मनसुनी गतिविधि थप सक्रिय हुने, सावधानी अपनाउन अनुरोध – Naya Bikalpa
October 1, 2025, Wednesday      Epaper

मनसुनी गतिविधि थप सक्रिय हुने, सावधानी अपनाउन अनुरोध

काठमाडौं : जल तथा मौसम विज्ञान विभागले असोज १७ गतेबाट मनसुन थ सक्रिय हुने जानकारी दिँदै सावधानी अपनाउन अनुरोध गरेको छ ।

विभागले मंगलबार राति दोस्रो दसैँ विशेष मौसम बुलेटिन जारी गरी बङ्गालको खाडीबाट विकसित भएको न्यून चापीय प्रणालीका कारण नेपालमा असोज १७ गतेबाट मनसुन थप सक्रिय भई देशका धेरै ठाउँमा वर्षा हुने जानकारी गराएको छ ।

विभागकी मौसमविद् विनु महर्जनले रासससँग भनिन्, “हालको मौसम विश्लेषणअनुसार नेपालमा मनसुनी वायुको प्रभाव केही कमजोर रहे पनि बङ्गालको खाडीमा विकसित न्यून चापिय प्रणाली भारतको ओरिसाबाट जमिनको भू–भाग हुँदै प्रवेश गरी मध्य भारततर्फ क्रमशः सर्ने भएको छ । त्यो नेपालमा प्रवेश गर्न लागेको र यही १७ गते यहाँ आइपुग्ने हुँदा मनसुन थप सक्रिय हुने सम्भावना देखिएको छ ।”

उनले न्यून चापिय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त मनसुनी वायु प्रवेश गरी असोज १७ (एकादशी) का दिनबाट देशका विभिन्न भूभाग खास गरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशसम्म मनसुनी गतिविधि सक्रिय हुने सम्भावना देखिएको बताइन् ।

“तसर्थ, नेपालमा यस वर्षको दसैँ अवधिभर मनसुनी वायुको प्रभाव रहिरहने छ । हाल  नेपालमा मनसुनी वायुको प्रभाव र स्थानीय वायु विकसित हुँदा नेपालमा मौसम वदली भइरहेको छ”, उनले भनिन् ।

असोज १७ (एकादशी)मा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड र तराई भू–भागका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको  सम्भावना रहेको जनाइएको छ । साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

असोज १८ गते कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

असोज १९ गते कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा र एक–दुई स्थानमा अतिभारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

दसैँको अन्तमा मनसुन सक्रियसमेत हुने सम्भावना रहेकाले सम्भावित वर्षाका कारण भू–क्षय, बाढी, पहिरोका साथै  सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने देखिएको विभागले जनाएको छ । मौसमको अध्यावधिक जानकारी लिई आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध गरिएको छ ।

सम्बन्धित समाचार

दसैंमा ६ लाख ११ हजार बढीले छाडे काठमाडौं
दसैंमा ६ लाख ११ हजार बढीले छाडे काठमाडौं
  • २०८२ आश्विन १५, १०: २४

काठमाडौं : दसैंको घटस्थापनादेखि आजसम्मको नवौँ दिनको अवधिमा मात्रै छ लाख ११ हजार ६५७ जनाले काठमाडौं छाडेका छन् । काठमाडौं उपत्यका...

ढिस्कोले पुरिएर चार जनाको मृत्यु
ढिस्कोले पुरिएर चार जनाको मृत्यु
  • २०८२ आश्विन १५, १०: २४

सर्लाही : जिल्लाको हरिपुवामा ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको छ । हरिपुवा नगरपालिका–१ हर्दी खोला किनारमा माटो खन्ने क्रममा...

सुनसान प्रायः छ काठमाडौं
सुनसान प्रायः छ काठमाडौं
  • २०८२ आश्विन १५, १०: २४

काठमाडौं : हाल काठमाडौंका सडक सुनसान प्रायः छन् । दसैँको आगमनसँगै राजधानी उपत्यकाबाट आआफ्नो जन्मस्थान जान सुरु भएको थियो । हिजोआज...