
किसुनजीबाट प्रेरणा लिनु पर्छ र राजनीतिमानिष्कलङ्कताको पक्षमा उभिन सक्नुपर्छ …..
१. नेपालको इतिहासमा सन्त नेताको रुपमा परिचित एक जना तपस्वी राजनेता हुनुहुन्थ्यो कृष्णप्रसाद उपाध्याय भट्टराई । नेपालको आधुनिक इतिहासको प्रारम्भमा बारम्बार आउने नाम हो कृष्णप्रसाद उपाध्याय । त्यही ऐतिहासिक पात्र कृष्णप्रसाद उपाध्याय नै आजको आधुनिक इतिहासमा दुई दुई पटक प्रधानमन्त्री हुने कृष्णप्रसाद भट्टराई हुनुहुन्छ जसलाई उहाँकाअनुयायी र समकालीन नेताहरुले किसुनजी भनेर बोलाउँथे, चिन्थे र त्यही नामले उहाँलाई पुकार्दा उहाँको सम्मान भएको ठान्दछन् । उहाँको जन्म भएको ठ्याक्कै १०० वर्ष पुग्यो आज अर्थात् २०८१ साल पुस ८गते । उहाँको सम्मानमा नेपाल र नेपाल बाहिरसमेत १०१औँ जन्मदिवस मनाइँदै छ ।
२.एउटा महात्माको रुपमा, योगीको रुपमा, कुनै धन संग्रहविना, कुनै भौतिक सम्पत्तिको लोभ, लालचविनाको जीवन बाँच्न सक्ने क्षमता दुर्लभ पक्षहो जसकसैले त्यसो गर्न सकेको पाइँदैन । तर किसुनजीले त्यही जीवन बाँचेर नेपालको राजनीतिमा नयाँ उदाहरण प्रस्तुत गरेर जानु भयो । उहाँको सबैभन्दा ठुलो उदाहरणीय पक्ष थियो—संकटापन्न अवस्थामा पनि नहडबडाउने, रिसलाई आफैँमा कठोर बन्धनभित्र राखेर पनि व्यवहारमा उत्रने, आवश्यकता पर्दा बज्रभन्दा कठोर निर्णय गर्ने र आकाशको सेतो बादल भन्दा पनि नरम र आर्द्ध स्वभाव ।
३. कतिपय व्यक्तिहरु त उहाँका रिसको भुमरीमा पनि परेका थिए रे, जुन कुरा स्वयं उहाँले रमाइलो पारामा भन्ने गर्नुहुन्थ्यो र त्यो कुनै कुरामा उहाँको रिसमा परेको व्यक्तिलाई बारम्बार सान्त्वना समेत दिने काम गर्नुहुन्थ्यो । दुई दुई पटक प्रधानमन्त्री भएको व्यक्तिको आफ्नो निजी निवास थिएन र त्यसको उहाँले जीवनको उत्तरार्द्धसम्म पनिआवश्यकता महसुस गर्नुभएन । प्रधानमन्त्रीका रुपमा निष्कलङ्क छवि भएको नेपाली राजनेताको रुपमा जनतामाझ परिचय बनाउनुभएका किसुनजीको शतवार्षिकी मनाउँदा एउटै कुराले मात्र नेपाली समाजलाई झकझकाउँछ—फेरि त्यस्तो निडर र सहनशील, अध्ययनशील प्राज्ञ राजनेता नेपालले अब कहिले पाउला ?
४. उहाँको त्यो पाटोमात्र थाहा छ सामान्य राजनीतिक वृत्तमा कि उहाँ २०१६ सालमा गठित पहिलो प्रतिनिधि सभाको सभामुख हुनुहुन्थ्यो । तर प्रजातन्त्र स्थापनापछिको पहिलो सल्लाहकार सभाको पनि उहाँ सभामुख नै हुनुहुन्थ्यो । बीपीको जीवनभर उहाँको परिचय नेपाली कांग्रेसको संस्थापक सदस्यमध्ये एक सक्रिय नेता, अनि विघटित प्रतिनिधि सभाको सभामुख । अनि बीपीले आफू सभापति हुँदाहुँदै कार्यवाहक सभापतिको रुपमा उहाँलाई मान्नुभएको अवस्था । उल्लासमय व्यक्तित्वसहित सबैसँग घुलमिल हुने र गान्धीको अहिंसात्मक आन्दोलनका पक्षधर किसुनजीमा जुन राजनीतिक चेतना र प्रजातन्त्रप्रतिको निष्ठा थियो, त्यसले युवाहरुमा अचम्मको उर्जा दिन्थ्यो ।
५. उहाँको अर्को पाटो हो संक्रमणकालीन अवस्थाको असल व्यवस्थापन गर्न सक्ने खुबी । त्यसका लागि उहाँका ती दिनचर्याहरु सम्झनु पर्ने हुन्छ जसले कर्म गर तर फलको आशा नगर भन्ने गीतावाणीको सफल कार्यान्वयन । आफूमा संग्रह गर्ने इच्छा छैन तर नेपाली जनताको जीवनस्तर कसरी उकास्ने भन्ने चिन्ताले नै उहाँलाई प्रजातन्त्रको उज्यालोले सधैँ आकर्षित गरेको बुझिन्थ्यो र त्यो आलोकमाआफूलाई न्यौछावर गरेको परबाटै देख्न सकिन्थ्यो ।
६. २०१७ साल पुस १ गते तत्कालीन राजा महेन्द्रबाट संसदीय व्यवस्थासमेतको खारेजीले खुला प्रजातान्त्तिक राजनीतिक गतिविधिमाथि प्रतिबन्ध लगाइए पछि उहाँको लामो काराबासले पनि प्रजातन्त्रप्रतिको आस्था र निष्ठामा कुनै कमी ल्याउन सकेन, बरु झन कसिलो भयो र नेपालमै बसेर नेपाली प्रजातन्त्र स्थापना गरी , नेपाली जनतालाई प्रजातान्त्रिक परिपाटी मार्फत् नै समृद्ध बनाउने लक्ष्यमा उहाँको समर्पणले परिणाम दियो र आजको प्रजातान्त्रिकअवस्थामा नेपाल छ । त्यसो त नेपालको २०६३ पछिको परिवर्तनका केही पाटोमा उहाँको समर्थन रहेन र पनि मुलुकको प्रजातन्त्रीकरणसहितको समाजवादी राज्य व्यवस्था उहाँहरुकै परिश्रमको प्रतिफल हो जसको जगमा किसुनजी रहनु भएको छ ।
७. २०४६ सालसम्मको राजनीतिक उतारचढावमा उहाँ केन्द्रीय व्यक्तित्व रहेकाले नै राजा वीरेन्द्रबाट परिवर्तित अवस्थामा वहुदलीय व्यवस्थाको संक्रमणकालमा सर्वोच्च नेता गणेशमानजीलाई नेतृत्वको आह्वान गर्दा पनि उहाँले किसुनजीको जिम्मामा त्यो संक्रमणकाल आयो । मात्र ६ महिनामा राजा, जनता र राजनीतिक दलहरुलाई चित्त बुझाउँदै नेपाल अधिराज्यको संविधान २०४७ घोषणा गर्न सक्षम हुनुभयो र वहुदल घोषणा भएको एकैवर्षमा आमनिर्वाचन गराएर नयाँ प्रजातान्त्रिक सरकार गठन गराउनु भयो । त्यो अर्कै पक्ष हो कि उहाँ २०४८ सालको निर्वाचनमा पराजित हुनुभयो र फेरि प्रधानमन्त्री हुन पाउनु भएन । कति स्फटिक जस्तो निष्छल व्यक्तित्व उहाँँको थियो भने, आफू पराजित भएको उदाहरण दिएर भन्न सक्नुहुन्थ्यो, मैले र मेरो सरकारले निष्पक्ष निर्वाचन गर्न सकेको उदाहरण मै हारेर दिएँ । प्राप्तिको मात पनि नलाग्ने अनि हारको पीडालाई पनि सहजै पचाउन सक्ने भएकाले नै सन्त नेताको पदवी नेपाली जनताले दिए होलान् ।
