
काठमाडौं : संवैधानिक निकायको निर्णयलाई बेवास्ता गर्दै नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पुनः ‘कार्यवाहक सभापति’कै हैसियतमा विज्ञप्ति जारी गरेका छन् । विशेष महाधिवेशनबाट गगन थापा सभापति निर्वाचित भइसकेको अवस्थामा खड्काको यस्तो कदमलाई देउवा समूहको असंवैधानिक अभ्यासका रूपमा आलोचना हुन थालेको छ।
शनिबार बसेको देउवा पक्षीय नेताहरूको बैठकपछि खड्काले कांग्रेसकै लेटरप्याड प्रयोग गर्दै विज्ञप्ति जारी गरेका थिए । उक्त विज्ञप्तिमा उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ प्रकरणलाई ‘राजनीतिक प्रतिशोध’को संज्ञा दिँदै त्यसको संवैधानिक, कानुनी र राजनीतिक रूपमा प्रतिवाद गर्ने निर्णय भएको उल्लेख गरेका छन् ।
तर, पार्टीभित्रै यस कदमप्रति गम्भीर आपत्ति उठेको छ । संवैधानिक तथा पार्टी विधानअनुसार नेतृत्व परिवर्तन भइसकेको अवस्थामा खड्काले आफूलाई कार्यवाहक सभापति दाबी गर्दै विज्ञप्ति निकाल्नु संस्थागत निर्णयविपरीत भएको नेताहरूको भनाइ छ । यसले पार्टीलाई एकीकृत गर्नेभन्दा झन् विभाजनतर्फ धकेल्ने संकेत देखिएको उनीहरूको तर्क छ ।
रोचक पक्ष के छ भने, प्रतिनिधिसभा निर्वाचनका क्रममा भने खड्काले सभापति गगन थापाकै हस्ताक्षरमा आफ्नो निर्वाचन क्षेत्र सुर्खेत–१ मा आफ्ना भाइ विष्णु खड्कालाई टिकट दिलाएका थिए । त्यतिबेला नेतृत्व स्वीकार्ने तर अहिले फरक धारणा राख्दै छुट्टै विज्ञप्ति निकाल्नुले उनको राजनीतिक भूमिकामाथि प्रश्न उठेको छ ।
खड्काले विज्ञप्तिमा सरकार गठनलगत्तै पूर्वाग्रहपूर्ण ढंगले गिरफ्तारी गरिएको दाबी गर्दै सरकार संविधान र लोकतान्त्रिक मूल्यबाट विचलित भएको आरोप लगाएका छन् । साथै, आयोगको प्रतिवेदन कार्यान्वयनका नाममा कानुनी प्रक्रिया पूरा नगरी तत्कालीन पदाधिकारीहरूलाई पक्राउ गर्नु ‘कानुनी राज्यको बर्खिलाप’ भएको उनको भनाइ छ ।
उनले भदौ २३ र २४ गतेका घटनाको छानबिनमा समेत पक्षपात गरिएको आरोप लगाएका छन् । एक दिनको घटनामा केन्द्रित भएर अर्को दिन भएको मानवीय तथा भौतिक क्षतिबारे मौन रहनु प्रतिवेदनको निष्पक्षतामाथि प्रश्न उठाउने आधार भएको खड्काको तर्क छ ।

काठमाडौँ : काठमाडौंका सीडीओ छवि रिजाललाई प्रहरीले हाजिरी जमानीमा रिहा गर्ने निर्णय गरेको छ । उनी जेनजी आन्दोलन हुँदा काठमाडौँको...
काठमाडौं : नेपाली कांग्रेसभित्र आन्तरिक विवाद फेरि सतहमा आएको छ । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर...
काठमाडौं : अध्यागमन विभागले व्यवसायी दीपक भट्टलाई कालोसूचीमा राखेको छ । भट्टमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान थालेको छ ।...