नेपाल चीन सम्बन्धः राष्ट्रिय सहमतिमा नयाँ गन्तव्यको खोजी – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper

नेपाल चीन सम्बन्धः राष्ट्रिय सहमतिमा नयाँ गन्तव्यको खोजी

१. सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली यही डिसेम्बर २ देखि ५सम्म(मंसिर १७गतेदेखि २०गतेसम्म)महान छिमेकी देश चीनको औपचारिक भ्रमणमा जानुभएको छ । हामी नेपालीका लागि यो सुखद अवसर पनि हो । जनस्तरको अनौपचारिक सम्बन्धले पनि हाम्रा दुई देशका बिचमा इतिहासदेखि नै न्यानो सम्बन्ध रहिआएको छ । झन सरकार —सरकारका बिचमा पनि आपसी सम्बन्ध र सहयोगको आदान प्रदान हुनु अर्को राम्रो पक्ष हो ।

२.तर नेपालमा जब जब प्रधानमन्त्री भारत तथा चीन भ्रमणमा जान लाग्नुहुन्छ, त्यसै विवादको सुरुवात हुन्छ । पहिलो विवाद निकालियो, प्रधानमन्त्री ओली भारत भ्रमणमा नगई चीन भ्रमणमा जान लाग्नुभयो, यसले ओलीले चाइना कार्ड देखाउन आँट्नु भयो । त्यो पनि त्यस्तो नेताबाट जसले आफैँ प्रधानमन्त्री हुँदा भारतभन्दा पहिले चीनको भ्रमण गरेको थियो ।

३.पहिलो कुरा जसले पहिले राजकीय या औपचारिक या मैत्रीपूर्ण भ्रमणका लागि निमन्त्रणा दिन्छ, त्यहीँ जाने हो । यो कूटनीतिक परम्परा नै हो । दोस्रो मुलुकको प्राथमिकताका आधारमा पनि भ्रमण तय गरिन्छ । त्यहीक्रममा नेपालका सम्माननीय प्रधानमन्त्री ओली चीनको औपचारिक निमन्त्रणामा चीन जान लाग्नु भएको हो । अहिलेको हाम्रो प्राथमिकता भनेको नेपालको दू्रततर विकास हो जसले हाम्रो प्रतिव्यक्ति आम्दानीमा फड्को मारोस् र नेपालबाट बाहिर जानु पर्ने युवाशक्ति र बौद्धिक शक्ति पलायन हुन नपरोस् । अविकसिक देशबाट विकासोन्मुख देश हुँदै विकसित देशमा परिणत हुने हाम्रो अपेक्षा पूरा गर्नका लागि दू्रततर विकासमा लम्किएका र आत्म निर्भर अर्थतन्त्रमा पुगेका छिमेकी देशहरु भारत र चीनसँग सकारात्मक सहयोगको आशा गरिन्छ र आजको नयाँ प्रविधिको विकासलाई हामीले भित्राउनु पर्छ । हामी भारत र चीनले घेरिएकाले पनि अन्तराष्ट्रिय प्रचलन अनुसार हामीले ती देशहरुसँग पारवहन सुविधा लिनैपर्छ । भारतसँग लिएको जस्तै चीनसँग पनि सहज तरिकाले पारवहनको सुविधा कसरी लिने, एकअर्कामा पहुँच कसरी वृद्धि गर्ने हाम्रो चासो बढेकै छ । यो भ्रमणलाई व्यवस्थापन र सहजीकरण गर्ने जिम्मा पाउनु भएकी परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउबाले शान्त कूटनीतिमार्फत् चीनलाई हाम्रो चासो विनम्रताका साथ सम्झाउनु भएको छ जसको सकारात्मक जबाफ आएको भनेर कूटनीतिक क्षेत्र विश्वस्त भएको छ ।

