
१.राजनीतिमा नयाँ नयाँ विषयहरु आइरहन्छन् । सायद यही नै राजनीतिको विशेषता पनि हो । नेपाली राजनीति अझै संक्रमणकालबाट गुज्रिरहेको छ । अरु त अरु, १० बर्से जनयुद्धको कारणले सिर्जिएको र तत्कालीन अवस्थामा द्वन्द्वको परिणामबाट भएका विभिन्न ज्यादतीको अझैसम्म छिनोफानो भएको छैन , जसलाई संक्रमणकालीन न्यायको रुपमा हामीले लिएका छौँ ।
अन्तरिम संविधान,२०६३, नेपालको संविधान २०७२मा समेत सम्बोधन गरिएको संक्रमणकालीन न्याय पीडितले अझैसम्म पाउन सकेनन् भन्ने छ । पहिले पनि सत्य तथा मेलमिलाप आयोग बनेको हो, बेपत्ता भएकाहरुको बारेमा छानबिन गरेर उनीहरुको बारेमा स्पष्ट निर्णय गर्न पनि आयोग बनेकै हो ।
आयोगहरु बेला बेलामा बन्ने र विघटन पनि भएकै थिए । तर कानुनले भने ती आयोगहरुले मात्र जनयुद्धका परिणामहरुको छानबिन गर्नेछ र न्यायको निरुपण गर्नेछ भन्ने स्पष्ट छ ।
सायद शान्ति प्रक्रियामा आएको १७ वर्षपछि त्यो संक्रमणकालीन न्यायले बाटो पाउला भन्ने आशा गरौँ । तत्काल उपचार पाउनु पर्ने न्यायको कुराले १७ वर्षपछि भने पनि एउटा ठोस निर्णय दिन सके हुन्थ्यो भन्ने त लाग्छ तर यति जटिल छ कि जनयुद्धलाई हेर्ने दृष्टिकोणमा अझै एकरुपता छैन ।
एकप्रकारले पीडित र पीडकको समेत भिन्नाभिन्नै बुझाइ रहेको छ । जनयुद्ध गर्ने पक्षका लागि पीडक जो हो, जनयुद्धका कारणले मारमा पर्नेहरुका लागि ती जनयुद्धका पक्षधरहरु नै पीडक हुन् अनि जनयुद्धका पक्षधरहरुका लागि तत्कालीन सरकार नै पीडक हो, तत्कालीन अवस्थामा सत्ता सञ्चालन गर्नेका कारणले १७०००बढी नेपालीहरुको मृत्यु भयो, हजारौँ हराए र लाखौँ पीडित भए । दोहोरो भनाभनका बिचमा अझै ठोस कानुन बन्न सकेको छैन, पीडित र पीडकको राम्रो परिभाषा तयार हुन सकेको छैन र न्यायको ठोस आधार तयार हुन सकेको छैन ।
२.जनयुद्धका कारणले बारेमा पीडक र पीडितका बारेमा स्पष्ट परिभाषा र बुझाइ एउटै हुन पनि नसकेको अवस्थामा कानुन जोजो मिलेर बनाए पनि, सर्वसम्मतिले कानुन बनाएर कार्यान्वयन गर्न खोजे पनि नेपालीहरुको मनमा रहेको दोहोरो बुझाइका कारणले समाधान छिटै हुनु जरुरी छ । अब त्यो जटिलतम अवस्थालाई सधैँका लागि बिसेक नहुने घाउका रुपमा नराखौँ भन्ने विचार देखिन्छ ।
सबैभन्दा पहिले निष्पक्षताका साथ छानबिन हुने कुरामा विश्वस्त पार्नु जरुरी छ । हुन त एकले अर्कालाई पीडक भन्नेहरु नै मिलेर सरकारमा छन् । यदि अहिले पनि यो समस्याको समाधान हुन सकेन भने यसले मुलुकमा अर्को विद्रोहको जन्म हुन सक्ने कुरामा भने सतर्क हुनु जरुरी छ ।
३. नेपालको संविधान २०७२मा संघीय संसदलाई दुई सदनात्मक बनाइएको छ र माथिल्लो सदनका रुपमा राष्ट्रिय सभाको संवैधानिक संरचना राखिएको छ । यो स्थायी सदन हो ।
