खुशी हराएका पाना – Naya Bikalpa
July 15, 2026, Wednesday      Epaper

खुशी हराएका पाना

सुशीला अंगाई

अस्तशेष रविको निरव छायाँमा
उर्जाहीन जीवनको रेल
मुस्किलले तानिरहेछन् जिम्मल बा
आकाशमा उँडेका कयौँ, जहाज नियाल्थिन्
दिनभरि आँगनीमा बसेर साहिँली आमा
छोराको प्रतीक्षा गर्दागर्दै प्राण त्याग गरिन् पोहोर साल
शिल्पविहीन संरचना रंगरोगनको ताजगी पर्खेको
दशैँघर शून्य छ
हरियालीविहीन करेसाबारी, सुगन्धविहीन मठमन्दिर
थोत्रो देवलझैँ टक्रक्क अडिएको छ
तिनका आँगनीमा आउँदैन अचेल बुलबुल चरी
गर्दैन प्रातमा मृदु भाषण पनि
हिमालको चिसो सिरेटो
चउरभरि पहेँलिएका सिरूका पात
फर्फराउँछन् क्षणभरमै, वयलिन्छ सुरमा पवन
दौडन्छ अनन्त गतिमा, चरक्क चिरिएका भित्ता
तिनै भित्तामा अडेस लागेका जिम्मल बा
भित्ताबाट पक्लक्क उप्किएको
माटोको ढिक्कामा धसिएको
रंगीन इस्टकोट रूग्र शरीर
एक तमाशको खोकी
तमाखु तान्छन् धुवाँ उडाउँदै
उनका फेहरिस्त
विगत, वर्तमान र आगत
संघर्ष, एकांगी र निस्पट्ट प्रहरझैँ
सिलसिलेबार आख्यान
छछल्किन्छ करूण छन्दमा
हृदयस्पर्शित बनेर खुशी हराएका पाना
मार्मिक कथाको निष्कर्षझैँ बिझाउँछ मनभरि
घरका बन्दी दरबाजा दिनभरिजसो
बसेर भञ्ज्याङको चिया पसलमा
पोखिन्छ तिनका दृष्टी मूलबाटोतिरै
नियाल्छन् यात्री र मोटर
क्षणभरमै सजल बन्छन् तिनका नयन
उज्याला घामका किरणसँगै छाएको पावन अवसर
दशैँको खुशी र रौनकको सानिध्यमाआफ्ना आँगनीमा
आशिर्वाद थाप्न भेला भएका भाइ बन्धुको सफेद चित्र
पल्टिन्छ तिनका हृदयका पानाभरि सम्झन्छन् तिनले आफ्ना
नाति–नातिनाको तस्बिर तिनका बोली
प्रतिध्वनि बनेर गुञ्जन्छन् कानमा
धमिलो खहरे सल्बलाउँछ मनभरि
समुद्रपारतिरै रमेका सन्तानको मायामा अल्झिएको मन
चिस्सिएको छ भित्रभित्रै निराशाको बन्दी
कारागारभित्र अल्झिएको छ प्राण
प्रातः र सन्ध्यामा धुरीबाट निस्कने धुवाँ तिनका
जिवित जीवनका पहिचानजस्तै बनेका छन् अचेल
पीडा र रूग्रताले प्रतिपल
बढाउँदै लगेको जिन्दगीको खाडल
पिएर एकतमाशको शून्यता
साँचेको छ ग्रामीण बस्तीले
अनगिन्ति निरास र करूण जीवनका कयौँ कथा
दोबाटोको बरको रूखमा झुन्डिने पीङ
रातै, पहेँलै पोसाकमा खल्बलिने
केटाकेटीको भीड देखिँदैन अचेल गाउँघरमा
देवीथानमा घन्किँदैन पञ्चैबाजा
सुनिँदैन प्रातःमा शंख ध्वनि पनि
कला र संस्कृतिको हिस्सा सभ्यताको निधि
जीवन्त रहस्यका आँचल जात्रा र मेलाका पारखी
सायद् व्यस्त होलान्, वैभवशाली अरबको सिँगारमा
बगाउँदै होलान् पसिना ५५ डिग्रीमा
कोही गाउँदै होलान् पश्चिमा संस्कृतिको मीठो भजन
अत्याधुनिकताको रंगीन काँचुलीमा बेरिएको नवपुस्ताले
उपहार दिएको छ ग्रामीण बस्तीलाई
एकांगी, खोक्रोपन र एकतमाशको शून्यता
सौन्दर्यविहीन छ, चहलपहलविहीन छ
सन्नाटामै अस्तव्यस्त छ, ग्रामीण बस्ती ।
–वनस्थली, काठमाडौँ ।

सम्बन्धित समाचार

जेन्जी गणेश अस्ताए
जेन्जी गणेश अस्ताए
  • २०७६ कार्तिक २६, ०७: ४३

-सुन्दर पन्त, नागार्जुन-१०, काठमाडौं निलो क्रान्तिका योध्दाहरु अन्धो छैनौ भने हेर बहिरो छैनौ भने सुन आगोको लप्कामा जलेको गणेशको बारेमा...

चुनदेवि कांग्रेस र नेपाली कांग्रेसबीच मिल्न नसकेका तीन कारण !
चुनदेवि कांग्रेस र नेपाली कांग्रेसबीच मिल्न नसकेका तीन कारण !
  • २०७६ कार्तिक २६, ०७: ४३

काठमाडौं । नेपालको राजनीतिको ऐतिहासिक पृष्ठभुमि वोकेको काङ्ग्रेस गुटगत स्वार्थका कारण आफुलाई व्राण्ड दावि गर्ने र ईमान्दार कार्कर्तालाई रैतिको व्यवहार...

मुलुक कता जाँदैछ भन्ने चिन्तासँगै एकताबद्ध कांग्रेसको चाहना
मुलुक कता जाँदैछ भन्ने चिन्तासँगै एकताबद्ध कांग्रेसको चाहना
  • २०७६ कार्तिक २६, ०७: ४३

१. मुलुक कता जाँदैछ ? मुलुक फेरि नयाँ द्वन्द्वमा फस्ने खतरा बढेको छ । चाहे संविधान संशोधनको कृत्रिम बहानामा होस्...