४.नेपाल र चीनका बिचमा करिब १४०० किलोमिटर भन्दा बढी सीमा जोडिएको छ, तर पनि हाम्रा देशहरुमा खासै सीमा विवाद छैन र यदि भई हालेमा पनि तत्कालै त्यसको निरुपण गरी आपसमा समझदारी गरी हाल्ने चलन यथावत् छ । खासगरी सगरमाथाका विषयमा मुख्य चुचुरो कसको हो भन्ने ठुलो विवाद एकपटक थियो तर तत्कालीन नेपाली नेतृत्व रहनु भएका प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला र चीनका सर्वोच्च नेता अध्यक्ष माओ तथा प्रधानमन्त्री चाउले मुख्य चुचुरो नेपालको हो भनेर समाधान निकालेपछि त्यो समस्या कहिले पनि बल्झेको छैन । नेपाल र चीनको सम्बन्ध सगरमाथा जत्तिकै उच्च, शुभ्र , गहन र स्थिर छ भन्ने मानिन्छ ।

५.प्रधानमन्त्री ओलीको चीन भ्रमणका बारेमा कुनै विवाद पनि छैन र नेपालका प्रधानमन्त्रीले कुन देशको औपचारिक, अनौपचारिक या मैत्रीपूर्ण भ्रमण कहिले कुन समयमा गर्छन् भन्ने निर्णय सार्वभौम नेपालको आफ्नो हो र जहिले जुन देशले बोलाउँछ या आफ्नो जरुरत पर्छ , भ्रमण गर्ने हो । पूर्व प्रधानमन्त्री तथा नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय सञ्चार माध्यममा दिइएको भनिएको एउटा अन्तरवार्तामा भन्नु भएको रहेछ—ओली चीन पहिले गएर चाइना कार्ड खेल्न लागेका छन् । चाइना कार्ड अर्थात् छिमेकी देशहरुसँगको सम्बन्ध र वैश्विक सम्बन्धमा चीनलाई देखाएर अरुलाई धम्क्याउने, तर्साउने या बदला लिने अर्थमा चाइना कार्डको अर्थ हुनेगर्छ । नेपालले कतिपय मामिलामा भारत, चीन ,अमेरिका , रुस, जापान जस्ता देशको भन्दा फरक धारणा व्यक्त गरेको छ र बेग्लै धारणा राख्न पाउने अधिकार हाम्रो आफ्नो असंलग्न नीतिको उपज पनि हो र आफ्नो हित केमा छ, त्यसको पक्षधरता लिन पाउने अधिकार पनि हो । त्यसमा भारतलाई चाइना कार्ड देखाउनु पर्ने, अनि चीनलाई भारत कार्ड देखाउनु पर्ने अवस्थामा नेपालको परराष्ट्र नीति छैन ।

६.प्रधानमन्त्री चीन जानुहुन्छ, नेपालका हितमा उर्जा, पारवहन, व्यापार, उद्योग तथा अन्य नेपालको हितका लागि जे आवश्यक छ , सन्धी , सम्झौता , सहमति गर्न पाउनु हुन्छ । हाल चलेको अर्को प्रश्न हो बेल्ट एन्ड रोड इनिसिएटिभ —बी आर आइ—का विभिन्न परियोजनामा नेपालले के गर्छ ? यसमा कुनै विवाद नै छैन, सात वर्ष अघि नै बी आर आइ इनिसिएटिभको वारेमा सहमति भएको छ र नेपालले पनि सिल्क रोडको फाइदा लिने इच्छा व्यक्त गरेकै छ । अत्यन्त विकासको गतिमा उडेको चीनसँग हामीले धेरै कुरा सिक्नु छ, लिनु छ, दिनु छ र आपसमा धारणाहरु साटासाट गर्नुछ । न त हाम्रो व्यापार खबौँँमा भएको छ, न त हामी चीनसँग कुनै पनि कुरामा असहमत रहेका छौँ । हालै गठित नेपाली कांग्रेस र नेकपा एमालेको समितिले कसरी चीनसँग बढीभन्दा बढी अनुदानमार्पmत् नेपालका विभिन्न आवश्यक परियोजनाहरुलाई अगाडि बढाउने भन्नेमा केन्द्रित हुन सरकारलाई सल्लाह दिएको छ । खासगरी तत्काललाई ऋण नलिने रणनीति लिएको छ र अनुदानमा प्राप्त हुनुपर्ने भनी पहिले नै गरिएका कतिपय सम्झौता, सहमतिको कार्यान्वयनलाई गति दिने सहमति हुने सम्भावना छ ।

