विपद् प्रभावित क्षेत्रमा राहतदेखि पूर्वचेतावनी प्रणाली विकाससम्म काम भइरहेको छ : मन्त्री पुन – Naya Bikalpa
September 16, 2026, Wednesday      Epaper

विपद् प्रभावित क्षेत्रमा राहतदेखि पूर्वचेतावनी प्रणाली विकाससम्म काम भइरहेको छ : मन्त्री पुन

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विपद् प्रभावित क्षेत्रमा राहत व्यवस्थापनदेखि डीएनए परीक्षण, वैज्ञानिक प्रयोगशाला पुनस्र्थापना र पूर्वचेतावनी प्रणाली विकाससम्मका कामलाई मन्त्रालयले प्राथमिकताका साथ अघि बढाइरहेको बताएका छन्।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथिको छलफलका क्रममा मन्त्री पुनले विदेशबाट प्राप्त राहत सामग्री बुझेर सम्बन्धित क्षेत्रमा पुर्‍याउने काम भइरहेको जानकारी दिए। उनका अनुसार राहत सामग्री बोकेका जहाजबाट दैनिक दुईदेखि तीन ट्रिपसम्म सामग्री नेपाल आइरहेको छ।

मन्त्री पुनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मन्त्रालयका राष्ट्रसेवक कर्मचारीले तलबबाट योगदान गरिरहेको पनि बताए। उनका अनुसार श्रेणीविहीन कर्मचारीबाट दुई दिन, राजपत्र अनंकित वा सोसरहका कर्मचारीबाट पाँच दिन, राजपत्रांकित तृतीय र द्वितीय श्रेणी वा सोसरहका कर्मचारीबाट सात दिन तथा राजपत्रांकित प्रथम र विशिष्ट श्रेणीका कर्मचारीबाट १० दिन बराबरको तलब योगदान गर्ने निर्णय भएको छ।

विपद्पछि बेपत्ता तथा मृतकको पहिचानका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)बाट डीएनए परीक्षण भइरहेको उनले बताए। नास्टमा दैनिक करिब ४० देखि ५० वटा नमुना परीक्षण भइरहेको र त्यसमा नेपाली तथा चिनियाँ प्राविधिक टोली संलग्न रहेको उनको भनाइ छ।

राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा हालसम्म मृतकका १ हजार ५६२ वटा डीएनए परीक्षणका नमुना प्राप्त भएको मन्त्री पुनले जानकारी दिए। त्यस्तै, बुटवलमा बेपत्ता व्यक्तिका आफन्तबाट डीएनए नमुना संकलन तथा परीक्षणका लागि ९८ जनाको प्रक्रिया अघि बढाइएको उनले बताए।

डीएनए परीक्षणमा सहयोग गर्न भारतबाट नौ जना विशेषज्ञ र चीनबाट १५ जनाको टोली नेपाल आएको पनि मन्त्री पुनले जानकारी दिए। चिनियाँ टोलीले नास्ट तथा राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा नेपाली प्राविधिकसँग सहकार्य गरेर काम गरिरहेको उनले बताए।

त्यस्तै, नास्टबाट साना सौर्य बत्ती एसेम्बल गरी विभिन्न प्रभावित क्षेत्रमा पठाउने काम भइरहेको मन्त्री पुनले जानकारी दिए।

आगामी दिनमा वैज्ञानिक प्रयोगशाला तथा मापन केन्द्रहरूको मर्मतसम्भार, पुनस्र्थापना र आवश्यक सहयोगलाई प्राथमिकता दिने योजना रहेको उनले बताए। विपद् आएपछि केही समय मात्रै सक्रिय हुने र त्यसपछि पूर्वाधार तथा तयारी बिर्सने प्रवृत्तिको अन्त्य गर्दै प्रयोगशाला तथा मापन केन्द्रलाई नियमित रूपमा सञ्चालनयोग्य अवस्थामा राख्ने योजना रहेको उनको भनाइ छ।

मन्त्री पुनका अनुसार कृत्रिम बुद्धिमत्ता (एआई) तथा भू–उपग्रह प्रविधिमा आधारित पूर्वचेतावनी प्रणाली विकास गर्ने तयारीसमेत भइरहेको छ। विपद्को अवस्थाबारे वास्तविक समयमै पूर्वानुमान तथा निगरानी गर्न सकिने ‘सिचुएसन रुम’ स्थापना गर्ने विषयमा पनि छलफल भइरहेको उनले बताए।

विपद् व्यवस्थापनमा ड्रोन तथा रोबोटिक्सको उपयोगिता देखिएको भन्दै मन्त्री पुनले भविष्यमा नेपालमै ड्रोन उत्पादन गर्ने सम्भावनाबारे काम अघि बढाइने बताए। उनका अनुसार चीन र संयुक्त अरब इमिरेट्स (यूएई)बाट ८० देखि १०० किलोग्रामसम्म भार बोक्न सक्ने ड्रोन सहयोगका रूपमा प्राप्त भएका छन्।

यस्ता ड्रोन खरिद गर्दा महँगो पर्ने भएकाले दीर्घकालीन रूपमा नेपालमै उत्पादन गर्न सकिने सम्भावनाबारे मन्त्रालयले काम गर्ने मन्त्री पुनले बताए।

उनले हिमताल विस्फोट, पहिरो तथा भूकम्प मापनलगायतका विषयमा अनुसन्धानलाई थप प्रभावकारी बनाउँदै त्यसबाट प्राप्त वैज्ञानिक तथ्यलाई व्यावहारिक रूपमा प्रयोग गर्न सकिने गरी तयारी अघि बढाइरहेको पनि जानकारी दिए।

सम्बन्धित समाचार

प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको भेट
प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको भेट
  • २०८३ भाद्र ३१, १४: २२

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहसँग यहाँस्थित अमेरिकी दूतावासका कार्यवाहक राजदूत मेगन बोल्डिनले शिष्टाचार भेट गरेकी छन् । प्रधानमन्त्रीको कार्यकक्षमा भएको भेटमा...

राष्ट्र बैंक ऐन संशोधन विधेयकको प्रतिवेदन सर्वसम्मत पारित
राष्ट्र बैंक ऐन संशोधन विधेयकको प्रतिवेदन सर्वसम्मत पारित
  • २०८३ भाद्र ३१, १४: २२

काठमाडौं : नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको छ । बुधबार...

आमालाई ६ महिना, बुबालाई ४२ दिन तलबसहितको सुत्केरी बिदा प्रस्ताव
आमालाई ६ महिना, बुबालाई ४२ दिन तलबसहितको सुत्केरी बिदा प्रस्ताव
  • २०८३ भाद्र ३१, १४: २२

काठमाडौं : सरकारले आमालाई कम्तीमा ६ महिना तलबसहितको प्रसूति बिदा र बुबालाई ४२ दिनसम्म तलबसहितको प्रसूति स्याहार बिदा दिने व्यवस्थाका लागि...