
बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाले नगरपालिकाभित्र रहेका विभिन्न कारणले आमाबुबा गुमाएका १८ वर्षभन्दा मुनिका बालबालिकालाई ‘आमाबुबाविहीन बालबालिकाको संरक्षण कार्यक्रम’ अन्तर्गत सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । बनेपा नगरपालिका र वाग्मती प्रदेश सरकारको संयुक्त आयोजनामा आमाबुबाविहीन १२ बालबालिकालाई भत्ता वितरण गरिएको हो ।
बनेपा नगर प्रमुख लक्ष्मी नरसिंह बादेले वाग्मती प्रदेशबाट प्राप्त रु २ हजारमा नगरपालिकाको तर्फबाट रु १ हजार थप गरी मासिक रु ३ हजारका दरले सामाजिक सुरक्षा भत्ता वितरण गरिएको बताए । सो क्रममा उनले बालबालिकालाई प्राप्त रकम शिक्षा र स्वास्थ्यमा लगानी गर्दै अध्ययनमा ध्यान दिन आग्रह गरे ।
“भविष्यमा आफू सफल हुनका लागि पढ्नुपर्छ र राम्रो बानी व्यहोरा बनाउने बताए । “अहिलेदेखि राम्रो गर्दै गयोभने भविष्यमा अवश्य पनि राम्रो मान्छे बनिनेछ ।” अहिले वितरण गरेको रकम देख्दा थोरै देखिए पनि एक पैसा पनि नभएको भन्दा यसले धेरै भएको बताउदै, त्यसबाट खर्च गर्न सहयोग पुग्ने बताए ।
कार्यक्रममा वाग्मती प्रदेश नीति तथा योजना आयोग सदस्य यमुना कँडेलले बालबालिकाको संरक्षण कार्यक्रमअन्तर्गत सामाजिक सुरक्षा भत्ता वितरण शुरुआत भएको बताए । प्रदेशभित्रका अरु पालिकामा पनि यस्तै बालबालिका कति छन् भन्ने तथ्याङ्क नहुँदा कार्यक्रम सञ्चालन गर्न अप्ठ्यारो परिरहेको बताए ।
“आगामी दिनमा पालिकासँग समन्वय गरेर वडा वडाबाट विवरण सङ्कलन गरी कस्ता कार्यक्रम सञ्चालन गर्दा कुनै पनि बालबालिका पछाडि पर्दैनन् भन्ने सोचिरहेका छौँ ।”
“आफ्ना छोराछोरीका बारेमा सबै अभिभावकले सोचेर काम गरिरहँदा त समस्या हुन्छन् भने अभिभावकविहीन बालबालिकालाई कति समस्या होला ?” समस्यामा रहेका बालबालिकाका लागि प्रदेश र स्थानीय सरकार सधैँ साथमा रहने उल्लेख गर्दै, बालबालिका सुखी भएमा मात्रै राष्ट्र सुखी र समृद्ध हुने बताए ।
कार्यक्रममा आमाबुबाविहीन बालक विजय खत्रीका संरक्षक (ठूलोबुबा) गोवद्र्धन खत्रीले नगरपालिकाले वितरण गरेको सामाजिक सुरक्षा भत्ता ढिला भएको बताए । जनप्रतिनिधि आएर लामो समय बितिसकेको अवस्थामा अहिले आएर मात्रै वितरण गर्न ढिला भएको उनको भनाइ छ ।
सो क्रममा १८ वर्षभन्दामुनिका नगरपालिकाको वडा नं २ बाट तीन, वडा नं ३ बाट दुई, वडा नं ६ बाट एक, वडा नं १० बाट दुई, वडा नं ११ बाट दुई र वडा नं १३ बाट दुई गरी १२ जनालाई जनही रु आठ हजारका दरले रकम वितरण गरेको थियो । रासस
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...
काठमाडौँ : मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् ।...