पार्टी सभापतिले स्वेच्छाचारी ढंगबाट ठुलो आत्मघाती निर्णय गरेको घटनाले स्वाभिमानी काँग्रेसीजनको शीर निहुर्याएको छ – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

पार्टी सभापतिले स्वेच्छाचारी ढंगबाट ठुलो आत्मघाती निर्णय गरेको घटनाले स्वाभिमानी काँग्रेसीजनको शीर निहुर्याएको छ

प्रकाशमान सिंह, केन्द्रीय सदस्य

नेपाली काँग्रेसको १३ औं महाधिवेशन सम्पन्न भै पार्टीको मौजुदा यो केन्द्रीय कार्यसमितिको दुई वर्ष कार्यकाल पुरा हुँदै गर्दा संविधानसभाबाट संविधान जारी भए पछि पहिलो पटक ११ महिना अगाडि भएको स्थानीय तह र झण्डै चार महिना अगाडि सम्पन्न प्रदेशसभा एवम् प्रतिनिधिसभा निर्वाचनमा पार्टीले व्यहोर्नु परेको भारी असफलताको विषयमा समीक्षा गर्न केन्द्रीय कार्यसमितिको वैठक वस्दैछ ।

राष्ट्रियसभा निर्वाचन, प्रतिनिधिको सभामुख उपसभामुख, राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्ष, राष्ट्रपति, उपराष्ट्रपति पद लगायतमा नेपाली काँग्रेसले कुनै स्थान नपाउनुलाई पनि तीनै तहको निर्वाचन पराजयको परिणामसंगै जोडेर समीक्षा गरिनु पर्दछ । नेपालको निर्वाचनको इतिहासमा नेपाली काँग्रेसले भाग लिएको निर्वाचनमा यो स्तरको लज्जास्पद पराजय विगतमा कहिल्यै भोगेको थिएन । निर्वाचनमा संघीय संसद र प्रदेशसभामा काँग्रेसको कमजोर उपस्थितिको परिणाम ७ प्रदेश र केन्द्र कतै पनि काँग्रेसले सरकार बनाउन सक्ने अवस्था छैन ।

इतिहासमा जनताबाट दुई तिहाई र पटक पटक बहुमतका साथ जितेको काँग्रेसले कुनै प्रदेशमा त प्रमुख प्रतिपक्षी दलको हैसियतसम्म प्राप्त गर्न सकेन भने संघीय र प्रदेशमा एउटा प्रदेश बाहेक एक्लैले महाअभियोग वा अविश्वासको प्रस्ताव राख्न सक्ने वैधानिक हैसियतसम्म कायम गर्न सकेन ।

देशको सबै भन्दा पुरानो ऐतिहासिक गौरवशाली पार्टी, जसले नेपालको प्रजातान्त्रिक आन्दोलनमा ०७ सालको जनक्रान्ति, ०४६ सालको राष्ट्रिय जनआन्दोलन र ०६२÷०६३ को लोकतान्त्रिक आन्दोलनको सफल नेतृत्व ग¥यो, सफल शान्ति प्रक्रियाको नेतृत्व, गणतन्त्रको स्थापना, संविधानसभाबाट संविधान निर्माणको नेतृत्व, जारी संविधानलाई स्वीकार नगरी विद्रोह गरेर बसेको मधेश केन्द्रित दलहरूलाई सहमतिमा ल्याएर संविधानलाई स्वीकार गर्न लगाई स्थानीय, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा सहभागी गराउन खेलेको विशेष भूमिका, देशमा माओवादीको दश वर्षे सशस्त्र द्वन्द्व र वर्षौको राजनीतिक अस्थिरताको बीचमा पनि देशको अर्थतन्त्र सुदृढ बन्नुमा ०४६ साल पछि नेपाली काँग्रेसको सरकारले लिएका प्रजातान्त्रिक मूल्य मान्यतामा आधारित नीति, कार्यक्रम र खुल्ला बजारमुखी आर्थिक नीतिले खेलेको सकारात्मक असर लगायतको यतिका उपलब्धि हुँदा हुँदै आम जनताले भरोसा गर्ने ऐतिहासिक प्रजातान्त्रिक दल नेपाली काँग्रेसले संविधानसभाबाट संविधान जारी भएपछि सम्पन्न पहिलो स्थानीय तह निर्वाचन र प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा नराम्रोसंग पराजय भोग्नु प¥यो किन ? हामी कहाँ चुक्यौं ? जसको कारण निर्वाचनमा जनताले हामीलाई निर्मम तवरले दण्डित गरे । पार्टीले यसको गहिरोसंग आत्म समीक्षा गर्नु जरूरी भएको छ ।

नेपाली काँग्रेस इतिहास मै आजको जस्तो कमजोर स्थितिमा आइपुग्नु वा निर्वाचनमा दुःखदायी रूपमा पराजित हुनुमा एउटा मात्र कारण छैन । निर्वाचन पराजयमा पार्टी सभापति, नेतृत्व विशेष वा कुनै एउटा पक्षलाई मात्र दोष देखाएर आँफु चोखो बन्ने प्रयास कसैले पनि नगरौं । निर्वाचनमा पार्टीको पराजयलाई एउटै पाटोवाट मात्र जाँचेर हुदैन । वैचारिक एवम् साँगठनिक आधार, पार्टी नेतृत्व एवम केन्द्रीय कार्यसमिति र हामी नेतृत्वमा रहनेहरूको क्षमता, दक्षता र कार्य कुशलता, समग्र निर्वाचनको व्यवस्थापकीय पक्ष सबैलाई एकमुष्टसंग केलाएर गंभीरतापूर्वक समीक्षा गर्नु वाञ्छनीय हुन्छ ।

पार्टी केन्द्रीय कार्यसमिति, मातहतका संगठन र नेतृत्वको कार्य कुशलताको समीक्षा, पार्टीले सरकारमा रहेर गरेको कार्यको सम्पादनको मूल्याङ्कन, संविधान जारी भएपछि स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पार्टीले लज्जास्पद पराजय हुनुका कारण, पार्टी विधानलाई समयोचित संशोधन एवम् परिमार्जन, महासमितिको वैठकको मिति निर्धारण लगायतको विषयमा समग्र पार्टीको हितलाई केन्द्रमा राखी, कुनै प्रकारको आग्रह र पूर्वाग्रहबाट मुक्त भएर यथार्थ परक ढङ्गले समीक्षा गर्दै पार्टीलाई सिद्धान्त, निष्ठा र विचारको आधारमा गतिशील बनाई समयको चुनौतिसंग भिड्न सक्ने सार्थक काँग्रेस बनाउनु नै अहिलेको परम आवश्यकता हो । हामी सबैको भूमिका त्यसै तर्फ लक्षित हुन जरूरी छ ।

नेपाली काँग्रेसमा भएका सबै प्रकारका कमि कमजोरीहरूलाई हटाई, पार्टीलाई गतिशील एवम् सशक्त संगठन, विचार, सिद्धान्त र आदर्शको बाटो हिडाउँदै सशक्त पार्टी निर्माण गर्न नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले गंभीर भएर छलफल गरी ठोस निर्णयमा पुग्न सक्नु पर्दछ । यसै सन्दर्भमा पार्टी केन्द्रीय कार्यसमितिको वैठकमा निम्न बमोजिमको मेरा सुझावर विचार सहितको योराजनीतिक प्रस्ताव छलफलका लागि पेश गरेको छु ।

(क) सैद्धान्तिक एवम् नीतिगत विषय
१. नेपाली काँग्रेसलाई सामान्य सुधार वा टालटुल गर्ने प्रवृत्तिले मात्र इतिहासको त्यो गौरवशाली काँग्रेसलाई पुनःस्थपित गर्न संभव छैन । पार्टीको सदस्यता प्रणालीमा व्यापक परिवर्तन, संगठनलाई मुलुकको नयाँ संविधानले व्यवस्था गरेको प्रशासनिक संरचरना अनुसार संगठित गर्दै पार्टी कतै स्थापना कालिन सिद्धान्तर नीतिबाट विचलित हुन पुग्यो कि ? पार्टीले पछिल्लो काल खण्डमा विशेष गरेर लोकतान्त्रिक आन्दोलन, शान्ति प्रक्रियार संविधानसभाबाट संविधान निर्माणको चरणसम्म आइपुग्दा आफ्नो मौलिक चरित्र र संस्कार विपरित जनतालाई चित्त दुःखाउने गरी प्रजातन्त्रको मूल्य, राष्ट्रियता र समाजवादको वैचारिक एवम सैद्धान्तिक पक्षमा विचलन वा अपव्याख्या गरेको कारणबाट निर्वाचनमा हाम्रा परंपरागत मतदाता हामीबाट विमुख हुन गएका हुन् कि ? पार्टीको वैचारिक मुद्दालाई जनभावना र समयको माग र प्रजातान्त्रिक मूल्यमा आधारित भएर अत्यन्त नै गंभीर चिन्तन र वहश चलाउँदै सिद्धान्त र विचारमा आवश्यकता अनुसार परिवर्तन, परिमार्जन वा पुनःपरिभाषित के गर्न आवश्यक हुन्छ त्यो गर्ने वेला भएको छ भन्ने मलाई लागेको छ । यो विषय निर्वाचन पराजयको समीक्षाको प्राथमिक क्रममाराख्न जरूरी छ ।

२. नेपाली काँग्रेस आफ्नो ऐतिहासिक भूमिका, सिद्धान्त, विचार, आदर्शर संस्कारले काँग्रेस भएको हो । यो केवल निर्वाचन आयोगमा गर्दा भएर वा नाम मात्रको काँग्रेस भएर होइन । हामी वामपन्थी भाषमा वा उग्रदक्षिणपन्थी अतिवादमा फस्यौं भने हामी काँग्रेस रहँदैनौं । शान्ति प्रक्रियार संविधान निर्माण गर्ने क्रममा हामी हाम्रो सिद्धान्त र आदर्श विपरित बामपन्थी भाषामा ढल्कँदै गएको कारणले नेपाली जनता वा मतदाताले काँग्रेसलाई नरूचाएका पो हुन कि ? निर्वाचन पराजयको विषयमा समीक्षा गर्न बस्दै गर्दा हाम्रो ध्यान यस तर्फ पनि जानु पर्ने हो कि ? म केन्द्रीय समितिका सदस्य एवम पदाधिकारीको ध्यान यसतर्फ गंभीर रूपमा आकर्षित गर्न चाहन्छु ।

