सुनसान प्रायः छ काठमाडौं – Naya Bikalpa
October 1, 2025, Wednesday      Epaper

सुनसान प्रायः छ काठमाडौं

काठमाडौं : हाल काठमाडौंका सडक सुनसान प्रायः छन् । दसैँको आगमनसँगै राजधानी उपत्यकाबाट आआफ्नो जन्मस्थान जान सुरु भएको थियो । हिजोआज दैनिक सवारी चापमा करिब ४० देखि ५० प्रतिशतसम्म कमी आएको जनाइएको छ ।

उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा देखिने यात्रुको भीड कम हुँदै गएको छ । वर्षभरि रोजगारी, अध्ययन, व्यापार तथा अन्य विभिन्न कारणले राजधानीमा रहेकाहरू दसैँका अवसरमा आआफ्नो गाउँ फर्किएका छन् । लामो समयपछि परिवारसँग पुनर्मिलनको आशा, आफ्नै गाउँको माटोको सुवास, चाडपर्वको स्वाद र बाल्यकालका सम्झनाले सबैलाई तानेको छ ।

सहरी भव्यता र व्यस्त जीवनशैलीबाट केही दिनका लागि टाढा हुँदै गाउँ फर्किने क्रमसँगै राजधानी सुनसान बन्दै गएको छ । ग्रामीण बस्ती भने जीवन्त र रमाइलो हुँदै गएका छन् । विगतमा निकै सवारी चाप हुने काठमाडौंका मुख्य सडकमा हाल सवारी चाप घटेको र उपत्यकामा दैनिक सवारी चापमा करिब ४० देखि ५० प्रतिशतसम्मको कमी आएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीको भनाइले पनि यसलाई पुष्टि गर्छ ।

उनले भने, “दसैँका बेला धेरैजसो मानिस गाउँ फर्किसकेका छन्, त्यसैले सडक विगतमा भन्दा खाली भएका छन्, तर ट्राफिक सुरक्षाको दृष्टिले हामी अझै पनि उच्च सतर्कतामा छौँ ।”

गाउँघरमा भने दसैँको आगमनसँगै वातावरण उल्लासमय बन्न थालेको छ । घरआँगनमा टिका र जमरा छर्ने तयारी भइरहेको तथा आआफ्नो धर्म, परम्परा र संस्कारअनुसार चाडको स्वागत भइरहेका दृश्य तथा तस्बिर  सामाजिक सञ्जालमा प्रशस्तमात्रामा देखिन थालेका छन् । परदेशी मन घर फर्किएसँगै वृद्ध बाबुआमा, दाजुभाइ, दिदीबहिनी तथा नातागोता सबैबीच पुनःभेटको भावनात्मक क्षणहरू साटासाट भइरहेका छन् । दसैँको रमाइलो केबल टीका र मीठा परिकारमा सीमित छैन, यो एकपटक फेरि परिवारसँग बिताउने, पुराना सम्झनालाई जीवन्त बनाउने र समाजमा मेलमिलाप र एकता बढाउने पर्व पनि भएकाले प्रायः गरी परदेशीएकाहरू गाउँघर फर्किने गर्दछन् ।

दसैँको चहलपहल सुरु भएसँगै सङ्घीय राजधानी काठमाडौंबाट गाउँ फर्किनेको भीड तीव्र रुपमा बढेको थियो । घटस्थापनादेखि मंगलबारसम्म आठ दिनको अवधिमा मात्रै पाँच लाख ५३ हजार २६१ जनाले काठमाडौं उपत्यका छाडेका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले राससलाई जानकारी दिए ।

सम्बन्धित समाचार

दसैंमा ६ लाख ११ हजार बढीले छाडे काठमाडौं
दसैंमा ६ लाख ११ हजार बढीले छाडे काठमाडौं
  • २०८२ आश्विन १५, १०: ३७

काठमाडौं : दसैंको घटस्थापनादेखि आजसम्मको नवौँ दिनको अवधिमा मात्रै छ लाख ११ हजार ६५७ जनाले काठमाडौं छाडेका छन् । काठमाडौं उपत्यका...

ढिस्कोले पुरिएर चार जनाको मृत्यु
ढिस्कोले पुरिएर चार जनाको मृत्यु
  • २०८२ आश्विन १५, १०: ३७

सर्लाही : जिल्लाको हरिपुवामा ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको छ । हरिपुवा नगरपालिका–१ हर्दी खोला किनारमा माटो खन्ने क्रममा...

‘नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा कुनै अवरोध छैन’
‘नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा कुनै अवरोध छैन’
  • २०८२ आश्विन १५, १०: ३७

भरतपुर : बडादसैँको नवौँ दिन आज नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गमा कुनै अवरोध नरहेको प्रहरीले जनाएको छ । दसैँ सुरु...