८. १४ वर्षअघि उहाँको जन्मोत्सव मनाउँदा उहाँको हँसिलो अनुहारसँग मानिसहरुले भन्थे, उहाँको जीवित अवस्थामा नै सय वर्ष मनाउन पाइने छ तर केही महिनापछि फागुनमा नै उहाँको देहावसान भयो र एउटा कर्मठ, कर्तव्यनिष्ठ , राष्ट्रवादी, प्रजातन्त्रवादी, समाजवादी राजनेता नेपालबाट सदाका लागि भौतिकरुपमा विदा हुनुभयो तर आफ्नो निष्कलङ्क छवि र दृढ निश्चयको ओज सदाका लागि नेपालीहरुका लागि छोडेर जानु भयो । आज हामीसँग मनन गर्नका लागि उहाँँको खुला जीवनी छ जसले नेपालको स्वार्थका लागिआफ्नो स्वार्थलाई तिलाञ्जलि दिएको थियो र राजनीतिमा पनि त्याग सधैँ सहज, सरल र उपयोग गर्न सकिने वस्तु हुनसक्छ भनेर देखाउन सक्नुभएको थियो । न रिस, न द्वेष, न लोभ, न व्यक्तिगत स्वार्थ । मात्र वहुजन हिताय, वहुजन सुखायको लोभ । त्यस्तो मनीषी राजनेता किसुनजीप्रति हार्दिक श्रद्धाञ्जलि र श्रद्धा सुमन व्यक्त गर्नु हामी कृतज्ञ अनुयायीहरुको कर्तव्य हुन जान्छ ।
९. प्रजातन्त्रका सेनानी पीएल सिंहको ८८ वर्षको उमेरमा यही २०८१ साल पुस १ गते विहान चाक्सीबारी निवासमा नै निधन भयो । नेपालको प्रजातन्त्रका लागि सर्वोच्च नेता गणेशमान सिंहलाई सदैव सहयोग गर्ने पीएल सिंह पछि काठमाडौं नगरपालिकाको मेयर र पछि नगरपालिकालाई महानगरपालिका बनाउने श्रेयसमेत पाएका सिंह २०५६ सालको आमनिर्वाचनमा सांसद हुँदै वातावरण मन्त्री समेत हुनु भएको थियो । स्वच्छन्द जीवनसँगै सबैको हितमा समर्पित सिंह अविवाहित हुनुहुन्थ्यो र भन्नुहुन्थ्यो —मेरो विहे प्रजातन्त्रसँग भएको छ । एउटा त्यागी नेताको अवसानले प्रजातन्त्र पक्षधरहरुलाई ठुलो नोक्सान भएको छ र यो नेपाली प्रजातन्त्रका लागि अपूरणीय क्षति हो । उहाँप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्नु हाम्रो कर्तव्य पनि हुन जान्छ किनभने जसले समाजलाई दिनमात्र जान्यो र समाजबाट कुनै पनि स्वार्थ पूरा गर्न चाहेन । दिवंगत आत्माप्रति शान्तिको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछु र उहाँको अभिन्न परिवारका रुपमा रहेको सर्वोच्च नेता गणेशमान सिंहको परिवारमा समेत समवेदना व्यक्त गर्दछु ।
१०. र अन्त्यमा, गएको मंसिर २८ गते नेपाल पत्रकार महासंघको सवै तहमा नेतृत्वका लागि निर्वाचन सम्पन्न भयो र केन्द्रमा वरिष्ठ पत्रकार निर्मला शर्माको सभापतित्वमा कार्यसमिति निर्वाचित भएको छ । वरिष्ठ उपाध्यक्षमा दीपकआचार्य, महासचिवमा रामप्रसाद दाहाल सहित विभिन्न पदमा पत्रकार साथीहरु निर्वाचित हुनु भएको छ । सबै तहका सबै पदाधिकारीहरुलाई बधाई तथा शुभकामना । पत्रकारितामा आएको संक्रमणकाल र संकटकालको निदान यो कार्यसमितिले गर्न सकोस्, पत्रकारिताको इतिहासमा नयाँ आयाम दिन सकोस् भन्ने शुभकामना ।
(नयाँ विकल्प साप्ताहिकमा प्रकाशित)
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...
काठमाडौं : अमेरिकामा प्राविधिक समस्याका कारण शुक्रबार राष्ट्रव्यापी रूपमा हवाई उडान रोकिएपछि हजारौं यात्रु प्रभावित भएका छन् । चार घण्टाभन्दा बढी...