प्रचण्ड र आरजुको दिल्लीमा जम्काभेट – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

प्रचण्ड र आरजुको दिल्लीमा जम्काभेट

नयाँ विकल्प,

काठमाडौं – शुक्रबार दिल्ली पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाबीच भेटघाट भएको छ । प्रचण्ड भन्दा केही दिन अघि दिल्ली पुगेकी प्रधानमन्त्री शेरबहादुर देउवाकी धर्मपत्नीसमेत रहेकी कांग्रेस नेतृ आरजु देउवासँग प्रचण्डको शनिबार बिहान भेटघाट भएको हो । प्रचण्डले भारतीय बिदेश मन्त्री एस जयशंकर र भारतीय सुरक्षा सल्लाहकार अजित डोभाललगायतसँग पनि भेटवार्ता गरेका छन् । प्रचण्डलाई भारतमा स्वागत गर्न पाउँदा खुशी लागेको विदेशमन्त्री जयशंकरले बताए । प्रचण्डसँग आर्थिक सहकार्यमा केन्द्रित भई छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको डा जयशंकरले ट्वीटरमार्फत जानकारी दिए । उनले भनेका छन्, ‘छिमेकी पहिलो नीतिलाई प्रतिबिम्बित गर्दै नेपालको विकास र समृद्धिको चाहनामा भारत सदैव भरपर्दो साझेदार रहनेछ ।’ प्रचण्ड भारतीय जनता पार्टीका अध्यक्षको निमन्त्रणामा भारत भ्रमणमा गएका हुन् । त्यस्तै अध्यक्ष दाहालसँग भेटवार्ताका क्रममा भारतीय विदेशमन्त्री एसले भारतको प्राथमिकतामा नेपाल परेको पनि बताए । छिमेक पहिलो नीतिअन्तर्गत नेपाल प्राथमिकतामा परेको बताए । ‘छिमेकी पहिलो नीतिलाई प्रतिबिम्बित गर्दै नेपालको विकास र सम्बृद्धिको चाहनामा भारत सदैव भरपर्दो साझेदार रहनेछ, विदेशमन्त्री जयशंकरले भने । ‘आर्थिक सहकार्यमा केन्द्रित भई हाम्रो छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको छ ।’नेपाल र भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउन आफूले भ्रमण गरेको प्रचण्डले बताए । नयाँ दिल्लीस्थित नेपाली राजदुतावासको कार्यालयमा सञ्चारमाध्यमसँग कुरा गर्दै उनले भारतीय जनता पार्टीका अध्यक्षको निमन्त्रणामा आफू भारत भ्रमण आएको बताए । करिव ३ महिना पहिले नै कार्यक्रम तय भइसकेकोले यो आकस्मिक भ्रमण नभएको अध्यक्ष दाहालले स्पष्ट पारे । आफ्नो भारत भ्रमण सद्भावना भ्रमण रहेको उल्लेख गर्दै प्रचण्डले नेपाल–भारतबीचका सम्बन्धका विविध पक्षमा नेताहरूसँग चर्चा गरेर सकारात्मक वातावरण बनाउन आफ्नो प्रयास हुने स्पष्ट पारे । उनले भने, ‘अहिलेको यो भ्रमण भारतीय जनता पार्टीका प्रमुख प्रेसिडेन्टको निमन्त्रणामा भएको हो, दुई देशको सम्बन्धलाई अझ बलियो र सुदृढ बनाउने उद्देश्य छ र यो सद्भावना भ्रमण हो, समग्रमा नेपाल–भारतबीचका सम्बन्धका विविध पक्षमा नेताहरूसँग चर्चा गरेर सकारात्मक वातावरण बनाउने हो ।’ अध्यक्ष प्रचण्ड शुक्रवार दिउँसो भारत प्रस्थान गरेका थिए । दाहालले शनिबार भारतीय विदेशमन्त्री एस जयशंकर र भारतीय सुरक्षा सल्लाहकार अजित डोभाललगायतसँग भेटवार्ता गरेका हुन । दाहालले भाजपाका अध्यक्ष जगतप्रकाश नड्डासँग पनि भेटवार्ता गरेका छन् । भ्रमणमा व्यस्त रहेका प्रचण्डले आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए । मोदीसँग ब्रेकफाष्ट वार्ता गरेका उनले दुई देशबीचको सम्बन्ध थप बलियो बनाउनेदेखि व्यापारललगायतका विषयमा कुराकानी भएको बताइएको छ । प्रचण्डले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेटवार्ता गरेको सचिवालयले जनाएको छ । काठमाडौँबाट फर्किएका विदेश सचिव विनय मोहन क्वात्रासँग पनि शिष्टाचार भेटघाट भएको थियो ।
