संसदीय व्यवस्थाको जगेर्नाका लागि फेरि समयले त्याग खोजेको छ – Naya Bikalpa
September 24, 2026, Thursday      Epaper

संसदीय व्यवस्थाको जगेर्नाका लागि फेरि समयले त्याग खोजेको छ

१. भन्न त सबै प्रजातन्त्रको दुहाइ दिन्छन् तर नेपाली राजनीतिमा प्रजातन्त्रका पक्षमा खोइ काम भएको ? हिम्मतका साथ प्रजातन्त्रका पक्षमा उठ्ने बेला हो, लाग्ने बेला हो र त्यागको बेला पनि हो ।

एकातिर प्रधानमन्त्री केपी शर्मा ओली आफूले विघटन गरेको प्रतिनिधि सभामा आफूलाई विश्वासका मतका लागि प्रस्तुत पनि हुन नसक्ने अनि अर्कोतिर सर्वोच्च अदालतले नै विभाजन गरिसकेको दल माओबादी केन्द्रले आफ्नो समर्थन पनि फिर्ता लिन नसक्ने ? यही हो त प्रजातन्त्रको मर्म ? संसदीय व्यवस्थाको मर्म ?

२. पहिलो कर्तव्य हुन्थ्यो प्रधानमन्त्री ओलीको राजीनामा दिने । सायद उहाँले म त वहुमतको प्रधानमन्त्री हुँ, किन राजीनामा दिने भन्ने भावना देखिन्छ र माओबादी केन्द्र पनि आफ्नो समर्थन फिर्ता त्यो बेलामा मात्र लिने दाउमा छ जव गठबन्धनमा ओली विरुद्धका मतहरु पुग्नेछन् ।

यसरी राजनीतिक गाँठो फुक्ने छैन र यही त्रिशङ्कु अवस्थामा सरकार अघि बढिरहने छ भन्ने अनुमान गर्न सकिन्छ ।

३. जब ओली सरकारले संसद विघटन गरेकै थियो भने किन चाहिएको थियो संसद पुनस्र्थापना ? नयाँ सरकार दिनका लागि, ओलीको विकल्प दिनका लागि र संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई अधिकारसहितको तर संविधानभित्रको प्रधानमन्त्री बनाउनका लागि चाहिएको थियो भने करिब एक महिनाजति भइसकेको छ, खोइ त विकल्पको क्षमता ? विकल्पका लागि अब त्याग चाहिन्छ ।

४. कम्युनिस्टबाट प्रजातन्त्रका रक्षा र सुरक्षा हुने कुरामा कोही पनि ढुक्क छैन । सबैले नेपाली काँग्रेसको नीतिका वारेमा सोच्दैछन् । उसको निरीहता भनेको संसदको अंकगणित नै हो तर त्यागका लागि हिजो पनि अंकगणितले काम गरेको होइन, निष्ठा र सिद्धान्तले काम गरेको हो ।

५.जब जब नेपालमा प्रजातन्त्र र राष्ट्रियतामा सङ्कट आउँछ, अनि बहसको केन्द्र भागमा नेपाली काँँग्रेसको नाम आउँछ । यसो हुनुमा नेपाली काँग्रेसको स्थापना र त्यसपछिका क्रियाकलापले प्रजातन्त्रका पक्षमा निरन्तर लागिरहेको इतिहासले छर्लङ्ग पारेको हुनुपर्छ ।

वास्तवमा प्रजातन्त्र भनेको नीति प्रधान शासन प्रणाली हो र यसका नीतिहरुमा हुने आवश्यक सुधारहरुले जनताका पक्षमा वकालत गरिरहेका हुन्छन् र गर्छन् ।

प्रजातन्त्रका लागि विश्वव्यापी रुपमा मानिने सबै सिद्धान्तहरुको प्रतिपादन मात्र गरेको हुँदैन, त्यसको व्यावहारिक प्रयोग पनि गरेको हुन्छ प्रजातान्त्रिक संस्थाहरुले ।

नेपालमा प्रजातन्त्रको पक्षमा निरन्तर एकचित्त भएर लागिरहने र त्यसका लागि निर्विकल्पन र सबै खालका परीक्षाबाट खारिएको राजनीतिक संस्था भनेको नै नेपाली काँग्रेस हो । प्रजातन्त्र नै गतिशील, प्रगतिशील र निरन्तर जनताका पक्षमा सुधारिएको शासन प्रणाली हो ।

जस्तोसुकै शासन प्रणालीलाई प्रजातन्त्र भनिँदैन प्रजातन्त्र हुनका लागि त्यसमा खास विशेषता जरुरी हुन्छ । तर जनविरोधी संस्थाहरुले पनि आफूलाई समाजको खपतका लागि प्रजातान्त्रिक वा समाजवादी वा आफ्नै खालको प्रजातन्त्र भनेर विशेषण जोडेको देखिन्छ ।

६. नेपाली काँग्रेसको नीति भनेको प्रजातन्त्रको संरक्षण हो, कार्यान्वयन हो र व्यवहारमा प्रजातन्त्रको पक्षमा सदैव लागिरहने चिन्तनको निरन्तरताको सजगता हो ।

विश्वका जति पनि प्रजातन्त्रप्रति आस्थावान देशहरु छन् ती सबैको प्रयास भनेको जनताको आदेशमा मात्र जनतामाथि राज्य गर्ने हो, त्यो पनि समाज कल्याणका माध्यमबाट । सामाजिक सेवालाई राजनीतिको मूल मन्त्र मान्नै पर्ने नीति जहाँ जनताको आदेश केन्द्रमा हुन्छ ।

७. नेपाली काँग्रेसको नियति तर अचम्भको देखिन्छ । प्रजातन्त्र स्थापनामा लागि भनेर एउटा प्रतिबद्धताका साथ जब नेपाली काँग्रेसको स्थापना भयो, अनिमात्र मुलुकमा प्रजातन्त्रको दुन्दुभि बज्यो र एकतन्त्रीय जहानियाँ शासन राणातन्त्रको पतन पनि भयो ।

नेपाली जनताले रैतीबाट शासक हुने हैसियत प्राप्त गरे । त्यो प्राप्ति नेपाली काँग्रेसका लागि मात्र थिएन । जस्तो कि रुसमा अलि पहिले अनि चीनमा त्यो ताका साम्यवाद आयो, त्यो साम्यवादी समर्थकका लागि मात्र थियो, त्यसका विरोधीहरुका लागि त्यो व्यवस्था थिएन ।

तर प्रजातन्त्र सबैका लागि थियो, अरु त अरु प्रजातन्त्रका विरोधीहरुका लागि समेत संगठन गर्ने अभिव्यक्ति स्वतन्त्रता थियो ।

नेपाली काँग्रेसले जनताका लागि त ग¥यो, राजतन्त्रलाई राणाको पञ्जाबाट फुत्कायो तर प्रजातन्त्रका विरोधीहरुसँगबाट जोगिन सकेन र २००७ साल फागुन ७ गते राजाले गरेको घोषणा विधान सभाको निर्वाचनबाट समेत राजा टाढिए ।

२०१५ सालमा भएको आम निर्वाचनमा दुई तिहाई मत प्राप्त गरेर सरकार बनाउँदा समेत नियतिले ठग्यो र प्रजातन्त्रका विरोधीहरुले २०१७सालको पुस १ गते प्रजातन्त्रकै हत्या गरे अनि त्यो पुनस्र्थापना गर्नका लागि नेपाली काँग्रेस नै अनवरत लागिरहनु प¥यो । नभन्दै नेपाली काँगेसकै नेतृत्वमा वारम्बार संघर्ष गरेर प्रजातन्त्र पुनस्र्थापना हुनसक्यो ।

८.जब जब नेपाली काँग्रेस कमजोर हुन्छ, तब तब प्रजातन्त्रमाथि धाबा बोलिन्छ यो या त्यो बहानामा ।

अहिले पनि नेपाली काँग्रेसको सक्रियतामा नेपालको संविधान २०७२ बन्यो र त्यसको कार्यान्वयनमा काँग्रेसको भूमिका कमजोर पार्न कम्युनिस्टहरुको कृत्रिम एकता रचियो र आज त्यसको फलिफाप मुलुकले बेहोरेको छ तर काँग्रेस निरीह भएर हेरिरहने अवस्था छ किनभने काँग्रेसको नीतिले उसलाई विद्रोह गर्न रोकेको छ किनभने काँग्रेस प्रजातन्त्रका विरुद्धमा देखिँदैन अनि प्रजातन्त्र विरोधीहरुको प्रजातन्त्रको खोलमा प्रजातन्त्रका विरुद्धमा अनेक नाटक खेल्न सक्छन् जुन अहिले मञ्चन छ ।

प्रजातन्त्रको पक्षमा लाग्दा प्रजातन्त्रकै विरुद्धमा लाग्नेहरुसँग डराउनु पर्ने अवस्था छ काँग्रेसको । नियतिले सदैव प्रजातन्त्रको पक्षमा उभिन लगाउँछ, प्रजातन्त्रको पहरेदार हुन लगाउँछ तर आफैँले बनाएको बाघले बारम्बार नेपाली काँग्रेसलाई टोकेको इतिहास छ जुन आज पनि यथावत छ ।प्रजातन्त्रकै पक्षमा तर उभिनु पर्ने र खबरदारी गर्नुपर्ने नियति नै काँग्रेसको विशेषता हो भन्दा अत्युक्ति हुँदैन ।

९. काँग्रेसको नियतको पनि कुरा आउँछ । सिद्धान्त र विचारभन्दा स्वार्थका कुराले पार्टीलाई क्षत विक्षत बनाएको भनेर प्रजातन्त्रवादीहरुले नै भन्न थालेका छन् ।

नेपाली काँग्रेसको नियत खराब नहोला तर नेतृत्वदायी व्यक्तित्वहरुले नेपाली काँग्रेसलाई प्रजातान्त्रिक सक्रिय र उदाहरणीय संस्थाको रुपमा विकसित गर्नुभन्दा तदर्थवादभित्र जकडिएको संस्थाको रुपमा प्रमाणित गरेको इतिहास छ ।

बीपी कोइरालाको क्षमताभित्र चलेको काँग्रेसमा त्यही प्रवृत्तिको पुनरावृत्ति गर्नका लागि विचारको प्रक्षेपण आवश्यक हुन्छ । विचार र व्यवहारको मिश्रणले अन्तर्घुलित काँग्रेस अहिले न विचार, न व्यवहार को नियतिमा झोक्राएको छ ।

संस्थाभित्रको आन्तरिक लोकतन्त्रलाई धुलिसात पारेर प्रजातन्त्रको पक्षमा उभ्याउनु परेको छ जुनचाहिँ निकृष्टतम उदाहरणका रुपमा लिनु पर्छ ।

कुनैपनि प्रजातान्त्रिक संस्थाको बल भनेको उसका अन्य संस्थाहरुको सुदुढीकरण हो, सबल पक्ष हो । संस्थाको आन्तरिक प्रजातन्त्रको सुदृढीकरणले मात्र मूल संस्था सबल हुन्छ तर नियतिले काँग्रेसको नियतमा प्रजातन्त्रका पक्षमा भन्दा स्वार्थको पक्षमा, नेतृत्वदायी व्यक्तिहरुको बाटो पनि नछोड्ने आफू पनि संगठन सुदृढ पार्न नसक्ने भनेर इतिहासले गणना गर्न थालेको अवस्था छ ।

संघीय संसद, प्राादेशिक सदन तथा स्थानीय सरकारहरुमा कमजोर उपस्थितिका कारणले प्रजातन्त्रमा आउने कुनै पनि खतरासँग जुध्न गाह्रो भएको कुरा हालैको संसद बिघटनका मामिलामा लिन नसकिएको अडानले स्पष्ट पार्छ । सबैलाई थाहा थियो सडक र सदनमा कम्युनिस्टहरुकै बर्चस्व रहेको छ ।

निरीह अवस्थामा रहेको काँग्रेसको अवस्था जुन देखिएको छ, त्यो प्रजातान्त्रिक प्रक्रियामा देखिनु पर्ने सक्रियताको कमी हो ।

नेपाली काँग्रेसले नै संविधानको रक्षाका लागि नेतृत्व लिन सक्नुपथ्र्यो । यदि कसैले सर्वोच्चमा मुद्दा हालेको थिएनन् भने अकालमा मरेको प्रतिनिधि सभा ब्युँतिएको हुने थिएन ।

यसमा काँग्रेसको भूमिका भनेको तत्कालीन नेकपाको माधव प्रचण्ड पक्षभन्दा पनि कमजोर भएकै हो । हुन त काँग्रेस पनि विरोधमा आएको हो तर स्पष्ट भाषामा होइन लकपकिएको भाषामा जुन आवाज अहिले पनि स्पष्ट देखिदैन ।

प्रजातन्त्र भनेको सत्यको खोजी हो र सत्य प्राप्त गर्न पहिलको काँग्रेसको संगठन अनि विचारको आवश्यकता पर्छ जसले प्रजातन्त्रका पक्षमा जनमत तयार गरिरहेको हुन्थ्यो ।

१०. अब के गर्ने त काँग्रेसले भन्ने प्रश्न टड्कारो रुपमा समाजमा उठेको छ राजनीतिक वृत्तमा उठेको छ । काँग्रेसले हस्तक्षेपकारी भूमिकामा आफूलाई प्रस्तुत गर्ने हो र सरकारका गैर प्रजातान्त्रिक नियतको समेत नकाब उतार्ने हो ।

जुन प्रधामन्त्री केपी शर्मा ओलीले निर्लज्ज तरिकाले संसद विघटन गर्ने काम गरे, अहिले पनि संसद पुनस्र्थापना हुँदा पनि प्रधानमन्त्रीकै हैसियतमा खुराफात गरेर सत्ता लम्ब्याउँदै छन् भने काँग्रेसले संविधानवाद र संविधानका रक्षाका लागि जुनसुकै खालको संघर्ष गरेर भए पनि मुलुकमा प्रजातन्त्रको पक्षमा निरन्तर सजगताका लागि लागिरहनु जरुरी छ ।

सत्ता भनेको त शासन प्रणाली प्रजातान्त्रिक रहेका जनताले दिन्छन् नै , कृत्रिम प्रजातन्त्रको विपक्षमा स्पष्ट लाग्नु नै आजको माग हो तर आफू पनि प्रजातन्त्रका पक्षमा उदाहरणीय बनेर ।

११. र अन्त्यमा, हिम्मतका साथ प्रजातन्त्र जोगाउनका लागि कटिबद्धता देखाउनु जरुरी छ आफूलाई प्रजातन्त्रवादी मान्नेहरुले ।

यसमा नेपाली काँग्रेसको भूमिका महत्वपूर्ण हुनेछ । आवश्यकता परे संसद खालि गरेर भए पनि संसदीय व्यवस्था जोगाउन सक्नुपर्छ । नयाँ निर्वाचनका लागि तयारी पनि गर्नुपर्छ ।

ओली सरकारले नेपाली काँग्रेसका लागि निर्वाचनमा जान लागेको होइन, राजनीतिक रिक्तताका लागि निर्वाचनको नाम लिएको मात्र हो ।

त्यसैल संसद खालि गरेर हुन्छ कि जेल भरेर हुन्छ कि संसदीय व्यवस्था जोगाउनु आजको आवश्यकता हो । यसमा सबैको साथ लिन सक्नुपर्छ र त्यसको नेतृत्व नेपाली काँग्रेसले मात्र गर्न सक्छ । चेतना भया ।

सम्बन्धित समाचार

प्रतिनिधिसभामा नियमापत्ति दुरुपयोग नगर्न सभामुख अर्यालको चेतावनी
प्रतिनिधिसभामा नियमापत्ति दुरुपयोग नगर्न सभामुख अर्यालको चेतावनी
  • २०७७ चैत्र २, १४: ५३

काठमाडौं : प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सदनमा हुने नियमापत्तिलाई औचित्यपूर्ण र नियमसम्मत बनाउन सांसदहरूलाई निर्देशन दिएका छन् । बिहीबारको बैठकमा...

ताप्लेजुङको दोभानमा भीषण आगलागी
ताप्लेजुङको दोभानमा भीषण आगलागी
  • २०७७ चैत्र २, १४: ५३

ताप्लेजुङ : ताप्लेजुङको मेरिङदेन गाउँपालिका -३ दोभानमा भीषण आगलागी भएको छ । आगलागीबाट करिब १० घर जलेको छ सशस्त्र प्रहरी...

प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान
प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान
  • २०७७ चैत्र २, १४: ५३

काठमाडौं : आजदेखि आगामी पाँच दिनसम्म मुलुकको प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान गरिएको छ । जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गतको...