३. संविधानसभाबाट संविधान जारी भए पछि हाम्रो तत्कालिन पार्टी सभापतिले प्रधानमन्त्री पदबाट राजिनामा दिइसके पछि पार्टीले प्रधानमन्त्री पदमा जित्ने कुनै आधार नहुँदानहुँदै कुनै राजनीतिक एवम् नैतिकताको धरातलबाट सुशील कोइरालाजीलाई पुनः प्रधानमन्त्री पदमा प्रतिश्पर्धा गराइयो ? संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेर जनतामा हाईहाई हुनु भएको तत्कालिन प्रधानमन्त्री सुशील कोइराला र नेपाली काँग्रेस, कोइरालाले प्रधानमन्त्री पदमा पुनः प्रतिस्पर्धा गरे पछि प्राप्त त्यो लोकप्रियता कम्युनिष्ट सत्तामा आए पछि शेयर बजार ओरालो लागे जस्तै त्यो घटनाले नेपाली काँग्रेसको लोकप्रियता ह्वात्तै घटेको थियो ।

काँग्रेस आजको यस दुःखद् घडिमा आईपुग्नको लागि यो दुःखदायी घटना नै प्रस्थान विन्दु थियो । संविधान निर्माणमा एमालेसंग भएको राजनीतिक समझदारीलाई विलकुलै पर्वाह गरी सुशील कोइरालालाई पुनः प्रधानमन्त्रीमा भिडाउनु कति उचित थियो ? त्यस वेला पार्टीलाई दाउमा लगाउने गरी गरिएको यो घटनाका जिम्मेवार को को थिएर यस घटनाबाट पार्टीलाई कति क्षति हुन गयो ? निर्वाचनको समीक्षा गर्न बस्दै गर्दा यो विषय पनि गंभीर छलफलको विषय हुनु पर्दछ भन्ने मेरो मान्यता रहेको छ ।

४. हाम्रा नेता वा पार्टी सभापतिले पार्टीको सिद्धान्त र आदर्शलाई पर्वाह नगरी केवल व्यक्तिगत उग्र–राजनीतिक महत्वकांक्षा र सत्ता केन्द्रित राजनीतिक चरित्र र प्रवृत्तिको कारणबाट पनि पार्टीले आफ्नो सिद्धान्त र आदर्शबाट विचलित हुनु परेको यथार्थ हाम्रा सामु छर्लङ्ग छ । सभापतिजीले माओवादी केन्द्रसंग आलोपालो प्रधानमन्त्री बन्ने सर्तमा गरेको सत्ता बाँडफाँडको सम्झौता र निर्वाचन पछि पनि सत्तामा बसिरहने मनोविज्ञानबाट चितवनमा प्रचण्डका राजनीतिक धरातल बनाई दिन गएको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगर पालिकामा प्रचण्ड पुत्रीलाई मेयरमा जिताउन हाम्रो पार्टी सभापतिले खेलेको भूमिका, नेपाली काँग्रेसको चरम राजनीतिक विचलन र पार्टी सभापतिको सत्ता केन्द्रित राजनीतिको पराकाष्टा थियो ।

पार्टी केन्द्रीय कार्यसमितिमा कुनै छलफलसम्म नगरी स्वेच्छाचारी ढङ्गबाट एक्लैले यति ठुलो आत्मघाती निर्णय गरेको घटनाले देशव्यापी रूपमा स्वाभिमानी काँग्रेसीजनको शीर निहु¥याएको थियो । पार्टी सभापतिजीको सत्ता स्वार्थबाट अभिप्रेरित भएर गरिएको यो सिद्धान्तहीन अराजनीतिक कदमले निर्वाचनमा देशव्यापी रूपमा पार्टीलाई ठुलो क्षति पुगेको थियो भन्ने मेरो ठहर छ ।

५. पाँच महिनाको भारतीय नाकाबन्दीलाई खेपेर कथित लोकप्रियताको उचाईमा पुगेको अवस्थामा प्रचण्ड जस्तो धोकेबाज नेतासंग भर परेर ओली सरकारलाई असामयिक रूपमा पतन गराउनुर संसदको तेस्रो दलको हैसियतरहेको माओवादी केन्द्रका प्रचण्डलाई प्रधानमन्त्री स्वीकार गर्नुको कारणले पनि काँग्रेसले आजको दिन व्यहोर्नु परेको यथार्थ हो ।

