डब्लुएचओले प्रमाणीत नगरेकाे कोभिड–१९ विरुद्धको खोप नेपाल ल्याउने सरकारकाे तयारी – Naya Bikalpa
September 8, 2026, Tuesday      Epaper

डब्लुएचओले प्रमाणीत नगरेकाे कोभिड–१९ विरुद्धको खोप नेपाल ल्याउने सरकारकाे तयारी

नयाँ विकल्प

काठमाडाैं -सरकारले कोरोना भाइरसविरुद्धको खोप विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) मा सूचीकृत नभए पनि यहाँका नागरिकलाई प्रयोगमा ल्याउन पाउने भएको छ ।

खोपसम्बन्धी चारवटा मापदण्डमध्ये दुई पूरा भएपछि खोपको स्वीकृति डब्लुएचओले नदिए पनि सरकारले यहाँका नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउनका लागि ल्याउन पाउने भएको हो । पहिलो कोभिड–१९ विरुद्धको खोप डब्लुएचओमा सूचीकृत हुनुपर्ने, दोस्रो डब्लुएचओमा आकस्मिक प्रयोगका लागि सूचीकृत हुनुपर्ने, तेस्रो खोप उत्पादन गरेका मुलुकको नियमनकारी निकायमा दर्ता हुनुपर्नाका साथै त्यहाँका नागरिकलाई खोप लगाइएको हुनुपर्ने र चौथौ नेपालको औषधि विभागमा दर्ता हुनुपर्ने व्यवस्था छ ।

अहिले कोभिड–१९ विरुद्धको खोप उत्पादन गरेका मुलुकको नियमनकारी निकायमा दर्ता भएको, त्यहाँका नागरिकलाई खोप लगाइएको हुनुपर्ने र औषधि विभागमा दर्ता भएपछि नेपालमा ल्याएर लगाउन मिल्ने छ । सरकारले डब्लुएचओमा सूचीकृत नभए पनि आकस्मिक अवस्थामा औषधि तथा खोप दर्ता व्यवस्थाका लागि औषधि ऐन–२०३५ अध्यादेशमार्फत संशोधन गरी जारी गरेको छ ।

स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य तथा खोप शाखाका निर्देशक डा झलक शर्मा गौतमले सोही अध्यादेशअनुसार कोभिड–१९ विरुद्धको खोप डब्लुएचओले सूचीकृत नगरे पनि नेपालमा ल्याएर नागरिकलाई दिन सकिने बताए । अहिलेसम्म डब्लुएचओले कोभिड–१९ विरुद्ध बनेका कुनै पनि खोपलाई सूचीकृत र आकस्मिक प्रयोगका लागि सूचीकृत गरेको छैन । त्यही भएर नेपालले कोभिड–१९ विरुद्ध उत्पादन गरेको मुलुकको नियमनकारी निकायमा दर्ता र त्यहाँका नागरिकलाई लगाएको आधार तथा नेपालको औषधि व्यवस्था विभागमा दर्ता भएको अवस्थामा यहाँका नागरिकलाई खोप दिनेछ ।

अहिले कोभिड–१९ विरुद्धको खोप फाइजर एण्ड बायोएनटेक, मोडेर्ना (अमेरिका), अक्सफोर्ड–एस्ट्राजेनेका (बेलायत), ‘स्पुतनिक–भी’ र ग्यामेलिया (रुस) तथा ‘साइनोभ्याक्स’ (चीन) का खोप अहिले अन्तिम परीक्षणमा छन् । खोप शाखाका निर्देशक डा गौतमका अनुसार अहिले फाइजर र मोडेर्ना कम्पनीका खोप मात्र उत्पादन गरेका मुलुकमा दर्ता भई त्यहाँका नागरिकले लगाएका छन् । दुवै अमेरिकी कम्पनी हुन् ।

फाइजर कम्पनी अमेरिका र बेलायत दुवै देशमा दर्ता भएको छ । अक्सफोर्ड–एस्ट्राजेनेका (बेलायत), ‘स्पुतनिक–भी’ र ग्यामेलिया (रुस) तथा ‘साइनोभ्याक्स’ (चीन) का कम्पनी अन्तिम परीक्षणको रूपमा रहेका छन् । “सम्बन्धित देशमा दर्ता र नागरिकलाई लगाएका खोप डब्लुएचओमा सूचीकृत नभए पनि हालै जारी गरिएको औषधि ऐन–२०३५ अध्यादेशअनुसार नेपालमा दर्ता गर्न सकिन्छ”, उनले भने , “डब्लुएचओमा सूचीकृत नभई यसरी नेपालमा दर्ता भएपछि यहाँका नागरिकलाई लगाउन सकिन्छ ।”

अक्सफोर्ड–एस्ट्राजेनेका कम्पनीले बनाएको खोप दुईदेखि आठ डिग्री सेल्सियसमा राख्न सकिने भएकाले उपयुक्त हुन्छ । माइनस २० डिग्री सेल्सियस तापक्रममा रहने मोडेर्नालाई पनि एक महिनासम्म दुईदेखि आठ डिग्री सेल्सियसमा राखेर प्रयोगमा ल्याउन सकिने शाखाका निर्देशक डा गौतमको भनाइ छ । उनले अहिले तत्काल नेपालका लागि अक्सफोर्ड– एस्ट्राजेनेका र मोडेर्ना कम्पनीका खोप मात्र उपयुक्त रहेको बताए ।

भण्डारण क्षमता बढाइँदै खोप शाखाले ‘कोभ्याक्स सुविधा’ मार्फत ल्याउन खोपको भण्डारणका लागि तयारी थालेको छ । शाखाका निर्देशक डा गौतमका अनुसार अहिले एक लाख ९० हजार लिटर क्षमता राख्न सकिने भण्डारण रहेको बताए । “अहिले हामीसँग पहिलो चरणका तीन प्रतिशत जनसङ्ख्यालाई लगाउने खोपको भण्डारण क्षमता रहेको छ”, उनले भने , “चाँडै नै २० प्रतिशत जनसङ्ख्यालाई पु¥याउने खोप भण्डारण क्षमता बढाउने तयारीमा रहेका छौँ ।” कोभ्याक्स सुविधामार्फत कूल जनसङ्ख्याको २० प्रतिशतलाई पुग्ने खोप ल्याउने तयारीमा सरकार रहेको छ ।

सम्बन्धित समाचार

बाढीपीडित महिला र बालबालिकालाई महिला सङ्घको प्रथमिकता
बाढीपीडित महिला र बालबालिकालाई महिला सङ्घको प्रथमिकता
  • २०७७ पुष ४, १७: १७

काठमाडौं : भोटेकोशी बाढीका कारण विस्थापित भएका महिला र बालबालिकालाई नेपाल महिला सङ्घले राहतका लागि प्राथमिकता दिएको छ । सङ्घले...

भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार
भोटेकोशी बाढीः हालसम्म १३ हजार ३९६ को उद्धार
  • २०७७ पुष ४, १७: १७

काठमाडौं : रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा सञ्चालन गरिएको खोज तथा उद्धार अभियानबाट हालसम्म...

प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
प्रधानमन्त्री राहत कोषमा पौने १२ अर्ब
  • २०७७ पुष ४, १७: १७

काठमाडौं : प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९ बजेसम्म...