अख्तियार प्रमुखलाई अदालतको ध्यानाकर्षण ‘हचुवाको भरमा मुद्धा नचलाउनु’ – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

अख्तियार प्रमुखलाई अदालतको ध्यानाकर्षण ‘हचुवाको भरमा मुद्धा नचलाउनु’

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत कर्मचारीहरुको पूर्वाग्रही र हचुवाको भरमा व्यक्ति विशेषबिरुद्ध मुद्धा चलाउने प्रबृत्ति बढेको खुलासा भएको छ।

विशेष अदालतले एक व्यक्तिलाई हचुवाको भरमा भ्रष्टाचार मुद्दा दायर गरेको भन्दै अख्तियारका प्रमुख आयुक्त प्रेम राईको ध्यानाकर्षण गराउन आदेश दिएको हो।

बाँकेको नरैनापुरस्थित मदरसामा अनियमिततासम्बन्धी मुद्दामा एक जनालाई दोषी ठहर गर्दै विशेष अदालतले अर्कोको हकमा अनाहकमा मुद्दा दायर गरेको अदालतको ठहर छ।

भ्रष्टाचारमा संलग्न भएको कुनै प्रमाण नभएको अवस्थामा समेत अर्को व्यक्तिलाई समेत मुद्दा दायर गरेको भन्दै विशेष अदालतले अख्तियारका प्रमुख आयुक्त र अभियोजनकर्ताको ध्यानाकर्षण गराउने निर्णय गरेको हो।

२०८० साल पुस १६ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके नरैनापुर–२ स्थित दारुल उलूम अमजदिया मदरसाका प्रधानाध्यापक कलिम अहमद जोलाह र व्यवस्थापन समितिका अध्यक्ष बदरुददुजा खाँले भ्रष्टाचार गरेको भनी विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

दुवै जनामाथि शिक्षकको तलब भत्ता, छात्रवृत्ति, निःशुल्क पाठ्यपुस्तक लगायतमा शीर्षकमा निकासा भएको रकम खर्च नगरी हिनामिना गरेको उजुरी थियो।

अख्तियारले २०७० देखि ७५ सालसम्मको खर्चको अनुसन्धान गर्दा निकासा भएको रकम सम्बन्धित शीर्षकमा खर्च गर्नुपर्नेमा नगरी अनियमितता गरेको आरोप पुष्टि नभएको ठहर गरेको छ ।

अख्तियारले मदरसाका प्रधानाध्यापक कलिम अहमद जोलाहाले व्यवस्थापन समितिका अध्यक्ष बदरुददुजाको साथमा मिलेर १८ लाख ३ हजार रुपैयाँ भ्रष्टाचार गरेको दाबी गरेको थियो।

प्रधानाध्यापकले आफ्नो जिम्मामा रहेको सक्कल कागजात बरबुझारथ नगरेको, नष्ट गरेको अख्तियारको आरोप थियो।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य तेज नारायण सिंह राईको इजलासले प्रधानाध्यापक कलीम अहमद जोलाहले भ्रष्टाचार गरेको ठहर ग¥यो। कलीमको बयान, तलब भत्ता नपाएका शिक्षकको बकपत्रबाट आरोप दाबी पुष्टि भएको भन्दै विशेष अदालतले उनलाई भ्रष्टाचार ठहर गरेको थियो।

अख्तियारले दावी गरेको रकममध्ये ८ लाख ३२ हजार रुपैयाँ बेरुजु देखिएपछि मुद्दा दायर हुनुअघि नै उनले फरफारक गरेका थिए । बाँकी रहेको ९ लाख ७१ हजार रुपैंया भ्रष्टाचार गरेको देखिएको भन्दै विशेष अदालतले उनलाई डेढ वर्ष कैद सजाय तोकेको हो।

तर विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बदरुददुजा खाँ भने निर्दोष रहेको विशेषको ठहर छ। के कुन कसुर गरेको भन्ने स्पष्ट रुपमा कसुर कायम नगरी सजाय मागदाबी लिएको भन्दै विशेष अदालतले अख्तियारको अनुसन्धान प्रक्रियामाथि नै प्रश्न उठाएको हो।

विशेष अदालतले व्यवस्थापन समितिका अध्यक्ष खाँको हकमा ‘व्यक्तिलाई यो यस्तो कसुर गरेको हो भनी अभियोगपत्रमा किटानीका साथ कसुर नै कायम नगरी सजाय मात्र हुन भनी मागदाबी लिई मुद्दा दायर भएको’ निष्कर्ष निकालेको हो ।

‘(यस्तो अवस्थामा) अदालतबाट कसुर कायम गरी सजाय गर्दा आरोपित व्यक्तिको संविधान प्रदत्त न्यायसम्बन्धी हकविपरीत हुने र कानुनसम्मत नहुने भएकाले निज प्रतिवादी(खाँले सफाई पाउने ठहर्छ,’ गत बिहीबार विशेष अदालतले गरेको फैसलाको संक्षिप्त रायमा भनिएको छ।

अदालतले ‘यस्तो आरोपदावीको सम्बन्धमा अख्तियारका सम्बन्धित आरोपपत्र तयार गर्ने अभियोजनकर्तालाई ध्यानाकर्षण गराउदै प्रमुख आयुक्तलाई जानकारी लेखी पठाइदिने’ भनेको छ ।

सम्बन्धित समाचार

दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
  • २०८१ बैशाख ३१, १६: १३

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०८१ बैशाख ३१, १६: १३

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

एनपिएल : कर्णालीले चितवनलाई हरायो
एनपिएल : कर्णालीले चितवनलाई हरायो
  • २०८१ बैशाख ३१, १६: १३

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...