रामचन्द्र मण्डल भए मधेश प्रदेशको सभामुख – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

रामचन्द्र मण्डल भए मधेश प्रदेशको सभामुख


जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा नेकपा एमालेका रामचन्द्र मण्डल निर्वाचित भएका छन् । मधेश प्रदेश सभाको सभामुखको लागि मंगलबार भएको मतदानमा मण्डलले ७४ मत प्राप्त गरी विजयी भएका हुन् ।

धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्वर १ को ख बाट दोस्रो पटक निर्वाचित मण्डललाई प्रदेश सभाका एमाले, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्र्टी, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्र्टी, नेपाल संघीय समाजवादी र चार स्वतन्त्र सांसदले मत दिएका हुन् ।

नेपाली कांग्रेसबाट सभामुखका उम्मेदवार जंगीलाल रायले कांग्रेस र एकीकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्यको मत पाएका थिए ।

२०७९ मंसिर ४ गते भएको प्रदेश सभाको निर्वाचनपछि मधेशमा सबैभन्दा ठूलो दल भएको नेकपा एमालेको मधेश प्रदेश सभा संसदीय दलको नेताको दाबी गरेका मण्डललाई नेताहरु सरोज यादव, हरिनारायण महतो, राजकुमार लेखी, मोहम्मद समिरले चुनौति दिएकाले पछि परे । दलको नेतामा सरोज यादव र उपनेतामा दीपेन्द्र ठाकुर चयन भए ।

२०७४ को प्रदेशसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर २०७७ मा एमाले प्रवेश गरेका कारण प्रदेशसभा सदस्य पद गुमाएका मण्डललाई नवप्रवेशी भनेर एमाले भित्र आलोचना पनि गरिएको थियो । तर पार्टीको निर्णयमा विमति नजनाएका मण्डल अन्ततः मधेश प्रदेशसभाको सभामुख निर्वाचित भए ।

को हुन् सभामुखमा विजयी मण्डल ?

बाल्यकालदेखि क्रान्तिकारी विचार बोकेका मण्डल शिक्षक हुँदै सभामुख बन्न सफल भएका छन् । धनुषा जिल्लाको मिथिला विहारी नगरपालिका–३ स्थित मिथिलेश्वर मौवाहीमा २०३० असार १७ मा जन्मिएका रामचन्द्रले अंगे्रजीमा स्नातक र मैथिलीमा स्नातकोत्तर गरेका छन् ।

२०४६ मा सिपी मैनाली नेतृत्वको नेकपा मालेबाट राजनीति थालेका मण्डल तत्कालिन मिथिलेश्वर मौवाही गाविसको गाउँ कमिटी सचिव बने ।
२०४७ मा रारा बहुुमुखी क्याम्पसमा अध्ययन गर्दा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको जिल्ला कमिटी सदस्य बनेका उनी ०४९ मा पढाइको सिलसिलामा काठमाडौं गएपछि एमालेको धनुषा काठमाडौं सम्पर्क मञ्चका संस्थापक अध्यक्ष बने । २०५३ सालमा धनुषा फर्केर शिक्षण पेशामा लागे ।

उनले कुर्थास्थित माध्यमिक विद्यालयमा अंग्रेजी विषयको अध्यापन सुरु गरेका मण्डल केही समयपछि नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला कार्य समिति सदस्य र पछि माओवादीको शिक्षक संगठनमा आवद्ध भए ।

२०५९ सालमा उनी माअ‍ोवादी जनयुद्धमा भूमिगत नै भए । भूमिगत भएसंगै माओवादीको जिल्ला कमिटी सदस्य बनेका उनी २०६८ मा माओवादीको केन्द्रीय सदस्य बने भने २०७२ पोलिटब्यूरो सदस्य बने ।

उनले २०६८ देखि २०७६ सम्म धनुषामा माओवादी केन्द्रको नेतृत्व गरे । मण्डल २०६४ मा ग्रामीण आवास कम्पनीका प्रबन्धक र २०६५ मा जनकपुर बृहत्तर क्षेत्र विकास परिषदको अध्यक्ष भए ।

२०७४ को प्रदेश सभा सदस्यमा चुनाव जितेपछि प्रदेशसभामा माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक भएका मण्डल एमाले र माओवादी मिलेर नेकपा भएपछि पनि केन्द्रीय सदस्य बने ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि भएको नेकपा विवाद र पछि एकता भंग हुँदा उनी एमालेमा बसे । एमालेले उनलाई केन्द्रीय सदस्य र धनुषा जिल्ला इन्चार्जको जिम्मेवारी दियो ।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०७९ माघ ३, २०: ३१

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०७९ माघ ३, २०: ३१

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०७९ माघ ३, २०: ३१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...