
नयाँ बिकल्प,
काठमाडौं । प्रवासमा बसेर पत्रकारिता गरिरहेका क्रियाशील नेपाली पत्रकारहरु तथा संघसंस्थालाई समेटेर सहकार्य गर्दै व्यावसायिक तथा जिम्मेवार पत्रकारिताको विकासमा सघाउने उद्देश्यले गैरआवासीय नेपाली पत्रकार महासंघको गठनको घोषणा भएको छ।
बीबीसी नेपाल सेवामा लामो समय काम गरिसकेका बेलायतमा रहेका पत्रकार भगिरथ योगीको अध्यक्षतामा गठन भएको महासंघले ८२ मुलुकमा रहेका प्रवासी नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए)संग सहकार्य गर्ने जनाएको छ।
महासंघको वरिष्ठ उपाध्यक्षमा तोया दाहाल अमेरिका, उपाध्यक्षमा श्याम लुइँटेल बेलायत, महासचिवमा कृष्ण केसी अमेरिका, सचिवहरूमा अनिल अधिकारी अमेरिका, छत्र शंकर अष्ट्रेलिया, खगराज गौतम जापान र अनुजा बुढाथोकी साउदी अरेबिया रहेका छन्।
नवगठित महासंघका उपाध्यक्ष श्याम लुईंटेलका अनुसार सह कोषाध्यक्षमा महेश खाती डेनमार्क रहेका छन् भने सल्लाहकारहरुमा डा. भरत राज पौडेल अस्ट्रेलिया तथा डा. जगन अधिकारी बेलायत रहेका छन्।
जुन देशमा महासंघ दर्ता हुन्छ, त्यही देशबाट कोषाध्यक्ष मनोनयन गरिने जनाइएको छ। गैरआवासीय नेपाली पत्रकार महासंघ नेपाल बाहिर बेलायत, अमेरिका, क्यानडा, अष्ट्रेलिया या युरोपका कुनै एक देशमा दर्ता गरिने भएको छ।
नवगठित महासंघका संस्थापक अध्यक्ष योगीले अमेरिका, युरोप, अस्ट्रेलिया लगायतका मुलुकमा क्रियाशील नेपाली पत्रकारहरुका संस्थासंग सहकार्य गरी प्रवासमा नेपाली पत्रकारितालाई अरु बढी गरिमापूर्ण र व्यावसायिक बनाउन महासंघ गठन गरिएको बताए।
महासंघले नेपाल बाहिर भारत लगायतका मुलुकहरुमा क्रियाशील नेपाली तथा नेपाली मूलका पत्रकारहरुलाई पनि समेट्ने गरी आउंदो ९० दिन भित्र संघको विधान बनाइने र त्यसको १८० दिन भित्र नयां कार्य समिति गठन गरिसक्ने जनाएको छ। महासंघका राष्ट्रिय शाखाहरु भने तत्काल गठन गरिने छन्।
संस्थापक महासचिव कृष्ण केसीले गैरआवासीय नेपाली संघसंग आफुहरुले सहकार्य गर्दै अगाडि बढ्ने बताए। उनले कुनै पनि संघसंस्थासंग प्रतिष्पर्धा गर्न नभै सहकार्य गर्न आफुहरु आएको बताए।
महासंघले विदेशमा रहेका नेपाली पत्रकारहरुलाई संगठित गर्दै व्यावसायीक नेतृत्व प्रदान गर्ने, सञ्चार क्षेत्रको विकासका लागि नेपालमा रहेका पत्रकारितासंग सम्बन्धित संघसंस्थासंग सहकार्य गर्ने, प्रवासमा नेपाली भाषा, कला, संस्कृति र नेपाली पहिचानको प्रवर्द्धनका लागि काम गर्ने जनाएको छ।
लोकतन्त्र, मानव अधिकार तथा प्रेस स्वतन्त्रताको प्रतिरक्षाका साथै पत्रकारिता तथा सञ्चार क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय संगठन तथा संघ संस्थासँग सहकार्य गर्दै अघि बढ्ने पनि महासंघले जनाएको छ।
महासंघमा प्रवासमा क्रियाशील पत्रकारहरु सदस्य बन्न सक्ने छन् भने पत्रकारहरुका संघ संस्था एसोसियट सदस्य बन्न सक्ने छन्। त्यस्तै महासंघले मानार्थ सदस्यता पनि दिन सक्ने प्रावधान राखिएको उपाध्यक्ष लुइँटेलले बताए।
संघका शाखा खुलेका हरेक मुलुकमा राष्ट्रिय संयोजक रहने र राष्ट्रिय संयोजकको नेतृत्वमा सदस्य संख्याका आधारमा एउटा बिजोर संख्या रहनेगरी कार्यसमिति गठन हुने छ। राष्ट्रिय संयोजक स्वत केन्द्रिय सदस्य हुनेछन। बिचमा खालि हुन आएका पदमा त्यो भन्दा तल्लो तहकाले स्वत पदोन्नति पाउने छन्।
महासंघको नेतृत्व चयन रोल मोडलका रुपमा अघि बढाइने, हरेक २३ महिना २९ दिन अर्थात २४ महिना पुग्नु एक दिन अगाडी सो पदमा एक तह मुनिका पदीय ब्यक्ति स्वतः पदस्थापन हुने प्रस्ताव गरिएको छ।
नेपाली संस्थाहरुमा निर्वाचनका क्रममा देखिएको गुटबन्दी तथा विकृति हटाउन नेतृत्वको क्रमशः विकास गरी नमुना संस्थाको रुपमा विकास गर्ने लक्ष्य लिएको पनि महासंघले जनाएको छ।
काठमाडौं : नेपाल राष्ट्र बैंकले आजका (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...
धनकुटा : धनकुटा उद्योग वाणिज्य सङ्घको वर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा गरेका महत्वपूर्ण काम तथा उपलब्धि सार्वजनिक गरेको छ। सङ्घले शुक्रबार...
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...