
१.नेपालका लागि एउटा जोगी सरहका समाज रुपान्तरणकर्ता, स्वास्थ्य सेवक तथा एक्काइसौँँ शताब्दीका सत्याग्रही वरिष्ठ चिकित्सक प्राध्यापक डाक्टर गोविन्द केसीको १९औँ पटकको अनसनरुपी सत्याग्रह २८औँ दिनमा तोडियो । सरकारले भने २७औँ दिनको मध्यरातमा ८ बुँदे सहमति गरेर माग पूरा गर्ने वाचा गरेको छ ।
२. सत्याग्रहको बल यसपटक पनि हाम्रै आँखा अगाडि झलझली देखिएको छ । सायद हिजोका दिनमा गरेका वाचालाई अब सररकारले नबिर्सी कार्यान्वयन गर्ने कुरामा विश्वास गर्नु बाहेक अर्को उपाय नागरिक समाज र आम जनतासँग छैन ।
३.डाक्टर केसीका पक्षमा स्वतस्फूर्त जनताको समर्थन यसकारण देखियो कि उहाँले राखेका माग पूरा हुँदा या पूरा भएका मागको कार्यान्वयन हुँदा उहाँलाई व्यक्तिगतरुपमा कुनै फाइदा थिएन, छैन । ती माग पूरा हुँदा भुइँमानिसहरुका लागि फाइदा छ, तत्काल ती दुर्गम ठाउँमा स्वास्थ्य सेवाको गतिलो, भरपर्दो र दिगोरुपमा सेवा सुरु हुनेछ ।
४. कसले बोल्यो र कर्णालीका लागि ? कसले बोल्यो र अछामका लागि ? कसले बोल्यो र गेटाका लागि ? बोल्ने र आफू आमरण अनसन बसेर ती ठाउँका लागि र सस्तोमा स्वास्थ्य शिक्षा पाउने हकको प्रत्याभूति दिलाउन केसी नै लाग्नु परेको नाङ्गो सत्य यसपटक पनि देखियो । त्यसैले आम जनताको समर्थन केसीले पाउनु भयो ।
५. फेरि त्यो सत्याग्रहीलाई के पनि वास्ता छैन भने कसले बोल्यो उहाँका पक्षमा वा विपक्षमा , तर के थाहा छ उहाँलाई भने आफ्नो लक्ष्यमा पुग्न सबैभन्दा ठुलो हतियार भनेको आफैँलाई दुःख दिएर अरुलाई सचेत गराउनु नै हो । त्यसैले यो १९औँ पटकको अनसनले फेरि नयाँ दायित्व समाजलाई दियो—सरकारले पूरा गरेन भने फेरि पनि त्यो सत्याग्रहीलाई आमरण अनसन बस्न बाध्य पार्ने होइन कि सरकारलाई ती माग पूुरा गराउन बाध्य पार्न सक्नुपर्नेछ ।
६.यी माग पूरा हुँदा र पूरा गर्ने भनेर वाचा गरेका, सहमति गरेका कुरामा सरकार पछि फर्कँदैन होला भन्ने आशा र अपेक्षा गरौँ । किनभने यसमा उहाँको कुनै स्वार्थ लुकेको छैन । भुइँ मानिसहरुको स्वार्थ नै उहाँको स्वार्थ देखिएको छ । यसपटक पनि डाक्टर केसीले विश्वासका साथ सरकारलाई भरोसा गर्नु भएको छ ।
एउटा सत्याग्रहीको सबैभन्दा ठुलो बल भनेको आफैँलाई दबाब दिनु हो । उहाँले यसपटक पनि आम जनताको स्वास्थ्य शिक्षाका लागि आमरण अनसनको दायित्व आफैँमा लिनु भयो र आफूसँग पहिले गरेका वाचा पूरा गराउन बारम्बार आग्रह गर्दा पनि नभएपछि दबाब दिन आफैँलाई भोकै राखेर सत्याग्रह गर्नुभयो । अन्ततः जुम्लाबाट सुरु भएको सत्याग्रहले काठमाडौँमा आएर यसपटकका लागि पूर्ण विराम लगाएको छ ।
अर्थात् पहिले नै वाचा गरिएका कुराहरुको कार्यान्वयनका लागि गरिएको सत्याग्रहमा सरकारले ढिलो वास्ता गरे पनि अन्ततः सत्याग्रहीको मागमा समर्थन गर्न बाध्य भएको देखिएको छ ।
७. हामी सबैलाई डर के थियो भने एकातिर डाक्टर केसीको स्वास्थ्यमा जटिलता थपिँदै छ, अर्कोतिर सरकार कानमा तेल हालेर बसेको छ । उहाँमाथि कर्णाली प्रदेशमा र सुदूर पश्चिम प्रदेशमा भएका अपमानपूर्ण व्यवहारले सरकारको अवस्था खुलस्त गरेको थियो ।
एउटा सत्याग्रहीले ती सबै कुरामा वास्ता नगरी तत्काल गर्नुपर्ने काम पनि सरकारले नगरेको देखेपछि आफैँलाई दुःख दिन कसिनु भयो । र सत्याग्रहको बल फेरि पनि देखियो जसले हठ देखाएर अपमानपूर्ण व्यवहार गरेर आँखा चिम्लेर बसेको सरकारले बाध्य भएर आफैँले गरेका पुराना वाचाहरु सम्झेर फेरि सहमति गर्न तम्सियो ।
८.डाक्टर केसीको प्रयास र स्वास्थ्य शिक्षामा सम्भावित विकासको बाटो कसरी अवरुद्ध गरिएको रहेछ भन्ने कुरा कोरोनाको महाव्याधिका वेलामा नेपाली जनताले स्पष्ट देखेका छन् ।
यदि उहाँले भनेको कुराहरुलाई बेलैमा मानेर स्वास्थ्य शिक्षामा रुपान्तरणको काम गरेको भए, स्वास्थ्य शिक्षाका लागि संस्थाहरुको विकास गरेको भए र आवश्यक अस्पतालहरुको व्यवस्था गर्न सकेको भए आज आइसियु, भेन्टिलेटर र आइसोलेसनका लागि ठाउँको मारामार हुने थिएन ।
अक्सिजनको सामान्य उपचार नपाएर सैयौँले ज्यान गुमाउनु पर्ने थिएन र हजारौँ सुत्केरीहरुले बेलैमा उपचार नपाएर अकाल मृत्यु वरण गर्नु पर्ने थिएन । सामान्य सिटामोलका लागि तड्पिनु पर्ने अवस्थाबाट मुलुकको स्वास्थ्य सेवा गुज्रिनु पर्ने थिएन । क्षमतावान विद्यार्थीहरुले पैसाको कमीले चिकित्सक हुनबाट वञ्चित हुनुपर्ने थिएन ।
९. कसैलाई गाली किन पनि नगरौँ भने यो प्रश्न सत्याग्रहीको पक्षमा मात्र होइन, सत्यको खोजीमा पनि हो । छातीमा हात राखेर सोच्ने बेला ढिलो भइसकेको रहेछ ।
धन्न एउटा जोगी कहाँबाट निर्भयताका साथ बोलेकोले आजको सम्भावनाको ढोका खुल्न थालेको देखिएको हो । र पनि सबैको अभिभावक सरकार हो अनि सरकार किन केसीसँग शत्रुतापूर्ण व्यवहार गर्छ र वारम्बार मरे मरोस् जस्तो व्यवहार गर्छ, यसमा चाहिँ अनुसन्धान आवश्यक भएको छ ।
सत्याग्रही त विषय प्रवेश गराउने हो, चेतना बाँड्ने हो , रुपान्तरको विषयलाई समाजसमक्ष दिने हो । अब हाम्रो काम हो आफ्ना लागि आफैँले अनुगमन गर्ने ।
१०. र अन्त्यमा , यति मात्र भनौँ फेरि सत्याग्रहीले २०आँै पटकको सत्याग्रह गर्नु नपरोस् । आफ्ना वाचामा र सहमतिमा सरकार टिकोस् । जसले जसले यसमा पहल गरेर सत्याग्रहीको जीवन बचाउनका लागि लागे, ती सबै नेपाली जनताका धन्यवादका पात्रहरु छन् ।
अबको पात्र सरकार नै बनोस् जसले गर्छु भनेका कुराहरु पूरा गरोस् । कृतज्ञ नेपालीहरु सत्याग्रहीको यो स्तुत्य प्रयासका लागि साधुवाद दिन चाहन्छन् ।
१. नेपाली कांग्रेसको १५औँ महाधिवेशन सुरु भयो विशेष अधिवेशनबाट निर्वाचित समितिले यही असोज १६—१९मा गर्ने भनिएको नेपाली कांग्रेसको १५आँै महाधिवेशनको...
-शुकदेव दाहाल, नुवाकोट नेपाली कांग्रेसभित्र पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमले एउटा गम्भीर प्रश्न जन्माएको छ—राजनीतिक समीकरण परिवर्तनसँगै नेताहरूले आफ्नो विगत...
१ पन्ध्रौँ महाधिवेशनको चटारो अहिले कतिवटा नेपाली कांग्रेस छन् ? एउटा या दुइटा या अझ धेरै ? बीपी...