
नयाँ बिकल्प,
काठमाडौं । हरेक कम्पनीको सफलताको पछि ब्राण्डिङ र प्रमोसनले महत्वपूर्ण भूमिका खेलेको हुन्छ। कम्पनीहरुको नाम आमउपभोक्ता समक्ष त्यस बेला मनमा मनमा बस्न सक्छ, जव त्यो बस्तु वा सेवाको ब्राण्डिङ सही ढंगले हुन्छ।
यसरी कुनै बस्तु वा सेवालाई उपभोक्तामाझ परिचित गराएर उनीहरुको मन जित्न सक्छ, तव मात्र उत्पादकले आफूलाई सफल भएको महसुस गर्दछ। यसरी बस्तु वा सेवालाई ब्राण्डिङ गराउन गराउन सफल सृजनशिल क्षमताका व्यक्तित्व हुन्, मेघेन्द्र प्रकाश गिरी ।
कर्पोरेट ब्राण्डिङका लागि नेपालमा गिरी एक सफल व्यक्तित्व हुन्। एनआईसी एशिया बैंकबाट नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्डिङ र मिडिया मार्केटिङमा स्थापित र लोकप्रिय गिरी आफ्ने छुट्टै पहिचान बनाउन सफल भइसकेका छन्।
बर्दियाको गुलरियामा जन्मिएका गिरी हुने बिरुवाको चिल्लो पात भने झैं सानैदेखि पढाइका साथै अतिरिक्त क्रियाकलापमा समेत अब्बल थिए। माध्यमिक तहको अध्ययनमा मध्यम कसिमका गिरी बाणिज्य शास्त्रतर्फ प्रबिणता प्रमाण पत्र तह (आइकम) मा कलेज फस्ट हुन सफल भए।
२०४९ मा आइकम पुरा गरेका गिरीले स्वअध्ययनबाटै त्यो सफलता प्राप्त गरेपछि स्नातक तह नेपालगञ्जको महेन्द्र बहुममुखी क्याम्पसबाट पुरा गरेका गिरी स्नातकोत्तर तह अध्ययनका लागि भने काठमाडौं आएका थिए।
पुतलीसडकस्थित शंकरदेव क्याम्पसमा स्नातकोत्तर गर्दै गर्दा बुबाको पेशालाई सघाउन उनी गृह जिल्ला बर्दिया फर्केका थिए। त्यसलगत्तै एक वर्षपछि काठमाडौं आएर एमबिए पुरा गरेका गिरी साहित्य र सृजनशिल कामका क्षेत्रमा समेत रुची देखाउने स्वभावका थिए।
मिडियाप्रति पहिलेदेखि नै आकर्षित भएका गिरी बीबीसी नेपाली सेवाले २०५२ मा आयोजना गरेको कार्यक्रममा नेपालगञ्जमा ‘विझाइ नदेउ यो मुटुमा, फूल टिप्दा काडाँ बनेर‘’ भन्ने गीत प्रस्तुत गरेर चर्चित बनेका थिए।

उनले त्यस कार्यक्रममा नेपालगञ्ज सांगीतिक समुहको एउटा र अर्को उनको गीत प्रस्तुत गरेका थिए। त्यही कार्यक्रममा हास्यकलाकार हरिवंस आचार्य र मदनकृष्ण श्रेष्ठले ‘गलगाँड’ भन्ने हास्य कार्यक्रम प्रहसन गरेका थिए।
त्यो कार्यक्रम विविसीको नेपाली सेवा र र विविसी टेलिभिजनबाट प्रत्यक्ष प्रशारण भएको थियो। गिरीलाई गीत गाउन र अन्य सृजनशिल क्षेत्रमा काम गर्ने हौसला मिल्यो। उक्त प्रस्तुतिपछि सबैले प्रोत्साहित गरेका गिरी बताउँछन्।
एमबिए सकिएपछि ‘चिल्ड्रेन म्याग्जीन’ ‘योङ हेराल्ड’ मा मार्केटिङ अफिसरको रुपमा काम गरेका गिरीले भर्खर कलेज सकिएर करिअर सुरु गर्दा तीन महिनाभन्दा लामो समय काम गर्न सकेनन्। त्यसपछि गिरीले नेपाल टोबाको कम्पनीमा मार्केटिङ तथा सञ्चार अधिकृतको जिम्मेवारी लिएर काम गरे।
