उदयपुरकाे पर्यटकीय स्थल चौदण्डीगढी घुम्न आउने पर्यटक बढ्दै – Naya Bikalpa
September 24, 2026, Thursday      Epaper

उदयपुरकाे पर्यटकीय स्थल चौदण्डीगढी घुम्न आउने पर्यटक बढ्दै

नयाँ विकल्प

गाइघाट- चौदण्डीगढी नगरपालिकाको पहाडी क्षेत्रमा रहेको ऐतिहासिक चौदण्डीगढी क्षेत्रमा मङ्सिरको दोस्रो हप्तादेखि घुम्न आउने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ ।

गत वर्ष चैतदेखि यस वर्षको कात्तिकसम्म कोरोना सङ्क्रमणको महामारी र बन्दाबन्दीका कारण पर्यटक आगमन ठप्प भएको चौदण्डीगढी क्षेत्रमा अब दैनिक पर्यटक आगमनमा वृद्धि हुँदै गएको छ । बन्दाबन्दी खुलेर कोरोनाको सङ्क्रमणको अवस्थामा सुधार हुँदै गएपछि दैनिक सयौंँको सङ्ख्यामा पर्यटक चौदण्डी क्षेत्रको भ्रमणमा जाने गरेको चौदण्डी पर्यटन विकास व्यवस्थापन समितिका संयोजक रोहित तामाङ बताउछन् ।

अहिले जिल्लाभित्रका साथै प्रदेश नं १ का झापा, मोरङ, सुनसरी, इलामसहित प्रदेश नं २ का सप्तरी, सिरहा, धनुषासहित भारतको पश्चिम बङ्गाल क्षेत्रबाट समेत पर्यटक चौदण्डीको भ्रमणमा आउन थालेको जनाइएको छ । चौदण्डीगढी नगरपालिकाका प्रमुख खगेन्द्र राईले चौदण्डीगढीको पर्यटन विकासको पूर्वाधारका सम्पूर्ण कार्य तथा व्यवस्थापन भइसकेको कारण पर्यटकलाई आवतजावत गर्न सहज भएको बताए ।

चौदण्डीमा दृश्यावलोकनस्तम्भ, खानेपानीसहित सडक व्यवस्थापन सम्पन्न भइसकेका छन् । नगरपालिकाले प्रदेश र सङ्घीय सरकारसँग सहकार्य गर्दै चौदण्डीको पर्यटन विकासको नयाँ योजनासमेत सञ्चालन शुरु गरेको छ । समुद्री सतहबाट एक हजार ८०० मिटरको उचाइमा अवस्थित चौदण्डीगढीबाट उत्तरी क्षेत्रका महत्वपूर्ण आठ हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । प्रदेश नं १ का पहाडी जिल्ला धनकुटा, भोजपुर, खोटाङ र सङ्खुवासभाको पनि एकैचोटि अवलोकन गर्न सकिन्छ ।

यस्तै तराईका जिल्ला सुनसरी, झापा, मोरङ, सप्तरी र सिरहाका साथै सप्तकोशी नदीको सुन्दर दृश्य र दक्षिण भारतको विहार क्षेत्रसहित वीरपुर सुपौला जिल्ला अवलोकन गर्न सकिने संयोजक तामाङ बताउँछन् । सन् १७७३ सम्म पूर्वमा सेनवंशको राजधानी र राज्य रहेको उदयपुर जिल्लाको पूर्वी पहाडी क्षेत्रको चौदण्डीगढीमा केही वर्ष यतादेखि पर्यटन विकासको पूर्वाधार तीव्र रुपमा तयार हुँदै गएपछि यसको मुहार फेरिँदै गएको छ ।

चौदण्डीगढीलाई पर्यटन विकासको हिसाबले अगाडि बढाउन अहिले सङ्घीय सरकार, शहरी विकास मन्त्रालयदेखि जिल्ला समन्वय समिति उदयपुर, प्रदेश नं १ सरकार र चौदण्डीगढी नगरपालिकाले महत्वपूर्ण योजना सञ्चालन शुरु गरेपछि यस क्षेत्र प्रदेश नं १ को नै महत्वपूर्ण पर्यटन केद्र बन्दै गएको छ ।

विगतमा चौदण्डी गढीमा रहेका सेनराजाका दरबारको पर्खाल तथा महत्वपूर्ण वस्तुका भग्नावशेषको संरक्षण र दरबार क्षेत्र वरपर घेराबेरा गरेर यसलाई अझ व्यवस्थित बनाउने कार्य तथा दरबार परिसरको संरक्षण गर्ने कार्यसमेत भइरहेको चौदण्डी विकास समितिका संयोजक तामाङ बताउँछन्।

सन् १६७१ सम्म पूर्वका चौदण्डी विजयपुर र कमलाक्षेत्रसम्म एउटै चौदण्डी सेनराज्य रहेको स्नातकोत्तर क्याम्पस विराटनगरका प्रा डा अपार लम्साल बताउँछन् । १६७१ मा पूर्वको सेनराज्य विभाजन भएपछि विजयपुर र चौदण्डी गढीमा विभाजन भई चौदण्डीगढी राज्य रहन गएको इतिहासकार बताउँछन् ।

चौदण्डीका पहिलो राजा जगत सेन थिए । त्यसपछि विक्रम सेन, मुकुन्दसेन तृतीय र अन्तिम राजा बुद्धिकर्ण सेनले राज्य गरेका थिए । सन् १७७३ जुलाई १६ मा गोरखाका राजा पृथ्वीनारायण शाहले आफ्ना फौज अभिमानसिंह बस्नेत, स्वरुपसिंह कार्कीलगायतको नेतृत्वमा पठाई चौदण्डीगढी नेपालमा गाभेको इतिहासकार बताउँछन् । रासस

सम्बन्धित समाचार

भारी वर्षाको सम्भावनापछि स्वास्थ्य संस्थालाई उच्च सतर्कतामा रहन मन्त्रालयको निर्देशन
भारी वर्षाको सम्भावनापछि स्वास्थ्य संस्थालाई उच्च सतर्कतामा रहन मन्त्रालयको निर्देशन
  • २०७७ मंसिर ३०, १६: १५

काठमाडौं । सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो र डुबानलगायत विपद्जन्य अवस्था सिर्जना हुन सक्ने भन्दै स्वास्थ्य तथा...

कृष्णभिर र ज्यामिरेमा पहिरो खसेपछि पृथ्वी राजमार्ग एकतर्फी
कृष्णभिर र ज्यामिरेमा पहिरो खसेपछि पृथ्वी राजमार्ग एकतर्फी
  • २०७७ मंसिर ३०, १६: १५

काठमाडौं : पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभिर नजिकै लेदोसहितको पहिरो खसेपछि सवारी आवागमन प्रभावित भएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका...

संघीय संसद्का दुवै सदनको बैठक बस्दै
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
  • २०७७ मंसिर ३०, १६: १५

काठमाडौं : संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ। बैठकमा कानुन, न्याय तथा संसदीय...