
२०४६ को परिवर्तन र प्रजातन्त्रको पुनःस्थापनापछि राज्यले कूटनीतिक क्षेत्रमा पनि पहुँच बढाउँदै गयो । फलस्वरूप नेपालीहरूलाई अन्तर्राष्ट्रिय मुलुकहरूमा आवतजावत गर्न सहज हुँदै गइरहेको थियो । पछिल्ला वर्षदेखि नै नेपाली युवा–युवतीहरूलाई विदेशमा उच्च शिक्षा अध्ययन गर्ने अवसरहरू प्राप्त हुन थाले । तर २०४६ को परिवर्तनलाई आत्मसात गर्न नसकेर तत्कालीन राजनीतिक माओवादीहरू जंगल छिरेपछि मुलुक दसवर्षे द्वन्द्वको भुमरीमा फस्यो । द्वन्द्वकालको बहानामा असंख्य युवाहरू विदेशिने क्रमले तीव्रता लिँदै जाँदा कोही उच्च शिक्षाको बहानामा त कोही रोजगारीका लागि विदेशिने क्रम तीव्र भयो ।
पहिलो रोजाइ अमेरिका, अष्ट्रेलिया, युरोप, क्यानडा, जापान लगायत अन्य मुलुकहरूमा पनि नेपाली युवाहरूको आकर्षण बढ्दै जाँदा डिग्री हासिल गरेपछि रोजगारी गर्दै दीर्घकालीन व्यापार–व्यवसायका लागि सुरक्षित गन्तव्यहरूमा प्रभावशाली नेपालीहरूको समूह विदेशमै बसोबास गर्न थाल्यो । उच्च शिक्षाको उद्देश्यले विदेशिएका नेपालीहरू अहिले रोजगारी, पेशा–व्यवसाय र दीर्घकालीन बसोबासतर्फ उन्मुख हुँदै सशक्त आर्थिक समुदायको रूपमा स्थापित हुँदै गएको देखिन्छ ।

एकातिर युरोप–अमेरिकामा उच्च शिक्षाका लागि गएका युवाका परिवारहरू समेत पारिवारिक रहनसहनदेखि सामाजिक रीतिरिवाजहरू उतै व्यवस्थापन गर्दै आइरहेका छन् भने अर्कोतर्फ रोजगारीका लागि खाडी मुलुक छिरेका लाखौँ युवाहरू पनि नेपाल फर्केका छैनन् । किनकि बीचको दसवर्ष, २०७३ देखि २०८२ सम्म, तीन दलका तीन शीर्ष नेताहरूको राजनीतिक सिन्डिकेटले मुलुकमा कुनै पनि युवाका लागि रोजगारीका अवसरहरू खोजी गरेनन् । राज्यको चरम दुरुपयोग गर्दै सत्तालाई ‘म्युजिकल चेयर’को रूपमा प्रयोग गरेका कारण जेनजी मुभमेन्टको आन्दोलनले मुलुकको राजनीतिलाई नयाँ मोडतर्फ उन्मुख गराइदियो ।
०८४ मा हुनुपर्ने आम निर्वाचन ०८२ मै हुँदा मुलुकमा नयाँ राजनीतिक परिवेशको सुरुवात हुन पुग्यो । आम निर्वाचनमा परिवर्तित कांग्रेसको प्रतिज्ञापत्रमा प्रतिबद्धता जनाइसकेपछि अन्य दलहरूले पनि विदेशिएका नेपालीहरूलाई आफ्नै मुलुकमा फर्काउने अभियानमा लाग्ने प्रतिज्ञा गरेको पाइन्छ । तर यो अभियानको थालनी भने कांग्रेसले अगुवाइ लिन सफल भएको छ ।

साप्ताहिक शृङ्खलामार्फत कांग्रेसले विभिन्न आर्थिक, सामाजिक र मुलुकभित्रका जल्दाबल्दा विषयमा ‘द ग्रिनटेबल’मा खुला छलफलको थालनी गरेको छ । जसअनुसार राजनीतिबाट निकै टाढा बसेका युवा पुस्ताको उल्लेखनीय उपस्थितिमा कांग्रेसका सभापतिदेखि पदाधिकारीहरूसम्मको उपस्थितिमा उक्त कार्यक्रम हुने गरे पनि अधिकांश युवाहरूको कुरा मात्र सुन्ने गरिन्छ ।
साप्ताहिक ‘द ग्रिनटेबल’को पहिलो शृङ्खलामा सुकुम्बासी समस्या र समाधानबारे विज्ञहरूको सुझाव, दोस्रो शृङ्खलामा संविधान संशोधनमा जेनजी अगुवादेखि राजनीतिक विश्लेषक तथा संविधानविद्सम्मका सुझाव लिने कार्य भएको थियो । तेस्रो शृङ्खलामा ‘विदेशिएका नेपाली कथाहरू’ नामक छलफलमा केही समयअघि मात्र नेपाल फर्केर मुलुकमै केही गर्नुपर्छ भन्ने शिक्षित समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो । उनीहरू विदेशमा सूचना प्रविधि, स्वास्थ्य सेवा, इञ्जिनियरिङ तथा प्रशासनिक क्षेत्रमा अनुभव बटुलिसकेका हुँदा उनीहरूको सीपलाई नेपालमा प्रयोग गर्न सके रोजगारीको अवसर प्राप्त हुने र मुलुकको आर्थिक उन्नति बढाउन सकिने बताइएको थियो ।