७.कुरा के मात्र हो भने चीनले बी आर आइ मा जुन सहयोग दिन्छ, त्यो हामीले लिने हो । नेपालको धारणा के छ भने सकेसम्म छिमेकीसँग ऋण नलिउँ, त्यो पनि चीनको एक्जिम बैंकको धेरै व्याजको ऋण नलिउँ भन्ने मात्र हो । त्यसो त एउटा कुरा पनि आएको छ, चीनले हिजोका दिनमा दिएको सहयोगका उद्योगहरु पनि बेचियो र चीनले त्यसमा चित्त दुखाएको छ । निजीकरणका लागि बेचिएको भनिन्छ, तर त्यसको पुनर्नवीकरण गरिएन र फेरि त्यस्तै उद्योगको स्थापना पनि भएन । यी संवेदनशील कुराहरु पनि मैत्रीपूर्ण सम्बन्धमा समीक्षा गरिनु पर्छ ।

८. प्रधानमन्त्री केपी शर्मा ओली औपचारिक भ्रमणमा जानु हुन्छ र त्यहाँ नेपालका हितमा आवश्यक सहमति, सम्झौतामा हस्ताक्षर पनि गर्नु हुनेछ । तर एकथरीको अचम्मको रुवाइ देखिन्छ, संसारमा जताबाट पनि ऋण लिनु हुने, अनि चीनसँग किन लिन नहुने ? अनि तिनीहरुले नै भन्थे एम सी सी मा सित्तैमा भने पनि अमेरिकीहरुको सहयोग लिनु हुँदैन किनभने त्यो पुँजीवादी हो, विस्तारवादी हो , साम्राज्यवादी हो । अनि साम्यवादी चीनसँग चाहिँ ऋण लिएर भने पनि, कडा व्याजको ऋण लिएर भने पनि चीनको साथी हुनु जरुरी छ । चीन आफैँ पनि फिर्ता हुन नसक्ने ऋण दिन तयार छैन । तर हामी ऋणमा भए पनि बेल्ट एन्ड रोडका परियोजनाहरु लिनै पर्छ भनेर भनिएको पनि सुनिएको छ । यो कस्तो तर्क हो ? तर सरकारले भन्यो, बी आर आइसँग हामी २०१७बाट नै जोडिएका छौँ र हामी चीनसँग सहकार्य गर्न प्रतिबद्ध छौँ । सत्ता साझेदार दलहरु खासगरी नेपाली कांग्रेस र नेकपा एमालेका बिचमा चीनसँग कसरी सम्बन्ध बढाउँदै जाने भन्नेमा सहमति बनेको छ र पञ्चशीलका आधारमा , द्विपक्षीय हितलाई आधार बनाएर सम्बन्ध बढाउने हो । त्यही अनुसारको तयारी भएको देखिन्छ ।

९.अब चीन र नेपालका विभिन्न विषयगत समूहसँग छलफल गरेर नयाँ परियोजनाहरु तयार गर्ने र तिनलाई नेपालको हितमा कार्यान्वयन गराउने छौँ । चीनको वहुआयामिक प्रविधिलाई नेपालका विकासको रुपमा जसरी पनि भित्राउन सक्छौँ, त्यो प्राविधिक कुरा हो । आवश्यक परे नरम ऋण लिन सकिन्छ तर प्रमाणका रुपमा श्रीलङ्का देखिँदा डराउनु स्वाभाविक हो । सहयोगका लागि हात थाप्ने तर तत्कालका लागि ऋण नलिने मात्र भनेको हो । आवश्यकता पर्दा सहयोग, ऋण जे पनि लिनु पर्छ । चीन पनि त्यसमा अपवाद हुन सक्दैन । तर प्रारम्भिक अवस्थादेखि नै ऋणको भार नबोकौँ भन्नु साम्राज्यवादीहरुको चाकरी हुनै सक्दैन ।