सन् १९५० को सन्धि पुनरावलोकन गरिनु पर्ने
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल–भारतबीच भएको सन् १९५० को सन्धि पुनरावलोकन गर्नुपर्ने धारणा राखेका छन् । भारत भ्रमण सकेर स्वदेश फर्किनु अघि प्रचण्डले फाउन्डेशन फर पब्लिक अर्वानेश एण्ड पोलिसीले दिल्लीमा आयोजना गरेको कार्यक्रममा बोल्दै कूटनीतिक संवादमार्फत् दुई मुलुकबीचमा देखिएका समस्याहरु समाधान गरेर जान सो सन्धिको पुनरावलोकन गर्नुपर्ने बताएका हुन् । उनले नेपाल–भारत प्रवुद्ध समूहले तयार पारेको प्रतिवेदनलाई दुई मुलुकबीचको सम्बन्धमा अझ प्रगाढ बनाउने गरी ग्रहण गरेर अघि बढनुपर्ने स्पष्ट पारे ।नेपाल–भारतबीचको सम्बन्ध परापूर्वकालदेखिनै प्रगाढ रहेको उल्लेख गर्दै त्यसमा कुनै समस्या आए कूटनीतिक सम्वादको माध्यामबाट समाधान गरेर जानुपर्ने बताए । नेपालको कृषि, पूर्वाधार, पर्यटनमा लगानी बढाउन पनि भारतसँग आग्रह गरे । उनले नेपाल सरकारले निर्यातजन्य उद्योगलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै त्यसमा लगानी गरेर पनि उच्च प्रतिफल लिन सकिने स्पष्ट पारे ।
लगानीकर्तालाई स्वागत
यसैबीच पूर्वप्रधानमन्त्री प्रचण्डले जलविद्युतको क्षेत्रमा थप लगानी विस्तार गर्न भारतीय प्रवद्र्धकलाई स्वागत गर्न नेपाल आतुर रहेको बताएका छन् । तीनदिने भारत भ्रमणका क्रममा कृषि, पूर्वाधार, सम्पर्क सञ्जाल, निर्यातजन्य लघु, साना तथा मझौला उद्योगलगायत उच्च सम्भावना भएका क्षेत्रलाई प्राथमिकतामा राखिएको बताए । जलविद्युत् उत्पादनमा नेपालमा प्रचुर सम्भावना रहेको भन्दै भारत विश्व अर्थतन्त्रको मुख्य केन्द्र बन्दै गरेको अवस्थामा विद्युतीय ऊर्जाको माग बढी रहेको बताए । ऊर्जा क्षेत्रमा भएका द्विपक्षीय सहकार्यमार्फत दुवै देशले सामूहिक लाभ लिन सक्ने जनाउँदै ऊर्जा सुरक्षा र हरित विकासमा नेपालको जलविद्युत् महत्वपूर्ण हुने बताए । ऊर्जा क्षेत्रमा सहकार्यका लागि नेपाल र भारत गत अप्रिलमा सहमति भएको उल्लेख गर्दै उनले सोही आधारमा दीर्घकालीन रुपमा जलविद्युत्को विकास गरिने जिकिर गरे । नयाँ प्रसारण लाइनमार्फत अन्दरदेशीय प्रशारण लाइनको सवलीकरण गरिएको र यसबाट दुई देशबीचको ऊर्जा व्यापारको सम्भावना थप विस्तार भएको बताए । प्रचण्डले भने, ‘नेपालबाट ३६० मेगावाट विद्युत् भारत निर्यात भइरहेको छ, यसलाई दीर्घकालीन रुपमा विस्तार गर्न चाहन्छौं, नेपाल–भारतबीच भएको पछिल्लो समझदारीका आधारमा बङ्गलादेश, भूटान, भारत र नेपाल सम्मिलित (बिबिआइएन) मार्फत क्षेत्रीय विद्युत् व्यापारका लागि मार्ग प्रसस्त भएको छ ।’
