
१. यसपटक आफ्नै बारेमा लेखौँ जस्तो लाग्यो । आफ्नो भनेको दुई अर्थमा , एक नयाँ विकल्पका बारेमा, अर्को म व्यक्ति हरिविनोदका बारेकमा ।
२. नयाँ विकल्प भन्ने साप्ताहिक पत्रिका भाइ दामोदर दवाडीले युवा जोसका साथ सुरु गरे २०५१ असार १गतेबाट । जोसिला युवाहरुको जमात थियो जसले प्रजातन्त्रका लागि अत्यन्त कष्टकर दिनहरु भोगेर ल्याएको प्रजातन्त्र सिध्याउन शासक तथा राजनीतिक दलहरुले बाटो पो बिराउने हुन् कि भनेर खबरदारी गर्नका लागि सुरु भएको साप्ताहिक पत्रिका अहिले पनि निरन्तररुपमा प्रकाशित छ ।
यो पत्रिकाको प्रकाशन सुरु गर्दा देशमा राजनीतिक अन्यौल थियो । मुलुकमा शासन गरिरहेको नेपाली कांग्रेसमा आपसी फुट यस्तो थियो कि पार्टी आजै फुट्यो, भोलि नै फुट्यो भन्ने अवस्था थियो । नभन्दै मध्यावधि निर्वाचनको घोषणा पनि भयो त्यही अन्यौल र अनिश्चितताका बिचमा ।
तत्कालीन प्रमुख विपक्षी नेकपा एमाले पनि मुख्य विचारक मदन भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको सडक दुर्घटनामा भएको असामयिक मृत्युलाई शोकबाट शक्तिको रणनीतिमा थियो र कांग्रेसमा आएको आपसी फुटलाई नगदीकरण गरेर आफू जसरी पनि सत्तामा आउने सुरमा थियो । नभन्दै २०५१सालमा नै गरिएको मध्यावधि निर्वाचनमा नेपाली कांग्रेसलाई उछिन्दै प्रतिनिधि सभामा ठुलो दल भएर अल्पमतको सरकार बनाउन सफल भयो ।
त्यस्तो तरल राजनीतिमा सुरु भएको नयाँ विकल्पको एउटै उद्देश्य थियो, विभाजित मानसिकतामा रहेको नेपालको मुख्य प्रजातन्त्रवादी शक्ति नेपाली कांग्रेस र प्रजातन्त्रलाई वैचारिकरुपमा सहयोग गर्दै , प्रजातन्त्र, मानव अधिकार, प्रेस स्वतन्त्रताका पक्षमा अटल विश्वासका साथ समाजमा सम्प्रेषित हुने ।
म पनि केही समय पछि अर्थात् पत्रिको प्रकाशनको सँगै जस्तो स्तम्भकारको रुपमा संलग्न भएँ अनि सल्लाहकार सम्पादकको रुपमा आज पनि संलग्न छु । अब प्रश्न उठेको छ, छापा माध्यमबाट विचार सम्प्रेषित गर्नु ढिलो हुने जस्तो भएर नयाँ विकल्पले विद्युतीय माध्यमबाट पनि आफूलाई चिनाउँदै आएको छ ।
यी ३० वर्षमा संसारमा सबैभन्दा महत्वपूर्ण मानिएको प्रजातान्त्रिक व्यवस्थाको भविष्यमाथि संसारभर प्रश्न उठ्न थालेको छ र नेपालमा पनि प्रजातन्त्रका नाममा , प्रजातन्त्रको उदारता प्रयोग गरेर त्यसैमाथि अनेक वितण्डा मच्चाउने काम भइरहेको छ ।
झन यसबेलामा पत्रकारिताको मुख्य धर्म नै स्वतन्त्रताको रक्षाका लागि कलममार्फत्, माइक्रोफोनमार्फत्, विद्युतीय प्रवाहमार्फत्, प्रकाशन, प्रसारण गरेर व्ययक्तिक तथा सामूहिक अधिकारको रक्षार्थ आफूलाई होम्नु जरुरी हुन्छ ।
त्यसैले अहिले हाम्रो प्रकाशनले ३० वर्ष पूरा ग¥यो,भोलि हामी नभए पनि यो यात्रा र मिसनलाई पछिल्ला जागरुक तथा अध्येता पुस्ताले पनि निरन्तरता देओस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
३. अब कुरा गदौँ म हरिविनोदकै कुरा । मेरो नयाँ प्रकाशित पुस्तकाकार कृति कुन्ती उपन्यास यही असार १४गते लोकार्पण गरियो । लोकार्पण समारोहमा मुख्य अतिथिका रुपमा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश( अवकाश प्राप्त) गिरीशचन्द्र लाल र समीक्षकहरुका रुपमा प्रमुख वक्ता वरिष्ठ साहित्यकार प्रा डा गोविन्दराज भट्टराई, साहित्यकार डा नवराज लम्साल, साहित्यकार ज्ञानू अधिकारी, साहित्यकार भाषाविद् प्राडा विष्णुसिंह राई र वरिष्ठ पत्रकार तारानाथ दाहाल हुनुहुन्थ्यो ।
यसरी आफ्नो जीवनको ७०वर्षको उमेरमा मेरो पुस्तकाकारमा कृति आएको हो कुन्ती उपन्यासका रुपमा । मलाई परिवारका तर्फबाट आफ्ना शुभेच्छा राख्नेमा भाइ शम्भुप्रसाद अधिकारी र नातिनी विश्रुता अधिकारी थिए ।
त्यो पुस्तक लोकार्पण र वैवाहिक स्वर्ण महोत्सवको समारोहमा जति पनि आमन्त्रित अतिथिहरु आउनु भयो, जतिले शुभकामना विभिन्न माध्यमबाट दिनु भयो,सबैलाई धन्यवाद दिँदै आभार व्यक्त गर्दछु । प्रकाशन गर्ने मेरो प्यारो विद्यार्थी हिमाल रेग्मी, अक्षराङ्क प्रकाशनलाई पनि धन्यवाद दिन चाहन्छु । अरु कुरा पछि लेखौँला कुनै बेलामा ।
विचारलाई खडेरी पर्न नदिन र प्रजातन्त्रमा ग्रहण पर्न नदिन सक्रियताका साथ सबै लागून् ।
४. जीवनको अनेक निर्णायक घटना र मोडमध्ये विवाह पनि एउटा महत्वपूर्ण निर्णायक घटना हो । विवाह सामाजिक तथा पारिवारिक हिसाबले संस्थागत मान्यता हो ।
प्रकृतिको नियम भनौँ त, आपसमा मिलेर बस्नका लागि , दुई अनजान व्यक्तिहरुको आपसमा सम्बन्ध रसायन गरेर , दुई जीवन एक भएर बस्ने, मिलेर बस्न र सन्तान उत्पादनका लागि विवाहको महत्व हुँदै हो , तर त्यतिमात्र होइन, दुई मुटुको एउटै धडकन बनेर जीवन रथ चलाउने पनि हो रहेछ ।
मेरो विवाह २०३१साल असार १४ गते सिन्धुली जिल्लाकै खुर्कोट भन्ने ठाउँमा देवकीदेवी आचार्यसँग भएको थियो, त्यो अवसरको गणना गर्दैजाँदा अहिले ५० वर्ष पुगेछ । त्यसले त एउटा आधा शताब्दीको समय पो पार गरेछ ।
५.त्यसै त ५० वर्ष बितेको पक्कै होइन तर लाग्छ आँखा झिमिक्क गर्दा नै बितेको पो हो कि जस्तो पनि लाग्दो रहेछ । यसबिचमा हाम्रा बा आमा कहाँ जानु भयो ? अनन्त यात्रामा जानु भयो हाम्रै माझबाट ।
त्यो अनन्त यात्राका भावी यात्री हामी पनि हौँ भन्ने हेक्का छ । अतीतमा फर्केर धेरै आफूलाई धिक्कार्नु या प्रशंसा गर्नुपर्ने त्यस्तो केही गरिएको जस्तो लाग्दैन । त्यो त अरुले गर्ने मूल्याङ्कन हो । हुन त आफ्नो मूल्याङ्कन आफैँले गर्दा खोट देखिँदैन । र समीक्षा गरेर प्रायश्चित गर्ने या मैले यसो गरेँ, उसो गरेँ भनेर आफूलाई केन्द्रमा राखेर आत्मरति बखान गर्ने गरी भन्नु पर्ने पनि केही भेटिएन ।
त्यस्तो पनि केही गरिएन । म सात दशकको भएँ र मेरी जीवन साथी पनि करिब करिब सात दशकको यात्राको नजिक नै छिन् । मैले आफ्नो समीक्षा गर्दा हाम्रा पाँच दशकमा के उपलब्धि भयो भनेर गणना गर्दा कुन पक्षलाई सम्झने ?
सामान्य रुपमा आफ्ना भाइ बहिनी, छोराछोरीको लागि उनीहरुको पठन पाठनमा ध्यान दिएको कुरा भन्न लायक होइन, ती त कर्तव्य निर्बाह गर्नुपर्दा पनि स्वतः आउने रहेछन् । फेरि हामी घर छोडेर परदेशमा आफूलाई स्थापित गर्नुपर्ने पुस्तामा प¥यौँ । जसरी पनि बाँच्दै रह्यौँ आफ्ना कर्मले । तर जीवनलाई सहज तरिकाले सोच्दै रह्यौँ ।
६.अतीतमा फर्केर आजका दिनसम्म आउँदा आफूलाई धेरै असफल भन्न पनि मन छैन, सफल त हुनै सकिएन । सफल हुनै सकिएन भनेको न त कुनै त्यस्तो सामाजिक क्षेत्रमा समाजलाई सहयोग हुने काम गर्न सकियो, न त हाम्रो सफलताको मानक हो धेरै सम्पत्ति कमाएर आफू भौतिक सुख सयलमा बाँच्ने ।
अचेल स्वस्थ रहनु ठुलो सम्पत्ति मानिएको छ र भनिएको पनि छ, स्वास्थ्य नै सबैभन्दा ठुलो धन हो । धनका अनेक अर्थ लगाउन सकिएला तर सन्तति धन नै , नाता गोताबाट पाउने सकारात्मक सहयोग नै सबैभन्दा ठुलो धन हामीले मान्यौँ ।
७.मैले विद्यालयदेखि नै केही लेख्नुपर्छ भन्ने मान्यता लिएको थिएँ, त्यसको पृष्ठभूमिमा हुनुहुन्थ्यो स्वर्गीय गुरु साम्बभक्त शर्मा सुवेदी । उहाँले पठन संस्कृतिलाई ममा केही भए पनि दिनु भएको थियो । त्यसैले म विद्यालयमा हुने कविता महोत्सवमा भाग लिन्थेँ , अब ती अभिलेखमा कतै छैनन् ।
म अलि अव्यवस्थित नै हुँ , त्यसैले त्यसपछिका रचनाहरु पनि त कहाँ मसँग सुरक्षित, संरचित र सञ्चित छन् र ? कविता, कथा लेख्दै रहेँ, लेखहरु लेख्दै रहेँ । कति विभिन्न पत्रपत्रिकाहरुमा छापिए, कति त कागजमा आफैँ विलीन भए तर लेख्ने काम मेरो नियमित रह्यो ।
केका लागि लेखेँ , त्यसको पनि मसँग जबाफ छैन, किन लेख्न मन लाग्छ, त्यसको पनि कुनै जबाफ छैन । स्वान्त सुखाय भन्नु पर्छ ।
८.मेरा सन्तति तन्तुलाई लाग्यो, यही वैवाहिक स्वर्ण महोत्सवका उपलक्ष्यमा सद्य प्रकाशित मेरो कृति कुन्ती उपन्यासको लोकार्पण गर्ने । त्यसको प्रकाशनको जिम्मा लिएका हुन् मेरा प्यारा विद्यार्थी हिमाल रेग्मीले अक्षराङ्क प्रकाशनमार्फत् । त्यो पनि तयारी भएको झन्डै भएछ ४ वर्ष, कोरोनाकालमा त्यो प्रकाशित हुनै सकेन ।
मलाई मेरा कृतिहरुको पुस्तकाकार स्वरुपमा प्रकाशित गर्न बारम्बार झकझोर पार्नेहरु हुनुहुन्छ प्राध्यापक डाक्टर गोविन्दराज भट्टराई, प्राध्यापक डाक्टर कुलप्रसाद कोइराला, स्वर्गीय जीवनचन्द्र कोइराला, डाक्टर नवराज लम्साल, वरिष्ठ पत्रकार तारानाथ दाहाल , अध्येता तथा ओरेन्टल प्रकाशनका प्रमुख हरि गौतम ।
धेरैलाई लाग्थ्यो मेरा धेरै पुस्तक छापिएका होलान् तर त्यस्तो थिएन । भर्खरमात्रै कुन्ती नामक आत्मालाप उपन्यास प्रकाशित भएको हो । त्यो पनि भवितव्यका रुपमा ।
९.यसबारे पछि अन्य कुनै बेलामा लेखौँला तर यसपटक स्वर्ण वैवाहिक महोत्सवको उपलक्ष्यमा मेरा पाँचजना छोरा छोरीहरुले अचानक पुस्तक लोकार्पण गर्ने विचार गरेछन् र त्यो दिन असार १४ , २०८१लाई नै छानेछन् ।
पुस्तक प्रकाशन गर्ने हिमाल रेग्मीलाई धन्यवाद, मेरो पुस्तकमा आफ्नो भूमिकास्वरुप धारणा राख्ने भाइहरु डाक्टर नवराज लम्साल र भाइ वरिष्ठ पत्रकार तारानाथ दाहाललाई धन्यवाद दिन चाहन्छु ।
यसमा लोकार्पणको व्यवस्था गर्ने मेरा छोराछोरीहरु सिद्धिविनोद, करुणा, अरुणा, अर्चना र पुलकितलाई पनि यसबेलामा धन्यवाद भन्नैपर्छ । बडो जिज्ञासापूर्वक मेरो पुस्तकमा लेखिएका उनीहरुका नाम देखेर पुलकित हुने मेरा नातिनीहरु विश्रुता, सुदेष्णा, आरुषि, प्रसिद्धि र अदितिलाई मैले आशीर्वाद दिने र मेरा सन्ततिहरुलाई मैले दिने सन्देश के हो भने जे काम गर्ने हो बेलैमा गर्नू, भावी दिनमा म जस्तो अल्छी नहुन र जीवनलाई व्यवस्थित तरिकाले सञ्चालन गर्न तिमीहरु सफल हुनू ।
१०.मलाई के पनि थाहा छ भने जसरी बा आमा अहिले हामीसँग हुनुुहुन्न तर उहाँहरुको स्मृतिले हामी सधैँ आफूलाई मार्गदर्शन भएको ठानेका छौँ, त्यसैगरी हामी पनि एकदिन तिमीहरुसँग हुँदैनौँ । तिमीहरुले पनि हामीलाई सम्झने मात्र हो ।
अहिलेसम्म हामीले तिमीहरुलाई कुनै तिर्नुपर्ने ऋण लगाएका छैनौँ, कुनै त्यस्तो हाम्रा कारणले समाजमा मुख देखाउन नहुने अवस्था सृजना गरेका छैनौँ । जानेर त्यस्तो गल्ती गरेका छैनौँ तर प्रसङ्गवश नजानेर भएका गल्तीमा माफी , यदि थाहा भए माफी माग्न पनि हामीलाई कुनै अप्ठेरो छैन ।
११.वैवाहिक स्वर्ण महोत्सव आउँछ जान्छ अरु बाँचिए ती वर्षहरु अरु थपिन्छन् तर बाँचुन्जेल समाजका लागि केही दिन सकियोस् , परिवारका लागि मार्गदर्शन गर्न सकियोस् र मरण सहज होस् भन्ने कामना गर्नुपर्छ । मृत्यु अपरिहार्य हो र त्यो एकदिन बाजा नबजाई आउँछ र लान्छ ।
कसरी कहाँबाट कुन निहुँमा लान्छ , त्यो थाहा हुने कुरा भएन । अहिलेसम्मको जीवनलाई पनि आशीर्वादका रुपमा लिनुपर्छ र जतिदिन बाँचिन्छ , त्यो पनि मानव जीवनका लागि स्वास्थ्य विज्ञानको उपलब्धि मान्नुपर्छ ।
१२.हामी किशोरावस्थामा हुँदा औसत उमेर ४१ वर्ष थियो भने अहिले औसत उमेर ७३ वर्ष हुन पुगेको छ । त्यसका मुख्य कारण औषधि विज्ञानको चमत्कार नै हो । हामी बाँच्न चाहन्छौँ र स्वास्थ्य विज्ञानले हाम्रो चाहनालाई साथ दिएको छ । भनिन्छ, कृति , यशमात्र अमर रहन्छ ।
भोलिका दिनमा सन्ततिले आफ्ना पुर्खाको नाम लिँदा आदरका साथ लिऊन् भन्ने कामना गर्नु धृष्टता होइन कि ?
१३. र अन्त्यमा, मलाई र हाम्रो पत्रिकालाई शुभकामना दिने सबैलाई धन्यवाद दिन चाहन्छु । अबका दिन प्रजातन्त्रका लागि त्यति सहज छैनन् ।
हामी कलमजीवीहरुलाई पनि आफ्नो कलमको , आफ्नो अनलाइनको र आफ्ना स्वतन्त्र विचारको रक्षा गर्न पनि अविश्रान्तरुपमा खट्नु परेको छ । हाम्रो पुस्ता त अब विचार र अनुभूतिले मात्र संघर्ष गर्न सक्छौँ, तर अबको पुस्ता त एकदम चनाखो भएर स्वतन्त्र विचारलाई खडेरी पर्न नदिन र प्रजातन्त्रमा ग्रहण पर्न नदिन सक्रियताका साथ सबै लागून् ।
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज...
काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौँको ऐतिहासिक टुँडिखेलस्थित खुलामञ्चको हरियाली र सौन्दर्य फर्काउन कांग्रेस आफैँ अग्रसर...