हाम्रो नेताले प्रधानमन्त्री पदको हतारो नगरी केही महिना मात्र पर्खिएको भए भारतको चर्को आलोचना मात्र गरेर बनेको ओलीको कथित खोक्रोराष्ट्रवाद जनताका बीच उखाङ्गो हुने थियो, हिन्द महासागरमा पानी जहाज कुदाउने देखि, घरघरमा ग्यास पाइपलाइनर काठमाडौंमा मेट्रो कुदाउने उनका काल्पनिक सपनामा आधारित ओलीको लोकप्रियता ध्वस्त हुने निश्चित थियो । हाम्रो पार्टी सभापतिजीले राजनीतिक धैर्यता सुझवुझ नदेखाएको कारणले त्यही पृष्ठभूमिमा टेकेर एमाले र कथित बाम गठवन्धनले निर्वाचनमा यो सफलता प्राप्त गरिहँदा हामीले यो दुःखद पराजय भोग्नु परेको यथार्थलाई हामीले भुल्नु हुँदैन ।

६. मधेश केन्द्रित दलहरूलाई मनाउने क्रममा नेपाली काँग्रेसले राखेको संविधान संशोधनको प्रस्तावको कि त हामीले औचित्य सिद्ध गर्न सकेनौ वा जनतालाई चित्त बुझाउन नै सकेनौ । काँग्रेसले राखेको संविधान संशोधनको प्रस्तावलाई एमालेले कथित पहाडिया राष्ट्रवाद र विभाजनकारीको सोच भनेर हामीले आरोप लगायौं तर निर्वाचन परिणाम पछि मधेशमा एमाले सफया हुन्छ भन्ने सोच विपरित मधेशमा एमालेले सम्मानजनक सिट ल्याउने, काँग्रेसको लज्जाजन स्थितिर पहाडमा भएको हाम्रो सफायालाई काँग्रेसले कसरी विश्लेषण गर्ने ?

७. निर्वाचनमा बागठवन्धनको प्रतिक्रिया स्वरूप, पर्याप्त गृहकार्य र सोच विचार नुपु¥याई लोकतान्त्रिक गठवन्धनको हल्ला मात्र पिटायौं तर यसको निर्वाचनमा कुनै असर देखिएन । पार्टी केन्द्रिय कार्यसमितिबाट सहमति विना कुन सिद्धान्तर सोचको आधारमा मधेश केन्द्रित दल, फोरमका उपेन्द्र यादव र राजपाका महन्त ठाकुरलाई हामीले निर्वाचनमा उमेद्वार नै नदिएर गुन लगायौं, यसको वदलामा उनीहरूबाट हामीले के सहयोग पायौं ? यसरी निर्वाचनमा हामीले सहयोग गरेका दलले राष्ट्रियसभा, राष्ट्रपति निर्वाचन लगायतमा के कति सहयोग पु¥याए । त्यसै गरी राप्रपासंगको अत्यन्त फितलो सहकार्यले चुनावमा सकारात्मक वा नकाररात्मक के कति सहयोग रह्यो यो सबैको एक मुष्ट जवाफ पार्टी सभापतिले कार्यसमितिको वैठकलाई दिनु पर्छ कि पर्दैन ?

८. वीपी कोइराला, सुवर्ष संशेर, गणेशमान सिंह, किसुनजी जस्ता महान राष्ट्रवादी नेताहरूले स्थापना गरेको र उहाँहरूले लामो समयसम्म नेतृत्व गरेको ऐतिहासिक दल नेपाली काँग्रेसले इतिहासमा प्रजातन्त्रको लागि मात्र गौरवशाली भूमिका निर्वाह गरेको थिएन, यो देशको महान राष्ट्रिय शक्ति पनि हो, राष्ट्रियताको पहरेदार हो । तर दुभाग्य यत्रोराष्ट्रवादी शक्ति नेपाली काँग्रेसले नेपालको संविधानसभाले संविधान जारी गरिसके पछि त्यसमा असन्तुष्ट भएर ५ महिनासम्म मानवतावादी भावना र अन्तराष्ट्रिय कानूनको मान्यता विपरित गएर भारत सरकारले नेपालमा आर्थिक नाकाबन्दी लगाएर नेपाली जनतालाई अनाहकमा ठुलो कष्ट दिंदा समेत भारत रिसाएर भोलिको आफ्नो प्रधानमन्त्री पद जोखिममा पर्ला भन्ने मनोविज्ञानबाट नेपाली काँग्रेसले यसलाई नाकाबन्दीसम्म भन्न सकेन, यो कम दुर्भाग्यको कुरा थिएन ।

नेतृत्वको यो निकम्मापनले नेपाली काँग्रेसको राष्ट्रियतासंगको नाता कमजोर बन्न पुग्यो । नेपाली काँग्रेससंग जनता चरम रूपमा निरास भए । यसको पृष्ठभूमिमा एमाले अध्यक्षले जनताको भावना बमोजिम नाकावन्दीको डटेर विरोध गरे, यसकै जगमा तथाकथित ओली राष्ट्रवादको नाममा निर्वाचनमा एमालेलाई जिताए भने यसकै पृष्ठभूमिमा काँग्रेसले नराम्रोसंग निर्वाचनमा पराजय भोग्न विवश भयो । निर्वाचन पराजयको समीक्षा गरिरहँदा यो विषय गंभीर छलफलको विषय बन्नु पर्दछ ।

९. नेपाली काँग्रेस जस्तो देशको एक मात्र ऐतिहासिक गौरवशाली प्रजातान्त्रिक पार्टीले प्रजातन्त्रर स्वतन्त्र न्याय पद्धतिको विरूद्ध हुने गरी जुन ढङ्गबाट प्रधानन्यायधिशका विरूद्ध व्यर्थसंग महाअभियोग लगाउने कुत्सित प्रयासर सर्वोच्च अदालतको निर्णयको विरूद्ध काँग्रेस केन्द्रीय कार्यसमिति वैठकले खेद प्रस्ताव नै पारित गर्नु, यो एक प्रकारले नेपाली काँग्रेसको घोर सैद्धान्तिक विचलन थियो । यसरी पार्टीको आदर्शर सिद्धान्त विपरित अदालतको आन्तरिक मामिलामा फस्नु काँग्रेसको ऐतिहासिक भुल थियो । यसबाट पार्टीको लोकप्रियतामा निकै नै धक्का लागेको विषय निर्वाचन समीक्षा भित्र नै पर्दछ ।

(ख) कमजोर संगठन
१. नेपाली काँग्रेसको इतिहासमा पार्टीको विधानलाई यसरी निर्ममतवरले स्वयम् पार्टी सभापतिले उलंघन गरी स्वेच्छाचारी ढङ्गले पार्टी सञ्चालन गरेको घटना विगतमा थिएन । वर्तमान पार्टी सभापतिजीले नेपाली काँग्रेसको विधानलाई पुरै वेवास्ता गरेर अप्रजातान्त्रिक एवम् अराजक शैलीमा पार्टी सञ्चालन गरीरहनुभएको छ भन्ने मेरो ठहररहेको छ ।

२. पार्टीको विधान अनुसार २ महिना भित्र गठन गरिसक्नु पर्ने उपसभापतिर महामन्त्री सहित केन्द्रीय कार्यसमिति गठनर पार्टी विभागहरू दुई वर्ष वितिसक्दा पनि पुर्णता दिन नसक्नु सभापतिजीको कमजोरी मात्र नभएर सभापतिजीको स्वेच्छाचारिता र अराजकताको चरम् नमुना हो । विधान बमोजिम स्वयम केन्द्रीय सभापतिले केन्द्रीय कार्यसमिति, विभाग लगायतलाई गठन एवम् पूर्णता दिन नसकेको कारणले केन्द्रले जिल्ला समितिहरूलाई पनि पुर्णता दिनेर संगठित बनाउन नसकिरहेको अवस्थामा कतिपय जिल्लाहरूको अवस्था पनि यस्तै छ । यो कारणबाट पार्टी संगठन फितलो भयो, संगठनमा कार्यकर्ता परिचालन नै भएन, जसले गर्दा काँग्रेस अत्यन्त कमजोर बन्न गै यसबाट निर्वाचनलाई समेत निकै नै नकारात्मक असर पु¥यायो ।

३. देश निर्वाचनको मुखैमा आएको अवस्थामा वाध्य भएर मात्र सभापतिजीले विधानको घोर उलंघन गर्दै टिकट वितरण गर्ने निकाय पार्टी संसदीय समिति गठन गर्नु भयो । विधान बमोजिम तत्कालिन अवस्थामा ११ सदस्यीय संसदीय समिति गठन गर्न मिल्थ्यो तर सभापतिले विधानलाई घोर उल्लघन गर्दै २४ सदस्यीय समिति गठन गर्नुभयो । विरोधका लागि विरोध गर्नेहरूले त्यस वेला त्यही संसदीय समितिमा वसेर निर्णय प्रक्रियामा सहभागी बन्ने, अहिले आएर विधान विपरित भयो भनेर कुन नैतिकताले विरोध गर्ने ? भनेर औला ठड्याउन सक्छन् ।

त्यस वेला मैले सभापतिजीको विधान विपरितका कामकार्वाहीहरूको विरोध, प्रतिकार वा बहिष्कार के गर्ने भनेर नसोचेको होइन तर पार्टीको एउटा गंभीर एवम् जिम्मेवार तहमा वसेको सदस्य भएको नाताले निर्वाचन कै मुखमा विरोध गर्दा निर्वाचनमा पर्न सक्ने नकारात्मक असरलाई ध्यानमा राखेर नै त्यसो नगरिएको हो भन्ने कुरा सबैले बुझ्न जरूरी छ । केन्द्रीय समितिका सदस्य एवम् पदाधिकारी र आम कार्यकर्ता साथीहरूले सहजै वुझ्न सक्नु हुन्छ कि यसै पनि पार्टी व्यवस्थितर संगठित भएर सशक्तसंग निर्वाचनमा नलागिरहेको अवस्थामा हामीले त्यस वेला प्रतिकार, विरोध वा संसदीय समितिको बैठक बहिष्कार गरेको भए पार्टीको दुरावस्था अझ कस्तो हुन्थ्यो ? हामी सहजै अनुमान गर्न सक्दछौं । मलाई विश्वास छ, त्यस वेला मेरो मात्र यस्तो मनोवैज्ञानिक अवस्था थियो भन्ने होइन, केन्द्रीय कार्यसमितिका अधिकांश साथीहरूको अवस्था पनि यस्तै थियो भन्ने कुरा मैले महशुस गरेको छु ।

४. निर्वाचन अभियानका क्रममा पार्टीको उमेद्वार पार्टीको चिन्ह पाएको निरिह स्वतन्त्र उमेद्वारको रूपमा चुनाव लडेको आम उमेद्वारहरूले महशुस गरेको मैले पाएको छु । निर्वाचन प्रचार प्रसार र व्यवस्थापन यति कमजोर फितलो थियो कि कुराराखेर साध्य नै छैन । निर्वाचनमा स्टार प्रचारक वा निर्वाचन अभियन्ता नै थिएन भन्दा हुन्छ । पार्टीको स्टार प्रचारक हुनु पर्ने पार्टी सभापतिको अलोकप्रियताको कारण अधिकांश उम्मेद्वारहरूले भोट घट्ने मनोविज्ञानबाट भरसक सभापतिलाई आफ्नो निर्वाचन अभियानमा लैजान नरूचाएको कुरा स्वयम् उम्मेद्वारहरूले मलाई बताउनु भएको छ ।

५. पार्टीका भातृसंस्थाहरूको निर्वाचनमा कुनै प्रभावकारी उपस्थिति नै रहेन । पार्टी नेतृत्वले अस्वाभाविक हस्तक्षेप गरी कर्मकाण्डी शैलीमा महामिहाधिवेशन गराएकोले पञ्चायत कालका बर्गीय संगठन जस्तो निस्प्रभावी हुन पुगेका छन् । यो विषयलाई पनि निर्वाचन समीक्षा भित्र नैराखेर छलफल गरिनु पर्दछ ।

६. संविधान जारी भएपछि तत्काल संविधानको प्रावधान अनुसार पार्टी संगठनलाई पुनर्संरचना गरिनु पथ्र्यो । प्रदेश समितिर नयाँ बनेका जिल्ला, निर्वाचन क्षेत्र, नगर पालिकार गाउँ पालिकामा पार्टीको तदर्थ नै भए पनि संरचना नवनेकोर पुरानो समितिले समन्वय गर्न नसकेको कारणबाट निर्वाचनलाई नराम्रोसंग प्रभावित गरेको छ ।

(ग) कमजोर नेतृत्व
१. नेपाली काँग्रेस भित्र कायम रहेको कथित ६०।४० को भागवण्डालाई समाप्त गरेर सबैलाई समेटेर पार्टीलाई एक बनाएर लग्छु भन्ने अठोटका साथ १३ औं महाधिवेशनबाट पार्टी सभापति बन्नु भएका वर्तमान सभापतिले पार्टी सञ्चालनको यो २ वर्षको अवधिमा पार्टीलाई एकतावद्ध बनाएर संगठित बनाउनुको बदला गुटलाई नै प्रश्रय दिएको कारण पार्टी इतिहास कै सबै भन्दा कमजोर स्थितिमा आएको मुद्धा समीक्षाको विषय बन्ने कि नवन्ने ?

२. पार्टीका कार्यकर्तालाई विभिन्न राजनीतिक नियुक्ति र विभिन्न तहमा टिकट वितरण गर्दा वरिष्ठता, योगदान, योज्ञता र क्षमता आदिको विल्कुलै पर्वाह नगरी गुटगत आधारमा आफ्ना निकट व्यक्तिहरूलाई बढि अवसर दिएर इमान्दार र योग्यलाई पाखा लगाएको कारणबाट निर्वाचनमा के कति असर ग¥यो भन्ने विषयमा गंभीर रूपमा विचार विमर्श र अध्ययन गर्न जरूरी छ ।

३. तीन तहको निर्वाचन सम्पन्न गर्न खेलेको भूमिका वाहेक सभापतिर सभापतिले प्रधानमन्त्रीका हैसियतमा निर्वाह गरेको कार्य सम्पादन र त्यसको शैलीर उहाँका अभिव्यक्ति आमजनताका बीच व्यापक आलोचनको विषय बन्यो । जसको कारण पार्टी जनतामा निकै नै अलोकप्रिय बन्न पुग्यो, निर्वाचन पराजयमा यो कारणबाट परेको व्यापक असर प्रति हामी कति गंभीर छौं ?

नेपाल प्रहरीको एक जना डीआईजीलाई बढुवा गरेर प्रहरी महानिरिक्षक बनाउने विषयमा पार्टी सभापतिको जुन ढङ्गको रवैया रह्यो त्यसले उहाँको मात्र बदनाम भएन, सिङ्गो पार्टीलाई वदनाम गरेको छ । ०७४ असार महिनाको चौथो साता बाढी पीडित निरिक्षण र राहत वितरण गर्न सप्तरी जिल्ला भ्रमणका क्रममा वाढी पीडितलाई सम्बोधन गर्दा अन्य प्रसङ्गमा प्रमलाई दिएको ज्ञापनपत्र वाचन गरेको, १८ असार ०७४ मा बीबीसी साझा सवाल कार्यक्रममा प्रधानमन्त्रीका हैसियतमा हाम्रो सभापतिको लज्जास्पद प्रस्तुती, त्यसै गरी प्रधानमन्त्रीको संयुक्तराष्ट्रसंघको वार्षिक साधारण सभामा भाग लिन जाने सिल्सिलामा न्युयोर्कमा रहनु भएको वेला कोलम्बिया विश्वविद्यालयले आयोजना गरेको वल्र्ड लिडर फोरममा अत्यन्त फितलो प्रस्तुति आदिले सामाजिक सञ्जालहरूमा व्यापक रूपमा भाइरल भएकोर आम मेडियामा पारेको नकारात्मक प्रभाव, लगायतका कार्यबाट प्रधानमन्त्रीको मात्र नभएर प्रधानमन्त्रीका रूपमा नेपाली काँग्रेसको नेताको कार्य कौशलतार क्षमता माथि आम जनतामा प्रश्न उठ्यो ।

हाम्रो सभापति र सभापतिले प्रधानमन्त्रीको हैसियतमा गरेका यस्ता अलोकप्रिय कामले पार्टीलाई कति क्षति पुग्न गयो होला हामी सजिलै अनुमान गर्न सक्दछौं । यसरी गरी पार्टी सभापतिले एक प्रसङ्गमा दुई छिमेकी राष्ट्रसंगको संवेदनशील सम्वन्धलाई ख्यालमा नराखी पार्टीले दुई छिमेकी देशसंग अगिंकार गर्दै आएको सन्तुलित परराष्ट्र नीतिको मर्म विपरित एउटा गैह्रसरकारी सँस्थाको निमन्त्रणा दक्षिण भारतको गोवा भएको एउटा विवादास्पद कार्यक्रममा सहभागी भएको कारणबाट छिमेकी राष्ट्रसंगको सम्वन्धमा पर्न गएको नकारात्मक असर प्रति पनि कार्यसमितिको ध्यान आकृष्ट गर्न चाहन्छु ।

४. नेपालको इतिहासमा नै लोक हसाँउने गरी प्रधानमन्त्रीका हैसियतमा हाम्रो सभापतिले ६४ जनाको मन्त्रिमण्डलको कीर्तिमानी कायम गरेर इतिहासमा नाम लेख्नु भएको छ । सभापतिजीले प्रधानमन्त्रीका हैसियतमा यस्तो गौरवशाली कीर्तिमानी तराख्नु भयो तर यस्तो अत्यन्त अलोकप्रिय कदमले पार्टीले कति क्षति व्यहोर्नु प¥यो ? यस विषयमा गंभीर भएर कहिल्यै सोच्नु भएको छ ?

(घ) सुझाव एवम् प्रस्ताव
१. नेपाली काँग्रेसको वैचारिक विचलन, विचारको अपव्याख्या भै आज पार्टी सिद्धान्त र विचार अलमलिएको र बाटो विराएको जस्तो हुन गै आम जनतामा पर्न गएको नकारात्मक प्रभावलाई ध्यानमा राखी यस विषयमा पार्टीले समयोचित बाटो पहिल्याउन र निर्वाचनका क्रममा पार्टीले देशको समग्र आर्थिक प्रगतिको लागि समृद्धिको अभियानमा साथ दिन जनतासंग प्रतिवद्धता गरे मुताविक त्यसको स्पष्ट मार्गचित्र सहितको ठोस एवम् विस्तृत स्वरूप तयार गर्न समेत देशभर आम कार्यकर्ताको स्तरसम्म व्यापक बहश, छलफल, गोष्ठी, सेमिनार आदि गरेर उचित बाटो पहिल्याएर ठोस निर्णयमा पुग्न कार्यसमिति वैठकका सामु प्रस्ताव गर्दछु ।

२. नेपाली काँग्रेसको विधानको परिच्छेद–६, धारा ४९ को उपराधारा (१९) बमोविम महाधिवेशन सम्पन्न भएको मितिले दुई महिना भित्र पार्टीको विभाग, केन्द्रीय प्रतिष्ठान लगायत पार्टी समिति गठन भैसक्नु पर्नेमा दुई वर्ष वितिसक्दा पनि सभापतिले यसो गर्ने तर्फ कुनै चासो नदेखाएको, स्थानीय तह, प्रदेशसभार प्रतिनिधिसभा निर्वाचनलाई ध्यानमा राखेर पार्टीका सबै विभाग र समितिहरूको गठन र परिचालन, संविधान जारी भए पछि प्रदेश स्तर समितिर नयाँ गठन भएका जिल्ला, गाउँ पालिका र नगरपालिकामा पार्टीको निकाय गठन नभएको अवस्थामा निर्वाचनमा पार्टीले पराजय भोगेर हामी त्यसको समीक्षा गर्न वसिरहेको अवस्थामा अब पार्टी केन्द्रीय समितिमा पदाधिकारीको प्रस्ताव र अनुमोदन, विभागहरूको गठन लगायतका समितिहरूको गठनको औचित्य राजनीतिक रूपले समाप्त भैरहेको छ भने, दुई महिना भित्र सभापतिले कार्यसमितिमा उपसभापति, महामन्त्री र सहमहामन्त्रीको नाम विधान अनुसार प्रस्ताव गर्नु पर्नेमा त्यसो नगरेकोले विधानत पनि अब यसो गर्नु औचित्य छैन भन्ने मेरो ठहर रहेको छ ।