अर्थात् यो विघटन हुँदैन । प्रत्येक दुई दुई वर्षमा यसका एक तिहाइ सांसदहरुको समयावधि समाप्त हुन्छ । ५९ सदस्यीय सभामा समावेशी तरिकाले ७ प्रदेशबाट ५६जना अप्रत्यक्षरुपमा निर्वाचित हुन्छन् । निर्वाचक मण्डलमा स्थानीय तहका प्रमुख र उपप्रमुख , प्रदेश सांसदहरु हुन्छन् । यसपटक पहिलो चक्र पूरा गरेर दोस्रो चक्रमा राष्ट्रिय सभाले प्रवेश गरेको छ ।
३जना सांसदहरु नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिजीले मनोनीत गर्नु हुनेछ । माघ ११ गते नै १९ जना सांसदहरुको निर्वाचन भएर फागुन २१ गते शपथ ग्रहण गर्ने कार्ययोजनासमेत तयार भएको छ ।
यसपटक सम्माननीय अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको पनि पदावधि समाप्त भएको छ । राष्ट्रपतिजीबाट मनोनीत सांसद विमला राईको पनि समयावधि समाप्त भएको छ । सायद यो समीक्षा प्रकाशित हुने बेलासम्ममा सरकारले सिफारिस गर्ने छ र अरुसँगै शपथ ग्रहणका लागि जानु हुनेछ ।
४. राष्ट्रिय सभाका सम्माननीय अध्यक्षको संवैधानिक प्रतिष्ठा धेरै छ । हाम्रो संविधानको संरचनाका संवैधानिक परिषद् छ जसमा अध्यक्षजी पनि सदस्य हुनु हुनेछ । त्यसले पनि आगामी अध्यक्ष को हुने भन्ने कुराले पनि राजनीतिमा अर्थ राखेको पाइन्छ तर यतिमात्र अनुमान गर्न सकिन्छ, जसले गर्दा गठबन्धन दलहरुको समीकरणलाई सन्तुलित बनाउने छ ।
को हुने त्यति महत्वपूर्ण नभए पनि माथिल्लो सदनलाई विज्ञहरुको र बुज्रुगहरुको सभाको रुपमा स्थिति बसाउने पात्रको खोजी भएकै छ । यसपटकको निर्वाचनले सत्तारुढ माओबादीलाई माथिल्लो सदनको मुख्य दल बनाएको छ र नेपाली कांग्रेसलाई दोस्रो ठुलो दल बनाएको छ ।
५. र अन्त्यमा, सम्माननीय अध्यक्षको लागि धेरै नामहरु चर्चामा छन् र २०६५सालमा राष्ट्रपतिको निर्वाचनमा गिरिजाबाबुलाई दिने भन्ने माओबादीको बाचा अन्तर परेजस्तै भनक देखिन्छ भन्नेहरु पनि छ ।
नेपाली कांग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाका नाममा भद्र सहमति भएर नै उहाँ माननीय हुन तयार हुनु भएको हल्ला र अहिले चल्न थालेको हल्लाले अलि फरक बाटो पैल्याएको जस्तो छ ।
फागुन २९ गतेका लागि अध्यक्षको निर्वाचन हुने दिन समेत तोकिएको अवस्था छ । जेहोस् , कस्ता कस्ता समस्याहरुको समेत समाधान गर्दै आएका गठबन्धनका नेताहरुले यसलाई पनि सहज तरिकाले समाधान गर्नेछन् भन्ने अपेक्षा गर्न सकिन्छ । जो सम्माननीय अध्यक्ष हुनु हुनेछ, हाम्रालागि त्यो व्यक्तिप्रति सम्मान र साथ हुनेछ ।
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...
काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज...