सरकारले जनताबाट कर असुल्नको लागि मात्रै कोरोनाको प्रभाव नभएको जस्तो गर्यो – Naya Bikalpa
September 6, 2026, Sunday      Epaper

सरकारले जनताबाट कर असुल्नको लागि मात्रै कोरोनाको प्रभाव नभएको जस्तो गर्यो

सधैं छिटोछरितो, फूर्तिलो, स्वस्थ, चिटिक्क देखिनुहुन्छ के रहस्य छ ?
म बिहान नियमित व्यायम गर्छु । खानामा अत्यन्तै ख्याल गर्छु । जाड, रक्सी, चुरोट, खैनी केही पनि सेवन गर्दिन । सन्तुलित भोजन र नियमित व्यायम नै स्वस्थ र फूर्तिलो देखिनुको कडी हो ।

स्वास्थ्यको लागि शारीरिक व्यायम र पैदल हिंडाइ आवश्यक छ ?

हो, बिहान सबेरै उठ्छु । त्यसपछि नृत्यकर्म सकेर व्यायम गर्छु । आफ्नो क्षेत्रका अधिकांश ठाउँमा हिंडेरै भेटभाटमा निस्कन्छु । मुख्यतः खानपानमा विशेष ध्यान दिन्छु ।

कोरोनाको प्रभाव एकदमै बढेको छ, चाडपर्व पनि नजिकिँदै गएको छ, यसलाई प्रदेशले कसरी लिएको छ ?
जतिबेला दुईवटा डिजिजमा मात्रै संक्रमित हुँदा राज्य गम्भीर भयो । नियन्त्रणको लागि लकडाउन गर्यो । स्थानीय निकायमार्फत थोरै भएपनि खाद्यन्नलगायत राहत पनि बाडियो । त्यतिबेला जनताले पनि साथ दिए, संक्रमण पनि समुदायमा फैलिएन ।

लकडाउन खुकुलो पारिएपछि संक्रमण फैलिएको हो ?
हो, त्योबेला पनि जनतालाई मार पर्यो भनेर सरकारले लकडाउन खुकुलो गरेको होइन । आर्थिक वर्ष अन्त्यको बेला थियो । अनि सरकारले जनताबाट कर असुल्नको लागि मात्रै कोरोनाको प्रभाव नभएको जस्तो गरेर खुल्ला गरिदियो । टाइट गर्यो भने जनताले कर तिर्दैनन् भनेर त्यसो गरिएको हो । कर उठाउँदा पनि भौतिक दुरीलगायत अन्य सुरक्षाका विधिहरु अपनाइएन ।

ठेलामठेल गरेर भीडभाडका बीच कर असुल्ने काम गरियो । सार्वजनिक यातायात पनि सुचारु गरियो । जनतामा चेतना जगाउने काम गरिएन । लकडाउनकै बेला पनि नाकाहरु राम्रोसँग बन्द गरिएन । कमिसन खाएर रातारात मान्छेहरु भित्र्याउने काम गरियो । त्यसरी लार्पावाहीपूर्व तरिकाले सरकारी तहबाट काम हुन थालेपछि अहिले चारवटा डिजिजमा संक्रमणहरु देखिन थाले ।

फेरि निषेधाज्ञा घोषणा गरिएको थियो नि त्यसले पनि नियन्त्रण गर्न सकेन किन ?
निषेधाज्ञा पनि राम्रोसँग सरकारले लागु गर्न सकेन । भित्रभित्रै कामहरु भइराख्ने । सरकारको पहुँचवालाले लार्परवाहीपूर्ण तरिकाले मान्छेहरु रातारात आवतजावत गराइराखे ।

त्यो निषेधाज्ञाले खाली सोझा निमुख मदुर र व्यवसायीहरुलाई मात्रै मार प¥यो । सरकारले त्यसमा कुनै ध्यान दिएन । सुरक्षाको कुनै उपायहरु अपनाउन सक्रिय गराएन । जसका कारण सर्वसाधारणलाई अप्ठ्यारो पनि भइरह्यो । संक्रमण पनि भित्रभित्रै फैलिइरह्यो । तिनै क्रियाकलापका कारण अहिलेको अवस्था निम्तिएको हो ।

नहुनुपर्ने समस्या भइसक्यो अब कसरी समाधान गर्ने ?
अहिले पनि हामीले त गरीव तथा निमुखालाई पहिचान गरेर केही राहतको व्यवस्था गरेर लकडाउन गर्नुपर्छ भनेका छौं । सक्रमितहरुलाई आइसुलेसनको राम्रो व्यवस्था गर्नूपर्छ । पीसीआर परीक्षणको दायरा बढाउनुपर्छ ।

तत्काल बिहान, बेलुका छाक टार्न धौधौं परेका जनतालाई राहत प्याकेच ल्याउनुपर्छ । हामीले अर्को सुझाव के दिएका छौं भने अहिले सरकार विकास लक्षित कार्यक्रम लिएर आएको छ । पूर्व–पश्चिम रेल मार्ग, पानी जहाज जस्तो कुरामा सरकार रुमलिएको छ ।

अहिले त जनताको जीवनरक्षाका लागि लाग्ने बेला हो । जनता सुरक्षित भएन विकास चाहिने हो । फेरि विकास हुनुहुँदैन भनेको होइन । तर, पहिला जनताको स्वास्थ्य अनि विकास हो ।

कर असुल्नकै लागि निषेधाज्ञा खुकुलो पारिएको हो, भन्छन् नी यहाँलाई के लाग्छ ?
हो, यो सरकारले जहिले पनि जनताले काम गरेर खानेबेला लकडाउन, निषेधाज्ञा गरेर थुन्छ । अनि महिनाको अन्तिम र आर्थिक वर्षको अन्तिममा चाहीं सक्रमणले भयावह रुप लिँदा पनि केही नभएजस्तो गरेर खुकुलो बनाउने र जनतालाई समय, दिन, गते तोकेर कर तिर्न वाध्य बनाउँछ ।

त्यसकारण जरिवानामा परिने डरले जनताहरु भीडभाडका बीच खचाखच भएर लाइन बस्न वाध्य हुन्छन् । त्यसकारणले पनि कोरोना भाइरस बढी फैलिएको हो । अहिले उपत्यकामै दैनिक १५ सय हाराहारी संक्रमित देखिने थालेका छन् ।

यही ढंगले फैलिँदै जाने हो भने दैनिक १०, १५ हजार संक्रमित हुने अवस्था नआउला भन्न सकिन्न । त्यसकारण यो सरकार जनताको जीवनरक्षामा पुरै गैरजिम्मेवार देखिएको छ । ययि थोरै जनसंख्या भएको मुलुक नेपालमा दैनिक ३ हजार हाराहारी संक्रमित हुनुभनेको एकदमै भयावह अवस्था हो ।

त्यसकारण अहिले विकास निर्माण होइन । जनताको जीवनरक्षा गर्ने बेला हो । अहिले परीक्षणको दायरा बढाउने, निशुल्क गर्ने । त्यति मात्रै होइन अहिले भ्यान्टिलेटरको सुविधा नभएर मान्छेहरु मरिरहेको अवस्था छ । प्राइभेट अस्पतालहरुले भ्यान्टिलेटरका नाममा लाखौं रुपैयाँ असुलिइरहेका छन् ।

संक्रमित आर्थिक अवस्था कमजोर भएका मान्छेहरुले तिर्न सकिरहेका छैनन् । भनेपछि अहिले जसरी सरकारले कोरोना नियन्त्रण तथा व्यवस्थापन गर्नुपर्ने हो त्यसमा सरकार चुकेको छ ।

लकडाउनका बेलामा भारत लगायतका मुलुकबाट मान्छेहरु छिरे त्यसले पनि संक्रमण फैलियो भन्ने छ, प्रदेश सरकारले कसरी हेरेको छ ?
हो, लकडाउनका बेला पनि विभिन्न माध्यमबाट भारतलगायतका मुलुकबाट रातारात मान्छेहरु आवतजावत गरियो । कमिसनको चक्करमा परेर सरकारी निकायहरु चुकेका छन् । जनताको अगाडि लकडाउन गरेजस्तो देखाउने भित्रभित्रै आर्थिक चलखेल गर्ने कारणले पनि रोग फैलिन मद्दत पुगेको हो । अर्को कुरा सरकारले लकडाउन, निषेधाज्ञा मात्रै घोषणा गर्ने ।

स्वास्थ परीक्षण र रातहत प्याकेज ल्याउन नल्याउने भएपछि खानकै लागि पनि मान्छेहरुले आफ्ना क्रियाकलापहरु सुचारु गर्न वाध्य भए । नागरिकहरुको दैनिक जीवनसँग जोडिएका समस्या समाधानमा सरकारले ध्यान नदिएकै कारण अहिलेको अवस्था आएको हो । यस्तो क्रिटिकल अवस्थामा सरकार कमिसन र भ्रष्टाचारमा लिप्त देखियो ।

जनताको स्वास्थ्य परीक्षण र दैनिक जीवन यापनमिा भन्दा पद र सत्ता कब्जाको लागि आन्तरिक पार्टी झगडामा व्यस्त देखियो । पार्टीभित्रको विवादलाई बाहिर ल्याएर जनताको ध्यान त्यतातिर मोड्ने । दल फुटाउने विधेयकदेखि अहिले भर्खरै राष्ट्रिय सभामा प्रतिनिधिसभामा पराजित मान्छेलाई ल्याएर प्रक्रिया र जनमतको धज्जी उठाउने काम गरिएको छ ।

प्रनिधिसभामा हारेको मान्छेलाई राष्ट्रियसभामा ल्याउने व्यवस्था संविधानमा छ ?
त्यस्तो संविधान छैन । एउटा कार्यकालमा जो मान्छे जनताबाट तिरस्कृत हुन्छ । त्यो कार्यकालभरि ऊ नैतिक र कानुनी दुवै हिसावले मनोनित हुन वा चुनावमा उठ्न पाउँदैन । अब यहाँ त जबर्जस्ती हिसाबले आफ्नो मान्छेलाई मनोनित गर्ने, मन्त्रिमण्डलमा ल्याउने कार्यल सत्ता लिप्सामा लागेको देखिन्छ ।

केन्द्र सरकार त जनताको रक्षाका लागेन, प्रदेशले चाहीं के हेरेर बसेको छ ?
प्रदेश सरकारमा पनि हामी अल्पमतमा छौं । त्यति हुँदाहुँदै पनि हामीले पटक–पटक प्रदेशको संसद्मा कुरा उठाएका छौं । प्रदेश सरकारको उपस्थिति उपत्यकाभित्र हामीले देखेकै छैनौं । अन्य जिल्लाहरुमा पनि प्रदेश सरकारको खासै उपस्थिति देखिँदैन । स्थानीय सरकारबाटै काम चलाउको अवस्था छ ।

प्रदेश सरकारको कार्यक्षेत्र कुन कुन हुन् ?
यो विषयमा हामीले मुख्य मन्त्रीज्यूसँग कुरा राखेका छौं । म काठमाडौंको सांसद् भएकाले मैले उपत्यकाभित्र त प्रदेशको कुनै पनि गतिविधि देखिएन । यहाँका जनताले प्रदेश सरकारको अनुभूति गर्नै पाएनन् भनेँ । अनि उहाँले काठमाडौं चाहीं संघीय सरकारको राजधानी भएकाले त्यहाँ हाम्रो गतिविधि आवश्यक छैन भन्ने कुरा आयो ।

सबै जिल्लामा प्रदेशको नियम लागु हुँदैन र ?
सबैमा हुनुपर्ने हो । मुख्य मन्त्रीज्यूले जे भनिरहनुभएको छ । त्यो गलत हो । किन भने संघले भनेको नीतिनियम बनाउने, कानुन बनाउने त्यसलाई लागु गराउने हो । प्रादेशिकस्तरमा त सबै जिल्लामा एउटै नियम हुनुपर्ने हो । राजधानी भएपनि यो ३ नम्बर बागमति प्रदेशमा पर्छ ।

त्यसकारण उसले नै हेर्नुपर्ने हो । जस्तो भारतमा हामीले त्यही देखिरहेका छौं । अन्य प्रादेशिक मुलुकहरुमा पनि त्यस्तै देखिन्छ । जसरी अहिले प्रदेश सरकारले झन्डै ५० अर्ब बराबरको बजेट सार्वजनिक गरेको छ । प्रदेश सरकारले दिएको रकममा २४, २५ प्रतिशत भौतिक सरचना निर्माणको लागि भौतिक मन्त्रालयलाई छुट्ट्याइएको छ ।

सामाजिक र कृषि क्षेत्रमा कम छुट्ट्याइएको छ । सामाजिक मन्त्रालयले पनि ६ प्रतिशत बजेट पनि रंगशाला निर्माण र अन्य भौतिक संरचना निर्माणतिर खर्च गरिएको छ । सम्बन्धित क्षेत्रमा लगाइइको छैन । त्यो चाहीं भौतिक संरचनाको लागि भन्ने र शीर्षक मिलाएर आर्थिक घोटाला गर्ने सोचले त्यसो गरिएको हो ।

अन्तर्राष्ट्रिय स्तरका ठूला–ठूला पुल, रंगशाला, एयरपोर्ट जस्ता आयोजनाहरु प्रदेशले हेर्ने हो कि संघले हेर्ने हो ?
तपाईंले एकदमै सही कुरा उठाउनुभयो । यस्तो विषयमा कुनै पनि कुरालाई व्यवस्थापन गर्न संघीयता आएपछि सकिएको छैन । कतिपय ठाउँमा त संघले, प्रदेश र स्थानीय तिनै तहले राखेको पैसा एकैठाउँमा जुधेको छ ।

त्यो मात्रै होइन कतिपय ठाउँमा त पूर्वाग्रही ढंगले जस्तो संघमा एउटाले जितेको छ, प्रदेशमा एउटाले जितेको र स्थानीयमा अर्कै जितेको छ भने प्रदेश र स्थानीय तहमा फरक पार्टीले जितेको छ भने त्यहाँको बजेट फ्रिज गराइएको छ । त्यसमा क्षेत्राधिकारमा को अडिनेसनको अभाव देखिन्छ ।

यहाँ संघको राजधानी भएपनि काठमाडौं महानगरपालिकामा पनि प्रदेश सरकार सरकारको मातहतबाट बजेट जानुपर्ने होला नि ?
त्यस्तो केही पनि छैन । प्रदेशको बजेट सिधै जान्छ । यहाँको स्थानीय तहमा केन्द्रबाटै सिधै गएको पाइएको हो । काठमाडौंको स्थानीय तहले प्रदेशको कुनै अनुभूति नै गर्न पाएको छैन । स्थानीय तहमार्फत एउटा निकाय राखिएको छ ।

पैसा कोलोनिकाबाट आउँछ । मैले भन्ने खोजेको के हो भने कमसेकम नियमसंगत ढंगले काम सुचारु गर्नको लागि प्रदेश सरकार र स्थानीय सरकारबीच कोअडिनेसन हुनु जरुरी छ ।

एकीकृत विकास प्रणाली अन्तर्गत जाने होइन कि यहाँ त पूर्वाग्रही ढंगले आफूखुसी एउटै शीर्षकमा तीनतिरबाट बजेट परेको पनि पाइन्छ । त्यसकारण अत्यन्तै गलत तरिकाबाट बजेटहरु वितरण भएको मैले पाएको छु ।

जनसंख्या र भूगोलको दृष्टिकोणबाट हेर्दा बागमति प्रदेशको सदरमुकाम उपयुृक्त ठाउँमा छ ?
तपाईंले यो कुरा उठाउँदा मलाई एउटा कुरा स्मरण भयो । सदन भनेको बोकाको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो हो भनेर कम्युनिस्टहरुले भन्थे । त्यो कुरा अहिले आएर उनीहरुले लागु गरे । किन भने भूगोल, जनसंख्या, भौतिक पूर्वाधार कुनै पनि हिसावले उपयुक्त थिएन हेटौंडा ।

तर, पनि मख्यमन्त्री त्यहींको भएका कारणले आफ्नो जग्गाको भाउ बढाउनेदेखि अन्य निहीत स्वार्थको लागि जनतालाई पाइक नपर्दानपर्दै पनि त्यहाँ पु¥याइयो । होइन भने सबै जिल्लालाई माझ पर्ने गरी भौगोलिक विकटतालाई ध्यान दिएर राख्नुपर्ने थियो । यो ठाउँमा सदरमुकाम राख्नु अत्यन्तै त्रुटीपूर्ण छ । हामी ८० प्रतिशत सांसद्को असहमतिका बाबजुद पार्टीबाट ह्वीप जारी गराएर सहीछाप गराइएको हो ।

संघीयता ल्याइएको जनताको सुविधाको लागि अनि जुन ठाउँका मान्छे मुख्य मन्त्री भयो त्यहीं ठाउँमा सदरमुकाम लगेर के फाइदा भयो त ?
हो, यो एकदमै गलत काम हो । एउटा प्रदेशको सदरमुकाम पुग्न अर्को प्रदेशको बाटो भएर जानुपर्छ । त्यसमा पार्टीबाट ह्वीप जारी गराएर फरक मत राख्ने सांसद्हरुलाई बन्धक बनाएर एकतर्फी ढंगले अपाइक ठाउँमा सदरमुकाम पुर्याइयो । यो काम दुई तिहाईको दम्बबाट सांसदहरुलाई बन्धक बनाएर जबर्जस्ती ढंगले हेटौंडा ३ नम्बरको सदरमुकाम लगिएको हो ।

देशकै महत्वपूर्ण बागमति प्रदेश यहाँ पनि उपयुक्त काम गर्न सकेन भने अन्य ठाउँमा के होला ?
यहाँ त शासन गर्ने मान्छे दुरगामी सोच, दृढ संकल्प, दूरदर्शी भिजन भएको आर्थिक प्रलोभनबाट मुक्त हुनुपर्ने रहेछ । किन भने अहिले जनतासँग प्रत्यक्ष सरोकार राख्ने रकम २० प्रतिशत पनि पुँजीगत खर्च गर्न सकेको छैन । यो भनेको केन्द्रीय सरकारको कूल ग्राहस्त उत्पादनको झन्डै ३५ प्रतिशत दायित्व सिर्जना गर्ने प्रदेश हो ।

त्यति मात्रै होइन यो मुलुक राजधानी जहाँ ७७ वटै जिल्लाका मान्छेहरु बसोबास गर्ने ठाउँ पनि हो । जुन प्रदेशमा धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रे, दोलखा, रामेछाप, सिन्धुली, चितवन, मकवानपुरलगायत उपत्यकाका तीनवटा जिल्ला पनि पर्दछान् ।

यिनमा धेरै अति विकट जिल्लाहरु पर्दछन् । त्यहाँ प्रसुति सेवा नपाएर कतिपय आमा र शिशुको मृत्यु भएको अवस्था छ । अस्पताल छन् चिकित्सक छैनन् ।

सामुदायिक विद्यालयहरु छन् राम्रो पढाउने शिक्षक छैनन् । तुइन चुँडिएर मान्छेहरु मरिरहेको अवस्था छ । सामुदायिक अस्पतालमा भ्यान्टिलेटर जहाँसुकै जाओस् चिकित्सक समेत उपलब्ध गराउन सकेको छैन ।

यति धेरै समस्याले गाँजिएको स्थानमा समेत यो सरकारले पुँजीगत खर्च २० प्रतिशत गर्न सक्दैन भने यो सरकारका मन्त्रिमण्डलमा भएका मान्छेहरुको अक्षमता, अदूरदर्शिता र दीर्घकालीन असर पार्ने दूरगामी भिजन छैन भन्ने प्रष्ट हुन्छ ।

समृद्धिका कुरा खुब उठ्छन्, कुन क्षेत्रबाट त्यसको सम्भावना देख्नुहुन्छ, जसले छिट्टै रोजगारीको सिर्जना गरोस् ?
सरकारले वित्तीय पुँजीवाद र राजश्वमुखी अर्थव्यवस्थालाई अहिलेसम्म अंगिकार गर्दै आएको छ । जबसम्म उत्पादनका साधनमा सर्वसाधारण जनताको पहुँच हुँदैन । तबसम्म समृद्धिको सपना साकार हुँदैन । त्यसमा अवरहरुको पहिचान गरेर सरकारले उत्पादनमुखी कार्यक्रमहरु ल्याउनुपर्छ ।

कृषिको कुरा गर्दा इजराइलमा ६० प्रतिशत भूभाग मरुभूमि छ, त्यो देशले अहिले अन्य देशमा खाद्यन्न निर्यात गर्छ । भनेपछि हाम्रोजस्तो मुलुक जहाँ प्रचुरमात्रामा उर्बर भूमि छन् । सिंचाईंको लागि प्रशस्त खोलानालाहरु छन् ।

हावापानी त्यतिकै अनुकूल छन् । हरेक सय मिटेरको दुरीमा फरक–फरक खालका हावापानी पाइन्छ । किसानकोमा २ रुपैयाँ किलोमा उठाइएको बन्द कालीमाटी आइपुग्दा ५ रुपैयाँ पुग्छ । उपभोक्ताकोमा आइपुग्दा ५० रुपैयाँ पुगेको हुन्छ भने ४२ रुपैयाँ बिचौलीयाको हातमा पर्छ ।

त्यो कसरी भयो भन्दा हामीकोमा किसानले दुःख गरेर उत्पादन गरेको कृषि उपजको सही ढंगले बजार व्यवस्थापन गर्न सरकारले ध्यान दिएन । दुःखअनुसारको आम्दानी नभएपछि किसानले कृषि उत्पादनमा ध्यान दिन छोडेर विदेसिन वाध्य हुन्छ । त्यसरी सम्भावना हुँदाहुँदै कृषि उत्पादनमा हाम्रो देश पछि परेको हो ।

हाम्रो देशको समृद्धि कृषि उत्पादनमा छ, तर बिचौलियाको अन्त्य हुनुप¥यो हो ?
हो, किसानहरुलाई समयमा मल, बउ उपलब्ध हुनुपर्छ । कृषिमा आधुनिकीकरण आवश्यक छ । उत्पादित कृषिजन्य उत्पादन बिक्रीवितरणको लागि बजार व्यवस्थापन हुनुपर्छ । बिचौलीयाको चेलखेल रोकिनुपर्छ । किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउनुपर्छ ।

जसको कारणले उसको आर्थिक उन्नति होस् । अनि मात्रै कृषि उत्पादनमा विदेशबाट सीपसहित फर्किएका जनशक्तिलाई देशमै रोजगारी सिर्जना गर्न सकिन्छ ।

अन्त्यमा तपाईको लोकप्रिय अनलाइन मार्फत् वर्तमान अवस्थाको बारेमा मेरा विचारहरु प्रवाह गर्ने अवसर दिनुभएकोमा विशेष धन्यवाद !

सम्बन्धित समाचार

यस्तै महाविपत्तिसँगको प्रतिकारका लागि दीर्घकालीन सोचको आवश्यकता
यस्तै महाविपत्तिसँगको प्रतिकारका लागि दीर्घकालीन सोचको आवश्यकता
  • २०७७ आश्विन २२, १५: २७

  १. भदौ १०को महाविपत्ति चाहे त्यो हिमालको भयानक हिमाली चट्टान तल ल्हेन्दे नदीमा बज्रेर होस् या भूकम्पीय झड्काले हिमनदी...

पुनर्जीवनका लागि असोजमा १५ औं महाधिवेशन
पुनर्जीवनका लागि असोजमा १५ औं महाधिवेशन
  • २०७७ आश्विन २२, १५: २७

काठमाडौं । नेपालको राष्टिय राजनीतिमा नेपाली कांग्रेसको पहिचान एउटा राजनीतिक दलका रूपमा मात्र सीमित नभएर मुलुकको लोकतान्त्रिक आन्दोलन, संविधान निर्माण...

अब के हुन्छ भन्ने प्रश्नमा घेरिएको नेपाली कांग्रेस
अब के हुन्छ भन्ने प्रश्नमा घेरिएको नेपाली कांग्रेस
  • २०७७ आश्विन २२, १५: २७

१. सबैतिर एउटै प्रश्न—अब नेपाली कांग्रेसको भविष्य के हुने हो ? नेपाली कांग्रेसको विशेष अधिवेशन भएको पनि करिब ८ महिना...