
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत देशभर करिब ४४ हजार युवा पार्टीको विभिन्न जिम्मेवारीमा निर्वाचित भएका छन् । पार्टीको नयाँ विधानअनुसार ३५ वर्षमुनिका युवालाई संगठनका विभिन्न तहमा जिम्मेवारी दिने व्यवस्था गरिएपछि ठूलो संख्यामा युवा नेतृत्वमा आएका हुन् ।
कांग्रेसको विधान मस्यौदा समितिका सदस्य सचिव प्रताप पौडेलका अनुसार ३५ वर्षमुनिका करिब ४४ हजार युवाले पार्टीका विभिन्न तहमा पदीय जिम्मेवारी पाएका छन् । उनका अनुसार नेपाली राजनीतिक दलको इतिहासमै एकैपटक यति ठूलो संख्यामा युवाले पदीय जिम्मेवारी पाएको यो पहिलो पटक हो ।
नयाँ विधानअनुसार प्रत्येक वडाबाट ३५ वर्षमुनिका कम्तीमा तीन जना युवा, त्यसमध्ये कम्तीमा एक महिला, क्षेत्रीय प्रतिनिधिका रूपमा निर्वाचित गर्नुपर्ने व्यवस्था छ । देशभरका ६ हजार ७४३ वडाबाट न्यूनतम तीन जनाका दरले २० हजार २२९ जना युवा क्षेत्रीय प्रतिनिधि निर्वाचित हुन्छन् । क्रियाशील सदस्यताको आधारमा प्रत्येक वडाबाट तीनदेखि सात जनासम्म निर्वाचित हुन सक्ने व्यवस्था रहेकाले औसत पाँच जनाका दरले करिब ३३ हजार ७१५ युवा क्षेत्रीय प्रतिनिधि बन्ने अनुमान गरिएको छ ।
त्यस्तै, गाउँपालिकाका प्रत्येक वडाबाट एक जना र नगरपालिकाका प्रत्येक वडाबाट दुई जनाका दरले युवा वडा कार्यसमिति सदस्य निर्वाचित हुने व्यवस्था छ । देशभरका ३ हजार २१५ गाउँपालिकाका वडाबाट ३ हजार २१५ जना तथा ३ हजार ५२८ नगरपालिकाका वडाबाट ७ हजार ५६ जना गरी कुल १० हजार २७१ युवा वडा सदस्य निर्वाचित हुनेछन् ।
यसरी क्षेत्रीय प्रतिनिधि र वडा सदस्य गरी कुल ४३ हजार ९८६ युवाले पार्टीमा पदीय जिम्मेवारी पाउने देखिएको छ ।
यी पदमा निर्वाचित हुन कम्तीमा दोब्बर संख्यामा प्रतिस्पर्धी रहेको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता राजु कटुवालले बताएका छन् । उनका अनुसार महाधिवेशनअन्तर्गत करिब एक लाख युवाले विभिन्न पदमा उम्मेदवारी दिएर प्रतिस्पर्धा गरेका छन् ।
निर्वाचित क्षेत्रीय प्रतिनिधिमध्येबाट गाउँपालिका तथा नगरपालिकाको कार्यसमितिमा कम्तीमा तीन जना, प्रदेश निर्वाचन क्षेत्रको कार्यसमितिमा एक जना, संघीय निर्वाचन क्षेत्रको कार्यसमितिमा दुई जना तथा जिल्ला कार्यसमितिमा कम्तीमा तीन जना निर्वाचित हुने व्यवस्था गरिएको छ । यी संरचनामा महिलाको प्रतिनिधित्व सुनिश्चित गर्ने प्रावधानसमेत राखिएको छ ।
त्यसैगरी, प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तीमा एक महिलासहित तीन जनाका दरले देशभर ४९५ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा प्रत्येक निर्वाचन क्षेत्रबाट एक जनाका दरले १६५ जना महासमिति सदस्य चयन हुने निर्वाचन समितिका सदस्य सचिव कटुवालले जानकारी दिएका छन् ।
नयाँ विधानअनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट एक महिलासहित दुई जना प्रदेश प्रतिनिधि रहनेछन् । सातै प्रदेशमा दुई महिलासहित कम्तीमा पाँच जना प्रदेश कार्यसमिति सदस्य रहने व्यवस्था पनि गरिएको छ ।
केन्द्रीय कार्यसमितिमा समेत पहिलोपटक प्रत्येक प्रदेशबाट एक युवा र एक युवतीका दरले कुल १४ जना युवा प्रतिनिधित्व गर्ने व्यवस्था गरिएको छ ।
कांग्रेसको संगठनमा ठूलो संख्यामा युवाले पदीय जिम्मेवारी पाएको र एक लाखभन्दा बढी युवाले विभिन्न पदमा उम्मेदवारी दिएर प्रतिस्पर्धा गरेको विधान मस्यौदा समितिका सदस्य सचिव पौडेलले बताएका छन् । उनका अनुसार नयाँ व्यवस्थाले पार्टीको संगठनात्मक संरचनामा युवाको सहभागिता बढाएको छ ।
काठमाडौं : नेपाली जनसम्पर्क समिति क्यानडाले चैाथो अधिवेशनबाट निर्वाचित कार्यसमिति तथा महाअधिवेशन प्रतिनिधिको प्रतिवेदन हस्तान्तरण गरेको छ। नेपाली कांग्रेसका केन्द्रीय...
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन जारी रहेको छ । क्षेत्रीय अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रतिनिधिको नामावली...
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी तथा पछिल्लो अविरल वर्षाका कारण...