
त्रिसप्त गंगाले अभिसिंचत हिमवत् खण्डको शिरोभाग धन्य सुन्दर भूगोल, पूर्वीय ज्ञानधारा बगेको आदि भूमि विविधताका सम्मिश्रित आयामले घनीभूत छ । संसारकै उच्च र गरिमामय नेपाली धर्ती आकाश ।
किनाराबाट रंगीन कुसुमी थुँगाका अभिशेक गर्छन् सलील शुक्ला गंगामा नीलो आकाश ऐना हेर्छन् अद्भूत सौन्दर्यमा निमग्न मुख माधुरी । शैलमाला, वृक्षादि हल्लिएर पवनका सुरमा लता लहरा गर्व गर्छन् । सुनौला, रुपौला रवि हर्छन् धरणीतलका तम लहरी कल्याणी शान्तिदायिनी सौरवी धरा । वनफूलको सुगन्ध समेली दौडन्छ पवन सुवास छर्दै किनारमा चट्टान र बालुवा टल्किएका बगर सानिध्यमै सुहाना मधुवन पर्वतकी चञ्चला झर्छिन् गडगडाउँदै सन्देश बोकेर शान्तिको ।
भीर पहरादेखि छिचोली कुञ्ज वाग बेतान झुलना साभार हुन्छिन् बेशीका फाँटमा अनुप्राणित गर्दै अन्नबाली हरियालीले भरिन्छ गुणज्ञानले झुकेझैँ सदा ज्ञानी । ब्रम्हा रुप झुल्छन् फाँटभरि परिश्रम पूर्ण पसिनाको प्राप्ति प्रफुल्लित बन्छन् किसानका हृदय ।
नुहुन्छन् वृक्षादि काननमा फलले फुलले, विविधताले प्रकाशित गर्छ नौलो आयाम । नैसर्गिक लवज खस्छन् नीडदेखि सन्ध्याको आरती झ्याउँकिरी गाउँछन् दीप्ति जगाउँछन् जुनकिरी मधुर कविताका हरफ छिपेका पला थलाथलामा सृजित रंगमञ्च सजीव, जीवन्त अभिनयको गौरवमय रौनक ।
मनोरम हरियाली, स्वर्णिम हिमवन्त, सल्ला सुसाएको वन, हिमालका काखमा पहाडका छातीमा सल्बलाएका नदीनाला र निर्झरी, बेली वनका मञ्जुल निकेतन तमाम तृणको घुम्टो ओढेको घाँसे मैदान अद्भूत कलाका हिस्सा हुन् । समस्त प्रकृति नै मधुशाला । पसिनाका धारा बहाउँदै भारी बिसाउने भरिया अतिथि हुन् चौतारीका । हाँगामा गुञ्जन्छ चराको गीत, हल्लिन्छ लहरे पीपल, बोकेर ल्याउँछ सिर्सिरे हवा उमंगका लहरी ।
घन्कन्छ कहिले विरहका भाका भन्ज्याङको साझा चौतारी गाउँबेसीका मुटु हुन् । वर्षात्का ओत, गृष्मको शीतल, शरद्को शोभा, बसन्तको धुन । घामपानी, हुरीबतास, उकालीओराली सँगै साँटेका जीवनका अनुभूति सँगालेर आभारी छन् कृषकका जनजिन्दगानी ।
पौरख, शीप र पराक्रम माग्छिन् दिलदार बसुन्धरा उर्जा उब्जनकी धनी शश्यश्यामला धन्य हुन् कर्मठ हातहरु । गाँसे अटूट ममता माटोमा हाँसो छरे धर्तीका ओठमा पसिनाले भिजाए माटोका कणकण जो न्यानो काखमा मृतिकाको रमेर गौरवान्वित छन् । बाँचेका छन् हृदयमा छल्काएर देशप्रेम, जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी ।
प्रभाती किरणले नदेखेका पाखामा शब्द खोज्छन् सिर्जनधर्मी । अनुभूति प्रकृतिका बहुविद बिम्वका साथ पाएर छताछुल्ल पोखिन्छन् । उत्साहमा चम्किलो घाम, बादलविहीन आकाश, हिउँले भरिएको हिमाल, बगानका कुसुम, विरहमा तिमिर, हुरीबतास ।
प्रकृतिको सुन्दर रचना फूल । कल्पनाशीलहरुका भुलभुले मूल । शोभायमान देखिन्छन् हिलोमा, काँडामा, पहरामा, लहरामा हृदयनिनादिनी । उपवन सर्जकलाई डाक्छन नुतन सिर्जनका निर्झरी माग्छन । नीलगगन, मखमली फूल, सफेद गंगा आँखाका अतृप्ति हुन् । अनित्य फूल कान्ति सुहाना अमर बन्छन् गलामा, कलामा । फूलमा बुद्ध छन्, उमंग छ हर्दम नाच्दछ नवीनता ।
माधुर्यको मधुकोष, छटामान छहारी, अग्ला लेक, होचा पहाड, चेतनाको झुल्को नवबिहानीमा ज्योति बालेर मुस्कुराउँछन् श्वेत हिमाल सगरलाई माथ गर्ने सगरमाथा बाबुराम आचार्यले नाम दिए । चाँदी पोखिएका भीरभरि लेखिएका छन् गोरखाली जातिको पराक्रम अमर वीरता, स्वाभिमान र गौरवगाथा ।
तेजश्वी शैलका उच्चतामा अंकित नयनान्दी मुस्कुराहट भरिन्छ बिहानझैँ जोश र जागरणले । मनमोहक तारतम्यका तरेली हरिलो भरिलो सशक्तिपूर्ण कौशल । सुन्दर प्रकृतिका जिल्दभित्र सघन जीवन दर्शन घनिभूत छन् रसमय शिरोमणिका रचना ।
भन्ज्याङको यात्री हिमालको ओजश्वी आकांक्षाले डोहोरिन्छ । वैशम्य मञ्चन गर्छन् वनवाटिका रंग फेरेर निमेषमा । नेपाली भूगोलको पहिचान हुन् पर्वमालाले काखी च्यापेको बस्ती र शहर । शुष्मा र सौन्दर्यको संग्रहालय झैँ अनुपम पोखरा । नदी, ताल, गुफा, माछापुछ्रे हिमालको हाँसो, गौरवपूर्ण प्रकृतिको सज्जा स्वर्गीय भूमि । डाँडाको बजार बन्दीपुर पुरातन कला र संस्कृतिका ओत हुन् ।
घना जंगलका माझमा सुसाएकी गंगा व्युँझाउँछिन् पहाड, पर्वतलाई नाच्दै गाउँदै । वामन हिमाल आशिर्वाद थाप्छन् उचा शिखरसँग प्रेरणाका संवाहक । ज्ञान पोखेर संचारित हुन्छ । भुलभुले मूल फैलन्छन् जसरी निःसृत बनेर धर्तीका गर्भबाट ।
मसिना लहरा फिँजारेर सुस्तरी रौनक भर्दै जान्छन् हरियो दुबो चउरभरि । छहराका छर्छरमा स्वर्णिम किरणावली कसरी सुहाउँछन् ? प्रभात निर्मलताले भरिन्छ रोमान्चक दृश्यमा उमंगका हिमखोली छङ्छङाउँछन् हृदयभरि । दुःख र दर्दका पर्दा हट्छन् । शान्ति र ज्ञानका छत्रछाया चिन्तनका छहारी हुन् प्रकृतिका एकएक दृश्य अनेक पाठ हुन् सिकाइ, ज्ञान, अनुभव, कला र आविष्कारका ।
ज्योतिर्मय दिव्यज्योति स्वतः स्फूर्त अचलका कोप्चेरामा अवस्थित बहुसांस्कृतिक आस्थाको धरोहर हो मुक्तिनाथ । सर्जकहरुको विचरण गर्ने थलो, शान्ति भूमि, पावन भूमि, दिव्यधाम । पर्यटकको निशानी । कुनै शक्तिले आभाषित बनेझैँ झुक्दो हो सायद् नास्तिकका हृदय पनि श्रद्धाले । न्हुबिने हिमालकी सिर्जना लोमन्थाङ न्हेचुङ खोलासँग सहेलिँदै ६० किलोमिटर तल प्रवाहित हुँदा कागवेनीको संगममा आइपुग्छिन् ।
मुक्तिनाथबाट निःसृत १०८ जलधारामा मिसिएकी कालीगंगा नदी सभ्यताकी दृष्टान्त हुन् । लुकाउने र फुकाउने जादुगरी चाला, मधुतालले छल्किँदै कहिले फिँजारिएर बगरभरि नृत्यांगना छिपाउँछिन् आँफैलाई गहिरो खोँचभित्र अन्नपूर्णा र धवलागिरिको । उन्नत कालिगढी कलाकी चपला, चञ्चला कवि माधव घिमिरे कालीगण्डकी कवितामा पोख्छन् यी भावहरुः
तिम्रो जन्मस्थल छ पहिलो ज्योतिको दिव्यधाम
कालीगंगा भनन कसरी कुँद्छ्यौ शालिग्राम ?
हिन्दुहरुको पूजनीय पवित्र शालिग्रामलाई करोडौँ वर्ष पुरानो जिवाष्मा पनि भनिन्छ । निर्जनको अनमोल हिरा मुस्ताङ विविधतापूर्ण नेपाली भूगोलको झनै भिन्न विशेषता हो । अनावृष्टि, सुख्खा धरातल र द्रुतगामी पवन वहनुले नेपालको मरुभूमिको संज्ञा पाएको छ मुस्ताङले ।
पहाडी भूगोलका सर्वस्व हुन् बान्की, सुषमा र शोभना, डाँडाकाँडा, द्यौराली भन्ज्याङ, लेकबेसी, मैदान, टार, उपत्यका । प्रकृतिका शिल्पमय कला आभूषण हुन् झर्ना, ताल, खोलानाला, खहरे । सुगन्ध हुन् वनफूलका शितल हवा । ताल तरंग हुन्, झंकार हुन् सारेगमका पन्छीका नैसर्गिक लवज । जुहार हुन् इन्द्रेणीका रौनक । सम्वृद्धि र सम्पत्तिका सम्पदा हुन् अचलका गर्भभित्र संचित बहुमूल्य खनिज । टोनी हागनले भनेका छन्–‘पूरै नेपाल नै भौगर्भिक प्रयोगशाला हो ।’
भाव र भाषाका सम्पदा विविधताले सुन्दर, शान्त, विशाल । प्रसन्न प्रकृति सृष्टिका अनमोल शोभा हुन् । अन्नपूर्णबाट छुटेकी मादी अग्रगामिनी बहाउँछिन् रसधारा बस्ती र फाँटहरुमा छताछुल्ल । गोसाइँकुण्डकी जलधारा त्रिशुली मिष्टभाषिनी छल्काएर मधुर काव्यलहरी आँतमा डाक्छिन् अल्पभाषी कवि । पान गर्दै सुधा सौन्दर्य हृदयका स्वचालित क्यामेराले कैद गर्न आव्हान गर्छिन् । पियूषकी घडा प्रकृति देवी शष्यश्यामला । कल्प कल्पमा गुन्जन्छ जागृतिको शंखनाद निर्झरी मस्तिष्कका उर्जा हुन् ।
घेरा दिएर मनिषीजनले चारैतिरबाट पद्माशन बाँधेर बसेका महान तपस्वी ब्रम्हरन्दबाट तप्किएको धारामृत पिएर तृप्त हुन्छन् । महर्षि सुहाना हिमचुलीका माझमा सफेद तिलिचो अतूल उचाइमा सृष्टिको शलील सजलता छल्किएर खस्छन् मधुधारा अलौकिक शिल्प सौन्दर्य कुन शक्तिले पोखे हुन् धन्य हुन् सृजनहार महिमामयी धरा, नयनान्दी, जीवनानन्दी, परमानन्दी । सभ्यताका निशाना भरिन्छ हृदय एकैसाथ श्रद्धा, भक्ति, विवेक र करुणाले । खुल्छ सत्य अन्तरदृष्टि शितल पावन निर्मल सत्यम् शिवम् सुन्दरम् ।
मन्त्रीय झैँ मोहिनी मन्त्र, गुराँसे वन, लेकका पाखा खिच्छन् पथिकका आँखा । मकालु, कञ्चनजंगा क्षेत्र, तीनजुरे, मिल्के, जलजले गुराँसका राजधानी हुन् । २८ प्रजातिका गुराँस फुल्ने अवर्णनीय छटा प्रकृतिको वरदान । नेपाली धर्ती परिपूर्ण कौशल अनेक रंग अनेक सुवास धन्य हुन् कुसुमी विधाता सिद्धहस्त सिर्जन हस्ती निमेष निमेषका हरेक सृष्टिमा खन्याउँछन् नुतन कौशल । अनेक रुप रंग विचित्र दृश्यावली सुकोमल वदन लुकाउँछिन् सेती अतल गहिराइमा ।
तप, साधनामा निमग्न छन् ध्यान गंगा । अग्ला उचाइमा ८ हजार मिटर भन्दा माथि अन्नपूर्ण, धवलागिरि, मनासलु नित्य हाँसो बाँड्छन् आभा छर्दै उन्मेषका । दीप्तिमान छटाले जगमगाउँछ मृतिकाको काख, हिमाली खर्क, चरन पाखामा चर्छन् च्यांग्रा, चौँरी । हरिण, मृगका विहारस्थली, चाँप, गुराँस, सल्ला, सुनाखरी, देवदारु वनमा नाच्छन् मुनाल, मयूर, डाँफे नानाथरी पन्छी गाउँछन् सुमधुर गाना । सञ्जिवनीका भण्डार हुन् हिमाली वन ।
धवलागिरि हिमालकी हिमखोली बगिरहू कल्कलाई सुशीतल जल, चीसो, पवित्र, निर्मल, पियूषधाराकी अनुपम दृष्टान्त । सिन्धुको दौरानमा बगेका वेणु, चट्टान, पहिरो, हिमपहिरो, पहाडी पहिरो, छिचोलेर गति पहिल्याउँछन् नथाकी कहिल्यै जसरी लम्कन्छन् आदर्श व्यक्तित्व उन्नतिका पथमा आफ्ना प्रतिभाका बलमा हिँड्छन् वाधा र व्यवधानका बीच जीवनका गति उद्वोदन गर्दै ।
विभिन्नता एकताको सिँगो स्वरुप हो । अव्यक्त धारणा शब्दले व्यक्त गर्छन् । भुलभुले मूल बग्दै जाँदा सफेद बन्छन् जसरी लेख्नु आँफैलाई विकास गर्नु हो । गतिमयता विकास हो । नदीझैँ बग्नु, झरनाझैँ झर्नु, वर्षात्का गंगाझैँ बगरभरि पोखिनु समुद्रका परिवर्तनगामी छालझैँ छल्किनु आभा भई पोखिनु घुम्तीमा घुम्नु, पालुवाझैँ पलाउनु, जीवित प्राणीझैँ बढ्नु सभ्यता र चेतनामा बिस्तार बिस्तार बिस्तारित हुनु विकास हो । प्रकृतिका विद्यमान विशेषता पनि ।
धागोमा उनिएका रंगिन पुष्पहार पूर्ण सौन्दर्यका प्रतीक हुन् । हिमाल, पहाड, तराईका भूधरातलभित्र बहुजाति, भाषा र सांस्कृतिक रंगको सुन्दर समायोजन हो नेपालको पहिचान । यहाँका प्रकृति नाट्यशाला हुन् प्रत्येक हिमाली, पहाडी पाखाका हराभरा वनकुञ्ज ।
तुवाँलो उडाउने हवा, कुहिरो फार्ने रवि, सिमसिम पानी, मधुर पवन, हराभरा निख्खरा । तरुल लतिकामा भिजेका पालुवामा रवि टल्काउँछन् किरणावली । डाँडाबाट झर्छिन् सप्तरंगी तिर्खाएर खोली किनारमा । काली लेकका विशाल पहरामा खोपिएका बेजोड कालिगढी लाग्छन् विनीविनी कुँदेझैँ बुट्टा सिद्धहस्त कलाकारले आँखीझ्यालमा ।
पिकासो कलाको चोरी हो भन्छन् । अद्वितीय, अलौकिक दृश्य जहाँ चेतनाको स्फुरण हुन्छ । मनोरम दृश्यमा खुशी बग्छन् हृदयभरि । प्रसन्न चित्तबाट उत्कृष्ट सिर्जना स्फुरित हुन्छ । हुन त कवि सम आँशु कविताको मातृभाषा हो भन्छन् । शालीन प्रकृति चिन्तनका छहारी हुन् । चिन्तन झाँगिदै जाँदा जीवन्त बन्छ जीवन । वगानका फूल, कोपिला, सुगन्ध अनेक वृक्षादि फल ज्ञानका भण्डार हुन् सर्जकको विचरण गर्ने थलो प्रकृति ।
ज्ञान सीमित हुन्छ । कल्पनाले सारा संसारलाई बाँध्न सक्छ । यद्यपि, कल्पना अपूर्ण हुन्छ ज्ञानबिना । विविधताका रौनक सिर्जनाका मूल हुन् कल्पना शक्तिका उत्प्रेरक । एकनासेपन आस्वादनविहीन हुन्छ । कतै काहीँ अग्ला, होचा पहाडको उपस्थिति नजनाउने बालुवामय कतारको भूमि अल खर्राराको खुला चौरमा निश्चल उभिएको गीत गाउने बालुवाको पहाड चढ्दा कुनै सर्जकलाई कल्पनामा नडुबी सुखै छैन ।
शक्ति, ममता र प्यारकी मुहान, प्रेरणा र ज्ञानकी संवाहक, शान्तिमय गुञ्जन भर्ने उत्साहकी लय, जाँगरकी सुर, तिलस्मीमय रौनक, हर्दम मुस्कुराउने हिमाल विश्वकै शिर हराभरा नेपाली धरा ।
१. महाविपत्ति र त्यसपछिको उद्धार २०८३साल भदौ १० गतेको हिमाली सुनामीबाट अचानक सृजितमहाविपत्तिको चपेटामा नेपाल परेको छ र त्यस...
१. भदौ १०को महाविपत्ति चाहे त्यो हिमालको भयानक हिमाली चट्टान तल ल्हेन्दे नदीमा बज्रेर होस् या भूकम्पीय झड्काले हिमनदी...
काठमाडौं । नेपालको राष्टिय राजनीतिमा नेपाली कांग्रेसको पहिचान एउटा राजनीतिक दलका रूपमा मात्र सीमित नभएर मुलुकको लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण...