मौकामा हीरा फोड… – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

मौकामा हीरा फोड…

१.यस सालको दशैं आएको छ।

२.नेपालीहरुको महान चाडका रुपमा मनाइने बडा दशैं नेपालीहरुको घर आँगनमा पसेको छ तर असोज १०, ११ र १२को अविरल वर्षा र त्यसबाट सिर्जित बाढी पहिरोको बितण्डाले मुलुक आक्रान्त छ। बाढी पहिरोका कारणले धनजनको क्षति भएको छ।

मुलुकका एकठाउँबाट अर्को ठाउँ जोड्ने सडक सञ्जालहरु तहस नहस भएका छन्। यात्राका क्रममा हिँडेका यात्रुहरु बाटा घाटामा अझै अलपत्र परेका छन्। कतिपय सडकहरु कहिले बन्ने हुन् भन्ने कुनै टुङ्गो छैन।

एकातिर परिवारहरु विच्छिन्न भएका छन्, अर्कोतिर महान चाड घर आँगनमा प्रवेश गरेको छ। महङ्गीले सगरमाथा छोएको छ। महङ्गी नियन्त्रण गफमा सीमित छ। कसले गर्ने नियन्त्रण? कसको अधिकार क्षेत्रभित्र पर्छ? त्यही विवादबीच दशैं झन महङ्गिएको छ।

३.संघीय राजधानी सहर काठमाडौँ उपत्यका मुलुकका अन्य भागहरुसँग आंशिकरुपमा जोडिएको भए पनि पूर्णतः अझै जोडिन सकेको छैन र आयातीत सामानहरु पनि बाटाको कमीले उपभोक्ताहरु समक्ष आउन सकेको अवस्था छैन। जे छ, सामानहरु कालो बजारियाहरुको मारमा परेर अचाक्ली महङ्गोमा विक्री गरिँदैछ र कृत्रिम अभाव सृजना गरिँदैछ।

सरकार किंकर्तव्यविमूढ देखिएको छ। सरकारका मन्त्रालयहरु र मन्त्रीहरुका बिचमा पनि समन्वय देखिँदैन। बजार अनुगमन हुनै सकेको छैन। यस्तो बेलामा जनताले सरकारविहीनताको अनुभव गरिरहेका छन्। कसको के दायित्व भन्ने नै स्पष्ट भएको छैन।

व्यापारीमा नैतिकता फेरि देखिएन। सरकारमा तदारुकता अझै देखिएन। विपद् त कमाउने भाँडो हुँदो रहेछ। कहिले विपद् आउला र ठगुँला भनेर बसेजस्तो देखिन्छ।

४.अविरल वर्षाका बेलामा त्यसबाट सिर्जित जलउत्पन्न प्रकोपको प्रतिकार्यमा न त सक्रियता देखियो, न त राहत वितरणमा तदारुकता देखियो।

कसले के गर्नु पथ्र्यो भन्ने कुरा जनताको सरोकारको विषय होइन, दशैं जस्तो चाडमा पनि घरबारविहीनहरुको चीत्कार, खान लाउन नपाएको अवस्थाले राज्यको उपस्थितिको कमी देखिएको बेलामा सरकारले जेजे भने पनि जनता पत्याउने पक्षमा छैनन्। जनता सेवा देखिने गरी प्राप्त गर्न चाहन्छन्।

५.दशैंमा यसै पनि महङ्गी बढ्थ्यो नै प्रत्येक वर्ष। यसबेलामा यातायातको अराजक चर्तिकला भोग्दै आएका नेपालीहरु यसपटक झन घर जाने बाटो पनि छैन, आंशिकरुपमा चलेका यातायातका साधनहरुको अराजक चाल चलनले दुर्घटना बढ्थ्यो।

यसपटक कसरी यसबाट मुक्ति पाउने? झन अवस्था विकराल देखिन्छ। बाढी पीडितको संख्या थपिन सक्ने भविष्यवाणी मौसमविद्हरुले चेतावनीका रुपमा जानकारी गराएका छन्।

करिब २० लाख व्यक्तिहरु राजधानी छोडेर आफ्ना आफ्ना गन्तव्य तर्फ जाने अनुमान गरिएको थियो। अहिलेसम्म ३लाख पनि जान सकेका छैनन्। तैपनि दुर्घटना बेहोरेर पनि जाने तयारीमा छन्।

कतै बाटो एकतर्फी चलेका छन् कतै त कतै तिहार अघि बाटो बन्ने अवस्था नै छैन। हवाइ भाडाको अनियन्त्रित वृद्धि र सडकको कमीले आकाश मार्गबाट आवत जावत गर्ने बाध्यताले हवाइ जहाजमा चाप बढेको छ। अझै यसको सहज व्यवस्थापन गर्ने चालचुल देखिँदैन।