अतहः जिल्ला सभापतिहरूको माग वमोजिम जिल्ला सभापतिहरूको राष्ट्रिय सम्मेलन समेत वोलाई त्यसको सुझावलाई समेत समेटेर यथाशिघ्र महासमितिको वैठक वोलाई पार्टीको विधानलाई आवश्यकता अनुसार संशोधन एवम परिमार्जन गरी सोही संशोधित विधानको शिघ्र कार्यान्वयन गर्दै महाधिवेशन सम्पन्न गर्न उपयुक्त ठान्दछु ।

३. नेपालको संविधानले देशलाई संघीयतामा लगिसकेको, प्रदेशसभाको समेत निर्वाचन भै देश संघीयता कार्यान्वयनको बाटोमा अगाडि बढिसकेको अवस्थामा पार्टीले अझै पनि प्रदेश संरचनाको विकास नगरेको कारणबाट पार्टीलाई परेको नकारात्मक असरलाई समेत मध्य नजर राख्दै पार्टीको विधानमा प्रदेश कार्यसमितिको व्यवस्था गर्नर विधानमा अन्य आवश्यक परिमार्जनर संशोधन समेत गर्न यो कार्यसमितिले विधान परिमार्जन एवम संशोधन मस्यौदा समिति गठन गरोस् भनि प्रस्ताव पेश गर्दछु ।

४. प्रत्येक एक वर्षमा बस्नुपर्ने महासमिति वैठक यसै पनि दुई वर्षमा एक पटक पनि बस्न सकेको छैन । पार्टीको नीति, सिद्धान्त र कार्यक्रमलाई थप विकसित र उन्नत बनाउन, पार्टीको विधान संशोधन एवम् परिमार्जन गर्न र पार्टी निर्वाचनमा नराम्रोसंग पराजय भए पछि आम कार्यकर्ता एवम् शुभेच्छुकहरूमा पर्न गएको व्यापक असन्तुष्टि र निराशालाई चीरेर पार्टीलार्ई गतिशील बनाउँन शिघ्र पार्टीको महासमिति वैठक वोलाउन यो कार्यसमितिको वैठक समक्ष जोडदारसंग प्रस्ताव गर्दछु ।

५. देशको दुई छिमेकी राष्ट्रसंगको संवेदनशील सम्वन्ध, सार्वभौमिकता, राष्ट्रिय स्वार्थ र नेपाली काँग्रेसले विगत देखि अख्तियार गर्दै आएको सन्तुलित परारष्ट्र नीतिको मर्म बमोजिम हिड्न कार्यसमितिको वैठमका माग गर्दछु । (नेपाली काँग्रेसका पूर्वमहामन्त्री एवम् उपप्रधानमन्त्री प्रकाशमान सिंहले चैत ९ गतेदेखि शुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा पेश गर्नुभएको दस्तावेज )

सम्बन्धित समाचार

लायन्स क्लब अफ नेपाल जर्नालिष्टद्वारा वृद्धा आश्रम नेपाललाई सहयोग
लायन्स क्लब अफ नेपाल जर्नालिष्टद्वारा वृद्धा आश्रम नेपाललाई सहयोग
  • २०७४ चैत्र १२, ०९: ४४

काठमाडौं । लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफ अन्तर्गत स्थापना भएको लायन्स अफ नेपाल जर्नालिष्ट क्लबले स्थापना कालदेखि विभिन्न...

तराईको उदयपुरदेखि झापासम्म पानी नपर्दा किसानको बेहाल
तराईको उदयपुरदेखि झापासम्म पानी नपर्दा किसानको बेहाल
  • २०७४ चैत्र १२, ०९: ४४

काठमाडौं । असार महिना धान रोपेर किसानहरु रमाउने महिना, किनकी मानो रोपेर मुरी फलाउने कृषि प्रधान देश नेपाल यतिबेला, पहाडमा...

कांग्रेस पार्टीको विधान संशोधन गर्ने गृहकार्य सुरु गरेका छौं : महामन्त्री थापा
कांग्रेस पार्टीको विधान संशोधन गर्ने गृहकार्य सुरु गरेका छौं : महामन्त्री थापा
  • २०७४ चैत्र १२, ०९: ४४

भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस पार्टीको विधानका बारेमा छलफल सुरु गरेका छौं भन्दै १५औं महाधिवेशनले छोपी सकेको...