खड्का, कोइरालाका प्रस्ताव सदस्यता व्यवस्थापनद्वारा ठाडै अस्वीकार, क्रियाशील सदस्य अध्यावधिक कार्यलाई द्रुत गतिमा लैजाने निर्णय – Naya Bikalpa
May 26, 2026, Tuesday      Epaper

खड्का, कोइरालाका प्रस्ताव सदस्यता व्यवस्थापनद्वारा ठाडै अस्वीकार, क्रियाशील सदस्य अध्यावधिक कार्यलाई द्रुत गतिमा लैजाने निर्णय

काठमाडौं : नेपाली कांग्रेसले १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील सदस्यता अद्यावधिक र व्यवस्थापन अभियानलाई तीव्र बनाउने निर्णय गरेको छ । पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले देशभर अनुगमन संयन्त्र सक्रिय पार्दै सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरणको काम निर्धारित समयभित्र सम्पन्न गर्ने निर्णय गरेको हो ।

कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइराला समूहले क्रियाशील सदस्य अद्यावधिक कार्य रोक्न आग्रह गरेको थियो । तर खड्का, कोइरालाका प्रस्ताव सदस्यता व्यवस्थापनले अस्वीकार गर्दैे क्रियाशील सदस्यता अद्यावधिक र व्यवस्थापन अभियानलाई तीव्र बनाउने निर्णय गरेको हो ।

पार्टी सभापति गगनकुमार थापाको उपस्थिति तथा समितिका संयोजक एवं महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा बसेको बैठकले क्रियाशील सदस्यता अद्यावधिक कार्यलाई सहज र द्रुत बनाउन सातै प्रदेशमा केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई विशेष जिम्मेवारी तोकेको छ ।

कोशी प्रदेशमा डा. डिला संग्रौला, बागमतीमा बहादुरसिंह लामा, सुदूरपश्चिममा उदयशमशेर राणा, गण्डकीमा मुक्ताकुमारी यादव, कर्णालीमा जानकी सिंह, मधेशमा देवराज चालिसे तथा लुम्बिनीमा अमरसिंह पुनलाई जिम्मेवारी दिइएको जनाएको छ ।

समितिले १५औं महाधिवेशनका लागि नयाँ क्रियाशील सदस्यता वितरण तथा यसअघि विभिन्न कारणले नवीकरण हुन नसकेका सदस्यहरूको नवीकरण कार्य जेठ २१ गतेभित्र सम्पन्न गरी केन्द्रीय प्रणालीमा प्रविष्ट गरिसक्नुपर्ने निर्णय पनि गरेको छ ।

यस्तै, १४औं महाधिवेशनका क्रममा गठन भएको क्रियाशील सदस्यता छानबिन समितिले आधिकारिकता दिएका सदस्यतालाई पुरानो सदस्यता मानी नवीकरण प्रक्रियामा समावेश गर्न जिल्ला सभापतिहरूलाई परिपत्र गर्ने निर्णय गरिएको छ ।

विभिन्न राजनीतिक दलबाट कांग्रेसमा समायोजन भएका व्यक्तिहरूको सदस्यता सम्बन्धी समस्या समाधानका लागि समितिले १३ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ । बारा, सिराहा, धनुषा, सप्तरी, सोलुखुम्बु, सर्लाही, सुर्खेत, महोत्तरी, कपिलवस्तु, सुनसरी, रौतहट, पर्सा र काठमाडौंमा प्रतिनिधि परिचालन गरिने जनाइएको छ ।

बैठकले विदेशस्थित जनसम्पर्क समितिहरूको सदस्यता अद्यावधिक तथा अधिवेशन प्रक्रियालाई पनि व्यवस्थित बनाउने निर्णय गरेको छ । अधिवेशन सम्पन्न भइसकेका सात देशका जनसम्पर्क समितिलाई क्रियाशील सदस्यता अद्यावधिकको अनुमति दिने तथा समस्या नदेखिएका १५ देशका जनसम्पर्क समितिलाई अधिवेशन सम्पन्न गर्ने समयतालिका केन्द्रीय कार्यालयमा पेश गर्न निर्देशन दिइएको छ ।

त्यसैगरी, १४औं महाधिवेशनपछि केन्द्रीय कार्यालयसँग कम सम्पर्क भएका सात देशका जनसम्पर्क समितिका हकमा सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण प्रक्रिया अघि बढाइने भएको छ भने सदस्यता विवाद देखिएका आठ देशका जनसम्पर्क समितिको अध्ययन गरी समस्या समाधानका लागि आवश्यक समन्वय गरिने निर्णय भएको छ ।

बैठकले पार्टी सदस्यता व्यवस्थापन केन्द्रीय समितिको सचिवमा केन्द्रीय कार्यालयका सह–सचिव प्रेम विश्वकर्मालाई नियुक्त गर्ने निर्णय समेत गरेको जनाएको छ ।

May be an image of text

May be an image of ticket stub, map, blueprint and text

सम्बन्धित समाचार

वीरगञ्ज महानगरका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज महानगरका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
  • २०८३ जेष्ठ ११, १५: २६

काठमाडौं : वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत पर्साले आज मेयर सिंहविरुद्ध पक्राउ...

बजेट लेखन अन्तिम चरणमा
बजेट लेखन अन्तिम चरणमा
  • २०८३ जेष्ठ ११, १५: २६

काठमाडौं : सरोकारवाला निकायको महत्त्वपूर्ण सुझावलाई समेटेर अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट लेखनलाई करिब अन्तिम चरणमा पुर्‍याएको छ । अर्थमन्त्री...

सुशासन र आर्थिक समृद्धिमा सरकार केन्द्रित : प्रधानमन्त्री वालेन्द्र शाह
सुशासन र आर्थिक समृद्धिमा सरकार केन्द्रित : प्रधानमन्त्री वालेन्द्र शाह
  • २०८३ जेष्ठ ११, १५: २६

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली नागरिकको दैनिक जीवनस्तरमा वास्तविक सुधार ल्याउने दिशामा आफ्नो नेतृत्वको सरकार प्रतिबद्ध रहेको बताएका छन्...