थारु, मधेसी, अवधी, हिन्दी तथा स्थानीय भाषा बोल्न पोख्त गिरीले मार्केटिङ गरेका क्षेत्रमा सर्वाधिक बिक्री हुन्थ्यो । मार्केटिङसँगै कम्पनीको ब्राण्डिङमा उनले सबैभन्दा धेरै भूमिका निर्वाह गरेका थिए। फरक शैलीमा काम गर्ने गिरीले नेपाल टोवाको मार्केटिङ गर्ने रणनीति नै परिवर्तन गरिदिए।
करिअरकै सिलसिलामा उनले नेपाल टोवाको कम्पनी छाडेर एशियन पेन्ट्समा जाने निर्णय गरे । पोखरा क्षेत्रको क्षेत्रीय इन्चार्जको रुपमा काम गरे पनि उनले सहज महसुस गरेनन् र तीन महिनामै जागिर छाडे।
आफ्नो प्रतिभा प्रस्तुत गर्न पाइने अभिलासाका साथ कान्तिपुर टेलिभिजनमा काम गर्ने निर्णय लिएका गिरी टेलिभिजनको छुट्टै आकर्षण हुने भएकाले त्यसमै मिहनेत गर्ने योजना बनाए।
टेलिभिजनको ग्ल्यामरस लाइफबाट आकर्षित भएका गिरी आफ्नो क्रियटिभिटी प्रस्तुत गर्ने मार्केटिङको जागिर भन्दा नयाँ कन्सेप्टका साथ कार्यक्रमहरु बनाउन ‘प्रोग्राम प्रोडुसर’ तथा ‘प्रिजेन्टर’को रुपमा आबद्ध भएका थिए।

एशियन पेन्ट्स छाडेको तीन चार महिनासम्म उनी बेरोजगार बसे जसले उनलाई धेरै समस्या पनि निम्त्यायो। तर त्यही समस्या भोगाइको समयलाई उनले उपयोग गरे ।
कुनै कम्पनीलाई चाहिने दक्ष जनशक्तिका लागि सञ्चारमा माध्यममा विज्ञापन गर्ने, त्यसपछि सर्ट लिस्ट गरेर लिखित, मौखिक हुँदै चयन गर्नु पर्ने झन्जटीलो अवस्थालाई गिरीले मनन गरेर त्यसैलाई आधार मानेर टेलिभिजनमार्फत ‘रियालिटी सो’ गर्ने निर्णयमा पुगे।
यसमा ठूला ठूला कम्पनीको उच्च व्यवस्थापनका लागि आवश्यक पर्ने कर्मचारीहरुका लागि प्रतिस्पर्धा गराउने । उक्त आवेदकहरुलाई टेलिभाइज गरेर एउटा राम्रो ‘सो’ चलाउने गरि उनले कन्सेप्ट तयार पारे।
यस्तो ‘सो’बाट जसले धेरै स्कोर प्राप्त गर्छ, उसले चाहेको कम्पनीमा जागरिको लागि छनोट गर्ने प्रक्रिया अबलम्वन गरे। यस्तो ‘सो’ ले जागिरको खोजिमा रहेका युवालाई अन्तर्वार्ता कसरी फेस गर्ने, कसरी तयारी गर्ने लगायतका कुरामा ज्ञान दिने भएकाले कार्यक्रम चल्ने उनको पूर्वानुमान थियो।
यस्तो ‘सो’ मा नेपालका सबै कर्पाेरेट हाउससँग संझौता गर्ने उनीहरुलाई आवश्यक पर्ने दक्ष जनशक्तिको लागि सहजिकरणको गर्न एउटा प्रपोजल तयार पारे। २०६१ मा यहि प्रपोजल लिएर कान्तिपुर टेलिभिजनमा पेश गरेको अनुभव गिरी सुनाउँछन्।
कार्यक्रमको कन्सेप्ट सुरुमा टेलिभिजनले स्वीकार गरे पनि उक्त कार्यक्रम उत्पादनमा धेरै लागत लाग्ने हुनाले कार्यक्रम अगाडि नबढेको उनी बताउँछन्। उनको यो क्रियटिभ सोच पुरा हुन नसके पनि टेलिभिजनमा काम गर्ने मोहका कारण उनी मार्केटिङमा आवद्ध भए।
प्रोगाम बनाउन नपाए पनि उनले आफैले क्रियटिभ क्षेत्रमा विज्ञापन बनाउने लगायतका काममा आवद्ध रहिरहे। उनले तयार पारेका थुप्रै विज्ञापनका भिडियो नेपाली जन–जनको मनमा बस्न सफल भएका छन्। यहिबाट उनले आफ्नो क्रियटिभ काम गर्ने भोक केही हदसम्म पुरा गरे।
कान्तिपुर पब्लिकेसन्सले आफ्नो वार्षिकोत्सवको अवसरमा विज्ञापन बनाउने निर्णय गरेसँगै नेपालका उत्कृष्ट विज्ञापन एजेन्सीहरूले समेत उक्त विज्ञापन बनाउन सहभागिता जनाएका थिए। उनको कन्सेप्टमा तयार भएको ‘प्रिन्ट एड’ कान्तिपुर टेलिभिजनको तेस्रो वार्षिकोत्सवका लागि छनोट भयो।

यसका लागि उनले ‘दुई वर्षको सानो फुच्चे बच्चा खोजे। उक्त बच्चालाई हात माथि उठाएर पृथ्वीलाई नै होल्ड गर्न लगाए। पछाडी दुई वटा छाप छाडेको पिक्चर बनाए । तेस्रो पाइलामा पृथ्वी समाएको फोटो बनाए । पछाडिका दुई पाइलालाई ‘मिठो सम्झना हिजोको’ र तेस्रो पाइलालाई ‘छ कल्पना भोलिको ।’
दुई पाइलाले विगतका दुई वर्षको इतिहास थियो । तेस्रो पाइलाले भोलिका दिनमा हामी नेपालमा मात्रै नभएर विश्वमै पुग्नु पर्छ भन्ने कन्सेप्ट थियो । उक्त विज्ञापनले सर्वाधिक चर्चा बटुलेको घटनाले उनलाई क्रियटिभ क्षेत्रको यात्रामा अगाडि बढ्न हौसला प्रदान गर्यो।
कान्तिपुर टेलिभिजनलाई ग्लोबल लञ्च गर्ने क्रममा पनि उनले आफ्नो प्रतिनिधित्व जनाए। जसले उनलाई आफूलाई अझ सिक्ने ठूलो मौका मिलेको बताए। यसै क्रममा उनले कान्तिपुरमा साढे ११ वर्ष विताए। मिडियामा काम गर्न रमाइलो थियो तर उनलाई भविष्यले सोच मग्न बनायो।
टेलिभिजनमा काम गर्दा गर्दै उनको कार्यक्षमताको चर्चाका कारण विभिन्न कर्पोरेट हाउसबाट अफर आउन थाल्यो । बैंक क्षेत्रप्रतिको आकर्षणले गर्दा यसवीचमा उनले अर्थशास्त्रमा स्नातकोत्तर पनि गरिसकेका थिए।
अर्थशास्त्र बढेर बैंकरको भुमिकामाभन्दा ब्राण्ड म्यानेजरको भुमिकाम काम गर्ने अफर आएपछि उनी एनआईसी एशियाको ब्राण्ड म्यानेजर पदमा आबद्ध भए। क्यापिटल प्लानपछि आक्रामक बैंकिङ गरिरहेको एनआईसी एशिया ब्राण्डिङमा सक्रिय थियो।
उनले एनआईसी एशियाको क्याम्पियनका लागि धेरै काम गरे। तत्कालिन समयमा गरिएको एनआइसी एशिया बैंकको ब्राण्डिङ क्यापियनले अहिले समेत चर्चा समेत पाउन सफल भयो।
गिरीकै सफल ब्राण्डिङ रणनीतिले बैंकलाई जल, थल र आकाश तीन स्थानमै चिनाउन सफल भयो। उनले फेवातालदेखि लिएर एयर क्राफ्टमा समेत एनआईसी एशियाको ब्राण्डिङ सुरूवात गरे। यो बैंकमा उनको सफल क्याम्पियनलाई हेरेर अन्य कम्पनीहरूबाट अफर आउन थालेको गिरी बताउँछन्।

यसै क्रममा उनलाई आएका अफरहरू मध्ये नेपाल लाइफको अफरले आकर्षित गर्यो । नयाँ जोस, जाँगर, सोच, फरक रणनीति भएका युवा व्यवस्थापक तत्कालिन प्रमुख कार्यकारी अधिकृत विवेक झासँग काम गर्ने मौका पाउनु उनको लागि उत्साहजन अवसरका रहयो। दूरगामी सोच राख्ने ब्राण्डिङको महत्व बुझेका झासँगको ब्राण्डिङ यात्राले नेपाल लाइफलाई नै उत्कृष्ठ कम्पनीको रूपमा स्थापित गर्न सफल भए।
नेपाल लाइफको ब्राण्डिङ तथा मिडिया व्यवस्थापन सँगै समय सापेक्ष उनले तयार पारेका सन्देशमुलक गीत तथा भिडियोले आमनेपालीको मन जित्न सफल भई छोटो समयमा नै मिलियन भिउज पार गरेका छन्।
चाड पर्व विशेष सांगीतिक भिडियो होस् वा कोरोना महामारीको लकडाउनबीच तयार भएको सन्देशमुलक तथा उत्प्रेरणा मुलक भिडियो, सबैले बजारमा राम्रो चर्चा बटुलेका छन् । समय अनुसार के पस्किनु पर्छ र अडियन्सको चाहना केछ भनेर बुझ्न सक्ने खुबी गिरीमा देखिन्छ।
बैकिङ क्षेत्रमा ब्राण्डिङका लागि अब्बलता देखिएका गिरीले बीमा क्षेत्रमा पनि ब्राण्डिङकै क्षेत्रमा एउटा नयाँ इतिहास कोर्न सफल भए। कम्पनीले आयोजना गर्ने अभिकर्ता सम्मान लगायतका कार्यक्रममा इफेक्टिभ कम्युनिकेसनका लागि उनि अब्बल मानिन्छन्।
कम्पनीको शाखलाई उच्च राख्न र बचाइ राख्न उनले महत्वपुर्ण भुमिका निर्वाह गर्न सफल भएका छन् । उनले एनआईसी एशिया तथा नेपाल लाइफको ब्राण्डिङ गर्दा गर्दै आफ्नो पनि ब्राण्डिङ भएको पत्तो पाएनन् ।
कान्तिपुर टेलिभिजनमा एक दशक भन्दा लामो अनुभवका कारणनै मिडियासँगको पब्लिक रिलेसनमा अब्बल मानिन्छन् । सञ्चार माध्यमबाट सिधै राष्ट्रिय स्तरको तत्कालिन नम्बर वान बाणिज्य बैंक तथा नम्बर वान बीमा कम्पनीको उच्च व्यवस्थानमा रहेर काम गर्ने व्यक्तिमा साहेद उनी पहिलो व्यक्ति भित्रै पर्छन।
ब्राण्डिङ गर्दा के के हेर्नु पर्छ ?
ब्राण्डिङ समय अनुसार गर्नु पर्छ । यसमा पुस र पुलको रणनीति सधै लागु हुने गिरी बताउछन् । कम्पनीका विभिन्न प्रोडक्टको मार्केटिङ पुस स्टाटेजीबाट गर्न सकिन्छ भने कम्पनीको ब्राण्डिङले पुल रणनीतिको काम गरिरहेको हुन्छ । मार्केटिङ गर्दा आफ्नो प्रोडक्ट लिएर ग्राहककोमा पुग्नु पर्छ । तर ब्राण्डिङले कस्टमरलाई नै कम्पनी प्रति आकर्षित गरिदिन्छ ।
गिरी भन्छन् ‘हामीले सबैभन्दा पहिला कम्पनीले आफ्नो प्रोडक्टको टार्गेट गु्रप कुन हो थाहा पाउन पर्छ ।’ ग्राहकको टेस्ट, कलर, कल्चर, पर्चेजिङ पावर, इकोनोमिक व्यागराउण्ड हेरेर मात्रै मार्केटिङ तथा ब्राण्डिङ रणनीति बनाउनु पर्ने उनको धारणा छ ।

आफ्ना टार्गेट ग्रुप पत्ता लगाइसके पछि सबैभन्दा उपयुक्त सन्देश बनाउन सक्नु पर्छ । यस्तो म्यासेज तयार पार्नु पर्यो जसले ग्राहकलाई नक गर्न सक्ने हुनु पर्याे । ‘वाउ भन्ने हुनु पर्याे ।’ स्टोरीले कनेक्ट गर्नु पर्यो । ग्राहकले सोचेकै भाषा, रङ, फोटो, स्वाद, ट्युन हुनु पर्यो ।
उनी भन्छन् ‘एक पटक मात्रै कम्पनी प्रति आकर्षित गर्न सकियो भने ग्राहकले कम्पनीको ब्राण्ड, इमेज हत्तपती भुःदैनन्, उसँग फेरी कनेक्ट सहजै हुन सकिन्छ ।’
मार्केटिङ प्राय कम्पनीको बस्तु तथा सेवा बिक्रीको हतियारका रुपमा प्रयोग गरिन्छ भने ब्राण्डिङले भने कम्पनीलाई नै हरेकको मन मस्तिष्कमा सदैब बसाउन भुमिका निर्वाह गरिरहेको हुन्छ । ब्राण्डिङले तत्काल भन्दा पनि दीर्घकालिन रुपमा बजारमा टिकाउन मद्दत गर्ने भएकाले यो सबैभन्दा ठुलो हतियार हो ।
