समय फेरियोः फेरिएन भरियाको जीवन – Naya Bikalpa
September 8, 2026, Tuesday      Epaper

समय फेरियोः फेरिएन भरियाको जीवन

नयाँ विकल्प,

ताप्लेजुङ – कपाल फुलेर सेताम्मे भएका भक्तबहादुरको टाउकोमाथि नाम्लोको डाम देखिन्छ । फाटेर प्वालैप्वाल भएका कपडा र प्लाष्टिकको डोरीले सिएको प्लाष्टिककै चप्पल लगाएर कहिले भरिएको त कहिले रित्तो ढाकर भिरेर तोक्माको साथमा हिँडिरहेका देखिन्छन्, भक्तबहादुर ।

उनलाई कसैले भक्तबहादुर भनेर बोलाउँदैनन् भने उनकाे नामले प्राय कसैले चिन्दैनन् पनि । बाटोमा भेट्ने कतिपयले ट्रक भनेर बोलाउँदा हाँस्दै बोल्ने भक्तबहादुरलाई नजिकै गएर ‘तपाईको खास नाम के हो ?’ भनेर हामीले सोध्यौँ । उनले हाँस्दै जवाफ दिए –ट्रक ।

“सानैदेखि भारी बोक्ने काम गरियो, आफ्नै गाउँघरदेखि भारी बोकेर हिँड्ने बाटो आसपासका मानिसले पनि यतिकैमा ट्रक भनेर बोलाउन थाले, अहिले ट्रकभन्दा सबैले चिन्छन्”, उनले भने । निम्न आयस्तर भएका परिवारमा जन्मिएका भक्तबहादुरले नौ वर्षको उमेरदेखि भारी बोक्न शुरु गरेका हुन् ।

“बाबुबाजेले खेती किसान गर्ने, भारी बोक्ने काम गर्थे, पढ्न लेख्न पाइँदैनथ्यो, नौ वर्षको हुँदादेखि भारी बोकेको हुँ”, उनले भने । उमेरले ६३ वर्ष पार गर्न लागेका भक्तबहादुरले भारी बोकेर लामो बाटो हिँड्दाका दुःखकष्टदेखि पारिश्रमिक नपाएका गुनासा एकाएक गर्दै सुनाए ।

कुनै समयमा दिनको एक पाथी अन्न लिएर भारी बोकेको स्मरण गर्दै उनले भने, “दिनको एक पाथी अन्न लिनेदिने सर्तमा १४ दिनसम्म लगातार भारी बोक्नुपथ्र्यो, पछिपछि पैसा लिएर बोक्न थालियो, तर कतिले ठगे हिसाब छैन ।”

उनका अनुसार यातायातको पहुँच नहुँदा विराटनगरको जोगवनीदेखि ताप्लेजुङसम्म नून, तेललगायत सामान ढाकरमा नाम्लो लाएर बोक्नुपथ्र्यो । जोगवनीदेखि भारी बोकेर ताप्लेजुङ आइपुग्न १४ दिनसम्म लाग्थ्यो । जोगवनीदेखि धरान, वसन्तपुर, गुफा हुँदै ताप्लेजुङसम्म हिँडेर आइपुग्नुपथ्र्यो ।

बाक्लो बस्ती नहुँदाको समयमा पाटी पौवा र ओढारमा बास हुन्थ्यो । दिनमा तोक्मा र रातमा मट्टितेलबाट बालिने टुकी (बत्ती) को साथ हुन्थ्यो । सानो छँदा अरुको साथमा हिँड्ने भक्तबहादुर अलि ठूलो हुँदै गएपछि एक्ला– एक्लै पनि हिँड्न थाले ।

“सानो छँदा १० किलो बोकेर हिँडेको याद छ, अरु पनि साथी हुन्थे, अलिपछि एक्लै हुन थालियो, धेरैले त त्यसबेलादेखि नै भारी बोक्न छाडेछन्, अरु काममा लागे, मेरो चाहिँ भारी बोक्ने काम लगातार भयो”, उनले भने ।

