
१. मुलुक अस्थिरताको भुमरीमा फसेको सबैलाई महसुस छ । आत्मानुभूति पनि छ । तर यता केही समयदेखिको राजनीतिक माहौलको विश्लेषण गर्दा मुलुक असहज अवस्थामा परेको छ । र पनि समस्याको समाधानका लागि कुनै प्रयास भएको देखिँदैन ।
२. यसबिचमा उप निर्वाचन भए इलाम–२ मा र बझाङ्मा । परिणाम जे जस्तो आएको भए पनि जनआकाङ्क्षाका आधारमा निर्वाचित भएका इलामका सुहाङ् लिम्बू(एमाले) र बझाङ्का दमनबहादुर भण्डारी(एमाले)लाई वधाई दिनुपर्छ । उनीहरुलाई बधाई दिनु भनेको जनमतको कदर गर्नु हो ।
यसले एमालेमा केही अहंकार पलाएको देखिए पनि जनमतको कदर गर्नुपर्छ र समयको मूल्यांकन गर्दै अगाडि बढ्नु पर्ने कर्तव्य त प्रजातान्त्रिक दल नेपाली कांग्रेस र नेपाली कांग्रेससँग काँधमा काँध मिलाएर प्रजातान्त्रिक आन्दोलन निरन्तर लागिरहेको एमालेको नै हो । नेकपा माओबादी केन्द्र अझै शंकाको घेरामा छ किनभने प्रजातन्त्रप्रतिको उसको प्रतिबद्धता समयनाकूल मौसमी फेरबदलभित्र देखिन्छ ।
३. विश्व प्रेस स्वतन्त्रता दिवस मे ३मा विश्वभर मनाइयो । सन् २०२३मा मात्र सैयौँ पत्रकारहरुको हत्या गरिएको तथ्यांक छ । इजरायल र प्यालेस्टाइन हमाससँगको युद्धमा मात्र १०० भन्दा बढी पत्रकारहरु दुवैतर्फको चेपुवामा परी मारिएका छन् ।
विश्वभर पत्रकारिताको अवस्था नाजुक बन्दै छ । पत्रकारहरुको सुरक्षा अहिलेको चुनौती बनेको छ । प्रजातन्त्रको दुहाइ दिने देशहरुमा त पत्रकारितालाई नियमनको नाममा नियन्त्रण गरिँदै छ भने एकदलीय र निरंकुश शासन पद्धति भएका देशहरुमा त झन कुरै भएन ।
प्रजातन्त्र, मानव अधिकार तथा प्रेस स्वतन्त्रता भनेको एउटै मानवीय स्वतन्त्रताका पक्षमा देखिने आधारभूत अवस्था हो । मौलिक अधिकारको रुपमा वाक स्वतन्त्रतालाई संयुक्त राष्ट्रसंघले मानव अधिकारको विश्वव्यापी घोषणामा मान्यता दिएको सन् १९४८मा नै हो । एकातिर स्वतन्त्र प्रेसले मात्र आजको वैश्विक समस्यालाई सम्बोधन गर्न सक्छ भने विज्ञानले आविष्कार गरेर हामीलाई दिएको सूचना प्रविधिले मात्र अझ सहज र सरल बनाउने छ ।
४.तर प्रत्येक वर्ष प्रेस स्वतन्त्रता दिवस मनाएर मात्र प्रेस स्वतन्त्र हुँदैन । यो त कानुनी प्रक्रियाले भन्दा अभ्यासले हुने कुरा हो । नेपालमा यसो हेर्दा प्रेस स्वतन्त्रता एसियाका अन्य देशहरुमा , युरोपका कतिपय देशहरुमा भन्दा राम्रो अवस्थामा छ र पनि पत्रकारहरु प्रति गरिने दुव्र्यवहारको बेलैमा कार्बाही नहुँदा दण्डहीनता मौलाएको अवस्था छ ।
हाम्रो प्रेसलाई अराजक पनि भन्न थालिएको छ । त्यसको कारण हो , आर्थिक दयनीयता । पत्रकारहरुको अवस्था । एकातिर नयाँ नयाँ सूचना पस्कने हुटहुटी छ तर त्यसका लागि आर्थिक , सामाजिक, राजनीतिक तथा कानुनी प्रक्रिया जटिल बनाइँदैछ । संविधानले दिएको मौलिक हकलाई कानुनले काट्ने, कानुनले दिएको अधिकारलाई नियमले काट्ने र नियमले दिएको अधिकारलाई विनियम र परिपत्रले काट्ने अभ्यास बढ्दो छ ।
५. वास्तवमा प्रेस जनतालाई बेलैमा अति आवश्यक जानकारी सुुसूचित गर्ने औजार हो, ज्ञानको हुटहुटी पूरा गर्ने औजार हो र माध्यम हो तर सरकारमा रहने अवस्था र नरहने अवस्थामा राजनीतिक दलहरुको विभिन्न विचारले प्रेस स्वतन्त्रता निरीह बनेको अवस्था छ ।
संविधानले मौलिक हकको रुपमा वाक स्वतन्त्रतालाई नेपालमा प्रत्याभूत गरेको अवस्थामा अनेक कानुन बनाएर प्रेस स्वतन्त्रतालाई संकुचन पार्ने जुन कोसिस भइरहेको छ, त्यसका पछिल्तिर पत्रकारिताका अनेक संस्थाहरुको कमजोरी पनि देखिन्छ भन्ने पर्यवेक्षकहरुको राय छ ।
६.र अन्त्यमा, एउटै कुरा हो, राष्ट्रको स्वार्थका अघिल्तिर दल नगण्य हो, दलको स्वार्थका अघिल्तिर व्यक्ति नगण्य हो र व्यक्तिगत स्वतन्त्रता जोगाउनका लागि राज्यको सम्पूर्ण क्षमताको प्रयोग गरेर व्यक्तिको स्वतन्त्रता जोगाउने काम नै मानव अधिकार हो ।
मानव अधिकार र सामाजिक न्यायका लागि नै प्रेसले जागरण ल्याउनु पर्छ भन्ने मान्यता पुरानै हो । आज त यो पृथ्वी कसरी जोगाउने, जलवायु परिवर्तनबाट मानव जातिको बासस्थान पृथ्वीलाई कसरी जोगाउने भन्ने ठुलो समस्या देखिएको छ ।
अबको प्रेसको भूमिका भनेको मानव जातिको रक्षार्थ कसरी सूचना सम्प्रेषण गर्ने भन्ने हो जसले मानव अधिकारको संरक्षण गर्नेछ, प्रजातन्त्रको रक्षा गर्ने छ र मानवको अस्मिता जोगाउन सक्नेछ । त्यसका लागि नेपालमा प्रजातन्त्रप्रति जागरुक र संरक्षणार्थ लागेका दलहरुले गम्भीरताका साथ सोच्ने बेला आएको छ । बेला गुमेपछि भने मुलुकको अस्मिता जोगाउन नै मुस्किल हुने कुरा बुझ्नु जरुरी छ ।
(नयाँ विकल्प साप्ताहिक बाट)
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...
काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज...