको बैठकले जनाएको छ।

यसैबीच, २०८३ साउन २४ गते बसेको बैठकले पार्टीभित्र व्यापक सहभागिता सुनिश्चित गर्न संवाद र सहमतिको वातावरण निर्माणका लागि पहल गर्ने निर्णय गरेको थियो। त्यसअनुसार अद्यावधिक प्रक्रियामा छुटेका क्रियाशील सदस्यलाई समेत महाधिवेशन प्रक्रियामा सहभागी गराउने निर्णय गरिएको कांग्रेसले जनाएको छ।

पार्टीले यसअघि तहगत नवीकरणका लागि सिफारिस भई २०८२ पुस २१ गतेसम्म सदस्यता व्यवस्थापन प्रणालीमा प्रविष्ट भएका तर विभिन्न कारणले अद्यावधिक हुन छुटेका क्रियाशील सदस्यलाई महाधिवेशनमा सहभागी हुनबाट वञ्चित नगर्ने निर्णय गरेको थियो। पार्टी परित्याग गरेका, अनुशासनको कारबाहीमा परी सदस्यता गुमाएका तथा प्रचलित कानुनअनुसार पार्टी सदस्य बन्न नमिल्ने व्यक्तिबाहेक अन्य सदस्यलाई महाधिवेशन प्रक्रियामा सहभागी गराउने निर्णय गरिएको थियो।

कांग्रेसले महाधिवेशनलाई प्राविधिक प्रक्रिया मात्र नभई राजनीतिक महाउत्सवका रूपमा लिँदै पार्टीभित्रका असहमति र चासोलाई संवाद तथा सहमतिमार्फत सम्बोधन गर्न निरन्तर प्रयास भइरहेको जनाएको छ। अधिवेशन संयोजनका लागि उपयुक्त संयन्त्र निर्माण, सदस्यता व्यवस्थापन केन्द्रीय समिति, केन्द्रीय निर्वाचन समिति तथा अधिवेशन व्यवस्थापन समितिमा सबै पक्षको सहभागितालगायत विषयमा केन्द्रीय कार्यसमितिले लचकताका साथ पहल गरेको बैठकको निष्कर्ष छ।

पार्टीको सर्वोच्च निकाय महाधिवेशन भएकाले कुनै असहमति वा मतभेद भए त्यसलाई राख्ने र समाधान खोज्ने उपयुक्त स्थान पनि महाधिवेशन नै भएको कांग्रेसले जनाएको छ। त्यसैले पार्टीमा रहन चाहने कुनै पनि सदस्य महाधिवेशन प्रक्रियाबाट नछुटून् भन्ने उद्देश्य रहेको बैठकले स्पष्ट पारेको छ।

यसै क्रममा असोज ३ र ४ गते हुने वडा अधिवेशनमा सहभागी हुने सबै पार्टी सदस्यप्रति सम्मान व्यक्त गर्दै विशेष महाधिवेशन सम्पन्न हुनुअघि पार्टीको तत्कालीन केन्द्रीय कार्यसमितिमा रहेका सदस्यलाई विधानबमोजिम १५औँ महाधिवेशन प्रक्रियामा केन्द्रीय कार्यसमिति सदस्यको हैसियतमा सहभागी गराउन आवश्यक प्रबन्ध गर्ने निर्णय पनि बैठकले गरेको छ।

यस्तै, विधानको धारा ४ (९) बमोजिम महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठित सदस्यता व्यवस्थापन केन्द्रीय समितिले महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यको नामावली सभापति गगनकुमार थापासमक्ष प्रस्तुत गरेकोमा बैठकले उक्त नामावली स्वीकृत गरेको छ।

बैठकले कांग्रेसको शक्ति लाखौँ सदस्यको एकता, लोकतान्त्रिक संस्कार र जनताको विश्वासमा निहित रहेको उल्लेख गर्दै असोज ३ गते वडा तहबाट सुरु हुने महाधिवेशन प्रक्रियामा सक्रिय सहभागिताका लागि सम्पूर्ण सदस्य, समर्थक र शुभेच्छुकलाई पुनः अपिल गरेको छ।

बैठकमा केन्द्रीय अनुशासन समितिका संयोजक तारामान गुरुङले आफ्नो पदबाट दिएको राजीनामाबारे पनि जानकारी गराइएको छ। सभापति गगनकुमार थापाले गुरुङको राजीनामाबारे बैठकलाई जानकारी गराएका थिए।

बैठकमा सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, डा. डिला संग्रौला पन्त र योगेन्द्र चौधरी तथा केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी, महेन्द्र यादव, जीवन परियार, सुरेन्द्रप्रसाद चौधरी, रमेश रिजाल, डा. चन्द्रकान्त भण्डारी, अमृत अर्याल, आङ्गेलु शेर्पा, दिनेशकुमार यादव, अब्दुल सत्तार, राजीव ढुंगाना, भरतकुमार शाह, प्रवक्ता देवराज चालिसे र मधेश प्रदेश सभापति कृष्णप्रसाद यादवले आ–आफ्नो धारणा राखेका थिए।

May be an image of text

May be an image of text

May be an image of ticket stub and text

सम्बन्धित समाचार

पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
पत्रकारिता क्षेत्रलाई संकटमा पार्ने कुनै पनि निर्णय स्वीकार्य छैन : कांग्रेस सभापति थापा
  • २०८३ भाद्र २८, २०: ४२

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्वतन्त्र प्रेस समस्यामा पर्दा त्यसको प्रत्यक्ष असर लोकतान्त्रिक व्यवस्थामाथि पर्ने भएका कारण त्यसको...

कृष्णभीरमा एकतर्फी यातायात सुचारु
कृष्णभीरमा एकतर्फी यातायात सुचारु
  • २०८३ भाद्र २८, २०: ४२

काठमाडौं : पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा एकतर्फी यातायात सुचारु भएको छ । सडकको अवस्था परीक्षण गर्न ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालनमा...

सुत्केरी बिदा ९८ दिनबाट ६ महिना पुर्‍याउनुपर्ने मागसहित संसद्‌मा सार्वजनिक महत्वको प्रस्ताव
सुत्केरी बिदा ९८ दिनबाट ६ महिना पुर्‍याउनुपर्ने मागसहित संसद्‌मा सार्वजनिक महत्वको प्रस्ताव
  • २०८३ भाद्र २८, २०: ४२

काठमाडौं : महिला कर्मचारी तथा श्रमिकका लागि सुत्केरी बिदा ९८ दिनबाट बढाएर ६ महिना पुर्‍याउनुपर्ने मागसहित प्रतिनिधिसभामा सार्वजनिक महत्वको प्रस्ताव...