नेपाली कांग्रेसले विदेशिएका नेपालीहरूलाई नेपाल फर्काउने अभियानअन्तर्गत चौथो शृङ्खलामा शुक्रबार ‘द ग्रिनटेबल’मार्फत आयोजना गरिएको कार्यक्रममा वर्तमान सङ्घीय र राष्ट्रियसभा सांसदहरू, विदेशबाट नेपाल फर्केकाहरू, कांग्रेस पदाधिकारी लगायत विज्ञहरूको उपस्थिति रहेको थियो । उक्त शृङ्खलामा अधिकांश वक्ताहरूले नेपालको नीतिनिर्माणको अस्पष्टता, अपारदर्शिता र लगानी सुरक्षित हुने ग्यारेन्टी नभएका कारण विदेशीले त लगानी गर्न डराउने, मुलुकमा राजनीतिक स्थायित्व नभएका कारण नेपालीहरूले समेत विदेशमा कमाएको धन नेपाल ल्याएर लगानी गर्न नसक्नु राज्य सञ्चालनकै कमजोरी भएको औँल्याए । जसले गर्दा स्थायी रोजगारी र नियमित कामअनुसारको आम्दानी नहुँदा युवाहरूलाई आकर्षित गराउन नसकिएको उनीहरूको तर्क रहेको छ ।
विशेषगरी नेपालमै लगानीको चासो रहँदै आए तापनि यहाँको प्रशासनिक जटिलता, नीतिगत अस्थिरता र कानुनी प्रक्रियाहरूका कारण उनीहरूको लगानी गर्ने उत्साहमा अवरोध पुगिरहेको देखिन्छ ।

नेपालीहरू मातृभूमिसँग भावनात्मक र सांस्कृतिक रूपमा जोडिएकाले पनि ‘विदेशिएको एक नेपाली सधैँ नेपाली’ भन्ने नारामा मात्र सीमित नभई भरपर्दो र विश्वसनीय आत्मीय सम्बन्ध बढाउन यो अभियानले सार्थकता पाउन सक्ने विश्वास गर्न सकिन्छ । शुक्रबारको ‘द ग्रिनटेबल’मा कांग्रेस उपसभापति पुष्पा भुसाल, राष्ट्रिय सभाका दलका नेता कमला पन्त, सङ्घीय संसद्का प्रमुख सचेतक वासना थापा, राष्ट्रिय सभाका प्रमुख सचेतक पदम परियार, सङ्घीय संसद्का सचेतक निष्कल राई, पूर्वमन्त्री राजनकुमार केसी लगायत केन्द्रीय सदस्यहरूको सहभागिता रहेको थियो । साप्ताहिक शृङ्खला ‘द ग्रिनटेबल’को व्यवस्थापन तथा सञ्चालन सचिन तिमिल्सिना र इश्यु राईले गरेका थिए ।
नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि पार्टीलाई गतिशील बनाउने उद्देश्यले प्रदेशस्तरीय कार्यक्रमदेखि पार्टीमा हुने यो साप्ताहिक शृङ्खला ‘द ग्रिनटेबल’ले विशेषगरी नयाँ युवाहरूलाई राजनीतिमा आकर्षित गराउन पुलको काम गरिरहेको कुरा उपसभापति पुष्पा भुसालले शुक्रबार आयोजित कार्यक्रममा बताएकी छन् ।
काठमाडौं : वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत पर्साले आज मेयर सिंहविरुद्ध पक्राउ...
काठमाडौं : सरोकारवाला निकायको महत्त्वपूर्ण सुझावलाई समेटेर अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट लेखनलाई करिब अन्तिम चरणमा पुर्याएको छ । अर्थमन्त्री...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली नागरिकको दैनिक जीवनस्तरमा वास्तविक सुधार ल्याउने दिशामा आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन्...