६. दशैं दशाको रुपमा परिणत नहोस् भनेर सरकारले उचित व्यवस्थापन गर्नुपर्छ। प्रिय परिवारका सदस्य गुमेकाहरुका लागि राहत सहित मायाको मलम आवश्यक छ। अहिले त सरकार पनि तीनतीनवटा छन्।

गाउँ पालिका, नगर पालिकासहितको प्रदेश र संघीय सरकारले एकीकृतरुपमा जनताका आवश्यकता पूरा गर्न लाग्नुपर्छ। सरकारले जनताको सेवा गर्ने बेला आएको छ।

तीनै तहका सरकारले मौकामा हीरा फोड्ने बेला आएको छ। जनताले सरकारको परीक्षा गर्ने भनेको नै यस्तै विपद्का बेलामा हो।

७.बाढी पहिरोको वितण्डापछि संक्रामक रोगहरुको संक्रमण वढ्ने सम्भावना हुन्छ। बाढीले खाने पानीको व्यवस्थालाई खलबल्याएको छ। सरुवा रोग तथा खाद्यान्नको आपूर्तिका बारेमा पनि आउने समस्याको समाधानका लागि कुनै तयारी देखिँदैन।

सरकारमात्र होइन, सामाजिक संस्थाहरु र नागरिक समाजहरुको पनि तदारुकता देखिँदैन। अहिलेसम्म संक्रामक रोग लागेको छैन भनेर सरकार बसेको छ र तयारी भन्दा पनि मोबाइलमा, रेडियो र टेलिभिजनका पर्दामा मात्र सचेतना देखिन्छ।

८.यी सबै कुराहरुप्रति सरोकारवालाहरु सजग र सतर्क हुनु आवश्यक छ। बाटाका फसेकाहरुलाई शीघ्र बासस्थानका पु¥याउने, महान चाडमा आफ्ना आफ्ना प्रियजनहरुसँग घरमा बसेर चाड मनाउन पाउने अवस्था तत्काल सृजना गर्नुपर्छ।

सरकारसँग हजारौँ गाडीहरु छन्, विद्यालयहरुका गाडीहरुको सदुपयोग गर्न सकिन्छ, सेना प्रहरी र साझा यातायातको सदुपयोग गर्नु जरुरी छ।

सरकारले हवाइ रुटमा भाडा तोकेर दुर्गमस्थानमा सेवा पु¥याउन बाध्य पार्नुपर्छ किनभने व्यवसायमा नाफामात्र हुँदैन, मानवीय सेवा पनि आवश्यक हुन्छ। कालो बजारलाई निर्ममताका साथ नियन्त्रण गर्नुपर्छ।

९.जस्तो अवस्था आए पनि खप्नैपर्छ र प्राकृतिकरुपमा अचानक भएका घटनाहरुमा सबैको सहयोग र सहकार्यले समाजमा प्रेम, माया र सहिष्णुता बढेर आउँछ। यसमा सरकार सहयोगी र सहजकर्ताको भूमिकामा देखिनु पर्छ।

१०. र अन्त्यमा, महान चाड दशैं को उपलक्ष्यमा विश्वभर छरिएर रहेका सबै नेपाली दाजुभाइ दिदी बहिनीहरुमा दुर्गा भवानीले रक्षा गरुन् र सबैको उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ। मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछौँ। घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।

घरबारविहीनहरुका लागि शीघ्र बासस्थानको व्यवस्था होस् भन्ने कामना गर्दछौँ। साथै हामी आफ्ना पाठक, शुभचिन्तक तथा विज्ञापनदाताहरुमा पनि बडा दशैंको शुभकामना व्यक्त गर्दछौँ।

सम्बन्धित समाचार

अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य
  • २०८१ आश्विन २२, १३: ०७

काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...

कोप–३१ का विभिन्न कार्यक्रममा सहभागी भएर अर्थमन्त्री वाग्ले स्वदेश फर्किए
कोप–३१ का विभिन्न कार्यक्रममा सहभागी भएर अर्थमन्त्री वाग्ले स्वदेश फर्किए
  • २०८१ आश्विन २२, १३: ०७

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी भएर अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज...

क्षति पुगेको खुलामञ्चको स्वरूप फर्काउँदै कांग्रेस
क्षति पुगेको खुलामञ्चको स्वरूप फर्काउँदै कांग्रेस
  • २०८१ आश्विन २२, १३: ०७

काठमाडौं : नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौँको ऐतिहासिक टुँडिखेलस्थित खुलामञ्चको हरियाली र सौन्दर्य फर्काउन कांग्रेस आफैँ अग्रसर...