कांग्रेसले जिम्मेवार प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्छ : प्रवक्ता चालिसे – Naya Bikalpa
March 31, 2026, Tuesday      Epaper

कांग्रेसले जिम्मेवार प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्छ : प्रवक्ता चालिसे

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले जनादेश नै शासनको एकमात्र वैध आधार भएको बताएका छन्। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले वर्तमान राजनीतिक अवस्थालाई असामान्य बताउँदै लोकतन्त्रको विकल्प पुनः लोकतन्त्र नै हुने स्पष्ट पारे।

उनले भने, “देशको राजनीतिक वृत्तमा विशिष्ट अवस्था देखिएको छ। जनादेशबाहेक शासनको स्रोत केही हुन सक्दैन भन्ने तथ्य फेरि पुष्टि भएको छ।”

यसैबीच, कांग्रेसले जेनजी आन्दोलनबारे गौरीबहादुर कार्की नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदनप्रति असन्तुष्टि जनाएको छ। प्रवक्ता चालिसेले उक्त प्रतिवेदन प्रारम्भिक दृष्टिमै अपूर्ण देखिएको टिप्पणी गरे।

उनका अनुसार प्रतिवेदनले भदौ २३ गतेको घटनामा केही ध्यान दिएको भए पनि भदौ २४ गतेका घटनालाई पर्याप्त रूपमा समेट्न सकेको छैन। “यो हाम्रो प्रारम्भिक प्रतिक्रिया हो। प्रतिवेदनमा केही महत्वपूर्ण पक्ष छुटेका छन्। हामी यसलाई थप अध्ययन गर्नेछौं र कानुनविद्हरूसँग छलफल गरेर विस्तृत धारणा सार्वजनिक गर्नेछौं,” उनले भने।

चालिसेले सबै प्रतिवेदनहरूको विस्तृत अध्ययनपछि मात्र पार्टीको आधिकारिक धारणा आउने स्पष्ट पारे। साथै, लोकतान्त्रिक प्रक्रियामा हार–जित स्वाभाविक भए पनि प्रणाली नै कमजोर हुन नहुने उनले जोड दिए।

नयाँ बन्ने सरकारलाई अग्रिम शुभकामना दिँदै कांग्रेसले जिम्मेवार प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्ने पनि जनाएको छ।

भ्रष्टाचार नियन्त्रणका विषयमा उनले कडा धारणा राख्दै २०४६ सालदेखि सार्वजनिक लाभका पदमा बसेका सबै व्यक्तिमाथि छानबिन गर्नुपर्ने बताए। आवश्यक परे आयोग वा अन्य निकाय गठन गरेर अनुसन्धान अघि बढाउनुपर्ने र दोषी प्रमाणित हुनेलाई कारबाही गर्नुपर्ने उनको भनाइ छ।

त्यस्तै, सार्वजनिक पदमा जाने व्यक्तिहरूले अनिवार्य रूपमा पार्टी प्रशिक्षण लिनुपर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव पनि कांग्रेसले अघि सारेको छ।

कार्की आयोगको प्रतिवेदनले केही विषय अधुरो छाडेकाले त्यसबारे थप अध्ययन गर्न विशेषज्ञ टोली गठन गर्ने तयारी भइरहेको पनि प्रवक्ता चालिसेले जानकारी दिए।

सम्बन्धित समाचार

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय
छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय
  • २०८२ चैत्र १२, १७: ०५

काठमाडौँ : काठमाडौंका सीडीओ छवि रिजाललाई प्रहरीले हाजिरी जमानीमा रिहा गर्ने निर्णय गरेको छ । उनी जेनजी आन्दोलन हुँदा काठमाडौँको...

कांग्रेसमा संस्थागत प्रक्रिया बाहिर पूर्णबहादुर खड्का समूह, अनुशासन उल्लंघन गरेको भन्दै आलोचना
कांग्रेसमा संस्थागत प्रक्रिया बाहिर पूर्णबहादुर खड्का समूह, अनुशासन उल्लंघन गरेको भन्दै आलोचना
  • २०८२ चैत्र १२, १७: ०५

काठमाडौं : नेपाली कांग्रेसभित्र आन्तरिक विवाद फेरि सतहमा आएको छ । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर...

व्यवसायी दीपक भट्ट अध्यागमनको कालोसूचीमा
व्यवसायी दीपक भट्ट अध्यागमनको कालोसूचीमा
  • २०८२ चैत्र १२, १७: ०५

काठमाडौं : अध्यागमन विभागले व्यवसायी दीपक भट्टलाई कालोसूचीमा राखेको छ । भट्टमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान थालेको छ ।...