ओली-लेखकलाई ५ दिन हिरासतमा राख्न अनुमति – Naya Bikalpa
March 31, 2026, Tuesday      Epaper

ओली-लेखकलाई ५ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं : जिल्ला अदालत काठमाडौंले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस नेता रमेश लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले आज पाँच दिन म्याद थपको अनुमति दिएको अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिए ।

“प्रस्तुत मुद्दामा प्रतिवादीहरुको बयान गर्न, बुझ्नुपर्ने मानिसहरुको घटना विवरण कागज गर्न तथा मिति २०८२/०५/२३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन अध्ययन विश्लेषण गर्नेलगायतको प्रयोजनका लागि प्रतिवादीहरुलाई प्रहरी हिरासतमा राख अनुमति माग गरेको देखिन्छ, आदेशमा भनिएको छ, “अनुमति माग गरेको व्यहोरा मनासिव देखिँदा प्रतिवादीहरु केपी शर्मा ओली र रमेश लेखकलाई प्रहरी हिरासतमा राखी उपरोक्त लेखिएबमोजिमको कार्यहरु सम्पन्न गर्ने प्रयोजनका लागि मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४ (६) बमोजिम ५ (पाँच) दिनको म्याद थपको अनुमति प्रदान गरिदिएको छ ।”

आदेशमा एमाले अध्यक्ष ओली अस्वस्थ भई उपचारार्थ अस्पतालमा रहेको भन्नेसमेत देखिँदा निजको प्रभावकारी आवश्यक उपचारको व्यवस्था गर्न भनिएको छ । सरकारी वकिलले अध्यक्ष ओली र नेता लेखकलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन माग गरेको थियो ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको बेला एमाले अध्यक्ष ओली प्रधानमन्त्री र  कांग्रेस नेता लेखक गृहमन्त्री थिए । उक्त आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठित आयोगले अध्यक्ष ओली र नेता लेखकलाई फौजदारी मुद्दामा कारबाही अघि बढाउन सिफारिस गरेको थियो ।

सो सिफारिसका आधारमा जरुरी पक्राउ पुर्जी जारी गरेर शनिबार बिहान उनीहरूलाई पक्राउ गरिएको थियो । अध्यक्ष ओली बिरामी भएका कारण त्रिवि शिक्षण अस्पतालमार्फत ‘भर्चुअल’ उपस्थित भएका थिए भने नेता लेखक आफैं उपस्थित भएका थिए ।

सम्बन्धित समाचार

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय
छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय
  • २०८२ चैत्र १५, १७: ४६

काठमाडौँ : काठमाडौंका सीडीओ छवि रिजाललाई प्रहरीले हाजिरी जमानीमा रिहा गर्ने निर्णय गरेको छ । उनी जेनजी आन्दोलन हुँदा काठमाडौँको...

कांग्रेसमा संस्थागत प्रक्रिया बाहिर पूर्णबहादुर खड्का समूह, अनुशासन उल्लंघन गरेको भन्दै आलोचना
कांग्रेसमा संस्थागत प्रक्रिया बाहिर पूर्णबहादुर खड्का समूह, अनुशासन उल्लंघन गरेको भन्दै आलोचना
  • २०८२ चैत्र १५, १७: ४६

काठमाडौं : नेपाली कांग्रेसभित्र आन्तरिक विवाद फेरि सतहमा आएको छ । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर...

व्यवसायी दीपक भट्ट अध्यागमनको कालोसूचीमा
व्यवसायी दीपक भट्ट अध्यागमनको कालोसूचीमा
  • २०८२ चैत्र १५, १७: ४६

काठमाडौं : अध्यागमन विभागले व्यवसायी दीपक भट्टलाई कालोसूचीमा राखेको छ । भट्टमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान थालेको छ ।...