हाल विश्व एउटा डिपार्टमेन्ट स्टोरको रूपमा रहेको छ । आफ्नो चाहेको सामान तथा सेवा छनोटका लागि उ पूर्णत स्वतन्त्र छ । उसको दिमागमा जुन कम्पनीको ब्राण्ड बसेको हुन्छ, त्यही नै उसले छनोट गर्दछ । कुनै पनि प्रोडक्टको इमेज छनोट गर्नुभन्दा अगाडि उसको दिमागमा प्रोडक्ट इमेज बसाइदिने काम ब्राण्डिङले नै गर्दछ ।
राष्ट्रले देशको सुरक्षा क्षेत्रमा खर्च गरेझै कुनै पनि कम्पनीले विज्ञापन तथा ब्राण्डिङ पनि कम्पनीले चाहेको बेलामा, आवश्यक परेको बेलामा प्रयोग गर्न, प्रतिस्पर्धिलाई उछिन्न र सदैव आफ्ना ग्राहकको मनमस्तिकमा बसिरहनको लागि विपनको रूपमा प्रयोग गर्नु पर्दछ।
पछिल्लो समय “एम्बियन्ट एडभर्टाइजि” रणनीति सबैभन्दा प्रभावकारी भैरहेको उनको अनुभव छ । सहि समय, स्थान, मौसम, रहनसहन, भाषा, धर्म, भुगोल अनुसार मनन गरि गरिएको ब्राण्डिङ रणनीतिद्वारा ग्राहकले उपभोग गर्न लागेको बस्तु तथा सेवा प्रति छुट्टै फिल गराउन यस्ता अवधारणाले प्रभावकारी भुमिका खेल्ने गरेको छ।
सफलताका सुत्र
मिडिया, बैंक, बीमा, एफएमसिजी र बहुराष्ट्रिय कम्पनी जस्ता कम्पनीमा काम गरेको अनुभव बटुलिसकेका गिरीको विचारमा सफल हुन पहिलो सुत्र ‘क्रियटिभ एण्ड हार्ड वर्किङ’ नै हो । ब्राण्डिङ हेडको रुपमा काम गर्दै गर्दा सबैभन्दा पहिलो आवश्यकता युनिक क्रियटिभ सोच हो भने अर्को आवश्यक चिज मिडियासँगको गहिरो पिआर नै हो ।
गिरी आफै गीत लेख्नुका साथै गाउने तथा कम्पोज समेत गर्छन् । त्यसैगरी विज्ञापनका कन्सेप्ट बनाउने देखि लिएर निर्देशन गर्ने कला सम्म उनमा छ । यहि कलाले पनि उनलाई सफल बनाउन साथ दिएको छ । मार्केटिङ सँग सँगै ब्राण्डिङ दुबै ज्ञान तथा अनुभवले उनलाई सफल बनाउन मद्दत गर्यो।
हरेक कम्पनीका आ(आफ्नै रणनीति हुन्छन् । कम्पनीको रणनीति अनुसार ब्राण्डिङ हेडले आफुलाई प्रस्तुत गर्न सक्नु पर्छ । कम्पनीको चाहनालाई पुरा गर्न सक्ने व्यक्ति नै सफल ब्राण्ड म्यानेजर हुने गिरीको धारणा छ । अर्कोतर्फ आफु सँग काम गर्न सक्ने प्रतिभा छ तर त्यो प्रतिभालाई कम्पनीले पनि उपयोग गर्न खोज्दैन भने त्यो व्यक्तिले सफलता पाउन गाह्रो हुन्छ । त्यसैले दुबैको कम्पोजिसन हुनै पर्यो।
ब्राण्ड म्यानेजरलाई १० देखि ५ बजेसम्मको समय सिमा भित्र रहेर काम गर्न दिइयो भने पनि उ सिर्जनसील हुन सक्दैन । गिरीका अनुसार ब्राण्ड म्यानेजरलाई क्रियटिभ काम गर्नका लागि स्वतन्त्र छाडिदिनु पर्छ । सफलता तपाइको हातमा हुनेछ ।
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले सोमबार आफ्नो ९०औँ वार्षिकोत्सव मनाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा...
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...