
काठमाडौं – नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पूर्णकदको शालिक सुन्दरीजलमा स्थापना गरिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको सुन्दरीजलस्थित मेलम्ची खानेपानी आयोजनको पानी प्रशोधन केन्द्र परिसरमा निर्माण गरिएको सन्त नेता भट्टराईको पूर्णकदको शालिक आइतबार एक समारोहबीच अनावरण गरेका हुन् ।
विसं २०४८ को आमनिर्वाचनमा तत्कालिन काठमाडौं क्षेत्र नम्वर १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार भएका अन्तरिम सरकारका प्रधानमन्त्री भट्टराईले मेलम्चीको पानी काठमाडौँ ल्याउने संकल्प र घोषणा मतदातासमक्ष गरेका थिए ।
भट्टराईले देखेका सपना राजधानीवासीले मेलम्चीको पानी पाएसँगै साकार भएको भन्दै खानेपानी मन्त्रालयले सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा उनको पूर्णकदको सालिक निर्माण गरेको जनाएको छ ।
शालिक अनावरण गर्दै प्रधानमन्त्री देउवाले खानेपानी समस्याको दीर्घकालीन समाधानलाई सरकारले प्राथमिकतामा राखेको भन्दै काठमाडौं उपत्यकावासीलाई सधैँ पानी वितरण गर्न सक्नेगरी आवश्यक तयारी गरिने बताए ।
राजधानीवासीलाई मेलम्चीको पानी खुवाउने सन्त नेता भट्टराईको सपना पूरा भएकामा खुसी लागेको भन्दै देउवाले गोकर्णेश्वर नगरपालिका वडा नं १ सुन्दरीजलस्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज प्रवेश गर्ने स्थानीयवासीसँग शुल्क उठाउने सरकारी कार्य बन्द गर्ने बताए ।
खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौ उपत्यकाबासीलाई मेलम्चीको शुद्ध पानी खुवाउने सपना र संकल्प बोकेका सन्त नेता भट्टराईको योगदानको स्मरणस्वरुप शालिक निर्माण गरिएको बताए ।
खानेपानी मन्त्री चौधरीले काठमाडौं उपत्यकामा देखिएको पानीको अभावलाई पूर्ती गर्न बागमति नदि, महादेब खोला, सिस्नेरी खोला र ठोस्ने खोलाबाट थप पानी ल्याउन सकिने विकल्प अघि सारिएको बताए ।
मेलम्ची खानेपानी आयोजनाको बाँधस्थलमा स्थायी संरचना निर्माण गर्न एसियाली विकास बैंकको पूरक प्रतिवेदनको प्रतिक्षा गरिरहेको भन्दै मन्त्री चौधरीले याङ्ग्री र लार्केको पानी समेत सुन्दरीजलमा ल्याउने योजनालाई पुरा गर्न सरकार तयार रहेको बताए ।
पूर्वमन्त्री तथा सिन्धुपाल्चोक क्षेत्र नम्वर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेतले मेलम्चीको हेडवक्र्सको काम सम्पन्न नहुँदा ५५ करोड रुपैयाँ भुक्तानी गरेको, आयोजनाको निर्माणमा विदेशी दातृ निकाय र परामर्शदाताले लापरवाही गरेको भन्दै मेलम्ची नदिमा ५ वटा पुल, नदी नियन्त्रण र बस्ती व्यवस्थापन गर्नु पर्ने माग राखे ।
सांसद सन्तोष चालिसेले राष्ट्रिय निकुञ्ले स्थानीय वासीसँग आवत जावत गर्दा समेत ढाट लगाएर रकम असुल्ने गरेकोमा असन्तुष्टि व्यक्त गर्दै मेलम्चीको पानी वितरणमा काठमाडौं जिल्लाका जनप्रतिनिधि सकारात्मक रहेको बताए ।
मन्त्रालयका सचिव मणिराम गेलाल, मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक कमल श्रेष्ठ, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसाल लगायतले मेलम्चीको पानी वितरण कार्य दीर्घकालिन हुनु पर्ने भन्दै किसुनजीको शालिक निर्माणले उहाँको योगदानलाई स्मरण गरेको बताए ।
सो अवसरमा कार्यकारी निर्देशक श्रेष्ठले आयोजनाले काम नसक्दै मेलम्ची खानेपानी विकास समिति खारेज भएका कारण कर्मचारीहरुले गत साउन यता कुनै तलब सुविधा नभएको भन्दै समस्या समाधानको लागि प्रधानमन्त्रीसँग आग्रह गरे ।


संखुवासभा : नेपाली कांग्रेसभित्र आन्तरिक सुधार, सुशासन र पार्टी रूपान्तरणको मुद्दालाई लिएर देशव्यापी अभियान तीव्र पारिएको छ। यसै क्रममा पार्टीका...
काठमाडौँ : चालु आर्थिक वर्ष पूरा हुन १९ दिन बाँकी हुँदा सरकारले राजश्व संकलनमा लक्ष्यको ७५ दशमलव १७ प्रगति हासिल...
काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...