
काठमाडौं। पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधानमन्त्री तथा गृह मन्त्री रबी लामिछानेका विषयमा संसदीय छानविन समिति गठन नभए नेपाली कांग्रेसले संसदको नियमित कारबाही अघि बढ्न नदिने भएको छ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा समय लिएर वोल्दै नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले ५० हजार बढी सहकारी पीडितको आवाज वोलिरहेको कांग्रेसको संसदीय छानबिन समिति गठन गरौं भन्ने मागलाई कमजोरीको रुपमा लिए भोलीदेखि सदन चल्न नसक्ने संकेत गरे।
उनले भने, ‘भोली सदनमा प्रस्तुत हुँदा सरकारले संसदीय छानबिनि समिति गठन गर्ने प्रस्ताव लिएर आओस्। कांग्रेसको शालिनता र धैर्यतालाई कमजोरी ठानिए, यही गतिमा सदनको कारबाही अघि बढ्न स क्दैन।’
‘आमा मलाई त्यही केटी चाहिन्छ…’ भन्ने गीतको भावसँग मिल्ने गरी सांसद लामिछानेलाई कांग्रेसका अमुक व्यक्तिबाट प्रधानमन्त्रीका लागि आएको भनिएको झुटो अफर त्यागेर त्यही गृहमन्त्री किन चाहिएको रहेछ भन्ने विषय सहकारी ठगी छानबिन रोकिएबाट प्रष्ट भएको शर्माले बताए।
‘सहकारी ठगीको छानबिन रोक्नको लागि उहाँ गृहमन्त्री बन्नु भएको रहेछ भन्ने कुरा गृहमन्त्री बन्नुअघि र पछि लामिछानेले दिएको अभिव्यक्तिबाट प्रस्ट हुन्छ’, शर्माले भने, ‘गत माघ १६ गते गृहमन्त्री हुनुअघि तपाइँले यो सरकारले जीवीराईलाई किन खोज्दैन भन्नु भएको होइन? अनि गृहमन्त्री भएपछि आकाशमा हुन कि पातालमा हुन? खोजेर ल्याउँछौं भनेको होइन? जीवी राई खोज्न अब आकास पातल होइन, मलेसिया गए हुन्छ।’
विगतमा अर्थमन्त्री भएका डा.रामशरण महत, भरतमोहन अधिकारी, विष्णु पौडेल, जनार्दन शर्मामाथि प्रश्न उठ्दा राजिनामा दिएको र संसदीय छानबिन समिति संसदले नै गठन गरेको नजिर प्रस्तुत गर्दै महामन्त्री शर्माले ७० करोडको विषयमा टेलीफोन कुराकानी मात्रै हुँदा पनि तत्कालिन संचारमन्त्री गोकुल वाँस्कोटाले राजिनामा दिएका उदाहरणहरु प्रस्तुत गरे।
शर्माले भने, ‘७० करोडको रकम अपचलन होइन, कुराकानी मात्रै भएको थियो, तर गृहमन्त्री लामिछाने संचालक रहेको गोरखा मिडियाले त सूर्यदर्शन सहकारी, सुप्रिम सहकारीबाट ८० करोड रुपैयाँभन्दा बढी रकम नै अपचलन गरेको प्रमाण छन्।’
लामिछाने गृहमन्त्री भएपछि फागुन २१ गते सहकारी ठगीका विषयमा गहिरो अनुसन्धान हुन्छ भनेर निर्देशन दिए पनि उल्टै छानबिन रोकिएको छ। ‘सरकारको गृहमन्त्री भएको व्यक्तिले सार्वजनिक रुपमा बहसको लागि कांग्रेसका सांसदलाई आव्हान गर्नु भएछ, तपाइँलाई निमन्त्रणा छ, सिंहदरबारस्थित संसदीय छानबिन समितिको कार्यकक्षमा बहस गर्न आउनु होला’ शर्माले भने।
महामन्त्री शर्माले संघीय संसदको रोष्टममा उभिएर कुनै व्यक्तिलाई निर्दोष करार गर्ने र कसैलाई दोषी ठहर गर्ने पद्धतिको संविधानले परिकल्पना गरेको छैन भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्रीलाई निदोर्ष ठहर गर्न खोज्नु न्यायपद्धतिका बिरुद्ध भएको दाबी गरे।
उनले प्रधानमन्त्री र गृहमन्त्रीले संसदको रोष्टमको दुरुपयोग गर्दै कसैलाई दोषी र कसैलाई निर्दोष करार गरिरहेको भन्दै आपत्ति जनाए।
शर्माले भने आफूलाई पुरानो दलको पुरानो नेता जस्तो होइन भन्दै कराउने नयाँ दलका नेताले जे गरे पनि ठीक हुने हो? प्रश्न गर्न नपाइने हो? कांग्रेसले चोरी, ठगी, जवर्जस्ती विषयमा संसदीय छानविन समिति गठन गर्न भनेका होइनौं, गृहमन्त्रीको ‘गृहमन्त्रालय नै चाहिने तीब्र चाहनाको पछि ‘कन्फ्लििक्ट अफ इन्ट्रेष्ट’ देखिएर माग गरेका हौं ।
जीवी राईसँग गृहमन्त्रीको सम्पर्क
कांग्रेसका महामन्त्री शर्माले पोखराको सूर्यदर्शन सहकारीका संचालक सहकारी ठगीका मुख्य नाईके जीवी (गितेन्द्ररबहादुर) राई गृहमन्त्री लामिछानेको सम्पर्कमा रहेको दाबी गरे।
उनले मलेसियामा रहेका राईसँग गृहमन्त्री लामिछानेको सम्पर्कं भए पनि उनलाई किन पक्राउ नगरेको भन्दै उनले प्रश्न समेत गरे।
‘माघ १६ गते रवि लामिछाने गृहमन्त्री हुनुहुन्नथ्यो। खरो स्वरमा भन्नुभयो – सरकारले जीवी राईलाई पक्राउ गर्न चाहेन। खोज्नै चाहेन। अहिले बोल्दै गर्दा भनिदिनुभयो आकाशमा होलान्, पातालमा होलान् हामी लिएर आउँछौँ। मलेसियामा छन् दुनियाँलाई थाहा छ’, शर्माले भने,‘मलेसियाको कानून पनि हेर्नुहोला।’
सांसद शर्माले जीवी राईलाई ल्याउने कुरामा के कुराले ढिलाइ भयो? भनी प्रश्न गर्दौ आफूले गृहमन्त्रीलाई आरोप लगाएको नभएर प्राप्त गरेको सूचना भएको दाबी गरे।
सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...