१०.परराष्ट्र मन्त्री राणाको शान्त कूटनीतिले पक्कै पनि सकारात्मक परिणाम ल्याउने अपेक्षा गरिएको छ । चीनसँगको नेपालको राम्रो सम्बन्धले न त भारतले शंका गर्नु जरुरी छ, न त अमेरिकाले यसमा चासो राख्नु आवश्यक छ । तर भूमण्डलीकरण र वहुआयामिक रणनीतिअन्तर्गत जे जसो भए पनि नेपाल र चीन सम्बन्धमा कसैले कुनै अप्ठेरो पार्न सक्दैन र नेपाल चीन सम्बन्ध सगरमाथा जत्तिकै शान्त, स्निग्ध, शुभ्र र कञ्चन छ भन्ने सन्देश यसपटकको प्रधानमन्त्री ओलीको भ्रमणले दिने आशा गर्न सकिन्छ ।

११.मंसिर १८ अर्थात् डिसेम्बर ३ तारिखमा हुने उच्चस्तरीय बैठक, छलफल र सहमतिले नेपाल चीन सम्बन्धमा नयाँ डोरेटो तयार गर्ने विश्वास लिन सकिन्छ । स्मरणीय छ, डिसेम्बर ३ तारेखमा चिनियाँ राष्ट्रपति महामहिम सि चिनफिङ् र प्रधानमन्त्री लि छियाङ्सँग हाम्रा प्रधानमन्त्रीको औपचारिक भेटघाट हुने तय भएको छ ।

१२.यो भ्रमणलाई सफल बनाउन नै हाम्रा परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री महामहिम वाङ् यीका बिचमा छन्तुमा वार्ता भएको हो र सो वार्ता सम्पन्न गरी मन्त्री राणा नेपाल फर्की भ्रमण दलमा सामेल हुनु हुनेछ र यो भ्रमणलाई कसरी स्मरणीय बनाउने भन्नेमा नेपाली प्रतिनिधि मण्डल लागेको अवस्था छ । नेपाल चीन सम्बन्धलाई लिएर कसैले चियाको कपमा तुफान ल्याउन सक्दैन भन्ने विश्वास नेपालीहरुले लिएका छन् ।

१३. मंसिर १६मा स्थानीय निर्वाचनमा रिक्त रहेका ४१स्थानहरुमा निर्वाचन सम्पन्न भएका छन् । कसले जित्यो भन्ने कुरामा भन्दा पनि जनप्रतिनिधिहरुको स्थान रिक्त नहोस् भन्ने प्रजातान्त्रिक चलन अनुसार निर्वाचन आयोगको तदारुकतामा निर्वाचन सम्पन्न हुनुलाई हामीले गर्व गर्ने विषयका रुपमा लिनुपर्छ । वास्तवमा ४४ स्थानमा रिक्त भएको हो तर ३ठाउँमा निर्विरोध निर्वाचन सम्पन्न भएकाले ४१स्थानमा सम्पन्न भएको हो । यसपटक सार्वजनिक यातायात प्रयोग गर्नका लागि छुट दिँदा आयोग एक कदम अगाडि बढेर आवागमनका पक्षमा देखिएको पाइयो, जुन स्वागत योग्य हो ।

१४. र अन्त्यमा, नेपाल शिक्षक संघका दुई पटकसम्म अध्यक्ष भएर शिक्षकहरुको नेतृत्व गर्नु भएका शिक्षक नेता मोहन ज्ञवालीको असामयिक निधन भएको छ । मंसिर १४गते शुक्रवारका दिन भएको असामयिक निधनले शिक्षा क्षेत्रमा अपूरणीय क्षति भएको छ र नेपाली कांग्रेसका लागि एकजना जुझारु नेताको अवसान भएको छ । स्वर्गीय ज्ञवालीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दछु र परिवारजनहरुमा समवेदना व्यक्त गर्दछु ।

सम्बन्धित समाचार

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०८१ मंसिर १७, १७: ११

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०८१ मंसिर १७, १७: ११

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०८१ मंसिर १७, १७: ११

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...