अध्यक्ष प्रचण्डको भारत भ्रमणलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले मुलुकको परराष्ट्र सम्बन्ध कमजोर भएको टिप्पणी गरेका छन् ।सहायताको नाममा, विकासको नाममा, सांस्कृतिक क्षेत्रमा भइरहेको अतिक्रमणले मुलुकको परराष्ट्र नीति चिन्ताजनक अवस्थामा पुगेको अध्यक्ष लिङदेनको जिकिर छ । उनले सबै दलहरुसँग परामर्श गरेर तत्काल साझा धारणासहितको परराष्ट्र नीति बनाउन आग्रह गरे ।पृथ्वीनारायण शाहका दिव्यउपदेशलाई अनुशरण गरेर अघि बढ्न सके त्यसले मुलुकको राष्ट्रिय नीति र परराष्ट्र नीतिमा कुनै समस्या नआउने दाबी गरे । नेपाल–चीन हिमालयन मैत्री समाजले आयोजना गरेको विचार गोष्ठीमा बोल्दै उनले सत्ता स्वार्थकै लागि दलहरुले जे पनि गर्ने गरकोले मुलुकमा विदेशी हस्तक्षेप बढन गएको जिकिर गरे। अध्यक्ष लिङदेनले भने, ‘सुघौली सन्धिपछि पछिल्लो समय नेपालको परराष्ट्र सम्बन्ध कमजोर भएको छ । हस्तक्षेपहरु गोलाबारुद्धको साथमा मात्रै नआउने रहेछ । र, सम्बन्धहरु एक ढंगले मात्रै परिभाषित नहुने रहेछ । हामीले आफ्नो सत्ता स्वार्थका लागि जे पनि सम्झौता गर्न तयार हुन्छौं । हस्तक्षेपहरु त आउने नै भयो । विदेशीहरुको समर्थन नलिईकन सत्तामा टिक्न सकिदैन भन्ने मान्यतालाई बल दिन थाल्यौ भने त्यो त हस्तक्षेप बनेर आउनेनैछ । त्यसकारण सबभन्दा पहिले नेपालको असंलग्नता, तटस्थता, पञ्चशीलको सिद्धान्तलाई जोसुकै पार्टीको सरकार भएपनि साझा मान्यताको रुपमा अगाडि लिएर जानुपर्दछ । त्यसकारण नेताको स्वार्थ, दलको स्वार्थभन्दा माथि देशको स्वार्थ राख्नु पर्दछ । यसलाई हामीले शिरमा राखेर गयौ भने मलाई लाग्छ–हस्तक्षेप भयो, विदेशीहरुको दवाव भयो भन्नुपर्ने दिन आउँदैन । त्यसकारण हामीले हाम्रो देशलाई कस्तो बनाउने ? सम्बन्धहरु कस्तो बनाउने भन्ने कुराहरु त हामीले नै निर्धारण गर्ने हो । जब हामी त्यसमा विचलित हुन्छौं । स्वभाविक रुपमा अरुले हस्तक्षेप गर्छन् । आज पछिल्लो दिनमा सहायताको नाममा, विकासको नाममा, सांस्कृतिक क्षेत्रमा जुन प्रकारको अतिक्रमण बढ्दै गएको छ । त्यसलाई रोक्नका लागि पनि देशका सबै राजनीतिक दलहरु एक ठाउँमा उभिन जरुरी छ ।’ २५० वर्ष अगाडि पृथ्वीनारायण शाहले नेपाल दुई ढुंगो बीचको तरुल हो भनेर नेपालको परराष्ट्र नीतिबारे भू–राजनीतिक जो संवेदनशीलता हो । उत्तर र दक्षिणका छिमेकहरुको जो अवस्थिति हो । त्यसलाई ध्यानमा राखेर परराष्ट्र नीति बनाइएको थियो । मलाई लाग्छ, पृथ्वीनारायण शाहको दिव्यउपदेशलाई लिने हो भने केवल परराष्ट्र नीतिमात्र होइन । विना पूवाग्रह भएर हेर्ने हो भने एउटा राष्ट्रिय नीति नै बन्न सक्दछ । त्यसकारण यो दिव्य उपदेशलाई कोशेढंगा मानेर हामीले हाम्रो परराष्ट्र नीति र राष्ट्रिय नीति बनाएर गयौ भने देश फेरि पनि आफ्नो खुट्टामा उभिने, असंलग्न राष्ट्रको पहिचानलाई कायम राख्ने सकिनेछ । अबको दिनमा परराष्ट्र नीतिको बारेमा अवको दिनमा कुनै दल विशेषको कुरा गर्नु भन्दा पनि सबै दलहरुको साझा नीति बन्नुपर्छ । यसका लागि सरकारले पहल गर्नुपर्छ । सबै दलहरु एकठाउँमा बसेर हाम्रो साझा परराष्ट्र नीति बनाउनुपर्छ भन्ने आग्रह गर्दछु ।’ लिङदेनले सबै दलको सहमतीमा साझा परराष्ट्र नीति बनाउन सके मुलुकले बाह्य मुलुकको हस्तक्षेप झेल्नु नपर्ने पनि पटकपटक दोहो¥याए ।