एक दिन एक्लै हिँड्दा खैरेनीस्थित तमोरको किनारमा बाढीले बगाएर ल्याएको काठको मुढा माथी भारी अड्याउन खोज्दा अचानक खसेर तमोरमा डुबेको दुःखदायी क्षण घरीघरी सम्झनामा आउने गरेको पनि उनले सुनाए ।

“धेरै अघिको कुरा हो, ढाकरसँगै तमोर नदीमा डुबेको थिए, कसोकसो गरेर निस्किएँ, त्यसबेला पनि दुःख धेरै थिए, भारी बोक्दा अझै पनि दुःख छ, तर पनि ढाकर र तोक्मा छाड्ने दिन कहिल्यै आएनन्, अहिले पनि भारी नै बोकेर गुजारा चलाउँछु”, उनले भने । उमेर छँदा ९६ किलोसम्मको भारी बोक्ने भक्तबहादुर अहिले पनि ५० किलोसम्मका भारी बोक्छन् ।

समयसँगै पहाडी क्षेत्रमा यातायातको पहुँच बढ्दै जाँदा भारी बोकेर हिँड्ने दूरी साँघुरिँदै गयो । उमेरमा धरानदेखि ताप्लेजुङसम्म ९६ किलोसम्म बोकेको उनले बताए । अहिले भक्तबहादुरको ढाकरसँग हिँड्ने दूरी साँघुरियो, भारी बोकेको अवधि फराकिलो हुँदै गयो । तर भारी बोकेर उनको जीवनमा कुनै ठूलो परिवर्तन आएन ।

सामान्य घर खर्च र परिवार पाल्नेबाहेक कुनै उपलब्धि नभएको उनको भनाइ छ । “खासै केही गरिएन, दुई जना छोरा र चार बहिनी छोरी छन्, माइली अहिले कक्षा ११ मा पढ्दै छ, उसैलाई पढ्ने खर्च चाहिन्छ, घरमा खान लाउन चाहिन्छ, कमाएको पैसा त्यतिकैमा सकिन्छ”, उनले भने ।

करिब ५० वर्ष बढी भारी बोकेर धेरै सम्पत्ति नजोडे पनि घरपरिवार पाल्न सकेकामा भने आफूलाई सफल ठान्छन्, भक्तबहादुर । गाउँगाउँमा यातायात पुगेसँगै पहिले जस्तो नियमित भारी बोक्ने काम कमै पाइन्छ । करिब सात–आठ वर्षअघिसम्म पाँचथरको थर्पुदेखि ताप्लेजुङको गाउँगाउँसम्म भरियाको लाइन देखिन्थ्यो ।

अहिले गाउँमै सवारी साधन पुग्ने र कतै खच्चडले भारी बोक्न थालेपछि भरिया विस्थापित जस्तै बनेका छन् । कहिलेकाहीँ अलैँची ओसार्ने, साहुकोबाट कुनै घरसम्म चामललगायत सामान ओसार्ने जस्ता काम पाउने गरेको भक्तबहादुरले बताउँछन् । उनीजस्तै अरु थुप्रै भरियाले आजकल काम पाउन छाडेका छन् ।

सामान्य काम पाउने गरे पनि पछिल्लो समयमा सङ्क्रमणका कारण लामो समयसम्म भएको बन्दाबन्दीले पनि भरियालाई समस्या छ । (राससबाट)

सम्बन्धित समाचार

बाढीपीडित महिला र बालबालिकालाई महिला सङ्घको प्रथमिकता
बाढीपीडित महिला र बालबालिकालाई महिला सङ्घको प्रथमिकता
  • २०७७ पुष ३, १७: १८

काठमाडौं : भोटेकोशी बाढीका कारण विस्थापित भएका महिला र बालबालिकालाई नेपाल महिला सङ्घले राहतका लागि प्राथमिकता दिएको छ । सङ्घले...

भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार
भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार
  • २०७७ पुष ३, १७: १८

काठमाडौं : रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म...

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
  • २०७७ पुष ३, १७: १८

काठमाडौं : प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म...