भ्रमणको अनेक टिकाटिप्पणी
प्रचण्डको भारत भ्रमणलाई लिएर यतिबेला राजनैतिक वृतमा अनेका अनेक टिकाटिप्पणी भइरहेका छन्। सबैभन्दा प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाबीच दिल्लीमा भएको भेटघाटको ठूलो चर्चा चलिरहेको छ । प्रचण्डले भारतीय विदेशमन्त्री एस जयशंकरसँगको भेटमा सन् १९५० को सन्धि पुनरावलोक हुनुपर्ने बताएपछि यो विषयले बौदिक सर्कलमा चर्चा पाइरहेको छ। नेपाली नेताहरु भारत पुग्दा अनेकौ चर्चा र टिप्पणी हुनु नौलो होइन, प्रचण्ड भारत भ्रमणमा जाँदा पनि त्यसैअनुसार चर्चा भइरहेको मात्र हो । प्रचण्ड भारत भ्रमण जादा माओवादी नेताहरुको ओलीसँग लविङ्ग चल्नु, अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिन बाध्य हुनुको विषयले चर्चा बटुलेको छ । सत्ताको नेतृत्वकर्ता कांग्रेस भित्र किचलो बढ्नु ले अनेकन टिप्पणी हुनु पनि स्वभाविक भएको तर्क चल्न थालेको छ । मुख्यगरी अहिले प्रचण्डको भारत भ्रमणले कांग्रेसभन्दा प्रचण्ड निर्णायक हुन्छन् भन्ने मै बहस केन्द्रीत भइरहेको देखिन्छ । अब हुने चुनावमा कांग्रेसको रणनीति र प्रचण्डको भारत भ्रमणको तरंगले के सन्देश दिन्छ भन्नेमा लक काट्न थालिएको छ । यस विषयमा भारतीय चासो गम्भीर ढंगले बढेको भनेर जानकारहरु बताउछन् । भारतीय चासोलाई प्रचण्डले कसरी लिन्छन् र नेपालको राष्ट्रिय राजनीति तथा कूटनीतिक क्षेत्रमा कस्तो भूमिका खेल्छन् त्यो भने सबैले जान्न आवश्यक छ । कतिपयले गम्भीर रुपमा हेरेका छन् भने कतिपयले भ्रमण संयोग मात्र भनेका छन् । देश र जनताको हितबाहेक अरु कुनै स्वार्थ नभएको प्रचण्डले भनिरहदा प्रचण्ड र काँग्रेस नेतृ आरजु देउवाबीचको भेटले केही आशंका निमिट्यान्न पार्ने बुझिएको छ ।
प्रचण्डपछि ओलीलाई निम्तो
पछिल्लो समय नेपालका नेताहरु भारतीय जनता पार्टीसँग नजिकको सम्बन्ध गास्न थालेका छन् । नेपालका मुख्य दलहरुसंग भाजपाले सम्बन्ध प्रगाढ बनाउन लागेपछि यसप्रति चासोकासाथ हेर्न थालिएको छ । भाजपाले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई जेठमा भ्रमणको निम्तो दियो । देउवापछि प्रचण्डलाई भ्रमणमा निम्तो गर्यो । भर्खरैप्रचण्डले भारत भ्रमण सम्पन्न गरे र सम्बन्ध प्रगाढ रहेको दावी गरे । त्यसपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र लोसपा नेता महन्थ ठाकुरलाई निम्तो पठाएको स्रोतको दावी छ । भ्रमणको निम्तो पाएलगतै भारत दौडिने नेताको प्रवृत्ति छ ।यसैबीच एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभक्तहरुलाई विदेशी शक्तिसँग सौदाबाजी गरेर सत्ताबाट हटाइने गरेको खुलाएका छन् । उत्तरतिरका १७ वटा भारतीय चेकपोस्ट हटाएबापत कीर्तिनिधि विष्टलाई प्रधानमन्त्रीबाट हटाइएको भन्दै ओलीले उत्तरतिर पारवहन सम्झौता गरेबापत र चुच्चे नक्सा छापेबापत आफू दुवैपटक सत्ताच्युत भएको दावी गरे ।

सम्बन्धित समाचार

कांग्रेस सामाजिक अभियन्ता बन्न सक्नुपर्छ : सहमहामन्त्री डा. संग्रैाला
कांग्रेस सामाजिक अभियन्ता बन्न सक्नुपर्छ : सहमहामन्त्री डा. संग्रैाला
  • २०७९ श्रावण ३, ११: ५४

खोटाङ : नेपाली कांग्रेस यतिबेला गाउँगाउँमा संगठन विस्तारमा लागिपरेको छ । विशेष महाधिवेशनदेखि जरा अभियानसम्म कांग्रेसको नेतृत्व कुनै न कुनै...

नुहाउन गएका दुई बालकको डुबेर मृत्यु
नुहाउन गएका दुई बालकको डुबेर मृत्यु
  • २०७९ श्रावण ३, ११: ५४

रौतहट : रौतहटको बागमती नदीमा नुहाउन गएका दुई बालकको डुबेर मृत्यु भएको छ । आज दिउँसो बागमती नदीमा नुहाउन गएका...

मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने
मनसुन क्रमशः सक्रिय हुँदै, असार १६ र १७ गते केही स्थानमा मुसलधारे वर्षा हुने
  • २०७९ श्रावण ३, ११: ५४

काठमाडौं : मुलुकमा मनसुन क्रमशः सक्रिय हुँदै गएको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी असार १६ र १७ गते...